यतिखेर प्यालेष्टिनी र इजरायलीहरु लडिरहेका छन्, रुसी र युक्रेनीहरु लडिरहेका छन् । ती लडाईहरु कसका हुन् ? निश्चयनै युक्रेनी र प्यालेस्टिनीका हुन् । भारतीय, नेपाली वा अरु कसैका होइनन् । अर्थात जसले हतियार उठाउँछ, युद्ध त्यसैको हो । नेपाली जनताले लडेको युद्ध, नेपाली जनताको नभए कसको हो त ? जनताले लडेको युद्ध जनयुद्ध नभए के हो त ? जनयुद्धलाई जनयुद्ध होइन भन्नु जनताको अपमान हो कि होइन ? जनताको अपमान गर्ने अधिकार न्यायालय र न्यायाधीशलाई हुन्छ कि हुदैन ? न्यायालय न्यायका लागि स्थापना भएको हो भने सत्यको विपक्षमा उभिएर जनविरोधी निर्णय गर्ने अधिकार न्यायाधीशहरुलाई कसले दियो ? कुन कानुनले भन्दोरहेछ जनयुद्ध होइन भनेर ? !! कानुनमा नभएको कुरो गर्न कुन नैतिकताले अनुमति दियो होला ?!! न्यायालयको भाषामा कुन कित्ताको मान्छेले हतियार उठाएको भए त्यो जनयुद्ध हुँदोरहेछ ?! मर्कामा परेको पंक्तिले हतियार उठाएको हो । लुटिखाने वर्गको विरुद्धमा उठाएको थियो । लुटिने पिसिने समाजको पिँधमा बस्ने जनताले हतियार उठाएको हो । युद्धमा १७ हजार नेपालीहरु मरे मारिए भनेर हजारचोटी फलाकिंदै छ । ती नेपालीहरु युद्धमा मरेका हुन् कि भिरबाट लडेर मरेका हुन् ? अथवा हैजाले मरेका हुन् ? महामारीले होइन, युद्धमा मरेका मारिएका हुन् भने ती को हुन् ? नेपाली होइनन् ?! मारिनेहरु, लड्नेहरु नेपाली जनता थिएनन् ? युद्धमा सहादत हुने सपुतहरुलाई नेपाली जनता होइनन् भन्न पाइन्छ । नेपाली जनता थिए भने तिनले लडेको युद्ध जनयुद्ध नभएर के थियो त ? सत्र हजार सबैले झुण्डिएर आत्महत्या गरेका हुन् ? न्यायाधीशहरुको दृष्टिमा गरिब निमुखा उड्पीडित शोषित मानिसहरु जनताको कोटीमा नपर्दा पो रहेछन् कि ? संविधानको परिशिष्ट हेर्ने फुर्सद न्यायाधीशहरुलाई नभएर पो हो कि ? शब्दकोषहरु नहेरेका होलान् कि ? हतियार उठाउनेहरु खसोखास नेपाली जनताहरु नै थिए । जनताले हतियार उठाएकै हुन् । हो, जनताको हतियार सत्ताको विरुद्ध उठेको हो । सत्तासँग लड्न तम्सनेहरुको नागरिकता खोस्नु पर्ने हो भने त ठिकै होला ! होइन, त्यसो गर्न पाइन्न भने तिनलाई जनताबाट बेदखल गर्न मिल्ला त ? जनतालाई विद्रोह गर्ने अधिकार छ भने त्यो जनयुद्ध नै थियो । कसैको आग्रहले त्यो सत्य कदापि फेरिंदैन, फेरिन सक्दैन, फेर्न पाइदैन चाहे त्यो सर्वोच्च अदालत नै किन नहोस् । युद्धसंग असहमत हुन सकिन्छ । युद्धको लक्ष र उद्देश्यसंग विमति राख्न पाइन्छ । अनावश्यक मान्न र भन्न पनि सकिन्छ । तर युद्धलाई युद्ध होइन भन्न पाइन्न । युद्धमा सामेल हुने जनतालाई जनता होइनन भन्न पनि पाइन्न । अनि जनताले लडेको युद्धलाई जन्युद्ध होइन भन्न कसरी सकेका होलान् ???
