IMG-LOGO

स्वाट्टै हामफालें र उद्धार गरें चणिकलाल तामाङ

 मंगल, असोज १५, २०८१  – कमलराज भट्ट

  तपाईंको परिचय बताइदिनुस्      मेरो घर काभ्रेको तेमाल गाउँपालिका – ९ चोकटार हो । काठमाडौं बस्न थालेको पाँच वर्ष भयो । पहिला भक्तपुर बस्थें नख्खु सरेको पाँच महिना भयो । म रङरोगनको काम गर्छु ।      नख्खु खोलाबाट दुईजनाको उद्धार गर्नुभयो । कसरी आँट गर्नुभयो ? बिहान खोला बढ्यो कि भनेर हेर्न गएको थिएँ । खोला बढेको देखेँ । त्यही वेला माथिबाट मान्छे बगेर आएको देखेँ । खोलाछेउमा हेर्न गएका वेला माथिबाट मान्छे बग्दै आएको देखेपछि खोलामा हामफालेर समाउनतिर लागेँ। समातेर बाहिर निकालेँ । तपाईं हामफाल्दा के थियो अवस्था ?      मेरी श्रीमती, नानी र अर्को एकजना थिए । उनीहरू मलाई नजानू–नजानू भन्दै थिए । आफू गएर दुईजनाको ज्यान जोगिन्छ भने जान्छु भनेर स्वाट्टै हामफालेँ । दुईजनाको ज्यान जोगिन्छ भने किन नजाने भन्ने भावना मभित्र आयो । केही नसोची तुरुन्तै हामफालेको हुँ । हामफालेपछि के भयो ?      उनीहरू बिचमा थिएनन्, अलि वरै थिए । बगाएर ल्याउँदाल्याउँदै मैले समातेर बाहिर ल्याएको हो । उसले हातले इसारा ग¥यो । मैले सीधै गएर हात समातेर तानेको हो । माथिबाट बग्दैबग्दै आइरहेको थियो, हात हल्लाइरहेको थियो, मैले हात मात्रै देखेको हो । मैले पहिलेदेखि नै पौडी खेलेको हो । सुनकोशीमा माछा मार्न सिकेको पौडीको सीप यो आपतमा काम लाग्यो । उद्धार गरिसकेपछि के भयो ?      खोलाबाट तानेर बाहिर निकालिसकेपछि नानी बेहोस थियो । नानीको पेटमा थिचेर पानी निकालेपछि होस आयो । एकछिनमा नानी बाबा भनेर करायो । बाबा त छैन, बगाएर लगिसकेको रहेछ । नानीको काका रहेछ, ऊ अलिअलि होसमै थियो । एकछिन बोल्यो, दाइ–दाइ मात्र भन्यो । उसको दाइ पनि बगेको रहेछ । नानीको काका हुँ भन्यो, त्यत्तिकैमा उसलाई चक्कर लाग्यो । त्यसपछि पूर्वडिआइजी अशोक सिंहले प्रहरी भ्यान बोलाएर अस्पताल लानुभयो । त्यहाँ अरू मान्छे पनि थिए, उद्धार गरेनन् ?      माथि अलिअलि मान्छे थिए, तर समाएनन् । काठ समाउने, के–के समाउनेतिर लागेछन् । मान्छे समाउनेतिर लागेनछन् । त्यहाँबाट बगेर आएपछि मैले समाएको हुँ । यो घटनाबाट सरकार, समुदायले के सिक्नुपर्छ ?      सबै सतर्क हुनुपर्छ । सरकारले सबै उपकरण उपलब्ध गराउनुप¥यो । सुरक्षाकर्मी झै तदारुकताका साथ अलर्ट हुनुुप¥यो । मैले परिआएको वेला आफ्नो मानवीय धर्म निर्वाह गरेको हुँ । नागरिकभन्दा अगाडि राज्य अझै चनाखो हुनुपर्छ ।   (नयाँ पत्रिकाका लागि कमलराज भट्टले गरेको कुराकानीबाट)

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्