IMG-LOGO

सत्ताको केन्द्रीयकरण इतिहासको कसिंगर

 मंगल, सावन २२, २०८१  – टंक कार्की

            राणा शासन सत्ताको सामन्ती स्वरुपको अभिव्यक्ति थियो । पुरानो, सामन्ति राजनीतिक सत्ताको जन्म अक्सर बन्दुकको नालबाटै हुने गर्दथ्यो । राणा शासनको प्रवर्तन पनि स्वयं त्यसका प्रवर्तक जंगबहादुर राणाको रक्तपातपूर्ण सैनिक विप्लवबाट भएको थियो । सत्ता हडप्नेबित्तिकै उनले त्यसको केन्द्रीयकरण गर्न थाले । सुरु मै उनले राजाकै ढर्रा र राजाकै संस्कृतिको सिको गरे र राजाकै जस्तो ‘शयन कक्ष’ रोजे । उनले ‘श्री ३ महाराज’को श्रीपेच पहिरिए र भोगविलासमा लिप्त, नालायक राजालाई खोपीमा धकेलेर आफै सर्वसत्तावादी बन्न पुगे । लगत्तै उनले आफूले धारण गरेको प्रधानमन्त्रीलाई कार्यपालिकाको मात्र नभएर सिंगो सत्ताको एकछत्र सर्वेसर्वा बनाए । आफ्नो यस्तो सत्तालाई सुदृढ र चीरस्थाई बनाउने विश्वस्त आधारको खोजीमा उनले आफ्नै परिवारलाई अचुक ठाने । भाइ, छोरा र भतिजालाई सत्ताका निर्णायक गौंडामा तैनाथ गरे । सत्ताको यो नवस्थापित प्रणालीलाई राणा शासन भन्न थालियो । परिवार भित्र पनि कुनै रडाको न होस् भन्नका निमित्त उनले आफ्नो उत्तराधिकारीको रुपमा भाइ, छोरा र नातिहरुका बीचमा रोलक्रम मिलाए । आफैले बनाएको यस रोल क्रममा पनि आफ्नै सन्तानप्रति उनको बढ्ता आशक्ति थियो । उनले बाँधेको रोलक्रममा भाइहरुका छोरा भन्दा आफ्नो नाति माथि राखेका थिए । जंगबाहादुरको अवसानको लगत्तै पछि रोल क्रम कुर्न भाइ छोरामा धैर्यता रहेन र राजनीतिक सत्ता हात पार्न पुर्खाको सिको गर्दै बन्दुकको नाल समात्न थालियो, भाइले दाइ काट्ने या भतिजाले काका सिध्याउने खेल सुरु भयो । सत्ताको घेरा साँगुरो हुन थाल्यो । रोल क्रममा  रणोद्दिप प्रधानमन्त्री बनेका ५ वर्ष नबित्दै, वि. सं. १९३८मा जंग बहादुरका छोराहरुले काकाको गद्दीमा बस्ने षडयन्त्र रच्न थाले । त्यो सफल हुन सकेन । वि.सं. १९४२ मा धीर शमशेरका छोराहरु मिलेर अर्को राज्य विप्लव गरे र काका रणोद्दिप र जंगबहादुरका छोरा, नातिको सफाया गरे । अब नयाँ शासक, वीर शमशेरले  सत्ता शमशेर खलकमा मात्र सीमित गरे । वि. सं १९७७ मा चन्द्र शमशेरले उत्तराधिकारीको रोलक्रम आफ्ना छोराहरूमा सीमित पार्नका लागि विसं १९७७ सालमा सम्पूर्ण शमशेर खलकलाई तीन श्रेणीमा विभाजन गरे । व्याइते पट्टिकाबाट जन्मेकाको दुई श्रेणी र ल्याइते पट्टीकाबाट जन्मेकाको अर्को श्रेणी गरी जम्मा तीन ।           ए क्लास– विधिपूर्वक विवाह गरेकी पत्नीबाट (जातिय परम्परा अनुसार बाजा बजाएर, सिंदुर हालेर, डोली चढाई ल्याएकी) जन्मेका ‘१७ भाइ’का सन्तान । बी क्लास–भात बाहेक सबै कुरा चल्ने जातकी विवाहित पत्नीबाट जन्मेका र अरु केही राणा सन्तान । सी क्लास–ल्याइते पट्टिकाबाट जन्मेका  बाँकी सबै सन्तान । (वास्तवमा यो सत्ताको सिमाङ्कृत तह हो)           वि सं १९९० मा जुद्ध शमशेरले रोल क्रमको दायरा, सत्ताको सीमान्त पहुँचबाट पनि सी क्लास राणालाई पुरै बाहिर पारे । यसरी सत्ता केन्द्रियकरण्लाई उत्कर्षमा पु¥याइयो । अब ओरालो लाग्नु बाहेक अर्को विकल्प थिएन । अनि भने १७ वर्ष पनि लागेन राणा शासन गल्र्यामगुर्लुम ढल्न, जस्को अगाडि डरका मारे, भनिन्छ,  बाङ्गो रुखलाई पनि सोझो भन्नू पथ्र्यो । आज त्यसका रजगजकर्ताहरु इतिहासको कुनै अँध्यारो कुनामा लुकेर बस्न अभिसप्त छन् ।  

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्