खोइ तिमिलाई कुन रुपमा सम्बोधन गरुँ ? दुःख र पिडाको वावजूद ठूलो हिम्मत र साहस बटुलेर तिम्रो सम्झनामा आज दुईचार शब्द कोर्ने जमर्को गर्दैछु तर किन किन मेरो हातहरु एक तमासले काँपिरहेका छन्, मेरो कलमको निभ नै अवरुद्ध भए झैँ भएको छ । आकाश खस्ला झैँ भएको छ, धर्ती भास्सिएझैं भएको छ । यो कोमल हृदय छियाछिया भएको छ ,हृदयमा अनगिन्ती आँधिहुरी, सुनामी आए झैँ भएको छ । हृदयभित्रको पराकम्पलाई बडो मुश्किलले रोक्ने चेष्टा गर्दै लेख्न खोज्दैछु तर लाग्छ म निशब्द छु ! म सँग लेख्नको लागि कुनै शब्दहरुनै बाँकी छैनन् । हुनत म तिमीलाई व्यक्तिगत रुपमा चिन्दिन तर परदेशी भूमिमा आज आफ्नै श्रीमानदद्वारा विभत्स रुपले हत्या गरेर घर नजिकैको जमिनमा तिमिलाई दफनाईयो भन्ने जुन कहालीलाग्दो समाचार विभिन्न पत्रपत्रिका, टेलिभिजन र सामाजिक संजालबाट सुने, त्यो सब सुन्दा, देख्दा, पढ्दा म स्तब्ध भएँ । अकस्मात आँखा वरिपरि चारैतिर अँध्यारो बादल मडारिए झैँ भयो,हातगोडा फत्र्याकफुत्रुक्कै गले,चिटचिट पसिना आउन थाल्यो,अनी थचक्क भित्तोमा अडेस लागेर बसेँ । मलाई रिफ्रेश हुन धेरै समय लाग्यो । जब मूच्र्छनाबाट ब्यूझिएँ तब आँखाबाट अविरल रुपमा अश्रुधारा बगिरहेका थिए । दिनभर नरमाइलो लागिरह्यो, ओछ्यानमा ढल्किएर क्षितिजतर्फ हेर्दै एकोहोरो टोल्हाईरहे । केही गर्ने जोश, जाँगर अनी हिम्मत नै आएन । आज यो सब लेख्नुपर्दा आज मेरो मन छियाछिया भएको छ । शायद तिमीजस्तै म पनि जन्मजात छोरी भएर होला । हामी नारीहरु जन्मेदेखि मृत्यृपर्यन्त कसैको छोरी,कसैकी दिदीबहिनी, कसैकी बुहारी अनी कसैकी श्रीमती भएर बाँंच्नुपर्ने यो कस्तो बाध्यता ? कसले बनायो यो क्रूर नियम ? त्यसैको लक्ष्मण रेखा भित्र बाँधिएर शदियौंदेखि हामी महिलाहरु यस सृष्टिलाई निरन्तरता दिनुपर्ने ? खैर ! तिमी त यस पापी संसारबाट बिदा भैसक्यौ । हिन्दु परम्परा अनुसार “मारे पाप पाले पुण्य” भन्दै सात फेरो बाँधेर,आकाश धर्ती साक्षी राख्दै,सँगै बाँच्ने सँगै मर्ने कसम खाई दुई मुटु एक भएका श्रीमानले नै सामाजिक मर्यादा र मूल्य मान्यतालाई लत्याउँदै काल बनेर तिमिलाई अ्ल्पायुमै क्रूर रुपले हत्या गरिदिए । तिमीमाथि कति हिंसा भयो, कति अन्याय,अत्याचार गरियो, कति रोयौ, करायौ, हारगुहार लगायौ, त्यसको लामो फेहरिस्त कि तिमिलाई थाहा होला कि त सर्वशक्तिमान ईश्वरलाई । यदी साँच्चिकै यस मानवरुपी धर्तीमा ईश्वरको बास रहेछ भने एक न एक दिन त्यसको हिसाब किताब पक्कै गर्लान् । अर्को कूरा ! मेरो मन त्यतिबेला झन्झन् भक्कानियो जब तिम्रो एकमात्र मुटुको टुक्रा, त्यो अवोध ! वर्षिया शिशुलाई ओछ्यानमा ओछ्याईएको बाक्लो तन्नाले बेरेर सुरक्षाकर्मीहरुलाई ँयकतभच ऋबचभ लैजाँदै थिए । अफसोस ! यस धर्तीमा पाईला टेकेको वर्षदिन पनि नपुग्दै अर्थात पहिलो वर्षगाँठ पनि मनाउन नपाउँदै आफूलाई संसार देखाउने आमाको न्यानो काख खोसिएर मातृवात्सल्यबाट बञ्चित हुनुपरेको मर्मस्पर्शी दृश्य देख्दा शायद नरुने कमै थिए होला । एक्काइशौं शताब्दीको वैज्ञानिक युगमा आएरपनि आखिर हाम्रो समाजमा दिन दोगुना रात चौगुना मौलाउँदै गईरहेको यस्तो दर्दनाक एवं संवेदनशील घटनाको जिम्मेवार को हुने ? घरेलु हिंसा, अन्याय, अत्याचार, बलात्कारपछि पाशविक हत्याको शिकार भै छोरीहरु कहिलेसम्म अल्पायुमा मरिरहने ? कहिले हामीले न्याय पाउने ? कानुनको नजरमा नारी पुरुष बराबरी भनेपनि व्यवहारमा खोइ कहाँ छ समानता ? कहिले हामीले पुरुष सरह बराबर अधिकार पाउने ? हामीमाथि हेरिने नजरियामा कहिले परिवर्तन आउने ? के हामी नारीहरुको अस्तित्व र हैसियत सधैं पुरुषहरुको भोग बिलासिताको साधन, सन्तान जन्माउने मेशिनको रुपमा मात्र सिमित हुने हो ? खोइ हाम्रो जीउ ज्यानको सुरक्षाको ग्यारेन्टी ? पुरुषहरुको अत्याचारबाट नारीहरु अल्पायुमा मृत्युवरण गर्नुपर्ने कु–संस्कारको अन्त्य कहिले हुने ? कसले गर्ने ? धिक्कार छ ! यदि यो धर्तीमा साँच्चिकै पुनर्जन्म छ भने अर्को जुनिमा छोरी भएर होइन, छोरा भएर जन्मनु । छोरी भएर जन्मेपछि नारीहरुले पृथ्वी सरह सबथोक सहनुपर्छ भन्ने कलुसित सोच बोकेको यो पितृसत्तात्मक समाजमा भुलेर पनि नजन्मिनु है ? आगामी दिनहरूमा तिम्रोजस्तो दुःखद अवसान कुनै नारीहरुको पनि नहोस् ! तिम्रो भट्किएको आत्माले सदैव शान्ति पाओस् ! हार्दिक श्रद्धाञ्जली !! २०८१÷०५÷०८ गते शनिबार, काठमाण्डौं ।
