धार्मिक तीर्थस्थलहरूको यात्रा दर्शन अवलोकन गर्ने मेरो धेरै समय पहिले देखिको अभिलाषा भक्तपुरका कर्माचार्य समाजका अध्यक्ष बद्रीनारायण कर्माचार्य र यात्रा संयोजक राजन साखको ब्यवस्थापनमा बागमती प्रदेशको ४९९९ नं. को नमस्ते बनेपा नामको ३० सीटरहको बस २०८१ पौष ५ गते शुक्रबारको बिहान ६ः०० बनेपा स्थित नाला दोबाटोमा आइ पुगेको कारण परिपूर्ति भएको थियो । उत्साहित र हतासका साथ कुरिरहेका हामी म सिध्दिबहादुर कर्माचार्य र मेरो श्रीमती चिनीमाया कर्माचार्य, रामचन्द्र श्रेष्ठ र वहाँकी श्रीमती राजमाया श्रेष्ठ र श्रीखण्डपुरका पूर्णबहादुर कर्माचार्य समेत ५ जना उक्त बसमा चढ्यौं। खोल्सी खोलामा मिलेको जस्तो भयो । भक्तपुरका बद्रीनारायण कर्माचार्य सहित भक्तपुरबाट १६ जना तीर्थ यात्रीहरूको आगमन भएको बुझियो । तीर्थयात्रीहरु २१ जना र ब्यवस्थापन समुहका ५ जना सहित २५ जनाको यात्रा थियो हाम्रो बसबाट । हाम्रो व्यग्रतालाई चिर्दै बस बनेपाबाट धुलिखेल, काभ्रे भन्ज्याङ, पात्लेखेत,बेला, बुच्चाकोट हुँदै नमोबुद्ध नगरपालिका भकुण्डे बेसीमा चिया नास्ताको लागि बिश्राम गर्यो । चिया नास्ता लिए पछि बस अगाडि बढ्यो । असोज ११÷१२ गते बिनाशकारी बाढीले क्षति पुर्याएको चरङे, कटुञ्जे, तीनपिपले, नार्के र कालढुँगा बस्ती बजारहरुलाइ हेरेर मन नै चरक्क चस्केको थियो भने मूलकोट खुर्कोटहरुमा बाढी पहिरोले मचाएको विध्वंसात्मक बजार नै बगाएको दृश्यले किँकर्तब्य बिमुढ बनायो । नेपालथोकको कुशेश्वर महादेवस्थानको अगाडि भक्तपुरको नासमनाका साहुजीको ढाका टोपी होटलमा तीर्थ यात्राका ब्यवस्थापन पक्षबाट खाना बनाउने कार्य भयो । टोलीमा कुशेश्वर महादेवस्थान दर्शन गर्न जाने भक्तजनहरुले दर्शन गर्न गए। नगएकाहरु त्यहीँ आराम गर्न थाले। १० दिनको ब्यवस्थापन कस्तो हुन्छ ? भनेर ढाका टोपी होटलबाट लख काट्न सजिलो भयो । कुनै यात्रुले धर्मशालामा राख्ने हो कि भनेर सोधिएको प्रश्नहरुको उत्तर दिइरहनु परेन । समझदारी के लिए इशारोँ से काफी, भनेको भनाई साक्षात्कार भयो । चिनी मायालाइ ठाउँहरूको बारेमा चिनाउने प्रयास गरेको थिएँ । सिन्धुली गढी पुग्ने पुग्ने बेलामा उनले सम्झिने क्षमता राखेन । वाकवाकी वमन गर्ने तिर ध्यान केन्द्रित भएको थियो र शारीरिक अवस्था कमजोर भएको थियो । मलाई रमाइलो हुनु पर्नेमा चिन्ताजनक परिस्थिति भयो । चिनीमाया लोलाएकोले मलाइ के गरौ के गरौ भयो । रुपा छोरी बिराटनगरमा आइरहेको भएर छोरीलाई बोलाएर छोरी सँग नाला मै फर्काइ दिउँ कि ! म पनि फिर्ता नै जाउँ कि ! दोधार भएर छोरीलाई फोन गरेको तत्काल छोरी आउन नमिल्ने बुझियो । छोरीले जीवन जल ख्वाउने, औषधि ख्वाउने सल्लाह दिइन । भोलि अवस्था सुध्रिन्छ भनी आश्वास्त पारिन । सल्लाह बमोजिम गरेँ । बेलुका सम्म अवस्थामा केही सुधार देखिएकोले गन्तव्यमा पुग्न सकिने आशा पल्हाएर आयो । खानेकुरा र चिया पूर्व तयारी नभएको स्थानमा दिउँसोको चिया नास्ताको घण्टी बजाउन पुग्यौं । सिन्धुलीको खनिया खर्क, चियाबारी, ढुँग्रेबास, रातमाटा, माढी, भिमान, दुधौली हुँदै उदयपुरको कटारी, गाइघाट अनि चतरा भएर इटहरीमा एउटा सुविधा भएको होटल शुभ प्रभात होटलमा बास बस्न पुग्यौं । हामी मध्यका कोही कोही तीर्थालुहरु इटहरी बजार घुम्न गएका थिए। कोही कोही बिश्राम गर्न बसेका थिए। रमाइलो भान्सामा सहभागिता जनाएर निद्रा देवीसँग लुटपुटिन गयौ । बिहान हाम्रो यात्रा शुरु भयोे। सुनसरी, मोरङ र मेची जाने क्रममा केराबारी देख्दा कर्माचार्य समाज पूर्वाञ्चल क्षेत्रको आयोजनामा कार्यक्रम भएको सम्झना भयो । राजा नरेन्द्रदेव, बन्धुदत्त कर्माचार्य र ललित ज्यापूले कामारु कामाख्य पीठबाट मच्छिन्द्रनाथ नेपालमा ल्याउँदा बास बसेको केराबारीमा, कति भाग्यमानी कति महत्वपूर्ण कति ऐतिहासिक ठाउँ यो । देखेर गर्व लाग्यो । सुन्दर हरैचा, दमक बिर्तामोड हुँदै कन्काई नदीमा स्नान गरी कन्काई माता लगायत बिभिन्न देवी देवताको दर्शन पश्चात भका सँग चिया खाएको पनि सँस्मरणीय भयो । झापाको अर्जुनधारा पूर्वाञ्चलको पशुपति नाथ अर्जुन धारा धाममा सबै तीर्थ यात्रीहरूले भक्तिपूर्वक दर्शन गरे, फोटो सेसन गरे र बिहानको खाना कार्यक्रम त्यहीँ नै भयो । काकडभिट्टा मेची नदी पुग्यौं । आफ्नो मातृभूमि छोड्नु पर्दाको कौतुहलता, कामाख्या देवी माताको दर्शन गर्न जानको लागि आतुरताका साथ चेक पोष्टमा सक्कल नागरिकता लिएर पैदलै अगाडि बढ्यौं । मित्र राष्ट्र भारतको पानी टैंक, सिलगुडी, बग्राकोट ,जलपाइ गुडी शहर बस्ती भूमि भएर आलिपुर जिल्लाको भरदरी हटको तिथि लजमा बस्यौ । सबैको साथ भान्सा लिएर निदायौ । बिहानको चिया नास्ताका साथ बसमा बस्यौँ। बस सिजौगुडी आइ लभ यु बजारमा विहानको खाना तयार गर्ने उद्देश्यले रोक्यो । त्यहाँ तयार भएको खाना खाइवरी बस हुँइकियो । आसाम, गोहाटी, ब्रम्हपुत्र नदिको क्रमशः अवलोकन गर्न पाइयो । गोहाटी महानगरपालिकाको माझबाट माता कामाख्या देवीको दर्शन गर्न जाने हाम्रो अभिष्ट परिपूर्ति गर्नको लागि हाम्रो बस कामाख्या देवी मन्दिर उन्मुख भएर उकालो लाग्यो । मन्दिर नजिकैको हाइटमा एउटा धर्मशाला जस्तो देखिने भवनमा हामी तीर्थालुहरुको बास बस्ने ब्यबस्था भयो । कहिले पुगिने होला भन्ने आतुर मन लिएर सबै नैे मन्दिर परिसरमा पुगे । आ–आफ्नो मनले सोचे अनुसार चाहना अनुसार दर्शन गरे, अवलोकन गरे, केही सामाग्रीहरू खरिद गरे । जे होस मनोकामना पुरा गरे । बिश्राम स्थल गए । केही समयपछि सन्ध्याकालीन आरती अनुष्ठानमा भाग लिन पनि पुगे । रातीको भोजन पश्चात निदाउन खोजेको लामखुट्टेहरुले दुख दिएर अनिदो होला कि, डेँगु होला कि भन्ने त्रासलाई न्यूनीकरण गर्न नजिकैको मिनी मार्केटबाट एन्टी मस्कीटो लिक्वीड किनी ल्याई बाल्यौ । भोलि बिहान सबेरै दर्शन गर्ने हुटहुटिले कोही निदाउन नै सकेन । कोही मध्य राती १ बजे कोही २ बजे कोही ३ बजे नै उठेर कुपन लिएर लामबद्ध भएका थिए । स्वास्थ्यको दृष्टिकोणले कमजोर ब्यक्तिहरुले कूपन लिएर लामबद्ध भएर गर्वगृहमा दर्शन गर्न गएनन । बाहिरबाट नै आफ्ना अनुष्ठानमय भावभक्ति अर्पण गरे । जे होस आएका सबै भक्तजनहरूले आ आफ्नो भावना अनुरुप भाव भक्ति गरे । खाना खाने कार्यक्रम पनि सम्पन्न भयोे । त्यसपछि हाम्रो बस बाहेक स्थानीय सवारी साधन प्रयोग गरेर आसाम जिल्लाको गोहाटी महानगरपालिका भित्रका प्रमुख धार्मीक स्थलहरु ः– सपनेश्वर महादेव उग्रतारा उमा महेश्वर (ब्रम्हपुत्र नदीको माझमा बोटमा चढी जानु पर्ने) मन्दिर गणेश, जग्गनाथ र हनुमानको मन्दिरहरु पनि छन् । भूतनाथ महादेव कालीदेवी महाकाल दुर्गा माता मन्दिर नवग्रह मन्दिर तिरुपति बालाजी भीमाशँकर माता बैष्णोदेवी आदि धार्मिक स्थलहरू, देव देवीहरुको दर्शन एबम अवलोकन गरियो । ब्रम्हपुत्र नदिको सभ्यता नजिकबाट अध्ययन अवलोकन पनि गर्ने स्वर्ण अवसर मिल्यो । बोटबाट यात्रा गर्ने मनोरञ्जनात्मक यात्रा पनि भयो । कतिको लागि त यो नयाँ अनुभवका रुपमा साबित भयो । साँझ झमक्क मात्रा होइन, राती नै भइ सकेको थियो । बैष्णोदेवी माता दर्शन गर्न जाँदा मोजा फुकाल्नै पर्ने, पँचस्नान गरी चोख्याउनै पर्ने, पानीको कृत्रिम मानव निर्मित कुवामा खुट्टा पखाल्नै पर्ने सनातन हिन्दू धार्मिक आचरण पालना गर्नै पर्ने सुसँस्कारको अभ्यास भएको राम्रो लाग्यो । आज २०८१ पौष ८ गते सोमबारको धार्मिक तीर्थ यात्रा समाप्त गरेर हाम्रो बास स्थानमा बास बस्न फक्र्यौं । बेलुका तयार पारिएको खाना खाएर पुनः निद्रा देवीको शरणमा गयौ । २०८१ पौष ९ गते बिहान ५ः०० चिया,अण्डा र बिस्कुट हतार हतारले लिएर बस हुईकियो बिहानको खाना तयार भयो । मुसलमानहरूको हलाहल गर्ने तरीका प्रत्यक्ष दर्शी हुन पायौँ । यहाँ तुलनात्मक रुपमा राम्रो निःशुल्क शौचालयको व्यवस्था भएको पाइयो। गुहाटी, आसाम र आलिपुर जिल्ला भएर पुनः भरदरी हटमा नै बास बस्यौं। तीर्थयात्रीहरु सम्पूर्ण ले खाना खायौं र निदायौँ । भोलिको हाम्रो गन्तव्य सिक्किमको चारधाम भन्दै सबै हौसिएको र रमाएका थिए । पहिले दिनको बिहानी भन्दा पनि सकृयता साथ बेलामै तयारी भएर चिया नास्ता लिएर सबै तीर्थ यात्रीहरू लिएर बस अगाडि बढ्यो । सिक्किमको सिमाना शुरु हुने बितिक्कैको चेक पोष्टमा सबै तीर्थ यात्रीहरूको नागरिकताको प्रमाणपत्रहरु देखाई रुजु गर्यो । तत्पश्चात सिक्किमको मिली भन्ने ठाँउमा बिहानको खाना पकाउने कार्यक्रम भयो । खाना खाइवरी बस हुइकियो। सिक्किमको चारधाममा पुर्याएर प्रत्यकलाइ रु ५०÷– र सहुलियत वालाहरुलाई रु २५÷– रकम तिरी टिकट काटेर सिक्किमको चारधाममा प्रवेस गरी चारधामको तीर्थाटन धार्मिक अनुष्ठान गरे । एकै छिनको लागि भए पनि सम्पूर्ण महानुभावहरु भक्तजनहरूले धार्मिक अनुष्ठान गरे,फोटो सेसन गरे । अवलोकन पश्चात गाडीलई हुइँक्याएर सिक्किमको नाम्ची बजारमा पुर्याए। कौशल होटलमा बास बसियो । यही होटलले वाइफाई कोड उपलब्ध गराएर १÷२ ठाउँमा फोनमा कुराकानी गर्न पाइयो । नाम्ची बजारमा एउटा हेलिप्याड भिआइपीहरुको लागि रहेछ । राम्रै लाग्यो । पहाडै पहाडमा शहर बजारको ब्यवस्थापन कठीन त छ नै तर पनि शहर बजारहरूको उत्साहजनक सन्तोष प्रदान गरिएको थियो । हामी तीर्थ यात्रीहरूको अर्को अवलोकनीय गन्तव्य दार्जिलिङ थियो । सिक्किमको कौशल होटलबाट गन्तव्य तिर अगाडि बढेको हाम्रो बस बिहानको खाना पकाउने तयारीको लागि दार्जिलिङ सिलेरको हबेलीमा अर्थात स्थानीयहरुले कोठी पनि भन्दा रहेछन त्यस स्थानमा बस्यौँ । स्थानीयहरूसँग कुराकानी हाँसीमज्जा फोटो सेसन भयोे, समय त धेरै छिट्टै गएको जस्तो लाग्यो । खाना खाइवरी दार्जिलिङ शहर हेर्न लालायित भएर हामी तीर्थ यात्रीहरूको बस अगाडि बढ्यो । करीब ११ः३० तिर दार्जिलिङको चौराश्ता, गुम्बा निरको ब्यस्त बजारमा पुगियो। यात्रीहरू आ–आफ्नो मनोकांक्षा परिपूर्ति गर्न तिर कोही शप्पिङ गर्ने, कोही साइत सिइङ गर्ने कोही यता न उता भए । समग्रमा दार्जिलिङमा समुहले आशा गरिए अनुसारको परिणाम प्राप्त गर्न सकेनन् । बेलैमा पशुपति नगर छिरी सक्ने हाम्रो लक्ष केही ढीलो भइ सकेको थियो । दार्जिलिङ, सुखियापोखरी दार्जिलिङ, पशुपति नगर नेपालको सिमानामा रहेको प्रवेश द्वार, चेक पोष्ट, पशुपति नगर बजार, फिकल बजार,फिकलको रुम्चेन होटलमा बास, बिहान सूर्योदय नगरपालिकामा रहेको मनमोहक पर्यटकीय स्थल कन्याममा दृश्यावलोकन, विभिन्न भेषभुषामा फोटो सेसन, कन्याम लेखिएको स्थानमा फोटो सेसन, रोङ गाउँ पालिका रोङ कभर्ड हलको अगाडि खाना तयार पार्ने काम भयो यही स्थानबाट इलाम पाथीभरा माताको दर्शन गर्न जाने काम भयो। सक्षम ब्यक्तिको लागि आधा घण्टाको उकालोमा बिराजमान हुनु भएकी पाथीभरा माताको दर्शन गरियो। रोङ गाउँपालिका, बुध्दशान्ति गाउँपालिका, बुधबारे, बुधबारेबाट माइपोखरी जान सकिन्छ। झापाको चारआली, चारआलीमा पाथीभरा माताको पाउको दर्शन गरियो। चारआली पश्चात बिर्तामोड, कन्काई नगरपालिका कन्काई माता, झिलमिले झापा,धरमपुर, कमल गाउँपालिका, दमक, उर्लाबारी मोरङ जिल्ला, उर्लाबारी मँगलबारे, पथरी, शनीश्चरे पथरी, कानो पोखरी, बेलबारी नगरपालिका, बेलबारी लालभिट्टी, सुन्दरहरैँचा, सुन्दर हरैचा खोर्साने, बिराट चोक, सुन्दर हरैचा तलकपुर, सुन्दर हरैचा गछिया, सुन्दर हरैचा दुलारी मोरङ, सुन्दर हरैचा बलिया मोरङ, इटहरी सुनसरी, तरहरा ,धरान बजार हुँदै विजयपुरमा दन्तकाली, बूढासुब्बा र पिण्डेश्वर महादेवको दर्शन गरीवरी धरानको मनमोहन कर्माचार्य दाइ र सबिता कर्माचार्य भाउजुलाइ भेटेर कामाख्या देवीको प्रसाद दियौँ । इटहरिको शुभ प्रभात होटलमा बास बस्न बस हुइकियो । थाकिएका तीर्थ यात्रीहरू खाना खाइवरी सुते । आज २०८१ पौष १३ गते शनिवार बराहक्षेत्र जानको लागि सबै तीर्थ यात्रीहरूको मन रमाइरहेको थियो । बिहान ५ः३० बजे गाडी चलाउने आदेश थियो, तर २ बजे ३ बजे ४ बजे नै सबै उठी सकेका थिए । बिहान ६ः४० बजे बराहक्षेत्र प्रवेशद्वार प्रवेश गर्यौं । ८ः०० बजे पुनः बसमा फर्की सक्ने सुसूचित गरेर सबैलाई अनुरोध गरेका थिए । सबै तीर्थ यात्रीहरूले बराह भगवान, कोका कौशिकी नदी, त्रिबेणी, गुप्त बराह भगवान, बराह क्षेत्र परिसर सबै भगवान देव देवीहरु दर्शनका साथ साथै धेरैले नयाँ अनुभवहरु साटासाट गरे, श्राद्ध गौदान, दान दक्षिणा आदि गरेका थिए । ९ः०० बजे बराहक्षेत्र सँग बिदा माग्दै उदयपुरको बेलकाबाट सिन्धुलीको लागि बस हुईँकियो । उदयपुर बेलका नगरपालिका, बेलका सोमवारे, चक्रपुर, बेलका रामपुर कमलावारी, बेलका रामपुर, लालबजार, जहडा, सुपाडे, चौदण्डी गढी, बर्षे डाँडा, नारदमुनी, आँप डाँडा, भुल्के, बेल्टार, सातघारे, भिमा, खैरा झोरा, फूलजोर, दनुवार चौक, बेलगाछि चौक, त्रियुगा नगरपालिकाको गाइघाट बजार, गाइघाट, झिल्के टोल, राजावास, चुहाडे, आदि बस्ती बस्ती हुँदै भिमानमा चिया नास्ता लिएर कमला माईको दर्शन गरियो । तत्पश्चात सिन्धुली रातमाटा बजारको सिन्धुली गढी दरवार होटलमा बास र खानाको ब्यवस्था भयो । संयोगले सिन्धुलीमा नै वास बस्ने व्यवस्था भएकोले अश्मिता र रबिलाइ भेट्ने इच्छा जागा भएर आयो । रबिलाइ फोन गरेर बोलायौ । घर हेर्ने र अश्मिता, ज्वाइँ रबि र नाति रियानलाई भेट्ने चिनीको इच्छा पनि पुरा भयो । पुन ः सिन्धुली गढी दरवार होटलमा फर्केर आई खाना खायौं। आराम साथ निदायौ । २०८१ पौष १४ गते आइतबार बिहान ४ः३० बजे नै चियापानको लागि राजन साखले बोलाउन आउनु भएको थियो । चिया पिइवरी बसमा बस्यौँ । आज १० औँ दिने तीर्थ यात्राको अन्तिम दिन यात्रुहरुको फरक फरक इच्छा प्रस्फुटन भए । कसैको केही रकम थपेर हलेसीे महादेवको दर्शन गर्न जाने, कसैको चण्डेश्वरी माताको दर्शन गर्न जाने, तर राजन साखले पूर्व निर्धारित कार्यक्रम बाहेक अन्य हेरफेर गर्न नमिल्ने निष्कर्ष दिए पछि सिन्धुली गढी दरवार होटलबाट खुर्कोट बजारमा बिहानको चिया नास्ताको लागि बस रोकियो । खुर्कोट बजारमा मेरो मामाको छोरा रामकुमार श्रेष्ठ र भाइको परिवारलाइ भेट्ने इच्छा सम्भव होला कि जस्तो भएकोले भाइलाइ घरमै भेट्न गयौँ । भाइको राम्रो प्रगति देखेर सुनेर खुसी लाग्यो। तत्पश्चात् बस हुइकिएर कुशेश्वर महादेवस्थानको परिसरमा बस रोके पछि तीर्थ यात्रीहरूलाइ कुशेश्वर महादेवस्थानको दर्शन गर्न खातिर पठाउनु भएर ब्यवस्थापन समुह खाना तयार गर्न ढाका टोपी होटलमा जानु भयो । सम्पूर्ण सहभागीहरुले आफ्नो मनोकाङ्क्षा अनुरुप महादेवको दर्शन गरीवरी खाना खाए । तत्पश्चात करीब १० बजेतिर बनेपा तिर हुइँकिएको बस १ः३० बजे बनेपा नाला दोबाटोमा रोकियो । पूर्णबहादुर कर्माचार्य, रामचन्द्र श्रेष्ठ, राजमाया श्रेष्ठ,चिनीमाया कर्माचार्य र म सिध्दिबहादुर कर्माचार्य ओर्लियौं । नालाको बसमा बसेर घरतिर लाग्यौं । यस तीर्थ यात्रा सम्बन्धि मैले आफ्नो जिज्ञासा राख्नु पर्दा निम्नानुसार अनुभूति भएको उल्लेख गर्दछु । १) संयोजक अर्थात ब्यवस्थापक सन्तोषजनक छ । २) बस चालक राम्रो अनुभवी छ । ३) बिहान बेलुकी आफ्नो ब्यवस्थापनमा खाना पकाउने, ख्वाउने राम्रो छ । चियापान, खाजा नास्ताको ब्यवस्थापन सन्तोषजनक हुन सकेन । ४) इटहरीको शुभ प्रभात होटल एण्ड लज, भरदरी हटको तिथि होटल, रिन्छेन होटल एण्ड लज, सिन्धुली गढी दरवार होटलको ब्यवस्थापन सन्तोषजनक लाग्यो, सिक्किमको कौशल होटल मध्यम छ भने कामाख्या देवी मन्दिर सँगैको धर्मशाला हो कि लजको ब्यवस्थापन सन्तोषजनक हुनै सकेन । ५) कामाख्या देवी मन्दिर परिसरमा पानीको अत्यन्त अभाव देखियो । भ्रमणीय स्थानहरु सफा सुग्घर, शौचालयहरुको सुविधा भएको भेटाउन कठीन भयो । ६) आशातित देव देवीहरुको दर्शन करीव राम्रो नै भयो। तर यस्लाइ सूची बनाएर सबै तीर्थ यात्रीहरूलाइ पूर्व पूर्ण जानकारी गराएर कार्य सम्पादन गरिएमा थप सन्तोषको अनुभूति हुने थियो । ७) गोहाटी शहरको बजार क्षेत्र घुमाएर अवलोकन गराइ दिएको भए राम्रो हुन्थ्यो । ८) यात्रा सफलतापूर्वक सम्पन्न भएकोमा सम्पूर्ण तीर्थ यात्री मित्रहरू, ब्यवस्थापन समुहका सम्पूर्ण मित्रहरुलाइ हार्दिक धन्यवाद दिन्छु । ९) सम्पूर्ण तीर्थ यात्रीहरू र ब्यवस्थापन समुहका मित्र हरुको जय होस ।
