IMG-LOGO

त्यो ‘मुना लामा’ कहाँ होली ?

 मंगल, माघ १, २०८१  प्रकाश सापकोटा कोपनहेगन, डेनमार्क

    सहसम्पादक भएर काभ्रे टाइम्समा लामै समय काम गरेँ । लगभग सात बर्ष । बिर्सी नसक्नुका थुप्रै पलहरू विताएको सम्झना छ र रहिरहने छ । त्यसमध्येका विशेष दुइटा  सन्दर्भहरू सम्झनामा अगाडि आउँछन् । एउटा निकै पछि गएर रहस्योद्घाटन भएको सन्दर्भ छ । अर्को चाहिँ कहिल्यै नखोलिएको एउटा रहस्य छ । १. ‘दीप’ को खोजी     फोटो पत्रकार गोपाल वैद्यलाई तस्वीर साहित्यकार पनि भन्न सुहाउँछ । उनी एक तस्वीरबाट हजार शब्दहरू व्यक्त हुने एङ्गल मिलाएर फोटो खिच्छन् । उनी काभ्रे टाइम्सका नियमित फोटो पत्रकार थिए । उनले ल्याएका फोटा हेरेपछि मलाई केही न केही फुथ्र्यो ।     गोपाल वैद्यले (प्रायः) फोटो ल्याएर दिन्थे, त्यो हेरेर म मुक्तक लेख्थेँ । काभ्रे टाइम्सको हरेक अङ्कमा ’तस्वीर साहित्य’ अन्तर्गत त्यो छापिन्थ्यो । मुन्तिर लेखिन्थ्यो– फोटोः गोपाल वैद्य, शव्दः दीप ।     यसरी प्रयोगका रूपमा काभ्रेमा पहिलो पटक हामीले पत्रिकामा फोटो मुक्तकको कोलम शुरू ग¥यौँ, काभ्रे टाइम्समार्फत । विसं २०५९–०६० सालतिरको कुरा हो । पहिलोपटक प्रकाशित फोटो मुक्तकले राम्रो प्रतिक्रिया पाएपछि त्यसलाई निरन्तरता दिइयो ।     त्यस्ता धेरैवटा मुक्तक तयार भएपछि त्यसलाई समेटेर संग्रह (किताब) निकालियो । काभ्रे टाइम्सकै १२ औ बार्षिकोत्सव पारेर पुस्तक विमोचन गर्दा पुस्तक सँगै ’दीप’ पनि विमोचित भयो । ’दीप’ को हो भन्ने कुरा धेरै अतिथि र पाठकहरूले त्यही दिन आएर थाह पाउनुभएको थियो । थाह पाएपछि केही महानुभावहरूले त मलाई ’दीप जी’ भनेरै बोलाउनु पनि भयो, पछि सम्मै । कार्यक्रमका दौरान किताब हात परेपछि हरेकले ट्वाँ पर्दै मतिर हेर्नुभएको ... आहा, क्या गजबको अनुभव ! मीठो सरप्राइजको हौसलापूर्ण उद्घाटन अविश्मरणीय हुँदो रहेछ । २. ‘मुना लामा’ प्रकरण ः     त्यतिबेला काभ्रे टाइम्समा एउटा सभ्य यौनकथा छापिन्थ्यो । कथाकार थिई– मुना लामा । आफैँ यौनकर्मी ’मुना लामा’को त्यो एकखाले आत्मकथा नै थियो । कौतुहलपूर्ण, रहस्यमय र भावोउत्तेजक प्रस्तुतीका कारण त्यो धारावाहिकले निकैलाई आकर्षित गरेको थियो । नढाँटी लेख्दैछु, युवा देखि पाको उमेरका व्यक्तिहरू समेत त्यो लुकीलुकी पढ्थे । त्यसको प्रत्यक्ष साक्षी हामी आफैँ हुनाले यो सप्रमाण भन्न सकिएको हो ।     मित्र एग्रोभेट र प्रगती पुस्तक भण्डार, अनि अरू  पुस्तक र पत्रिका पसल देखि चिया पसल, चोक र चौबाटाहरूमा अधिकांशका हातमा काभ्रे टाइम्स परेपछि पल्टिने पानो नै त्यही देखेका थियौँ हामीले । कतिपय ठाउँमा त पत्रिकाको पानोको सो कथा छापिएको कुनो मात्र चट्ट काटेर लुकाइएका दृष्टान्तहरू फेला पारेका छौँ । सर्वसाधारण देखि प्रतिष्ठित व्यक्तित्वहरू समेतलाई तानेकी थिई ’मुना लामा’ ले । कथा पढ्नेलाई लाग्दो रहेछ– मुना लामा कस्ती होली हँ ? साँच्ची भनूँ भने, उक्त समयमा पत्रिकाको विक्रीमा समेत त्यो कोलमले राम्रै भूमिका खेलेको थियो ।     रमाइला घटनाहरू के छन् भने, ’मुना लामा’ को आत्मकथा पढेपछि उसलाई भेट्न चाहनेहरू थुप्रै थिए । भेटाइदिन विनम्र अनुरोध गर्ने कतिपयका अनुहार अझै पनि आँखा अगाडि झल्झल्ती आइरहन्छ ।काभ्रे टाइम्स कान्तिपुर , रेडियो सगरमाथा स्पेस टाइम मार्टिन चौतारी जस्ता समाचार सस्थामा मंगलबार बिहानै पुग्थ्यो । एकपल्ट कान्तिपुर दैनिकका उप सम्पादक गुणराज लुइँटेलले मुना म भेट्न आउछु।  मलाई एउटा एन्कर लेखौ लेखौ लागेको छ भनेर फोन गर्दा फोन उठाउने मै थिए । अझ कोही कोही त सोमबार पत्रिकाको काम भइरहँदा अपर्झट काभ्रे टाइम्सको कार्यालयमा छड्के हान्न आउँथे । उनीहरू भन्ठान्थे, मुना लामा कथा बुझाउन पक्कै आज आउँछे, र त्यहिँ भेट हुन्छ । हामी पनि के कम, माहौल बनाउँथ्यौँ । कसैलाई ’भर्खर निस्केर गई’ भनेर झ्यालबाट बाहिरतिर हेर्ने बनाउँथ्यौँ ।अनि कसैलाई भनिदिन्थ्यौँ– ऊ हामीलाई गोप्य ठाउँमा विशेष समय तोकेर मात्र भेट्छे र लेखेको सामग्री बुझाउँछे । बिचरा भेट्ने उत्कट चाहना लिएर आएकाहरूको तड्पाइमा खूब मजा लिन्थ्यौँ ।     अपर्झट आइपुगेका कत्ति मानिसहरूको इशाराले नै मुना लामा खोजेको बुझेर शिरी जी (श्रीकृष्ण वादे) ले टाइप गर्दा गर्दैको कथा लुकाएका रमाइला घटनाहरू छन् । लेखाइको हस्तलेखनबाट पहिचान नखुलोस् भनेर उहाँ यति सतर्क हुनुहुन्थ्यो कि कुरै नगरौँ ।     यसरी बढेको धाराबाहिक पाठकको अत्यधिक रूचीमा परेको थाह पाएर कथालाई सन्देशमुलक बनाउँदै थियौँ । पाठकले रूची भएको विषय पढेर सन्देश लिऊन् भन्ने तिर हाम्रो चासो बढेको थियो । त्यो सँगसँगै धारावाहिकलाई एउटा सुरक्षित र आकर्षक गन्तव्यमा लगेर अवतरण गराउने ध्येय पनि थियो । अन्तिममा त्यसबाट पनि एउटा पुस्तक (उपन्यास) तयार गरेर पाठकमाझ लैजाने सल्लाह पनि थियो । त्यसो गरिएको भए अर्को गजबको रहस्योदघाटन हुने थियो । नचाहेरै केही केही कुराका योजनाहरू सफल नहुँदा रहेछन् । यो पनि त्यसको एउटा उदाहरण भयो ।     समग्रमा, मुना लामाको आत्मकथाले मेरो आत्मकथाको पुस्तकमा पनि धेरैवटा पाना थपिदिन्छ– लेखियो भने । यति लेखिसके पछि त अन्दाज लगाउनु पनि भयो कि ! को थिई मुना लामा ? कहाँ छे ऊ अहिले ?     निकै वर्ष आफूले लडिबुडी खेलेको काभ्रे टाइम्सको बारेमा हरेक स्मृतिहरू एउटा दस्तावेज बन्ने खालका छन् । रमाइला, उटपटय्याङ, कष्टकर, गम्भीर, हावादारी, बौद्धिक अनि उत्साहजनक थुप्रै मिश्रित अनुभवका पानाहरूको गज्जबको ठेली हो काभ्रे टाइम्स मेरा लागि ।     यी त असंख्य मध्येका केही सन्दर्भहरूको पनि सन्दर्भ–उठान मात्रै हो । लेख्ने नै हो भने सन्दर्भ–सन्दर्भका ठेलीबाट खण्डकाव्यहरू सिर्जना हुने छन् । ती अनुभवहरू लेख्दै पनि जाऔँला !     सप्ठेरादेखि अप्ठेरासम्म लामो समय आफूले स्याहारसुसार गरेको काभ्रे टाइम्सको २९ औँ वार्षिकोत्सवमा मनै देखि हर्षोल्लास मनाउँदै हार्दिक बधाई ज्ञापन गर्दछु

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्