नेपालको संसदीय राजनीतिमा उदाएका नयाँ दलहरू हुन्– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी । वैकल्पिक शक्तिका रूपमा यी दलसँगै नयाँ नेताहरू पनि उदाए । रास्वपाका संस्थापक सभापति रवि लामिछाने, जनमतका संस्थापक अध्यक्ष डा.चन्द्रकान्त राउत (सीके) र नागरिक उनमुक्तिका संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी पछिल्लो समयमा उदाएका नेता हुन् । रवि चितवन– २, सीके सप्तरी–२ र रञ्जिता कैलाली–१ बाट प्रत्यक्ष प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका नेताहरू हुन् । ०७९ मंसिर ४ मा सम्पन्न निर्वाचनमा पुराना दलका उम्मेदवारहरूलाई अप्रत्याशित ढंगले पराजित गर्दै रास्वपा, जनमत र उन्मुक्ति पार्टी क्रमशः २०, ६ र ३ सिट ल्याउन सफल भए । यो सफलतासँगै नेताहरू संसदमा आइपुगे । भनिन्छ – नेता समाजको अगुवा र समाजका लागि उदाहरणीय पात्र हुनुपर्छ । नेताको छवि स्वच्छ, सरल जीवनशैली र असल व्यवहार समाजमा अनुकरणीय मानिन्छ । कुशल नेताले समाजमा पथप्रदर्शकको भूमिका निर्वाह गर्नुपर्छ भन्ने मान्यता छ । तर, पुराना दलरूका कारण देशको प्रगति हुन नसकेको र विकासले गति लिन नसकेको भन्दै आफूलाई विकल्पका रूपमा अघि सरेका दलकै नेताहरूको छवि धुमिल हुने पुगेको अवस्था छ । गत निर्वाचनबाट उदाएका नेतृत्वमाथि गम्भीर व्यक्तिगत आरोप लागेको छ । कसैको घरभित्र राजनीति पसेको छ त कसैको घरझगडा सार्वजनिक रूपमै छताछुल्ल भएको छ । डा. सीके राउतको घरझगडा सार्वजनिक सप्तरी–१ बाट प्रतिनिधि सभा सदस्यमा विजयी जनमत पार्टीका अध्यक्ष डा. सीके राउतको घरायसी झगडा यतिबेला ‘मिडिया कन्टेन्ट बन्न पुगेको छ । श्रीमतीसँग सम्बन्धविच्छेदका लागि अदालतमा मुद्दा दायर गरेपछि सीके राउतको घरझगडा छताछुल्ल भएको हो । सीकेले श्रीमती सोनी सिन्धु रानीसँग सम्बन्धविच्छेदका लागि ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरेका छन् । उनले श्रीमती सिन्धु रानी घरमा नबस्ने, माइतमात्र जाने गरेको मुल कारण देखाउँदै सम्बन्धविच्छेदको मुद्दा दायर गरेको समाचारहरू सार्वजनिक भएका छन् । मुद्दामा ‘अंश सम्बन्ध विच्छेद शीर्षक उल्लेख गरेर उनले श्रीमतीलाई अंश दिएर वैवाहिक सम्बन्ध अन्त्य गर्न चाहेका छन् । अदालत स्रोतका अनुसार सीकेले आफूलाई छोडेर श्रीमती माइतीघर (भारतमा) बस्ने गरेको, सँगै बस्न नमानेको, पटक–पटकसँगै नबस्ने भन्दै माइतीघर जाने गरेको, घर–परिवार र बच्चाको रेखदेख नगरेकोले अंश दिएर सम्बन्धविच्छेद गर्न चाहेको निवेदनमा उल्लेख गरेका छन् । तर, उनकी श्रीमती सोनीले भने आफूलाई सम्बन्धविच्छेद नचाहिएको बताएकी छन् । ‘म त डिभोर्स चाहँदिनँ, मलाई न्यायसङ्गत अधिकार चाहियो । कानूनी दायरामा जुन–जुन अधिकार छन्, त्यो चाहियो, बिहीबार ललितपुरको सातदोबाटोस्थित प्रहरी वृत्तमा भेटिएकी सोनीले पत्रकारसँगको कुराकानीमा भनेकी छन् । सोनी बिहीबार शान्ति सुरक्षाको माग गर्दै निवेदन दिन सातदोबाटो पुगेकी थिइन् । उनले प्रहरी वृत्तमा दर्ता गरेको निवेदनमा श्रीमानले विगत केही दिनदेखि विभिन्न किसिमका डर–त्रास देखाएर सम्बन्धविच्छेद गर्न दबाब दिएको उल्लेख गरेकी छन् । ‘सम्बन्ध विच्छेद नगरेमा म जे पनि गर्न सक्छु । म अहिले निर्वाचित सांसद छु । मेरो पहुँच माथिल्लो निकाय र सरकारसम्म छ । म चाहेको खण्डमा जे पनि गर्न सक्छु । तिमी मसँग नबस, सोनीको निवेदनमा भनिएको छ, ‘उपत्यका छाडी गाउँघरमा जाऊ भनेर दबाब दिँदै ज्यानसम्बन्धी धाक–धम्की दिएको हुँदा म आफूलाई असुरक्षित ठानी यस वृत्तमा उपस्थित भएकी छु । विपक्षी श्रीमानलाई उपस्थित गराई आवश्यक कारबाही गरी शान्ति सुरक्षाको व्यवस्था समेत गरी पाऊँ । सोनीका अनुसार उनी र श्रीमान सीके एउटै घरको फरक–फरक तला (फ्लोर) मा बस्दै आएका छन् । सोनीको भनाइ छ, ‘डिभोर्सको आवश्यकता छैन । छुट्टाछुट्टै बस्न सकिन्छ । म केटाकेटीसँग बस्न चाहन्छु । केटाकेटीको पालना गर्न चाहन्छु । उनीहरू वयस्क नहुँदासम्म आमा र बुवा दुवैको सहयोग चाहिन्छ । सातदोबाटो प्रहरी वृत्तमा ‘लोकान्तर टीभी सँगको कुराकानीमा सोनीले जनमत पार्टीका अध्यक्ष सीकेलाई उनका दाइले सिकाएको समेत दाबी गरिन् । ‘उहाँ (सीके) को दाइले चढाउनुभएको छ । जुन दिनदेखि उहाँको दाइ राजनीतिमा आउनुभएको छ, त्यो दिनदेखि सिकाएर, पढाएर उहाँको सम्पत्ति आर्जन गर्ने, मलाई डिभोर्स दिने, उनीहरू सबै मिलेर खाने, मलाई अलिकति अंश दिने‘ सोनीको आरोप छ । राउतले आफूसँग बस्न नचाहे आफू छुट्टै घरमा बस्न तयार रहेको, तर सम्बन्धविच्छेद नचाहेको पनि सोनीले बताइन् । ‘मलाई अंश चाहिएन । मेरो सबैभन्दा ठूलो सम्पत्ति मेरो श्रीमान र मेरा छोराछोरी हुन् । यी दुईवटा चाहियो, उनको भनाइ छ, ‘श्रीमान मसँग बस्न चाहनुहुन्न भने म उहाँले जहाँ चाहनुहुन्छ छोराछोरीसँग त्यहीँ बस्छु । उहाँ छुट्टै घरमा बस्न सक्नुहुन्छ । रञ्जिताको घरभित्रै राजनीति छिरेपछि । श्रीमान रेशम चौधरी टीकापुर हत्याकाण्डमा मुख्य अभियुक्त ठहर भई जेल जीवन बिताइरहँदा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ संघीय सरकारमा मन्त्री थिइन् । रेशमले कैद मिनाहा भएर जेलमुक्त भएपछि रेशमले जेलबाट छुटेपछि पार्टीको महाधिवेशन बोलाए । तर, महाधिवेशन प्रतिनिधिले रञ्जिताको साटो रेशमलाई रोजे । अध्यक्ष बन्न चाहना पूरा नहुने देखिएपछि उनी महाधिवेशनस्थलबाट बाहिरिइन् । महाधिवेशन चलिरहँदा उनी काठमाडौं फर्किन् । यसबीचमा रेशमले पत्नी रञ्जितालाई पार्टीको सहअध्यक्षका लागि मनाउन गरेको प्रयास सफल भएन । महाधिवेशनपछि रेशम र रञ्जिताबीच दूरी थप बढ्यो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले नेकपा (एमाले) को सहयोगमा सरकार गठन गरे । उनले विश्वासको मत लिएको एकदिन पछि निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टीको महाधिवेशनबाट चयन कार्यसमिति खारेज गर्दै रञ्जिता कै नेतृत्वको पुरानो कार्यसमितिलाई मान्यता दियो । पदविहीन भएपछि रेशमले आफूविरुद्ध षड्यन्त्र गरेको भन्दै पत्नी रञ्जिता, तत्कालीन प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि सार्वजनिक रूपमै प्रश्न उठाउन सुरु गरेका थिए । रेशम–रञ्जिताको झगडाकै कारण उनीहरूको गृह प्रदेश सुदूरपश्चिममा तत्कालीन कमलबहादुर शाह नेतृत्वको सरकार अप्ठ्यारोमा परेको थियो । निर्वाचन आयोगले रेशमलाई अध्यक्षका रूपमा मान्यता नदिएपछि रञ्जितासँग सत्ता समीकरणमा कसलाई समर्थन गर्ने भन्ने विषयमा मतभेद देखिएको थियो । तत्कालीन समयमा रेशम श्रीमती रञ्जितासँगको मतभेद सामाजिक सञ्जाल फेसबुकमार्फत् बेलाबखत पोख्दै आएका थिए । रेशम–रञ्जिताको झगडाकै कारण उनीहरूको गृह प्रदेश सुदूरपश्चिममा तत्कालीन कमलबहादुर शाह नेतृत्वको सरकार अप्ठ्यारोमा परेको थियो । निर्वाचन आयोगले रेशमलाई अध्यक्षका रूपमा मान्यता नदिएपछि रञ्जितासँग सत्ता समीकरणमा कसलाई समर्थन गर्ने भन्ने विषयमा मतभेद देखिएको थियो । तत्कालीन समयमा रेशम श्रीमती रञ्जितासँगको मतभेद सामाजिक सञ्जाल फेसबुकमार्फत् बेलाबखत पोख्दै आएका थिए । रवि ः पहिले घर बिग्रियो, अहिले राजनीति ⁄ सञ्चारकर्म त्यागेर राजनीतिमा लागेका रास्वपाका सभापति रवि लामिछाने पछिल्लो समय सहकारी संस्थाको रकम हिनामिनामा संलग्न रहेको आरोप खेपिरहेका छन् । उनलाई एमाले सांसद् सूर्यबहादुर थापा क्षेत्री संयोजकत्वको संसदीय समितिले दोषी ठहर गर्दै कारबाहीका लागि सरकारसमक्ष सिफारिस नै गरिसकेको छ । यसअघि बेलाबेला उनका व्यक्तिगत कुराहरू पनि सञ्चार माध्यमहरूमा प्रकाशन र प्रशारण हुँदै आएका थिए । जसमध्ये बढी चर्चामा रहने विषय हो रविको वैवाहिक सम्बन्ध ! पहिलोपल्ट गृहमन्त्री हुँदा उनले पत्रकार सम्मेलन गरेर नेपाली सञ्चार माध्यमका मालिक र सम्पादकहरूप्रति आक्रोश नै पोखेका थिए । मिडिया मालिक र सम्पादकहरूले समाचार लेखेकै कारण आफूले गृहमन्त्री पद गुमाउने अवस्था सिर्जना भएको भन्दै रविले सबैजसो सञ्चार संस्था र सम्पादकहरूलाई विभिन्न आरोप लगाएका थिए । आफूले गर्दे नगरेको गल्तीलाई लिएर मिडियाले खेदेको भन्दै सभापति लामिछानेले केही सम्पादकहरूले डाक्टरको सल्लाह नै लिएर खेदेको दाबीसमेत गरेका थिए । अहिले पनि आफूलाई चारवटी श्रीमतीको पति भन्दै खेदो गरिरहेको भन्दै उनले आपत्ति जनाएका थिए । ‘डाक्टरले नै त्यसलाई नखेदी रोग निको हुँदैन भनेका थिए । चारवटा श्रीमती बिहे गरेको मान्छे भनेर लेखेछन्, जिन्दगीभर गगनले बाख्राबाट मुक्ति पाउँदैनन् । उनले लाख पटक भनिसके, बाख्राको विषयमा गल्ती गरेको छैन भनेर तर उनले मुक्ति पाउँदैनन्, रविले भनेका थिए, ‘मेरो पहिलो बिहे बिग्रियो । अनि त्यसपछि अर्की युवतीसँग म प्रेममा परेँ । त्यताबाट एकजना बच्चा भयो । तर चार श्रीमती भनेर हल्ला गरिदिए । हुँदा हुँदा केटाकेटीको कुरा पनि लेखिदिन्छन् । गगनलाई बाख्रा र मलाई चार श्रीमतीले कहिल्यै छाड्दैनन् । धनराजको परिवारमा धब्बा ⁄ नेपाल विद्यार्थी संघको राजनीतिबाट कांग्रेसको राजनीतिमा उदाएका स्याङजाली नेता धनराज गुरुङ नेपाली कांग्रेस पार्टीको उपसभापति पदमा छन् । उनी कानूनमन्त्रीसमेत भइसकेका सम्भावना बोकेका नेतामा पर्छन् । तर, गुरुङ पनि पछिल्लो समय श्रीमान–श्रीमतीवीचको विवादमा फसेर तनावमा परेका छन् । धनराजकी पूर्वपत्नी ज्योति गुरुङ सहकारी ठगी प्रकरणमा फरार छिन् । उनले ललितपुरस्थित मितेरी सहकारीको १२ करोड रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ । कांग्रेस नेता धनराजले श्रीमतीसँग सम्बन्ध बिच्छेद भइसकेको र आफूले तिर्नुपर्ने ९१ लाख रुपैयाँ तिरिहेको बताएका छन् । तर, उनीहरूबीचको सम्बन्धविच्छेद नक्कली भएको आरोप लागिरहेको छ । न्यायाधीशकै रोहबरमा भएको सम्बन्धविच्छेदमाथि नै शंका उत्पन्न भएको छ । नेताले आफ्नो परिवारलाई सन्तुलनमा राख्ने गलत बाटोमा जान नदिने विषयमा भूमिका खेल्नुपर्नेमा आफ्नो राजनीतिक छविलाई नै असर पर्नेगरी पारिवारिक विग्रह र विखण्डनमा लाग्दा यसले उनीहरूको राजनीतिलाई नकारात्मक प्रभाव पारिरहेको देखिन्छ । श्रोतः खबरहवबाट
