भर्खरै निस्किएका पुस्तकमध्ये सुधीर शर्माका दुई पुस्तक ‘भिक्षु, व्यापार र विद्रोह ः नेपालको भोट–चीन सम्बन्ध र भारत’ अनि ‘हिमालपारिको हुरी ः गणतन्त्रपछि फेरिएको नेपाल–चीन सम्बन्ध’ पढ्न मन लागिरहेको छ । त्यसैगरी, मनमोहन विक्रम सिंहको ‘जलजला’प्रति पनि मेरो ठूलो रुची छ । ‘जलजला’ निस्कँदै छ भन्ने कुरा मैले १०–१५ वर्षअघि सुनेको थिएँ । जलजला र मोहन विक्रम सिंहको प्रेमसम्बन्धबारे जानकारी भएकाले यो पुस्तकप्रति मेरो विशेष चासो छ । यस्ता अन्य धेरै पुस्तक पनि पढ्न बाँकी छन् । फिक्सन पढ्ने कि नन–फिक्सन ? पढ्ने, लेख्ने र पढाउने पेसा त्यसमा पनि मेरो रुचि प्रायः इतिहास र संस्कृतिका विषयमा भएकाले मेरो सिफारिस एक पक्ष हुन सक्छ । यसकारण मेरो सिफारिस धेरैजसो नन–फिक्सनतर्फ झुकेको हुन सक्छ । पाठकहरूले आफ्नो रुचीअनुसार पुस्तक खोज्न सक्नुहुन्छ । मैले एक नम्बर सिफारिस गर्दा डेभिड राइकको ‘हु वी आर एन्ड हाउ वी गट हियर’ र टम हाइमको ‘द वल्र्ड बिफोर अस’ छन् । नेपालीमा बीपी कोइरालाको ‘आत्मवृत्तान्त’, जसले तत्कालीन समयमा नेपाली समाजको नेतृत्वले लोकतन्त्रका लागि गरेको संघर्षको कथा भन्छ । जनकलाल शर्माको ‘हाम्रो समाज ः एक अध्ययन’ पनि राम्रो छ । ‘माधवी’ मेरो अहिलेसम्मको मनपरेको फिक्सन भएकाले यो पनि सिफारिस गर्दछु ।
