IMG-LOGO

छोरीहरु किन कम जन्मिरहेका छन् ?

 मंगल, भदौ ४, २०८१  – उर्मिला गम्वा थारु

            २०६८ र २०७८ को बीचमा जन्मिएका बालकको संख्या ५१ लाख छ भने बालिका ४७ लाख मात्र छन् । राष्ट्रिय जनगणना २०६८ मा एक करोड १० लाख ८४ हजार रहेको बालबालिको संख्या यसपालि घटेर ९८ लाख ६९ हजार पुगेछ । जनसंख्या बढ्नुपर्नेमा उल्टै घटेर १२ लाख १४ हजार कम हुन गएको छ ।           यो तथ्यांकभित्र छिरेर हेर्दा उद्घाटित हुने अर्को तथ्य त झन् डरलाग्दो छ, जहाँ बाबुआमाले छोरीभन्दा छोरा जन्माउन बल गरिरहेको देखिन्छ । यो १० वर्षभित्र जन्मिएका बालकको संख्या ५१ लाख १४ हजार छ भने ४७ लाख ५५ हजार मात्र बालिका जन्मिएका छन् ।           पुरुषप्रधान समाजले निर्धारण गर्ने चिन्तनका कारण हाम्रो समाजमा यसअघि पनि छोरीको तुलनामा छोरा जन्माउने प्रवृत्ति संस्कारकै रूपमा विकास नभएको होइन् । तर यसपालि देखिएको असमानताको खाडल निकै फराकिलो छ । जस्तै– १० वर्षअघि छोरा र छोरीको यस्तो फरक जम्मा एक लाख ६७ हजारको देखिन्थ्यो । २०५८ सालको जनगणनामा त यो फरक झन् एक लाख ६५ हजारको थियो । अहिले १०० जना छोरी जन्मिँदा ११२ जना छोरा जन्मिरहेका छन् ।           शिक्षा, इन्टरनेट र विश्वका कुनाकाप्चामा पहुँच भएको र झन् बढी जान्नेबुझ्ने भनिएको अहिलेको पुस्ता झन् किन छोरीप्रति अनुदार देखिन्छ ? व्यक्ति, परिवार र समाजले लिएको यत्रो ठूलो निर्णयको समाजशास्त्रीय अध्ययन त भएको छैन, तर केही अध्येता यस्तो अभ्यास हाम्रा निम्ति संकटका रूपमा निम्तिन सक्ने आशंका गर्छन् । हामी छलफल गरौं– आखिर बच्चा किन कम जन्मिरहेका छन् ? गरीबी र अभाव           केहीले गरीबी र अभावका कारण बच्चाको पालनपोषण गर्न सास्ती भोग्नुपर्ने हुनाले कम बच्चा जन्मिरहेको विश्लेषण गरेको देखिन्छ । हुन पनि पहिला सुनिने गरेको ‘एक छोरा एक छोरी’ को नारा अहिले ‘एउटा भए ठिक्क’ मा सीमित हुन पुगेको छ । विदेश उड्ने संस्कृति           रोजगार र अध्ययनका लागि विश्वका गाउँशहर पुगेका ४० लाख भन्दा बढी मान्छेको उर्वर समय श्रममै बितिरहेकाले तिनको बिहेबारी ढिलो भइरहेको छ । बिहे भए पनि दम्पतीको मिलाप लामो समयमा हुने गरेको छ । गर्भपतन           नेपालमा भ्रुण परीक्षण कानूनले रोकेको छ । तर लुकीछिपी यस्ता काम भइरहेका समाचार आइरहेका हुन्छन् । सीमाक्षेत्रमा भने भारतमा गई छोरी भए गर्भपतन गराउने काम भइरहेको हुन सक्ने त्रिभुवन विश्वविद्यालयको जनसंख्या विभागका प्राध्यापक योगेन्द्र गुरुङको अनुमान छ । उनको आशंकाको पछाडि कारण पनि देखिन्छ ।           तथ्यांकले नेपालभरिमा धनुषामा सबैभन्दा बढी छोरा जन्मिरहेको देखाउँछ । यस जिल्लामा १०० छोरी जन्मिँदा १३३ जना छोरा जन्मिरहेको देखिन्छ । जबकि राष्ट्रिय औसतमा हेर्दा यो निकै फराकिलो अंक हो । धनुषापछि सप्तरी, सिरहा, कैलाली, कञ्चनपुर र डोटीमा लैंगिक अनुपात उच्च देखिन्छ । छोरीको बिहेवारी गर्दा दाइजोमा मोटो रकम खर्च हुने हुनाले दाइजो प्रथा जीवित समाजमा छोरी जन्मिनुलाई रुचिकर मानिंदैन । त्यसैले भ्रुण पहिचान गराएर गर्भपतन गराइन्छ । यो प्रवृत्ति बढ्दै गए के होला ?           केटाहरूले बिहे गर्न केटी नपाउने हुन्छ । यस्तो असन्तुलनले समाजमा यौन सम्बन्धी विचलन ल्याउँछ र महिलामाथि हुने हिंसालाई झन् प्रवद्र्धन गर्छ । त्यसैले यस्तो विपत्तिको आगमन अगावै हामीले केही सतर्कता अपनाउनुपर्ने हुन्छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्