IMG-LOGO

नेपाली साँच्चै निराश छन् ?

 मंगल, पौष ९, २०८१  – विनोद सिजापती

                 नेपाल भन्नासाथ विश्वभर गौतम बुद्धको जन्मभूमि, सर्वोच्च शिखर सगरमाथा भएको शान्तिपूर्ण देश भनेर चिनिन्छ । नेपाली भन्नेबित्तिकै हँसिलो मुहार भएका, अनुशासित, मैत्री, इमानदार, परिश्रमी तथा बहादुर आदि विशेषण जोडिन्छ । बर्षेनि प्रकाशन हुने ‘विश्वका खुशी राष्ट्र’ प्रतिवेदनअनुसार दक्षिण एशियाको सबैभन्दा खुशी राष्ट्र नेपाल हो । विश्वका ४१ राष्ट्रहरू हामीभन्दा कम खुशी छन् भने ९२ बेसी । खुशी राष्ट्रको अग्रपंक्तिमा रहेका राष्ट्रहरू उच्च आय हुने राष्ट्रको अग्रपंक्तिमा पर्छन् ।                नेपाली अर्थतन्त्रको आकार ९५ राष्ट्रहरूभन्दा सानो छ । प्रतिव्यक्ति प्रतिवर्ष आयलाई मापदण्ड मान्दा संसारमा नेपालको स्थान १५५ औँ मा पर्छ । अर्थात् १५४ अन्य राष्ट्रवासीको औसत आय नेपालीको भन्दा उच्च छ । केवल ४३ अन्य राष्ट्रवासीको आय नेपालीको भन्दा कम छ । नेपालको स्थान ५० सबैभन्दा विपन्न राष्ट्रको ४१औँ पंक्तिमा पर्छ ।                संयुक्त राष्ट्रसंघले बर्षेनि मानव विकास प्रतिवेदन प्रकाशित गर्दै आएको छ । औसत राष्ट्रिय जीवन (आयु), शिक्षा तथा जीवनस्तरलाई आधार तुल्याएर निर्माण गरिन्छ त्यस्तो प्रतिवेदन । यस प्रतिवेदनअनुसार सन् १९९० मा मानव विकास सूचक ०.३७८ हुँदा नेपालको स्थान १२३ थियो । सन् २०२२ मा मानव विकास सूचक ०.६०२ पुग्दा हामी १४६औँ स्थानमा प¥यौँ । यस मापनअनुसार विश्वमा नेपालभन्दा १४५ राष्ट्र समृद्ध छन् ।                सन् १९९० मा समस्त विश्वको ३६ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि (दैनिक १.९० डलर) थिए । सन् १९९५ मा गरिएको अध्ययनअनुसार नेपालको ४० प्रतिशत जनसंख्या गरिबी रेखामुनि भएको अनुमान गरिएको थियो । वर्तमान कालखण्डमा विश्वको आठ प्रतिशत जनसंख्या गरिबीको (दैनिकी २.५ डलर) रेखामुनि रहेको अनुमान गरिन्छ । नेपालको भने २० प्रतिशत अनुमान गरिएको छ ।                विगत ३३ वर्ष (सन् १९९० देखि २०२३) को अवधिमा विश्व अर्थतन्त्रको आकार पाँच गुणाले बढ्यो । यस अवधिमा प्रतिव्यक्ति वार्षिक औसत आय तीन गुणाले बढेको छ । उक्त अवधिमा नेपालको अर्थतन्त्रको आकार १२ गुणाले र प्रतिव्यक्ति प्रतिवर्ष आयचाहिँ आठ गुणा बढ्यो । सन् १९९० मा नेपालको प्रतिव्यक्ति प्रतिवर्ष १६४ अमेरिकी डलर थियो भने विश्वको औसत चार हजार ३११ थियो । सन् २०२३ मा नेपालीको औसत आय एक हजार ३२४ थियो भने विश्वको १३ हजार १३८ डलर पुग्यो ।                विपन्नतामा पिल्सिँदा पनि खुशी हुनेमा नेपाल ठहरिन्छ । विपन्नताले खुशियाली खोस्न नसक्नुका अनेक कारणमध्ये भाग्यवादी मनोविज्ञान एक हो । पहिलेपहिले मुसुक्क हाँस्दै ‘भाग्यमा दुःख पाउनु लेखेको रहेछ’ भन्ने गर्थे धेरै मान्छेहरू । तर अहिले ‘कर्मको फल‘ अथवा ‘लेखेकै पाइने हो’ भन्ने भाग्यवादी सोचप्रति मान्छेको विश्वास घट्ने क्रममा छ । मिहिनेत तथा परिश्रमबाट भाग्य निर्धारण हुन्छ भन्ने धारणाले अन्धविश्वास आधारित पूर्वमनोविज्ञानलाई विस्थापित गर्दै छ ।                एशिया फाउन्डेसनको सौजन्यमा सम्पन्न ‘ए सर्भे अफ दि पिपुल अफ नेपाल २०२२ का अनुसार सन् २०२० मा ६६ प्रतिशत नागरिक देश सही दिशातर्फ उन्मुख हुँदैछ भन्नेमा ढुक्क थिए । भविष्य उज्ज्वल हुनेमा दुई तिहाइ नागरिक आश्वस्त थिए । दुई वर्षपश्चात् अर्थात् २०२२ मा गरिएको अध्ययनले त्यसरी भविष्यप्रति ढुक्क हुनेको संख्या घटेर ४१ प्रतिशत पुगेको देखाउँछ । यस निष्कर्षलाई ‘विश्व खुशी राष्ट्र’को पंक्तिमा नेपालको स्थान खस्किएको पुष्टि गर्छ । सन् २०२३ मा  नेपालको स्थान ७८ औँ थियो । सन् २०२४ मा घटेर ९३ औँ मा पुगेको छ । खुशी महसुस गर्नेभन्दा दःुखी हुने नागरिकको संख्या बढ्ने क्रममा छ ।                धेरै हदसम्म विकास प्रक्रिया पारदर्शी हुन्छ । कुनै पनि राष्ट्र, शहर तथा ग्रामीण भेगमा पुग्नेबित्तिकै सामान्यतः त्यहाँको विकासको (संकेत) स्तर देखा पर्ने गर्छ । पूर्वाग्रहपूर्ण दृष्टि नराखी हेर्ने हो भने नेपालमा भएका परिवर्तन सराहनीय छन्, प्रस्टै देखिन्छन् । विगत तीन दशकको अवधिमा घरपरिवारको जीवनस्तर, शिक्षा, स्वास्थ्यलगायत भौतिक पूर्वाधार आदि क्षेत्रमा परिवर्तन भएका छन् । समग्रमा भन्ने हो भने आजका दिनजस्तो नेपालीको जीवनस्तर विगतमा कहिल्यै थिएन ।                 नेपालले हासिल गरेको आर्थिक सामाजिक तथा भौतिक क्षेत्रका उपलब्धिलाई तीव्र उन्नतितर्फ अग्रसर हुँदै गरेको राष्ट्रहरूसँग दाँज्दा मात्रै हो ओठ लेब्रिने । विगत तीन दशकको अवधिमा धेरै राष्ट्रले हाम्रो दाँजोमा अत्यधिक उन्नति गरिसके । युद्धपीडित भियतनाम, कम्बोडियादेखि सोभियत साम्राज्यअन्तर्गत कुण्ठित अवस्थाका अजरबैजान, अर्मेनिया, जर्जियालगायत पूर्वी युरोपेली राष्ट्रहरूले अकल्पनीय उन्नति गर्न सफल भए ।                छिमेकी राष्ट्र बांग्लादेश मात्र होइन, बिहार, झारखण्ड, उडिसा तथा उत्तर प्रदेशलगायत भारतका अत्यन्त कम विकसित राज्यले समेत हामीलाई पछाडि पार्दै छन् । अर्को कुरा, अधिकांश नेपाली अन्यत्र हुँदै गरेका उन्नतिका विषयमा अनभिज्ञ छैनन् । विदेशमा आवतजावत गर्ने नेपालीको संख्या बढ्दो छ । विदेश नपुगेकाले पनि टेलिभिजनको पर्दामा अन्य राष्ट्रको अवस्था देखेका हुन्छन् । अरूको तीव्र गतिमा भएको परिवर्तनको तुलनामा आफ्नो मुलुक पछाडि परेको देख्दा मन अमिलिनु स्वाभाविक हो ।                देशको भविष्य उज्ज्वल तुल्याउने अभिभारा राजनीतिक नेतृत्वको हो । हिजोभन्दा भोलिका दिन उत्साहवद्र्धक हुनेछ भन्ने आशा जगाउने दायित्व बहन तिनले गर्नुपर्ने हो । नेपाली नेता आशाको दियो बाल्न तँछाडमछाड गरेर लागि पर्छन् तर दियोमा आगो सल््काएर तिनी हराउँछन्, एकैछिनमा दियो निभिसकेको हुन्छ । जनसमक्ष बाँडेको आश्वासनलाई वास्तविकतामा परिवर्तन गर्ने अग्रसरतामा उनीहरू चुक्दै आएका छन् ।                निर्वाचनको पूर्वसन्ध्यामा आकाशपाताल छुने गफ चुट्दै मतदातालाई मन्त्रमुग्ध तुल्याइदिन्छन् । ‘सम्भावना नै सम्भावना भएको देश’को रटान दिँदै लगातार दुई अंकको आर्थिक वृद्धिदर हासिल हुने सपना देखाउँछन् । एकै पुस्तामा निम्न आय भएको देशलाई उच्च आय भएको विकसित राष्ट्रमा परिवर्तन गर्ने ओठे वाचा गर्छन् । तर आफ्नै प्रतिबद्धताप्रति दायित्व बोक्ने नेताको सिलो पनि भेटिँदैन । यसो भएपछि ‘के–के नै होला’ भनेर अपेक्षा पाल्ने नागरिकको हातमा शून्य पर्छ । त्यसले निराशा फैलाउनु स्वाभाविक हो ।                 सेवाग्राहीलाई नियतवश हन्डर खुवाउने संस्कार हाबी हुँदै जाँदा स्वाभिमानी नेपालीका निमित्त देश ‘हन्डरल्यान्ड’मा परिणत भएको छ । सरकारलाई कुत तिर्नकै निमित्त समेत बिचौलिया मार्फत ‘अतिरिक्त शुल्क’ नजराना बुझाउनु अनिवार्य हुन्छ । साधारणभन्दा साधारण काम फत्ते गर्न कतिपय सरकारी कार्यालयमा बिचौलियाको सेवाशर्त अनिवार्य हुन्छ । नियतवश सिर्जना गरिने ढिलासुस्तीको चक्रव्यूहमा फसेपछि जो कोही निराश हुनु स्वाभाविक हो ।                राज्यले खरिद गरेका सियोदेखि हवाईजहाजसम्म प्रायः सबै विवादित हुने गर्छन् । निर्माणसम्बन्धी ठेक्कापट्टा भ्रष्टाचारकै कारण समयमा समापन हुँदैनन् । झाँगिएको भ्रष्टाचार, जबाफदेहिता विहीन शासनप्रणाली, जिम्मेवार (बहन गर्नेले) उत्तरदायित्व बहन नगर्ने संस्कारबाट नागरिक आजित छन् । राजनीतिक नेतृत्वको आडमा कानूनी राज्यप्रणालीको जग हल्लाई दिने घटनाका कारण देश समृद्धिको गन्तव्यतर्फ उन्मुख हुँदैछ भन्ने विश्वास समाजबाट लोप हुँदै गएको छ ।                 सामाजिक सञ्जाल तथा राज्यको चौथो अंग मानिइने सञ्चारमाध्यमको भूमिका देशमा निराशा फैलाउन सहयोगी (अग्रसर) हुँदैछ । सञ्चारमाध्यमले देशमा मत सिर्जना गर्छ, भाष्य निर्माण गर्छ । विडम्बना “कागले कान लग्यो” भन्ने सुन्नासाथै कागको पछि लाग्ने संस्कार हाबी हुँदैछ । प्राप्त सूचनालाई सही तथा गलत मूल्यांकन गरेर मात्र प्रसारण गर्ने कार्य बिरानो हुन थालेको छ । घटनालाई सनसनीपूर्ण तुल्याउन सत्य लुकाउँदै, तोडमोड गर्दै सूचना प्रस्तुत गर्न सञ्चारमाध्यमको उपयोग हुन थालेको छ ।                पेसागत इमान छाडेर समाचार सम्प्रेषण गर्दा त्यसबाट समाजमा पर्ने असरबारे थोरै सञ्चारकर्मीहरूले ध्यान दिने गरेका छन् । नेतृत्वको इसारामा ‘ हँमाथि हँ’ थप्ने पत्रकारको संख्या बढ्दो छ । बिहान बोलेको दिउँसो बिर्सने तथा दिउँसोको बचन घाम डुब्नुअगावै बदल््ने पात्रका भनाइले मिडियामा प्राथमिकता पाउँदा सर्वसाधारण नागरिक रनभुल्लमा मात्रै पर्छन् ।                अध्ययनहरूले देशमा सबैभन्दा बढी निराश १५–४० वर्ष उमेरसमूहका व्यक्ति भएको देखाउँछ । त्यसो हुनाको प्रमुख कारण मडारिँदै गरेको कालो बादलमा चाँदीको घेरा देखा नपर्नु हो । प्राय सबै युवालाई आफ्ना अभिभावकभन्दा आफूले बढी उन्नति गर्न सक्छु भन्ने विश्वास हुन्छ । नेपाली समाजमा त्यो विश्वास गर्ने वातावरण टाढिँदै गएको छ । चार–छ लाख युवा बर्षेनि रोजगारीका निमित्त बजारमा उपलब्ध हुने गर्छन् । औसत वार्षिक नयाँ उत्पादनशील रोजगारीका अवसर भने ४०–५० हजारभन्दा कम हुने गर्छ । उत्पादनशील रोजगारीको अभावमा भविष्य उज्ज्वल देख्न कसैले पनि सक्दैन । श्रोत ः उकालोबाट  

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्