अस्ति घटस्थापना संगै यो सालको बडा दशै हाम्रो घर भित्र छिरीसकेको छ । हाम्रो जिन्दगीमा अरु दशै भन्दा यो दशै निरस छ । कोरोना भाइरसका कारणले यो दशै खल्लो मात्र होइन कतिका लागि दशा भएको छ। कोभिडको औषधि नभएकोले सबै सजग र सतर्क हुन आवस्यक छ । सरकारले जो जहाँ छ त्यहीँ बसेर दशै मनाउन आग्रह गरेको छ । रोगको महामारीका कारण हामीले सरकारले भनेको मान्नुपर्छ । यो रोगलाई हामीले जित्न सक्यौं भने दशै अर्काे सालपनि आउँछ । अर्को साल रम्दै मनाउँला । सदाको झैं शरद ऋतुको यो मनमोहक मौसम बेग्लै रौनक त छ तर होशियार हुनुपर्छ । दशै भन्नासाथ नीलो आकाशमा चंगा उडाउने पिङमा मच्चिने र शहरमा अस्थायी बसोबास गर्नेहरु घर(गाउँ) फर्किने हो । आफ्नो घर–आँगन सफा बनाएर घरको भित्ता रंगाएर दशैलाइ आमन्त्रण गरिने यो दशै अरु दशै भन्दा फिक्का छ । दशैको फुलपाती देखि टीकासम्म हरेकको भान्सामा थरिथरिका परिकार पाकिरहेका हुन्छन् तर यो पल्ट सबैलाइ सकस छ । सर्वत्र उल्लास छाउने दशंै जताततै मुर्दा शान्ति जस्तो देखिन्छ । अहिले दशै अरु बेलाको दशै भन्दा २५ दिन पछि परेर होला त्यसैले त, दशैं गएको जस्तो छ मौसम पनि । सद्भावको चाँड । एकताको चाँड । हरेक नेपालीलाई एकाकार गर्ने चाँड । अर्थात् दशैं । असोज शुक्ल प्रतिपदादेखि दशमीसम्म १० दिन पूजापाठ, ब्रतसाथ मनाइन्छ, यो पर्व । घटस्थापनामा जमरा राखी नवमीसम्म दुर्गा सप्तसती (चण्डी) पाठ गरी नवदुर्गा र शक्ति स्वरुपा महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा सहित प्रसादका रुपमा टीका र जमरा ग्रहण गरिन्छ । दशैंको महत्व असत्यमाथि सत्यको जित हुन्छ भन्ने मनो–सामाजिक सन्देश बोकेको यो चाडको आफ्नै विशिष्ट महत्व छ । धार्मिक, सामाजिक, आर्थिक, सांस्कृतिक जुनसुकै कोणबाट दशैंको महिमा गाउन सकिन्छ । वर्षदिनमा आफन्त, इष्टमित्रबीच सौहाद्रपूर्ण सम्बन्ध स्थापित गर्ने मेलो हो यो । दशैंले ठूलाबडा, मान्यजनप्रति श्रद्धाभाव राख्नुपर्छ भन्ने सिकाउँछ । यतिबेला दुर्गा पूजा गरिन्छ । दुर्गा शक्तिकी प्रतिक । हामीकहाँ तिहारमा लक्ष्मी अर्थात् धनकी देवी, सरस्वती पूजा अर्थात् विद्याकी देवी र दशैंमा दुर्गाको पूजा गरिन्छ । वास्तवमा, यी तीन कुरा अर्थात् शक्ति, विद्या र धन हाम्रो जीवनका लागि महत्वपूर्ण हुन्छन् । दशैं वा बडा दशैं (अन्य नामः– दशहरा, विजया दशमी नवरात्र आयुध)पूजा नेपालीहरूको प्रमुख चाँड मानिन्छ । राष्ट्रिय चाड समेत मानिने दशैं (नवरात्र) हिन्दु धर्मवलम्बीहरूले आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमी सम्म (नवरात्रभर) शक्तिको आराधना गरी दशौँ दिन विहान दशमीका दिन आफूभन्दा ठुला मान्यजनहरूको हातबाट टीका–प्रसाद ग्रहण गरेर विशेष रूपमापूर्णिमा सम्म (प्रसाद ग्रहणका लागि)मनाउने गर्छन् । आश्विन शुक्ल प्रतिपदा (घटस्थापना)मा जमरा राखी नवमीसम्म नवरात्र विधिले प्रत्येक दिन फरक देवीहरूको पूजा हुन्छ । प्रतिपदा देखि क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघन्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी, सिद्धिदात्री गरी नवदुर्गाको पूजा गर्दै सप्तशती (चण्डी) पाठ गरी नव दुर्गा र त्रि–शक्ती महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा र आराधाना गरिन्छ । विजया दशमी को दिन भगवतीले दानवी शक्तिमाथी र रामले रावनमाथी विजय हासिल गरेको उपलक्ष्य र खुसीयालीमा नवदुर्गा भवानीको प्रसाद स्वरुप रातो टिका र जमरा लगाउने चलन छ । बताइन्छ कि रामले यसै दिन रावणको वध गरेका थिए । यसलाई असत्य माथि सत्यको विजयको रूपमा लिईन्छ । यसकारण, यस दशमीलाई विजया दशमी भनिएको हो । वरपरका मानिसलाई समेत सजिलो होस् भन्ने हेतुले यो कार्य पूणिर्मा सम्म गरिन्छ । आफ्ना नाता कुटुम्ब ठुला बडा र मान्यजनबाट टिका तथा जमरा लगाउने र आशीर्वाद प्राप्त गर्ने नयाँ नयाँ कपडाहरू लगाउने, आफ्नो क्षमता अनुसार मिठो खाना खाने–ख्वाउने, घर आँगन, बाटोघाटो, गाँउ बस्ती सफासुग्घर राख्ने जस्ता काम यस चाँडमा विशेष उत्साहका साथ गरिन्छ । दशैँ हिन्दु संस्कृति वीरताको पूजक अनि शौर्यको उपासक हो । दशैंको विधि नेपालीहरुको ठूलो चाँड हो दशैं । माता दुर्गाको उपासना र पूजा अर्चना गरी यो पर्व मनाउने गरिन्छ । घटस्थापनादेखि सुरु हुने दशैं कोजाग्रत पूणिर्माका दिनमा समापन हुन्छ । घटस्थापनादेखि पहिलो नौ दिनसम्म नवरात्री पूजा गरिन्छ । दशमी अर्थात विजयादशमीको दिन आफन्त, इष्टमित्र भेला भएर दुर्गा पूजा गर्ने । मान्यजन तथा आफूभन्दा ठूलाबाट टीका थाप्ने, आशिर्वाद लिने गरिन्छ । दशैंमा टीका लगाउँदा श्लोक यस्तो छ, आयूद्रोणसुते श्रीयम् दशरथे शत्रुक्षयम् राघवे ऐश्वर्यम् नहुषे गतिश्च पवने मानञ्च दुर्योधने दानम् सूर्यसुते बलम् हलधरे सत्यञ्च कुन्तीसुते विज्ञानम् विदुरे भवन्तु भवताम् कीर्तिश्च नारायणे यसको अर्थ हो, द्रोणपुत्र अश्वत्थामाको जस्तो लामो आयु, दशरथ राजाको जस्तो सम्पति, रामको जस्तो शत्रु नाश, नहुष राजाको जस्तो ऐश्वर्य, पवन पुत्र हनुमानजस्तो गतिशील, दुर्येाधनको जस्तो मान, सूर्यपुत्र कर्णजस्तै दानवीर, बलरामको जस्तै बल, कुन्तीपुत्र युधिष्ठरको जस्तो सत्यवाद, विदुरको जस्तो ज्ञान र भगवान नारायणको जस्तो कीर्ति प्राप्त होस् । दशैंको टीका दशैंमा मान्यजनबाट आशिर्वाद लिन निधारमा टीका थाप्ने गरिन्छ । रातो र सेतो अक्षताको टीका लगाउने चलन छ । टीकालाई चेतनासँग जोडेर पनि हेर्ने गरिन्छ । साथै, रातो र सेतो शान्ति एवं समृद्धिका प्रतीक हुन् । यसले मस्तिष्क, मन र बिचारलाई शुद्ध तुल्याउँछ । दशैंमा टीका लगाइदिने र जमरा राखिदिने चलन छ । जमरा घटस्थापनाको दिन राखिन्छ । यसको आफ्नै विधि छ । अँध्यारो स्थान, जहाँ सूर्यको प्रकास आउँदैन, त्यहाँ शुद्ध माटोमा जौ छरेर जमरा उमारिन्छ । धर्मशास्त्रहरुले यसलाई समृद्धिको प्रतीक मानिएका छन् । खासमा भन्ने हो भने जमरा पौष्टिक खाद्यपदार्थ हो । यसमा कार्बोहाइड्रेड, प्रोटिन र भिटामिनहरु पाइन्छ । जमरा वा यसको रस निकै स्वास्थ्यबद्र्धक मानिन्छ ।
