स्थानीय पत्रकारहरु वा प्रकाशकहरु या सम्पादकहरु गतिशिल र जिम्मेवार सञ्चार गृृह निर्माणको लागि काम गरिरहेका हुन्छन् । जो आफ्ना समुदायहरुलाई उनीहरुको स्थानीय आवश्यकता र चाहनाहरु पूरा गर्ने गरी समाचारहरु सम्प्रेषण गर्न तल्लीन हुन्छन् । यो स्थानीय पत्रकारिताका बारेमा रहेको विश्वव्यापी मान्यता हो । हाम्रो (काभ्रेको) परिप्रेक्षमा भने यो कुरा बिरलै लागु हुन्छ । राजधानीको नजिकै रहेर मूलधारको पत्रकारितासँग पौँठेजोरी गर्नु स्थानीय सँचारगृहहरुलाई पक्कै पनि सजिलो छैन । तर, जस्तोसुकै परिस्थितीमा पनि पत्रकारिताले आफ्नो धर्म निर्वाह गर्न भने चुक्नु हुँदैन । यो सामाजिक जिम्मेवारी सहितको मर्यादित पेशा हो भन्ने कुरा विर्सने हो भने पत्रकारिता परिवार पाल्ने साधनका रुपमा मात्र परिचित हुन्छ । पत्रकारिता जागिर मात्र होइन । प्रतिकुलता भयो भन्दैमा पत्रकारिताले मूल जिम्मेवारिबाट विमुख हुन भने पाईँदैन । काभ्रेको पत्रकारिताको लामो इतिहासमा देखिनेगरि थोरै मात्रामा जिम्मेवार र नतिजामुलक काम भएका छन् भन्दा अत्युक्ति नहोला । पत्रकारहरु जन्मनु वा सञ्चार गृहको संख्या थपिनु मात्र पत्रकारिताको विकास मान्न सकिंदैन । यसो भनिरहँदा यो तितो सत्यलाई स्वीकार्ने साहस थोरै मात्रले गर्नुहुनेछ । नगन्य मात्रामा बाहेक समय कटाउने, खल्ती भर्ने र औकात देखाउने भन्दा माथी काभे्रमा पत्रकारिता उठ्न सकेको मैले चाहिँ अनुभव गरेको छैन । पच्चीसौं वर्षको काभ्रेली पत्रकारिताको अभ्यासलाई हेर्ने हो भने यो क्षेत्रमा नविनतम प्रयोग केही पनि भेटिँंदैन । आजको दु्रत गतिको डिजिटल युगमा उही परम्परागत पत्रकारिताको उपादेयता बारेमा एकपटका मन्थन गर्नु जरुरी छ । परम्परागत पत्रकारिता राष्ट्रिय र अन्तराष्ट्रिय समाचारहरुमा मात्र केन्द्रित हुने हुँदा यसले स्थानीय आवश्यकता अनुसारको सामाग्री पस्कन सक्दैन । थोरै मात्रामा बाहेक काभ्रेको पत्रकारिता पनि परम्परा भन्दा माथि उठेको भान हुदैन । चाँडवाड र शैक्षिक शत्रको शुरुवातका निजी विद्यालयका विज्ञापन लक्षित पत्रकारिताले आम सर्वसाधारणका चासो र आवश्यकतालाई सम्बोधन गरेको छैन नै । स्वार्थ समूहको पक्षपोषणमा लागेपछि पत्रकारिता जुनसुकै बेलामा पनि बदनाम हुन्छ भन्ने यथार्थलाई बिर्सनु हुँदैन । पत्रकारको व्यक्तिगत खुवी, पेशागत स्थिरता साथै बजार जस्ता तत्वहरुले स्थानीय पत्रकारिताको गुणस्तर निर्धारण गरिरहेका हुन्छन् । एउटा पूर्ण वाक्य शुद्धसँग लेख्न नसक्दा आम पाठकले पत्रकारलाई कुन नजरले हेर्ला भनेर आत्मसिमक्षा गर्नु पर्दैन र ? विश्वविद्यालयको प्रमाणपत्रलाई केही नमान्न सकिएला तर पत्रकारिता क्षमता देखाउने कर्म भएको हुनाले यसलाई कुतर्क गरेर आफ्नो कमजोरीलाई ढाक्नु राम्रो पक्कै होइन । पत्रकारिताका शास्त्रीय मान्यता र सिद्धान्तलाई कण्ठस्थ पार्नु नपर्ला तर भन्न खोजेको कुरालाई बुझ्ने भाषामा लेख्नु त पर्छ नै । पत्रकारिता भाषाको खेति हो त्यसैले भाषिक शुद्घतामा विशेष चनाखो हुनैपर्छ । रहर, देखासिखी वा प्रतिशोध साँध्न पत्रकार बन्नु उचित होइन । काभ्रेको सन्दर्भमा राजनैतिक रंग मिश्रित पत्रकारिता यो क्षेत्रलाई विश्वसनीय हुनबाट रोक्ने एक प्रमुख कारण हो । काभ्रेका पत्रिकाको नाम र त्यससँग जोडिएका पत्रकारको नामबाट नै उक्त पत्रिकाले कुन् राजनैतिक दलको पक्षपोषण गर्छ भनेर भन्न सक्ने स्थिति रहनु भनेको पत्रकारितको लागि राम्रो अवस्था होइन । पत्रकार महासंघको अधिवेशनताका देखिने दलीय चलखेल र दलीय आवद्घताका आधारमा हुने पत्रकारहरुको धु्रवीकरण निस्पक्ष र स्वच्छ पत्रकारितामा सुहाउने क्रियाकलाप होइनन् । पेशाप्रतिको इमान्दारितामा जब प्रश्न उठ्न थाल्दछ तव त्यो पेशाले आम समाजमा कस्तो असर पारीरहेको छ भनेर विवेचना गर्नु जरुरी हुन्छ । विगतमा रक्त चन्दन तस्करी उत्कर्षमा रहेको बेला काभ्रेका केही पत्रकारहरुको भूमिका सम्झन लायक छैन र विर्सिन सकिने खालको पनि छैन । एकाध इमान्दार पत्रकार बाहेकले व्यक्तिगत लाभका लागि पत्रकारितालाई उपयोग गरिरहेको जनगुनासोलाई हामीले नकार्न हुँदैन । राज्यका निकायहरु, व्यवसायिक समूहहरुले पत्रकारहरुलाई देखाईरहेको सदासयता संसय गर्न लायक छ काभ्रेमा । आफ्नो अनुकुल हँुदा समाचार पत्रिकामा छापेको र प्रतिकुल हुँदा लुकाउने गरेका जनगुनासाहरु पनि हामीले प्रसस्तै सुन्दै आएका नै छौँ । पत्रिकामा नाम छपाउने रहरमा लेखिएका सामाग्रीहरुले समग्र पत्रिकाको स्तर गिरेको तथ्यलाई पनि भुल्न मिल्दैन नै । अब पनि परम्परागत पत्रकारितालाई नै निरन्तरता दिनु भनेको नसुध्रने कसम खानु सरह हो । पाठकको चाहनालाई ध्यान नदिँदा विश्वका स्थापित मिडियाहरुले आफ्नो अस्तित्व बचाउन नसकेको उदाहरण हामी सामु प्रसस्तै छन् । काभ्रे टाइम्सले समयको मागलाई सम्बोधन गर्ने छ भन्नेमा म विश्वस्त छु । प्रधान सम्पादक आर.एल श्रमजीवीले बटुल्नुभएको अन्तरराष्ट्रिय अनुभवलाई काभ्रे टाइम्सको नवजीवन यात्रामा खर्चने हो भने नयाँ पिँढीका पाठकको मनमा काभ्रे टाइम्स जरुर बास बस्ने छ । साँचो अर्थमा सामुदायिक पत्रकारिताको आधिकारिक शुरुवातकर्ता यो पत्रिका बन्न सक्छ । नामले मात्र सामुदायिक वा स्थानीय भएर हुँदैन, पाठकले अनुभूत गर्नेगरी सामाग्रीहरु पस्कन सक्नुपर्छ । समाजमा घटित घटनाहरुलाई मानिसको जीवनसँग जोडिनेगरि प्रचारप्रसार गर्नु आजको पत्रकारिताको आवश्यकता हो । नागरिक सँलग्नतालाई वढावा दिने, पारदर्शिता प्रवद्र्धन गर्ने र व्यक्तिहरुलाई सूचना मार्फत सशक्त बनाउने महत्वपूर्ण पूलको रुपमा स्थानीय पत्रकारिता कर्म गरिनु पर्दछ । स्थानीय पत्रकारिता स्थानीय वासिन्दाहरुको लागि विश्वसनीय सूचनाको स्रोत बन्नुपर्दछ । विना अनुमति छापिएका विज्ञापनको पैसा तिर्नुपर्ने आंतकबाट स्थानीय निकाय, संघ–संस्थाहरुलाई मुक्त गराउन काभे्र टाइम्सले भूमिका खेलोस् । पत्रिकालाई आर्थिक रुपले निरन्तरता दिन सकिंदैन भने अब जवर्जस्ती चलाईरहनु आवश्यक छैन होला नि, हैन र ? पुलिस प्रसासनको सरुवा बढुवामा रमाउने पत्रकार र पत्रकारलाई खुसी राख्न खोज्ने उच्च ओहोदाका प्रशासकको दोहोरी चलुन्जेल समाजले साँचो पत्रकारिताको स्वाद चाख्न पाउँदैन । छोराछोरीको मासिक शुल्क मिनाह गरिदिएवापत निजी विद्यालयका कर्तुतमा पत्रकार बोल्न छोड्यो भने वा होटल रिसोर्टले बेला बेला मनाईदिने ‘छुट्टी’को पछि लागेर साँधिने मौनताले पत्रकारिताको मर्यादालाई कता पु¥याउला भनेर पनि काभे्र टाइम्स सचेत बनोस् । स्थानीय पत्रकारिताको एउटा जिउँदो इतिहास भएको नाताले पनि यो पत्रिकाले पत्रकारिताका नाउँमा हुँदै आएका भद्घा क्रियाकलापहरुका विरुद्घ कदम चालेको हेर्न मन छ । अगुवाले बाटो विराउनु हुन्न । काभे्र टाइम्सले आजैका मितिबाट यो कुरामा ध्यान पु¥याओस् । देशमा राजनैतिक परिवर्तन भएको खवर थाह पाउन आजको मितिमा कोही पनि साप्ताहिक पत्रिका कुरेर बस्दैन । तिमालका तामाङ्गहरुको जातीय परम्परा होस् वा पाँचखाल आसपासका दनुवारहरुका जीवनशैलीलाई जस्ताको त्यस्तै आम पाठकसम्म पु¥याउन स्थानीय सँचार माध्यमहरु लाग्नु आजको आवश्यकता हो । पत्रिका छापिउन् र संग्रह गर्न लायक होउन् । समुदायमा घुलमिल भई त्यहाँ भित्रका गतिविधीलाई निष्पक्ष सम्प्रेषण गर्नमा काभे्र टाइम्स नचुकोस् । स्थानीय समुदायका सदस्यहरुलाई आफ्ना कथा–व्यथाहरु, सरोकारहरु र उपलब्धीहरु साटासाट गर्ने उपयुक्त माध्यमका रुपमा काभे्र टाइम्सलाई लिन सक्ने वातावरण यो पत्रीकाले बनाओस् । खादा मालामै रमाउने पत्रकारिता अब चल्दैन है । साँचो स्थानीय पत्रकारिता गरेर घरको तला थप्न सकिँदैन न निजी सवारी साधन चढ्न नै । पत्रकारको जीवनशैली हेरेर सामान्य जनताले पनि नाक खुम्च्याउने वातावरण बन्नु हुँदै हुँदैन । पत्रकार समाजको ऐना हो, ऐना धमिलिनु भनेको समग्र समाजको मुहारमा दाग लाग्नु हो भन्ने कुरामा काभ्रे टाइम्स सचेत रहोस् । खोजी पत्रकारिताको सट्टा पत्रकारले निजी स्वार्थ पूरा गर्ने बाटो मात्र खोजी गर्न थाल्दा समग्र पेशा नै धमिलो भइरहेको हुनसक्छ । पेशाप्रति इमान्दार र समाजप्रति उत्तरदायी पत्रकारहरुको पंक्ति निर्माणमा स्थानीय सँचार माध्यमहरु लाग्नु जरुरी छ । काभे्र टाइम्स हिँजो जे थियो, आज जे छ यो रहीरहोस् तर आगामी दिनमा अझै परिस्कृत, जिम्मेवार र युगको चाहना अनुसारको पत्रिका बन्न सकोस् । पत्रकार देख्दा ससंकित हुनुपर्ने, प्रतिशोध साँध्ला कि भनेर त्रसित हुनुपर्ने दिनको अन्त्य गर्ने अभियानको नेतृत्व यसले लिन सकोस् । वर्षगाँठको शुभकामना । हाल पोर्चुगल
