मलाई नसोध कहाँ दुख्छ घाउ म जे छु ठीकै छु बिथोल्न नआऊ । नारायण गोपाल भन्नासाथ संगीत पारखीको दिमागमा प्रणय, वियोग र वैराग्यका भाका गुन्जन थालिहाल्छ । उनले स्वर भरेका विरही गीतहरूमा आफ्नो भावना गाँसेर तपाईं पनि कल्पना लोकको शयर गर्नु भएकै होला ! स्वर सम्राट्को वेदनाले भरिएका गीत सुनिरहँदा हामी सोच्छौं, पक्कै उनको जीवनमा पनि यस्तै पीडा र व्यथा होलान् है ! त्यो साँचो रहेछ । नारायणगोपालको जीवनकाल साँच्चिकै वेदनाले ग्रस्त रहेछ । हालै भेटिएको नारायणगोपालको डायरीले एक समय उनीभित्र अभाव, बेवास्ता र तिरस्कारले दिएको गहिरो घाउ रहेको बताउँछ । डायरीमा जागीरको खोजीमा भौंतारिएकोदेखि स्वाभिमानी शिर कसैसामु झुक्न नसकेकोसम्मको बयान छ । सांगीतिक यात्राको एउटा कालखण्डमा चरम आर्थिक अभावले उनलाई डिप्रेशनमा समेत पु¥याएको देखिन्छ । नारायणगोपालको जीवनका अँध्यारा पाना पल्टाउँदा उनी उपेक्षा, असहयोग र अपमानको ज्वालामा खारिएर ‘स्वरसम्राट्’ बनेका रहेछन् भन्ने बुझिन्छ । डायरीमा उनको जीवन भोगाइ कतिसम्म कष्टप्रद रहेको देखाउँछ भने ‘आफ्नो जीवन व्यर्थ भएको र आफूलाई बाँच्न मन नभएको’ सम्म लेखेका छन् । २०२० सालतिर चरम निराशामा पुगेको वेला नारायणगोपालले लेखेको डायरीको शुरूआत नै निराशापूर्ण छ । २०२६ साल वैशाख १ गते आइतबार उनले लेखेका छन् – ‘नयाँ वर्ष भएर के हुन्छ र ? मान्छे त जम्मै उही हो । जे होस् नयाँ वर्षको शुभकामना !’ अद्भुत गीत संगीतका सिर्जनाकार स्वरसम्राट् आर्थिक अभावमा परेपछि जागीर खोज्न दैलो दैलो भौंतारिन्छन् । तर चाकडीको ‘च’ नगर्ने स्वाभिमानी गायकलाई कसैले नोकरीमा राख्न चाहँदैनन् । त्यसबाट आहत स्वरसम्राट्को भित्रैदेखि दिमाग हल्लाउने उद्गार निस्कन्छ । उनी डायरीमा लेख्छन्– ‘ढुंगा खान्छु, तर चाकडी गर्दिनँ ।’ नारायणगोपाल २०२४ सालमा भारतको बरोडामा शास्त्रीय संगीत पढेर फर्केका थिए । तर फर्किएको लामो समयसम्म बेरोजगार रहे । शास्त्रीय संगीतको अनुभवपछि उनले पाश्चात्य संगीतको पनि गहिरो अध्ययन गरेको उनकी पत्नी पेमला गुरुवाचार्यले संस्मरणमा लेखेकी छन् । तर नारायणगोपालले २०१६ सालदेखि नै गाउन शुरू गरेका हुन् । बागीना पत्रिकाको नारायणगोपाल स्मृति अंकमा संगीतकार एवम् लेखक बुलु मुकारुङले लेखे अनुसार २०१६ देखि २०२५ सालसम्म उनका ३२ वटा गीत रेडियो नेपालबाट प्रसारण भइसकेका थिए । तीमध्ये केही गीत हिट पनि भएका थिए । तर उनी रेडियो नेपालका ‘जागीरे कलाकार’ थिएनन् । प्रतिगीत पाँचदेखि १० रुपैयाँ मात्र पाउँथे । त्यसैले चर्चित गायक भए पनि नारायणगोपालले आर्थिक अभाव भोग्नुपरेको थियो । अहिले जस्तो एउटा गीत हिट हुनासाथ देश–विदेशमा मेला, महोत्सव र कन्सर्टमा गाउन पाउने र पैसा कमाउने अवस्था थिएन । गीतसंगीतमा लागेर गुजारा नचलेपछि गीत गाउनु नै बेकार रहेको सोचमा नारायण गोपाल पुगेको देखिन्छ । जागीर नखाँदा उनले परिवारबाटै हेपाइ खेप्नुपरेको रहेछ । डायरीमा उनी लेख्छन् ‘आमाबाबु दुवै मिलेर खुब गाली ग¥यो । यत्रो भएर पनि जागीर खान नसक्नु लाजको कुरो हो । साँच्चै म लज्जित छु । कसलाई भनूँ म आफ्नो व्यथा ? कल्ले बुझिदेला मेरो ‘म’ लाई ? घरबार सब छाडेर हिंड्न मन लाग्छ पहाडतिर । गीत गाउनु पनि बेकार जस्तो लागेर आउँछ । हामीलाई समाजका ठेकेदारहरूले शोषण गरेका छन् । हामी असहाय छौं ।’ नारायण गोपालले जागीर नपाएकै कारण निराश भएको डायरीका धेरै ठाउँमा लेखेका छन् । आफ्नो आर्थिक अभावलाई उनले ‘सत्य र इमानदारीको नतीजा’ भनेका छन् । अभावमा जिउनुपर्दा उनी ईश्वर पुकार्ने अवस्थासम्म पुगेको देखिन्छ । वेदना मिश्रित यी भावना पढ्दा लाग्छ, उनले यी कुरा आँसुकै मसीले लेखेका हुन् । आर्थिक संकटबारे उनले एक ठाउँमा लेखेका छन्– ‘जुत्ता पनि स्वर्गीय हुन लागेछ । दुई जोर लुगा पनि फाट्न लागिसके । बिंडी खानलाई पनि पैसा छैन । हे ईश्वर ! सत्य र इमानदारीको नतीजा यस्तै हुँदो रहेछ भने, मलाई छिटै लैजाऊ तिम्रो घरमा । मेरो घर, समाज, साथीहरू सबै सबैको अपमानको पात्र बनेको छु म । आज म गरीब भएर मामूली मान्छेले पनि जोरी खोज्ने गर्छु । भाइबहिनीले त हेला गर्छ मलाई । म के गरूँ ?’ संगीतकर्मीका रूपमा रेडियो नेपाल र संस्कृति विभागले काम नदिएकोमा निरुपाय बनेका उनले अरू जुनसुकै काम गर्न पनि तयार रहेको लेखेका छन् । कृषि विकास ब्यांकमा कार्यालय प्रबन्धक पदको जागीर खुलेपछि त्यसका लागि परीक्षा दिने निधो गरे । परीक्षा दिन रत्नराज्यलक्ष्मी कन्या महाविद्यालयमा पुगे । परीक्षा हलमा १०० भन्दा बढी परीक्षार्थीरहेको र आफूलाई देख्नासाथ सबैले आपसमा खासखुस गरेको भन्दै उनी डायरीमा लेख्छन्– ‘सबैले मलाई नै हेरेर खासखुस कुरा गरेको सुन्छु । म लज्जित हुन्छु र परीक्षामा नबसीकनै फर्कन्छु ।’ संगीत क्षेत्र बाहिरको काम गर्दा संगीत छोड्नुपर्ने पीरले उनलाई सताएको देखिन्छ । लेखेका छन्– ‘लुगाफाटासम्म राम्ररी लाउन सकेको छैन । यहाँसम्म कि चुरोट वा चिया पिउनको लागि समेत मसँग पैसा हुँदैन । पैसा विना मान्छेलाई बाँच्न कस्तो गाह्रो पर्दो रहेछ । काम त केही न केही गर्नुपर्ने हो बाँच्नको लागि, तर के काम गर्नु ? मेरो काम त गाउनु वा संगीत बनाउनु हो । त्यस्तो कामको लागि वर्षौं कोशिश गर्दा पनि पाएन । रेडियो र संस्कृति विभागले मलाई कुन्नि किन ईष्र्या गर्छ र त्यहाँ मैले काम पाउँदिनँ । अरू कामको लागि पनि म तयार छु । हालाकी संगीत छोड्नुपर्छ, तर कसलाई भन्ने कसरी भन्ने ? म बी.ए. भएर के भो ?’ डायरीका अन्तिम पृष्ठसम्म पनि उनले अभावकै चर्चा गरेका छन् । पैसाको फिटफिटी परेपछि मीत गोपाल योञ्जनसँग उनले धेरै पटक सापटी मागेका रहेछन् । उनले डायरीमा हिसाब राखेका छन्– ‘यसअघि पनि पचास रुपैयाँ लिएको थिएँ मीतज्यूसँग । आज फेरि २०० रुपैंया । लिएको छु सूट बनाउनको लागि । जम्मा २५० रुपैयाँ दिनुपर्नेछ उनलाई मैले ।’ स्वाभिमानका धरोहर गायक कसैका अगाडि हात फैलाउँदैनथे । शिर निहुराउँदैनथे । राज्यसँग चाकडी गर्न लाइन लाग्दैनथे । त्यसैले उनलाई घमण्डी भनिन्थ्यो । असहयोग गरिन्थ्यो । उनका डायरीमा असीमित आक्रोशसँगै घनघोर निराशाका मसी पोखिएका छन् । जीवनप्रति चरम निराशा प्रकट गरेका छन् । आफू घरको बोझ बनेको भन्दै बाँच्ने चाहना नै नभएको भन्दै लेखेका छन्– ‘आजभोलि म कहीं जान्नँ । बिहानभरि घरमै अनि खाना अनि सोना अनि जागना अनि बाहर जाना ...बस ...यही दोहोरिन्छ ...मेरो जीवन एक रुखोपना । मेरो जीवन व्यर्थ जस्तो लाग्छ । म कल्पनामा उड्छु आफू कोठमा बसेर । झ्यालबाट नागार्जुनको डाँडा हेर्दै म रंगीबिरंगी स्वप्रदेशमा पुग्छु । वास्तविकता जब मेरो छेउ आउँछ, म आकाशबाट खस्छु तल....एकदम । म रुन्छु एक्लै.....सान्त्वना पाउँछु एकछिन, अनि उही झन् दोहोरिन्छ । म एक बोझ घरको । हे ईश्वर म बाँच्न चाहन्नँ ।’ यो पनि पढ्नुहोस् ः नारायण गोपालको हालै भेटिएको डायरी ः ढुंगा खान्छु, तर चाकडी गर्दिनँ (बुधबार, साउन
