राज्य जनताको अभिभावक बन्न सक्नुपर्छ न कि व्यवस्थापक । नेतृत्वसँग नैतिक पुँजी र इच्छाशक्ति भए जनविश्वास पाएर देश जुरुक्क उठ्छ । सुन र नुनको खानीको ‘भोट’लाई हामी पहिले ‘लाम्कानेको देश’ भन्थ्यौँ । भोटेहरू भेडाका बथान लिएर काठमाडौँ आउँथे । पछि अरनिको राजमार्गमा काम गर्ने चिनियाँ प्राविधिकसँग नेपालीको व्यावहारिक अन्तरघुलनले भोटका बारेमा कैयन् मिथक तोडिँदै गए । हरेक शनिबार पाँचखाल, काफलेडिहीमा देखाइने चिनियाँ डकुमेन्ट्रीको भाषा बुझिन्थेन, तर तिनले चीनबारे एउटा धारणा बन्दै गयो । ‘चीन सचित्र’ र ‘रेडबुक’ उतिखेर नेपालमा छ्यासछ्यास्ती पाइन्थे । पछि चिनियाँ सहयोगमा कोदारी बाटो बन्यो । त्यसलाई लिएर भारतीय पक्षको विरोधलाई राजा महेन्द्रले ‘कम्युनिष्ट गाडी चढेर आउँदैन’समेत भने अरे । समयले हुत्याउँदै लाँदा भारतीय नक्सल आन्दोलनमा संलग्न गुरु प्रोफेसर हिलारियन पिटरदास मार्फत चिनियाँ साहित्य पढ्न पाएँ । त्यसबेला चीनमा सांस्कृतिक क्रान्ति चलिरहेको थियो । पेकिङ रेडियो निरन्तर सुन्ने गथ्र्यौ । रेडियोले नक्सल आन्दोलनलाई ‘वसन्तको मेघ गर्जन’ भनेको थियो । संसारकै कम्युनिस्ट आन्दोलन सोभियत रुस र चिनियाँ पक्षमा विभाजित थियो । नेपालमा पनि कम्युनिष्टहरू दुई धारमा बाँडिए । ‘सत्ता बन्दुकको नालबाट जन्मिन्छ’ भन्ने माओको कथनले विश्वका कम्युनिस्ट संगठनमा छापामार–गुरिल्ला युद्ध या दीर्घकालीन जनयुद्ध कार्यनीतिक सिद्धान्त बन्दै गए । नक्सलबाडी, झापा विद्रोह, गोन्जालो नेतृत्वको साइनिङपाथको ‘जनयुद्ध’ र नेपाली माओवादी ‘जनयुद्ध’समेत त्यही ‘ह्याङओभरको उमंग’ थियो । म पनि आफ्नो माउपार्टी (माओवादी) को धारणा बोक्दै सांस्कृतिक क्रान्तिको पक्षधर बनेछु । २०३७ सालमा नेकपा चौथो महाधिवेशन (चौम) ले चीनको सांस्कृतिक क्रान्तिलाई प्रतिक्रान्ति भन्न पुग्यो भने मालेले परिवर्तनलाई समर्थन ग¥यो । चौमको विकसित रूप मसाल र माओवादी थियो भने मालेबाट एमाले बन्यो । हामी उतिखेर साम्यवादको कल्पनामा गीत गाउन थालिसकेका थियौँ ः लेउ विचार माओको, बुद्धी लेउ चाओको । बसी खाने साहुको, नछोड है, फोर टाउको । हामी चिनियाँ साहित्य पढ्थ्यौँ । युवाका गीत, रातो चट्टान, रातो लालटिन, ह्वाङहोका गीतजस्ता सिर्जना नेपालीमा अनुवाद भइसकेका थिए । लुसुन र याँङ मोका साहित्य पनि नेपालमा पाइन्थे । नेपालमा उपलब्ध हुने चीन सचित्र र पेकिङ रिभ्युजस्ता पत्रिकाले राजनीतिक सोच राख्थे । इशापूर्व पाँचौँ सदीको सन्जुको ‘आर्ट अफ वार’ त पछि जनयुद्धमा सैन्यको मूलग्रन्थ नै बन्यो । अध्यात्मवादीले सोच्नेजस्तै ‘स्वर्ग’ चीन र एकछत्र नायकका रूपमा जनयुद्धताका माओत्सेतुङलाई सोचिन्थ्यो । यतिखेर कल्पनाको त्यही स्वर्ग चीनमा छौँ हामी । पुष्पनगरी ग्वाङजाउ (क्यान्टन)बाट छिङहाई प्रान्तको राजधानी छिनिङमा । चीनको २२ प्रदेशमध्ये एक प्रदेशको राजधानी–शहर तिब्बती पठारमा छ । ‘विश्वको छत’ र तेस्रो ध्रुव भनेर चिनिने छिङहाइ– तिब्बती पठार प्रकृतिको सुन्दर उपहार र मानव क्षमताको अद्भुत संगम रहेछ । ह्वाङहो, याङ्सी र मेकाङ्ग नदी यहीँ भएकाले यसलाई ‘पानीको छत’ पनि भनिँदोरहेछ । चीनको उत्तरपश्चिममा रहेको छिङहाई प्रान्त याङ्जी र ह्वाङहो (एलो रिभर) र मेकाङ नदीको उत्पत्ति थलो हो । यसको क्षेत्रफल ७२ हजार वर्ग किलोमिटर छ । ५९ लाख ४० हजार वासिन्दा भएको यस प्रान्तमा थप तीन करोड जनसंख्या थपिए पनि यसलाई बोझ हुने छैन । यो ठाउँ छिङहाइ तालका लागि पनि प्रख्यात छ । सबैभन्दा ठूलो अन्तर्देशीय नुनिलो ताल जलक्षेत्र र सिमसार भूमि हो यो । अनेकौँ दुर्लभ जंगली जनावरको आदर्श वासस्थान बनेको छ यो । यो प्रदेशमा पोटासियम र म्याग्नेसियमजस्ता ६३ खनिज पर्दाथ पाइन्छ । प्रकृतिको सुन्दर थलो छिनिङ अनेकन् सांस्कृतिक सम्पदा र ऐतिहासिक स्थलका लागि प्रसिद्ध रहेछ । छिनिङ ह्वाङसुई नदी किनारमा छ । प्रदेशको राजनीतिक, आर्थिक र सांस्कृतिक केन्द्रसमेत हो यो शहर । यसलाई विश्वको चिसो शहर, चीनको गर्मीको रिर्सोट, राष्ट्रिय सभ्य शहर, विश्व पर्यटन शहर र राष्ट्रिय वन शहरका उपमा पनि दिइँदो रहेछ । यसलाई चीनको खुशीसुखी शहरको (ह्यापी सिटी)का रूपमा २०२०, २१ र २२ मा सम्मान गरिएको रहेछ । छिनिङमा चिनियाँ ‘अफिसियल’, पार्टीका नेतृत्व र प्रादेशिक विदेश विभागको न्यानो स्वागत र भेटघाटले भ्रमणको शुरूआत नै आत्मीय र मनमोहक बनायो । चीनको प्रमुख जातीय समूह हान (९२ प्रतिशत) हो भने अल्पसंख्यकका ५६ जातीय समूह छन् । अल्पसंख्यकमा मुख्यतः तिब्बती र चिनियाँ भाषी हुई र सलार मुस्लिमको उल्लेख्य उपस्थिति छ । तु मंगोल जनजाति छन् । ताएर मठ, छिन्घाई ताल, बड्र्स टापु, डोंगगुआन गैन्ट मस्जिद, बेशान मन्दिर चीनका प्रसिद्ध धार्मिक सम्पदा हुन् । पाँच धर्मको एकीकृत बस्ती, विशाल मठहरू, जैविक तरकारी खेती र खुशीसुखी गाउँले भिन्नाभिन्नै सन्देश दिएर समग्र तिब्बती इतिहास र सभ्यता विकासको चार हजार वर्ष पुराना ऐतिहासिक दस्ताबेजसाथ यहाँ ह्वाङहो सभ्यता बोलिरहेका थिए । पठारभित्र अनेकौँ उपत्यका र नदी छन् । संसारका ६ सभ्यतामध्ये ह्वाङहो एक हो । सिन्धुघाँटी महान् पूर्वीय सभ्यता हो । उल्लेख्य छ, महान् सभ्यताहरू नदी किनारमै छन् । चिनियाँ लोककथा र गीतमा पाइने ह्वाङहो नदीका उपहार र दुःख वर्णित छन् । सात प्रदेश भएर बग्ने ५ हजार ४६४ किलोमिटर लामो ह्वाङहो नदीलाई ‘चीनको दुःख’ पनि भनिन्छ । बर्खाको बाढीले खेतीका लागि उपयुक्त उर्वर भूमि यस नदीले बगाउने गरेको छ । इलाहावादमा गंगाको त्रिवेणी नुहाएर भारतीय उपमहादीपको सभ्यतालाई नमन गरेझैँ मैले पनि यहाँको ‘हयाप्पी भिलेज’मा ह्वाङहोको पानी छोएँ । अनि सम्झना आयो– चीनविरोधी कथ्य सिर्जना गर्ने पश्चिमेली मिडियाका पत्रकारलाई जवाफमा पौडी खेल्दै नदी तर्ने माओको भूमिका । अहिले पनि चीन संसारका धेरै पर्यटक, लेखक र पत्रकार आफ्नो देशमा निम्त्याएर सुनेको–पढेकोभन्दा देखेको चीन प्रस्ट्याउने काममा लागिपरेको छ । आतिथ्यको महानता चिनियाँको संस्कृति रहेछ । अझ उशु गाउँको तिब्बती आतिथ्यले पहिलाका सोच भत्किए । मेरो उमेर, सुगर र हाई ब्लडप्रेसरले कुनै समस्या पर्ला कि भनेर हामीलाई स्वागत गर्नेहरू चिन्तित थिए । स्वायत्त उशुलाई गाउँ भनिए पनि यो हाम्रा शहरहरूभन्दा पनि आधुनिक छ । पुरातात्त्विक संग्रहालय, लाखौँ पत्थरमा कोरिएका र कोरिँदै गरेका अनेकौँ स्मृति, पहाडका चट्टान काटेर बनाइएका पुराना र नयाँ गुम्बा, भिक्षुहरू र तिब्बती संस्कृतिले चीन बोलिरहेको देखिन्थ्यो । हरिया पाटनमा चरिरहेका चौँरी, भेडा र घोडाले घाँसे मैदान फूलबारीझैँ देखिन्थे । सन् २०१० मा ७ .१ रेक्टर भूकम्पले ध्वस्त शहर थोरै समयमा कसरी आधुनिक शहरमा फेरियो भन्ने अध्ययनका लागि पनि उशु गाउँ दृष्टान्त बन्न सक्छ । सानदार इतिहास भएको र तीव्र विकास भइरहेको चीन वैश्विक युवा शक्ति हो । दार्शनिक कन्फ्युसियसका विचार चिनियाँले अत्यन्तै आदर गर्दा रहेछन् । कन्फ्युसियस धर्म प्रचारक नभई समाज सुधारक थिए । यिनले ईश्वरबारे कहिल्यै कुनै उपदेश दिएको पाइँदैन । कन्फ्युसियसका नाममा चीनले शान्ति पुरस्कार पनि दिने गर्छ । लाओत्सेको ताओ अध्यात्मले मान्छेहरू माझ सकारात्मक ऊर्जा दिने रहेछ । ‘ताओ तेह चिङ’ (दि बुक आफ ताओ) दार्शनिक र धार्मिक ताओवादको केन्द्रविन्दु हो । अहिले चिनियाँ समाजमा लाओत्सेको जीवनदृष्टिभन्दा कन्फ्युसियसको नीतिवादी विचार धेरै प्रभावी रहेछ । तिब्बती बुद्ध धर्म र चिनियाँ बुद्ध धर्मको पनि यस समाजमा प्रभाव छ । चिनियाँसँग ऐतिहासिक लिखत, चार हजार वर्ष पुराना पुरातात्त्विक सामान उपलब्ध छन् भने एघारौँ सदीको मस्जिद र पञ्चेन लामाको गुम्बा पनि अहिले आराध्यशाला बनेका छन् । अझ उशुको गुम्बामा भृकुटी र स्रोङ्चन गम्पोको नामसँगै नेपाली कला पनि देख्न पाइन्छ । काठमा कुँदिएका र भोजपत्र (ताड) मा लेखिएका पुरातात्त्विक सामग्रीले संग्रहालयको गरिमा बढाएको मात्रै हैन, संसारकै नृवंशशास्त्र (एथ्नोग्राफी) र मानवशास्त्रका गम्भीर अध्येयतालाई सन्दर्भ–सामग्री उपलब्ध छन् । ३९९ इस्वी देखी ४१२ सम्म भारत, श्रीलंका र नेपाल भ्रमणमा रहेका फाहियान चिनियाँ बौद्ध भिक्षु, यात्री, लेखक र अनुवादक थिए । उनले गौतम बुद्धबारे गहन अध्ययन गरे । अर्का चिनियाँ यात्री हुयनसाङले सातौँ शताब्दीताका यस भेगको भ्रमण गरे । उनी ६२९ देखि ६४५ सम्म यस भू–भागमा रहे । भारतीय उपमहाद्वीपको प्रमाणिक इतिहासको श्रेय पनि उनीहरूलाई जान्छ । भारतीय महापण्डित राहुल सांकृत्यायनले तिब्बत पुगेर लुप्त भइसकेका बौद्ध साहित्य संकलन गरे । दुई साता लामो भ्रमण ‘महाचीन’ अध्ययनका लागि अत्यन्तै छोटो समय हो । माओवादी ‘जनयुद्ध’बाट आएका र सांस्कृतिक क्रान्तिको पक्षधर भएकाले र शायद उमेरमा पाको र माओको चीनप्रतिको संवेदनशीलता देखेर होला, सहयात्री मित्रहरू मलाई ‘माओ बा’ भन्थे । त्यो व्यङ्ग्य हो वा पृष्ठभूमि—जेसुकै होस् । हामीसँग असंख्य जिज्ञासा थिए । विषयलाई आलोचनात्मक चेतअनुसार अध्ययन गर्न चाहिएको पनि थियो । हुन त हामी संघाईजस्तो आर्थिक र राजनीतिक राजधानी बेइजिङ गएका थिएनौँ, ‘एक देश दुई नीति’को हङकङ र मकाउको अभ्यास नियाल्ने गरी पुगेका थिएनौँ । याङसी नदी तह लगाएर सिँचाइ, विद्युत् उत्पादन र बाढी नियन्त्रण गरिएको थ्रीगर्जेज बाँध (जसले पृथ्वीको गतिलाई समेत प्रभाव पारेको छ भनिन्छ ) र अन्तरिक्षबाट देखिने एउटै मानवनिर्मित संरचना ुग्रेटवालु पनि देख्न पाएका थिएनौँ । त्यसो हुँदा उदाउँदो विश्व महाशक्तिलाई अध्ययन गर्ने हाम्रा सीमा, समस्या र आग्रह थिए । एउटा सानो अंशमा टेकेर समग्रको धारणा बनाउन सकिँदैनथ्यो । तर, चीनले कसरी विचारको राजनीतिलाई समाज र धरातलमा फेर्न सकेको छ भन्ने नियाल्न हामीलाई मन थियो । चिनियाँ तरिकाको समाजवादी अभ्यास कस्तो छ ? के कम्युनिस्ट विचारबाट चीन टाढिएको हो ? पश्चिमा मिडियाले भनेजस्तै अल्पसंख्यक र धर्मप्रति चिनियाँ सत्ता साँच्चै बर्बर छ ? चीनले गाउँ र शहरको दूरी कसरी घटाउँदै छ ? महाशक्ति बन्न उसका के–के बाधा र चुनौती होलान् ? चीनले प्रकृति र चरम उत्पादनलाई कसरी व्यवस्थापन गरिरहेको छ ? सभ्यता र विज्ञानलाई समाज र मानवसँग कसरी जोडिरहेको छ ? त्यो नियाल्ने सानो आँखीझ्याल थियो यात्रा । यात्राबाट केही निचोड निस्के –पश्चिमा मिडियाले उठाएका कैयन् विषयले हामी भ्रमित छौँ । –कन्फ्युसियस र माक्र्सलाई जोडेपछि जे बन्छ, त्यही चिनियाँ मोडलको साम्यवाद हो । चीनमा राज्य नियन्त्रित पुँजीवाद फस्टाइरहेको छ । त्यसो हुँदा, ट्रेडमार्कमा सीमित नेपाली कम्युनिस्टले वैचारिक रूपमा सिर्जनात्मक प्रयोग गर्ने चीनलाई आलोचना गर्न सक्ने नैतिक अधिकार देखिँदैन । सोच र संस्कृतिमा सामन्तवादी हामी व्यवहारमा द्वन्द्ववादी पनि रहेनछौँ । – आदेशले समाज र संस्कृति फेरिँदैन । विचार फेर्न सजिलो छ, आस्था र संस्कृति फेर्न औधी गाह्रो हुन्छ । त्यसले लामो समय लिन्छ । सांस्कृतिक क्रान्तिका बेला कयौँ जबरजस्ती भएका पनि रहेछन् । –अल्पसंख्यकको आस्था र संस्कृति रक्षाका लागी राज्यले नै सहयोग गर्छ । मुस्लिमहरूले निर्धक्क जालीदार टोपी, हिजाब, बुर्का लगाएको देखियो । मुस्लिम होटलमा हलाल गरेको मासुका परिकार पनि खायौँ हामीले । बजारमा लामा–भिक्षुहरू पनि प्रशस्तै देखिए, जताततै गुम्बा देखिन्थे । –विश्व महाशक्ति बन्न शहर र गाउँको दूरी घटाउनु र गरिबी समस्या हल गर्ने चीनका चुनौती हुन् । समस्यालाई तीव्र हल गर्ने योजनासहित चिनियाँ चौधौँ राष्ट्रिय जन–कांग्रेसको दोस्रो अधिवेशनले नयाँ नीति अघि सारेको रहेछ । –सरकारी कर्मचारी र राजनीतिज्ञले सार्वजनिक रूपमा मदिरा सेवन गर्न पाउँदैनन् । –जमिन व्यक्तिका नाममा छैन, खेती र उद्यमका लागि सरकारसँग लिजमा लिनुपर्छ । निजी र सरकारी दुवै खाले उद्यमहरू छन् । –एशियाको सिलिकन उपत्यका भनिने छिनिङ शहरमा विश्वकै सबभन्दा ठुलो सौर्यऊर्जा उद्यम छ । यसले मरुभूमिलाई चमत्कारिक उपयोग गरेको छ । वातावरणमैत्री उद्यमसँगै हरियो घाँस पलाउँदा चरण क्षेत्रसमेत बनेर उद्यम, चरण र पशुधनको एकीकृत विकासको विशेषता पाइन्छ । थाङ्का र सोलर उद्यमले गिनिज बुक्समा नाम लेखाएका छन् । सोलार, वायु र हाइड्रो विद्युत् उत्पादनको केन्द्र बन्दो छ । लिथियम ब्याट्री, विभिन्न खनिज उत्पादनको मुख्य थलो हो । – शासकमा चेतना र प्रतिबद्धता भएमा मान्छेले गरे केसम्म हुन सक्दैन भने सशक्त उदाहरण बैंसालु चीन हो । –बेलायती यात्री र लेखक वाल्टर एलेने आयरल्यान्डको १९०१ मा प्रकाशित अमेरिकी सत्ताका लागि लेखिएको पुस्तक ‘चाइना एन्ड पावर’ पुस्तकमा स्पष्ट तरिकाले चीन आउँदो समय विश्वको शक्तिशाली देश हुनेछ भन्ने तर्क र तथ्य लेखे । क्विङवंशको जर्जर राजशाही रहेको चीन कुनै बेला पाँच साम्राज्यवादी देशहरूको उपनिवेश थियो । ‘चाइना एन्ड पावर्स’ पुस्तक लेखिँदा सन यात्सेनको कोमिन्ताङ पार्टीको जन्म भएको (१९१२) थिएन । चिनियाँ कम्युनिस्ट पार्टीको स्थापना (१९२१) भएकै थिएन । माओ नेतृत्वमा चीनको विकास त्यतिखेर भइसक्ने कुरै भएन । त्यसैबेला जोसेफ पुलित्जर सचिवालयमा रहेका आयरलेण्डले कल्पनामा हैन, यथार्थ भविष्यवाणी गरेका थिए । राज्य जनताको अभिभावक बन्न सक्नुपर्छ न कि व्यवस्थापक । नेतृत्वसँग नैतिक पुँजी र इच्छाशक्ति भए जनविश्वास पाएर देश जुरुक्क उठ्छ । अल्पसंख्यकको विश्वास लिन तिनका भाषा, साहित्य र आस्थाको संरक्षण र संवर्धन गर्नपर्छ । यो संवेदनशील विषय भएकाले चीन विरोधीहरू यसैको जडमा खेलिरहेका र मिथ्या प्रचार पनि गरिरहेका छन् । अहिलेको अध्ययन भ्रमणबाट त्यही अनुभूति गर्न पाइयो ।
