विपश्यनाको शाव्दिक अर्थ विशेष रुपले हेर्नु, देख्नु हो । विपश्यना एक प्राचीन साधना ध्यान विधि हो । सिद्धार्थ गौतम बुद्धबाट खोज पश्चात करिब २५०० वर्ष अगाडी पुनः प्रदिपादित गरी सिकाउनु भएको यस उच्च आध्यामिक साधनाको नाम नै ‘विपश्यना साधना’ हो । आफ्नो स्वाभाविक श्वासको निरीक्षणद्वारा चित्त शुद्धि, चित्त शोधन र सद्गुण वृद्धिको अभ्यासमा लाग्न उत्प्रेरित गर्दै, द्वेष द्रोहको दुगुर्णबाट शारीरिक, मानसिक रुपमा जकडिएर रहेको साम्प्रदायिकता, संकीर्ण जातियता अहंभावको बन्धनबाट मुक्ति भई एक स्वस्थ, सुखी समाजको सदस्य बनि परिपूर्ण र सृजनात्मक जीवन बिताउन सक्ने कलामा निपूर्ण भएर लोक, परलोक सुधार्न सिकाउने यो विधिलाई उच्च आध्यात्मिक साधना मान्न सकिन्छ । राग, द्वेष, मोहबाट विकृत भएको दुषित चित्तलाई निर्मल बनाउने विपश्यना साधना, जसले जीवनको समस्या र तनाव ग्रस्त चित्तलाई ग्रन्थि मुक्त गर्ने बिना कसैको दया, अनुकम्प, कृपा नभई स्वयम् आफै ध्यान विधिबाट गम्भीरतापूर्वक परिश्रम गरी अन्तर्मनको गहिराईसम्म पुगेर चित्तलाई ग्रन्थि विमुक्त पार्ने विधिलाई नै आध्यात्मिक साधना मान्न सकिन्छ । विपश्यना साधनाको सम्बन्धमा भन्नु पर्दा सर्वप्रथम सन् १९८१ मा नेपालमा वर्मा निवासी सयाजी ऊ वा खिनको परम्परामा कल्याणमित्र श्री सत्यनारायण गोयन्काद्वारा काठमाडौँ स्थित आनन्द कुटी विहारमा २५० जना साधकसाधिकाहरुलाई विपश्यना शिविर संचालन गरी प्रारम्भ गराउनु भएको र उक्त शिविरबाट लाभान्वित साधकसाधिकाको प्रयत्न पश्चात शिविर सञ्चालन हँुदै उहाँकै प्रेरणाले नेपाल विपश्यना केन्द्र धर्मश्रृङ्गको स्थापना भएको कुरा जानकारीमा उल्लेख छ, जुन केन्द्रहरु विस्तार हुने क्रम सँगै आज नेपालमा १७ स्थानमा ध्यान साधना सञ्चालन भैरहेको छ । कुनै पनि कार्य गर्न गराउन पूर्व त्यसको आचार संंहिता अर्थात नियम, सूचक लगायत अनुशासनको कडाई पालना गर्नुपर्ने हुन्छ । यस साधना गर्नुपूर्व अनुशासन संहिता राम्रोसँग अध्ययन गरी निष्ठा र गम्भीरतापूर्वक पञ्चशील (जीव हत्या नगर्ने, चोरी नगर्ने, व्रह्मचर्यमा बस्ने, झुठो नबोल्ने र कुनपनि लागूपदार्थ सेवन नगर्ने) पालना गर्ने गरी नेपाल स्थित सम्पूर्ण विपश्यना केन्द्रहरुमा विपश्यना शिविर तालिका वार्षिक रुपमा तयार गरी १ दिवशीय, ३ दिवशीय, १० दिवशीय, १० दिवशीय एक्जीक्यूटिभ, ८ दिनको सतिपट्ठान, २० दिवशीय, ३० दिवशीय, ४५ दिवशीय शिविर, ६० दिवशीय, अनागरिक (भिक्षु, भिक्षुणी), किशोरकिशोरी शिविर, बाल शिविर जस्ता विभिन्न शिविरहरु सञ्चालन हुदै आएका छन् । विपश्यना साधनाको क्रममा मैले नेपाल विपश्यना केन्द्र धर्मश्रृङ्ग मुहान पोखरी बुढानिलकण्ठ काठमाडौमा विगत २०७९ पौष महिना र २०८१ पौष महिनामा १०÷१० दिवशीय क्रमशः शिविर क्रमाङ – १०३५ र ११०७ मा सहभागी हुने अवसर प्राप्त गरेको थिए । उक्त शिविर साधनामा सहभागी हुँदा मलाई लागेको आफ्नो अनुभव यस लेख मार्फत प्रस्तुत गर्ने जर्मको गरेको छु । मैले विपश्यना साधना एक सरल एवं उपयोगी ध्यान विधिद्वारा मनलाई वास्तविक शान्ति प्राप्त गर्न आफू भित्र शान्ति र सामञ्जस्यता अनुभव गर्न सक्ने, चित्तलाई निर्मल बनाउने, चित्तको व्याकुलता र त्यसको कारण हटाई आफू भित्र रहेको अन्तर मन (चित्त) को विकारलाई ध्यान विधिबाट धोई पखाली गरी आफ्नो मानसलाई विकारबाट मुक्त बनाई नितान्त विमुक्त अवस्थाको साक्षात्कारको अनुभूति प्राप्त गर्ने एक पुरानो ध्यान विधि रहेछ भन्ने कुराको निचोड पाएँ । साथै विपश्यना भगवान बुद्धको शिक्षाको प्रमुख अङ्ग रही जसले कुनै सम्प्रदाय विहिन कुनैपनि पृष्ठभूमि भएको व्यक्तिले यसलाई उपयोग, अबलम्बन गर्न सक्छ र असल मार्गमा अभिप्रेरित गराई, साधना विधिबाट दुःख मुक्त गराई, सबै–सबैले विना सकोच, प्रयोग गर्नुको साथै विपश्यता शिविर सबैको लागि खुल्ला छ । कुनै कुल, धर्म, वर्ण, लिङ्ग, जातीयता, राष्ट्रियता आदिले फरक पार्दैन । हिन्दु, जैन, मुस्लिम, यहुदी, इसाई बौद्ध, सिख तथा अन्य सम्प्रदायका मानिसहरुले सफलतापूर्वक विपश्यनामा भाग लिई आफ्नो मनको शुद्धता प्रस्फुठित गर्न सक्छन् । हरेक क्षेत्रको भौतिक विकास तथा प्रविधिको विकासको साथसाथै मानिसको जीवनमा आएका ठोस परिवर्तन मात्र नभई त्यसको प्रत्यक्ष÷अप्रत्यक्ष असरबाट मानिसहरुमा देखिएका मानसिक तनाव एवं मन प्रतिकूल परिस्थितिलाई चिर्दै, जातीयता, व्यक्तिबाद तथा निजी स्वार्थलाई अत्याधिक महत्वकाक्षीको रुप दिंदा त्यसबाट समाजमा वादविवाद, गरीबी, युद्ध, रोग, नरसंम्भार, नसालु पदार्थको लत, आतंकवाद माहामारीको डरलाग्दो चटारो लगायत पर्यावरण प्रदुषण तथा नैतिक मूल्यको घट्दो स्तरलाई यथावत स्थितिमा ल्याउन र मानव सभ्यताको खम्बालाई जोगाई राख्न विपश्यना साधनाले महत्वपूर्णभूमिका निर्वाह गरिरहेको र गर्दछ भन्ने कुराको निचोड पनि पाएँ । साथै मानिसको जीवनमा गुमेको, गुम्न लागेको शान्ति र समाञ्जयस्ताको भावलाई सदगुणको सार्थकतामा विश्वास जगाई सामाजिक साम्प्रदायिक तथा आर्थिक सबै प्रकारको उत्पीडनबाट मुक्ति मिल्ने र सुरक्षाको वातावरण पैदा हुने प्रमुख उपायको एक साधना विपश्यना हो भन्ने मैले महशुस गरेँ । साथै विपश्यना ध्यान साधनाबाट राग, द्वेष, मोह हटी मानिसहरुमा रहेको दुःख विस्तारै हट्दै जाने भएकोले व्यक्ति मानसिक तनाबबाट बाहिर निस्केर सुखी, स्वस्थ र सार्थक जीवन जीउन थाल्दछ भन्ने कुराको पुष्टि मैले महशुस गरे । यो विपश्यना साधना जो कोही सबैले अनिवार्य रुपमा गर्नुपर्ने रहेछ भन्ने मुख्य जानकारी गराउदै सबैले साधनामा भाग लिन सम्भव भएसम्म एक परिवार, एक व्यक्ति, एक समाज, एक व्यक्ति यसमा सम्मिलित हुदैँ गई विस्तारै भाग लिने मौका अवसर सबैले पाएमा व्यक्ति, घर, छिमेक, समाज, समुदाय हुदै समग्र देशमा सम्पूर्ण नागरिकहरुमा यसको प्रत्यक्ष प्रभाव पर्नेछ भन्ने कुरामा दुई मत छैन । दिन दहाडै हाम्रो समाजमा अहिले युवा पिँढी लगायत अधिकांश व्यक्ति विभिन्न रोग, भोग, दुःख, शोक, सुर्ता जस्ता कारणले पिडित भई दिर्घ रुपमा मानसिक रोग तथा डिप्रेसन, कुलतमा फस्ने, चोरी चकारी, हत्या, आत्महत्या, हिंसा, मारकाट हुनुको साथै बलात्कार, ठगी गर्ने, चोरी गर्ने, जालसाजी गर्ने, भ्रष्टचार गर्ने जस्ता अपराधीक कार्य तिब्र गतिमा बढ्दैछन् । यसको मूल कारण जानकारीमुलक शिक्षाको अभाव भई समाज उभो गतितिर नभई ऊधो गतितिर धकेली रहेको अवस्था छ । यस्ता नकारात्मक सोच विचार लगायत अनैतिक क्रियाकलापको समाधानको दीर्घ उपाय भनेको यस्तै विपश्यना साधना हो, जसले व्यक्ति समाज र समग्र देशको भविष्यलाई यथास्थितीमा ल्याउन मदत गर्दछ साथै देशमा शाशक, नेतागण, राष्ट्र सेवक कर्मचारीहरु, राजनीतिज्ञ, शैक्षिक क्षेत्रका व्यक्तिहरु, शान्ति सुरक्षाको निकाय, उद्योगी व्यापारी लगायत तमाम तह तप्कामा रहेका सम्पूर्णलाई यस साधनामा भाग लिने वातावरण मिलाउन सम्बन्धित निकायलाई ध्यान आकर्षण गराउन चाहन्छु । विभिन्न कारणले कारागारीय जिवन विताई रहेका कैदी, अपराधीहरुलाई अहिले विपश्यना ध्यान साधनामा सम्मिलित गराई उनीहरुको मानसिक अवस्थामा सुधार आई यस ध्यान विधिबाट त्यस्ता अपराधी कार्यमा पुर्णत सुधार भएको थुप्रै उदाहरण पाइन्छन् । नेपाल विपश्यना केन्द्र धर्मश्रृङ्ग मुहान पोखरी, बुढानिलकण्ठ, शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको काखमा प्राकृतिक सम्पदाले ओतप्रोत अत्यन्तै शान्त र मनमोहक जंगल नजिक मानिसहरुको बाक्लो घनाबस्ती लगायत शहर बजारको कोलाहलपनबाट टाढा, शान्त, मनमोहक स्थानमा अवस्थित छ, जहाँ विपश्यना साधना गर्न जाने जोकोहीले पनि त्यहाँको सकारात्मक बयान गर्ने गरेका छन् । घना प्राकृतिक वनको स्वच्छ हावा, त्यहाँ उम्रेको पानी साधना गर्ने भौतिक निर्माण अन्तरगतको साधकसाधिका बस्ने आवास, साधना गर्ने धम्म हल, सूचना अभिप्रेरित गर्ने घण्टीको आवाज, भोजनालय कक्ष, पिउने तातो पानी, चिसो पानीको व्यवस्था, शयनकोठा तथा शौचालयको व्यवस्था, पञ्चशिल जानकारी बोर्ड र साधकसाधिकाले शिविर अवधिभर गर्नुपर्ने आर्यमौन, समयगत रुटिङ्ग, महिला–पुरुष छुटाछुटटै आवास तथा साधना स्थलको व्यवस्था यहाँको प्रमुख आकर्षण तत्वहरु हुन् । शिविर अवधिमा सेवा गर्न आउने धर्म सेवकको सेवा, ध्यान साधना गर्न आउने साधकसाधिकाहरुलाई दैनिक खुवाइने प्राकृतिक स्वास्थ्यकर भोजन, पानी खाजा व्यवस्थापन, आफूले लगेको नगद, गरगहना, मोबाइल लगायतका वस्तुहरु सुरक्षित राख्ने व्यवस्था, गुरुहरुको व्यवहार लगायत धर्म सेवकहरुको व्यवहार सर्वसुलभ पानी, बत्ती र अन्य भौतिक सामग्री व्यवस्थापन तथा सरसफाई यहाँको अर्काे मनोमोहक आकर्षक तत्व हुन । प्राकृतिक सुन्दरताले भरिपूर्ण ध्यान साधनाको लागि अत्यन्तै शान्त र सुन्दर तपोभुमी धर्मश्रृङ्गमा प्रायः प्रत्येक महिना नियमित दश दिवशीय साधना सञ्चालन भैरहेको र अन्य केन्द्रहरुमा शिविर वार्षिक क्यालेन्डर अनुसार सञ्चालन भैरहेको, देशविदेशबाट आउने साधकसाधिकाहरुको स्वेच्छिक दानबाट सञ्चालन भैरहेको धर्मश्रृङ्ग केन्द्रमा एक शिविरमा करिब २५० जना भन्दा बढी साधकसाधिकाहरुले ध्यान विधि सिकेर प्रत्यक्ष लाभ उठाइरहेका छन् । सादा जिवन, उच्च विचार, मृदुभाषी बोली, व्यवहार, शान्त वातावरणमा स्वर्गीय आनन्दको अनुभूति प्रदान हुने यस केन्द्रमा ध्यान साधना हुने बेलामा दैनिक बिहान ४ः०० बजे देखि बेलुकी ९ः०० बजे सम्म साधकसाधिकाहरुलाई सम्मिलित गराई खाजा, खाना र बिश्राम गर्ने समय समेत निर्धारण गरी करिब १० घण्टा ध्यान साधनामा समिलित गराई बेलुका ७ः३० बजे डेढ घण्टा गुरुजिबाट प्रवचन समेत हुने भएकाले सैद्धान्तिक तथा प्रयोगात्मक ध्यान विधि यहाँको अर्को प्रमुख पक्ष हो । नेपाली, अंग्रेजी र हिन्दी तीनवटै भाषामा ध्यान विधिको जानकारी साधकसाधिकाहरुको लागि अत्यन्तै प्रभावकारी हुने हुनाले साधक साधिकाहरुले ध्यान साधनाको समयमा अल्मलिनु पर्दैन । साथै बेलुकाको गुरुजीको प्रवचन तीनवटा भाषा बाहेक अन्य भाषामा पनि सुन्न सकिने व्यवस्था गरिएको छ । विपश्यना सिक्नको लागि योग्यता प्राप्त आचार्यको सानिध्यमा दश दिवसिय आवसिय शिविरको अवधिभर शिविरमा सामेल भई शिविर स्थल भित्र तोकिएको ठाउँ क्षेत्र भित्र रही बाहिरी सम्पर्कबाट अलग्ग रही, पढाई, लेखाई, पुजा, पाठ तथा अन्य क्रियाकलाप विलकुल नगरी, दश दिनसम्म आर्यमौन् (कोही कसैसँग नबोल्ने) को पालना यस शिविरको अर्को मार्मिक पक्ष हो । परन्तु आचार्यसँग साधना सम्बन्धी र व्यवस्थापकसँग भौतिक समस्याको बारेमा आवश्यकता अनुसार कुराकानी गर्न सकिंदो रहेछ । गएको शुरु दिनको बेलुका ८ बजे देखि शिविरको दशौ दिनको बिहान १० बजे सम्म आर्यमौन पालना गरी दशौ दिनको दश बजे पछि आर्यमौन खुलि बहिर्मुखी भई शिविर एघारौ दिनको बिहान सात बजे समाप्त हुने रहेछ । त्यस साधनामा मलाई सबैभन्दा राम्रो लागेका कुरा खानपान तथा अनुसाशन हो भने साधनामा प्रयोग हुने शब्दावलीमा ध्यान, सम्बेदना, मंगलमैत्री, दान, शिल, समाधि, प्रज्ञा, धम्म, राग, द्वेष, मोह, अधिष्ठान, मैत्री भावना, अनित्य, दुःख, अनात्म (म मेरा नभएको), वेदना, संस्कार प्रतिक्रिया, समाधी, समता, सत्य, करुणा, दौमर्नस्य (द्वेषभाव), दुर्भावना, निर्मल चित्त, दुष्ट भाव, साक्षी भाव, तटस्थ भाव, भलो, सम्यक, ब्याकुल, जागृत, भोक्ताभाव, कर्ताभाव, द्रष्टाभाव (साक्षीभाव), समताभाव जस्ता शब्दवलीसँग चिरपरिचत भई साधना गर्न सकिदो रहेछ । त्यसैले मैले त दुई पटक गएर ध्यान साधना शिविरमा भाग लिइ वास्तविक अनुभव प्राप्त गरें । फुर्सद मिलाएर तपाई पनि एक पटक विपश्यना ध्यान शिविरमा जाने की ?
