आर्थिक वर्ष २०८० र ०८१ मा एक लाख ५० हजार भन्दा बढी युवा विद्यार्थीले विदेश पढ्नका लागि एन ओ सी (नो अब्जेकशन सर्टिफिकेट) लिए । साउन र भदौ लाग्दा पनि एन ओ सी लिनेको भिड उत्तिकै छ । यो भिड हेर्दा यस्तो लाग्छ कि देशभरका कलेजहरुमा पढ्ने बिद्यार्थी कोही छैनन् । त्यस्तै कोरिया काम गर्न जान कोरिएन भाषा पढ्नेहरू, जापान जान जापानीज भाषा पढ्नेहरु उत्तिकै छन् । मेनपावर र एजुकेसन कन्सल्टेन्सीहरुमा विदेश जान भनेर पासपोर्ट बुझाउनेको लर्को थेगी नसक्नु छ । झन् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जादा देश नै रित्तिन लागेको भान हुन्छ । युवा पलायनताको बिकराल तस्बिरप्रति न राज्य चिन्तित छ न राजनीतिक दल । यो समस्या आज देखिएको होइन । यसको जरो केलाउन माओवादीहरूले गरेको सशस्त्र विद्रोहका दिन संझनुपर्छ । गाउँमा नेपाली काङ्ग्रेस र एमालेका मुख्य नेताकार्यकर्ता माथि निशाना बनाएपछि नेपाली काङ्ग्रेसको तत्कालीन सरकारले खास गरि त्यस बेलाका अर्थ मन्त्री रामशरण महतले खाडी मुलुक जान फ्री भिसा फ्री टिकटको व्यवस्थापन आफ्ना कार्यकर्तालाई गर्नु नै पहिलो कारण हो । २०५६ देखि २०५८ सम्म धेरै युवा खाडी मुलुक पुगे । त्यहाँको वैभव देखे । त्यही पुस्ताका छोराछोरी र आफन्त अहिले नेपालमा छैनन् । कारण हो नेपालमा बसेर केही हुँदैन भन्ने मानसिकता त्यो पुस्ताले चलायो र तिनका आफन्त सहयोगी सबै सहमत भए । त्यसैको जबर्जस्त अन्त्यहिन प्रभाव नेपाली समाजमा स्थापित भयो । त्यो सँगै डिजिटल संसार मार्फत विश्वमा कहाँ के छ भन्ने युवा जमातलाई थाहा भयो । विश्व व्यापी फैलिएको कोरोना भाइरसले कुन मुलुक कति सक्षम भन्ने कुरा प्रष्ट भयो । इन्टरनेटका कारण विश्व नै एउटा गाउँमा परिणत भएको यो अवस्थामा एसियायी मुलुकका नागरिकहरु युरोप अमेरिकका आफ्नो गन्तव्य बनाए । विश्व भूमण्डलीकरण यो प्रभावले मानिसहरू बसाइँसराइ गरेका हुन । यो अवस्था रोकिनेवाला छैन । युरोपेली देशमा अहिले कन्जरर्भेटिभ पार्टीले जितिरहेका छन् । उनीहरुको निति अल्पसंख्यक र आप्रवासीप्रति कडाइ गर्नु । यस्तो अवस्थामा युरोपेली मुलुकमा आप्रवासी विद्यार्थीलाई काम पाउन मुस्किल छ । प्राकृतिक र सम्पदाको धनी मुलुक नेपालमा युवा पलायनता रोक्ने नीति बन्नुपर्छ । युवाहरूलाई रोक्न आफ्नो मुलुकप्रति आर्कषण बढाउन पर्छ । रोजगारीका अवसर सिर्जना गर्नुपर्छ । मुख्य मियो नै राजनीति हो राजनीतिमा उहिलेका नेताका उहीं पुराना आँखा र अनुहारले यो पलायनता देख्दैन र रोक्दैन पनि । नयाँ नीति नयाँ विचार र नयाँ नेतृत्व नै युवाहरूलाई स्वदेशमै रोक्न सक्छ नत्र भोलिको नेपालको भविष्य अध्यारो सुरुङ्गतर्फ उन्मुख छ ।
