IMG-LOGO

हिसी हराएको शहर

 मंगल, सावन १५, २०८१  – किशोर नेपाल

      आत्महत्या होइन, हाराकिरी । आत्महत्या सोझो र सपाट हुन्छ । एक दुई तिखा शब्द मनको भित्री तहमा गडेपछि मानिस असह्य वेदनाले छटपटाउन थाल्छ, त्यसबेला भावनाको अतिरेकमा आफ्नो घाटीमा आफैँ सुर्किने कस्न थाल्छ । हिजो बिहान मात्रै, एका बिहानै, घाम भुल्किनसम्म पनि नपाउँदै, भर्खरै जवानीको सीमाना छुन लागेकी शहरकी एउटी केटीले आफ्नै कोठाको दलिनमा घाटीमा पासो लगाएर आत्महत्याको प्रयास गरी । काठमाडौँमा अब दलिन राखेर बनाइएका आवासीय घरमा रमाउनेहरू बाँकी नै कति छन् र ? पूर्वको इच्छुमती र पश्चिमको विष्णुमतीलाई काठमाडौँ शहरको साँध सीमाना मान्नेहरूको पुस्ता टुङ्गिइसकेको छ । घरको मूल ढोकाको दायाँबायाँ खोपामा राखिएका गणेश र भीमसेनलाई अक्षता चढाएर भर्याङ उक्लिदै गरेकी केटीकी आमाको आँखामा पासोको त्यो भयानक दृश्य नपरेको भए त्यो एउटा यौवन अकस्मात आएको आँधी अचानक रोकिएजस्तै गरी रोकिन्थ्यो । भर्याङ उक्लिँदै गरेकी आमा त्यो दृश्य देखेर आत्तिएकी थिई । उसको हातबाट खोपाको भीमसेनलाई नित्यजल चढाउने करुवा खसेर भरेङमा गुडेको थियो । टन, टन, टन । आवाजले ऊ झन् आत्तिएकी थिई । त्यो तीन पुस्ता पुरानो करुवाको टुटी फुस्कियो कि के हो ?       ‘कुन्या सु हँ ? ‘माथि बुइँगलवाट आवाज आएपछि जवाफमा ऊ चिच्याएकी थिई, ‘याकन, क्वहां झाँस....’ आवाजसँगै भ¥याङबाट आधा दर्जन पाइला तल ओर्लिएका थिए । काठमाडौँ एउटा हाराकिरीबाट जोगिएको थियो ।       अहिले शहरमा घरका मूल ढोकामा बस्ने गणेश र भीमसेनहरू विस्थापित हुँदै गएका छन् । उसै पनि शहर भित्रको आधाभन्दा बढी घना बस्ती शहर बाहिर सरिसकेको छ । बस्तीहरूसँगै स्थानीय अरनिकोहरू पनि विस्थापित भएका छन् । पगोडा वास्तु शैली खर्चिलो मात्रै होइन, झन्झटिलो पनि छ । त्यसैले मानिसहरूले वास्तुकलाको ‘आलु’ शैली अपनाएका छन् । नयाँ बस्तीका यस्ता घरका ढोकामा गणेश र भीमसेनको आवश्यकता नै पर्दैन । धर्म निरपेक्ष समाजमा देवताहरूप्रति जनताको निरपेक्ष भाव अस्वाभाविक होइन । तताजुले रक्सी बनाउने पुराना घरका बुइँगलहरू इनर्जी ड्रिङ्क्सका गोदाम बनेका छन् भने घरका दोस्रा र तेस्रा तल्ला ब्राज र लन्जरीका शोरुम बनेका छन् । स्थानीय भाषा र संस्कृतिका अभियान निरन्तर चलेका छन् । चर्को ध्वनि प्रदूषणले गर्दा यस्ता भाषा र तिनका मौलिक शब्द स्पष्ट सुनिन छाडेका छन् । अङ्ग्रेजी भाषामा अर्थ नखुलाई बोलिएको एक्लो ‘भिन्तुना’ शब्दले समेत शुभकामनाको भाव प्रकट गर्न छाडिसकेको छ ।       नरदेवी निरको त्यो एउटा देशेमरु झ्याँ कसोकसो सुरक्षित राखिएको छ, फलामे ग्रीलका कुरूप पिंजडा भित्र । काठमाडौँको पूरै संस्कृति हनुमान ढोकाको एउटै आँगनमा गज्याङगुजुङ थुप्रिएको छ । तान्त्रिक परम्पराका शक्तिशाली देवता कालभैरवको अवस्था शहरको ट्राफिक व्यवस्थापनमा लागेका प्रहरी जवानहरूको भन्दापनि दयनीय छ । तैपनि, हामी दन्त्य कथा बनिसकेका गौरवपूर्ण इतिहासमा रमाउन छाडेका छैनौँ । अबको केही समयपछि त यो संस्कृतिले नै पनि आफ्नो गौरवशाली समयको वर्णन सुन्न केही शताब्दी पछिको सम्भावित पुरातात्विक उत्खननलाई पर्खिनुपर्ला जस्तो छ । कति शताब्दी ? संस्कृति र पुरातत्वका ज्ञाताहरूसँग पनि आगामी त्यो समयको पहिचान गर्ने शक्ति छैन होला ।       हाराकिरी आत्महत्याको एउटा विभत्स रूप हो । बादशाहको सेवा गर्दागर्दै पराजित भएका जापानी सामुराइले पराजय र त्यसबाट उत्पन्न भएको अपमान र ग्लानीविरुद्ध हाराकिरी गरेर ज्यान फालेजस्तै काठमाडौंले आफ्नो पेटमा आफैँ खन्जर प्रयोग गरेर छताछुल्ल आन्द्राभँुडी निकालिसकेको छ । काठमाडौँ अब त्यो काठमाडौँ छैन, जहाँका साहुनीहरूले तीन तला माथिको बुइँगलबाट तल सडकमा कोपरा घोप्ट्याउँदा आफ्नै तालमा हिँडिरहेको कुनै ग्रामीण बटुवाको टाउकोको टोपीभिज्ने गथ्र्यो । टोपी फुकालेर बटुवा केही बेर सडकमा ठिङ्ङ उभिन्थ्योे र तीनतला माथि आँखा तान्दै गुहार लगाउँथ्यो, ‘चोखो हो ? ‘माथिबाट कुनै अदृश्य अनुहारले जवाफ दिन्थ्यो, ‘च्वखः ।’ जवाफले सन्तुष्ट बटुवा टोपी टक्टक्याउँदै आफ्नो बाटो लाग्थ्यो । विश्वास र सद्भावको त्यस समयमा उसलाई ‘चोखो’ अर्थात् पवित्र र ‘च्व’ अर्थात् पिसाब बीचको अन्तर जानिरहनुपर्ने आवश्यकता नै थिएन ।       अहिले पनि विलुप्त भएको छैन, काठमाडौँको त्यो कोपरा–सभ्यता । कोपरा शहरको सबभन्दा सुविधाजनक पोर्टेबल ट्वाइलेट हो । अहिले शहर त्यसैमा रमाइरहेको छ ।‘चोखो हो’ र ‘च्वखः’ बीच अलिकति पनि दूरी बाँकी रहेको छैन । किचन र ट्वाइलेट बीचको आधा मिटरभन्दाकम दूरीमा हाँसिरहेको भेटिन्छ, नाचिरहेको देखिन्छ यो शहर ।       धेरैपछि, मरु गणेशबाट छिरेर काठमाडौँ शहरको पश्चिमी भागलाई नियाल्दा लागेको थियो, काठमाडौँका केही चरित्र ज्यान जोगाउने उद्देश्यले भएपनि त्यतातिर लुकेर बसेका होलान् । त्यहाँ त्यस्तो केही थिएन । शहरका नामुद छोयलाबजी पसलहरूमध्ये केही ‘नेवारी खाजा घर’ कानामले चिनिन थालेका थिए । अरू केही साइबर क्याफे र केही ‘यहाँ रंगीन प्रिन्ट हुन्छ’ पसलमा रूपान्तरित थिए । महानगरपालिकाको टिपर बिग्रिएको कारणले मात्रै एक सातादेखि थुप्रिएको फोहोरको थुप्रो नजिक एक हुल केटाकेटी झालमुरीको स्वाद लिँदै ‘शीलाकीजवानी’मा रमाइरहेका थिए । शहरको सरसफाईको अनुगमन गर्न कहिल्यै कुनै सरकारी अनुगमन टोली नआएको यो बस्तीमा महानगरपालिकाले एउटा बोर्ड झुन्ड्याइ दिएको थियो, ‘बासी, सडेगलेका र झिङ्गा भन्किएका खानेकुरा नखाऔँ । ‘वर्षाँैदेखि टोलमा तीन कबलको पसल थापेर रफ्फु र रंगाइको कामगर्दै आएको रहिमबक्सको छोरो पुस्तैनी पेसा त्यागेर झालमुरीको व्यापारमा लागेको थियो । झालमुरीको उसको पोर्टेबल पसल त्यही बोर्डको मुनि थियो । रहिमबक्सले आफ्नो पसलको दुईवटा कबल भाडामा लगाएको थियो । किनभने, रहिमको रफ्फु र रंगाइकोे बिजनेसका लागि एउटा कबल नै पर्याप्त थियो । उसको छेउको पसल खुबचलेको थियो । किनभने, छेउछाउमा सबै खालका रक्सी पाइने यो बाहेक अर्को कुनै कोल्ड स्टोर थिएन ।       बाङ्गेमुढाको छेउतिर पनि अलिकति काठमाडौँ बाँकी थियो । तर, सडकको मोडमा रहेको चन्द्रमान साहुको त्यो पुरानो किराना पसलको अस्तित्व मेटिइसकेको थियो । जाइफल र जीराका लागि प्रसिद्ध त्यस पसलमा कोला र आइसक्रिमहरूले घेरिएर बसेकी साहुनी चन्द्रमानकी छोरी नै थिइन्– चन्द्रमाया साहुनीकी ठ्याक्कै डुप्लिकेट । चन्द्रमाया कपाल कोरेपछि गुनकेशरीको एक थुङ्गा पूmलआफ्नो जुरोमा सिउरिन्थिन् र त्यसलाई काँटाले च्याप्थिन् । तर, उनकी छोरीलाई शहरको प्रतीकका रूपमा रहेको गुनकेशरी पूmलको पहिचान नै छैन ।       चन्द्रमाया किराना पसलको पहिलो तलामा ठूलो र गोलो चकटी ओछ्याएर बस्ने गर्थिन् । शहरको एउटा एक्सक्ल्युसिभ बारजस्तै थियोे, चन्द्रमायाको यो ‘गुप्ती’ पसल गुप्ती किनभने यो पूरै सार्वजनिक थिएन । लिमिटेड एडिसनका नामले उत्पादन गरिने ह्विस्कीको बोतलजस्तो थोरै मानिसको मात्र पहुँच थियो, त्यो तुच्चा छेंमा । हाकु छोयला र वँ बनाउन उस्ताद थिइन्, चन्द्रमाया साहुनी । गुप्ती पसलमा पाब्लो नेरुदादेखि निर्मल बर्मासम्म– सयौँ कवि र लेखकहरूको चर्चा हुन्थ्यो प्रत्येक साँझ । हाकु छोयलाको पीरो स्वाद सँगतीखो कविता । नयाँ नयाँ विम्ब र प्रतीकको खजाना खुल्थ्यो । रात शुरु भैसकेपछि कविता र कथाका परिकल्पना र ‘थीम’को कुम्लो बोकेर लठारिँदै निस्किन्थे साहित्यकारहरू ।       चन्द्रमायाको घरसँगै जोडिएको अर्को एउटा घरमा तमाखु पसल थियो, चन्द्रमायाको भाइको । उनकी भाइ बुहारी राममाया तमाखु बेच्नमा भन्दा कतिबेला को आउला र पानी माग्ला भन्ने ध्याउन्नमा हुन्थिन् । ‘पानीखाउँ न साहुनी’, मुखबाट आवाज झर्न पनि नपाउँदै उनी ढलोटको चम्किलो करुवामा पानी लिएर मानिसका अगाडि उभिइ हाल्थिन् । तिर्खाएका मानिसलाई पानी पिलाउँदा धर्म हुने मान्यता बाँकी रहे पनि त्यो मान्यताको स्मृति भ्रमित भैसकेको छ । शहर पानीको अभाव र सप्लाईको चाप बढेपछि राममायाकी बुहारी सत्यप्रियाले पानीको व्यापार शुरु गरेकी छिन् एक लिटरको २० रुपैयाँ, एक जारको दुई सय २० रुपैयाँ ।       यो त हाराकिरी नै हो काठमाडौँको । काठमाडौँले धेरैलाई उदारतापूर्वक जीवनको वरदानदियो । आफू अपमानित भएर पनि सबैको सम्मान ग¥यो । दुनियाँका सारा उँचनीच ‘सभ्यता’लाई समेट्दा–समेट्दै कतिखेर यो आफै हाराकिरीको अवस्थामा पुग्यो ? कसैले पनि थाहा पाएन । शहरहरूको विस्तार हुँदा कतै पनि सभ्यता मासिँदैन । काठमाडौँको हकमा भने यसको उल्टो भएको छ । शहरका प्रसिद्ध जात्रा हेर्न कुनै रेस्टुरेन्ट धाउनुपर्ने, काष्ठकलाका प्रसिद्ध नमुना हेर्न कुनै डिलक्स होटलको आँगनमा पुग्नुपर्ने र चौरमा पलेटी मारेर रमाउने ‘लप्ते भोंय्’का लागि पार्टी प्यालेस खोज्नुपर्ने जस्ता विसंगतिले काठमाडौँको व्यक्तित्व ताछेको छ । काठमाडौँ एउटा ठूलो दहबाट ठूलो शहर र ठूलो शहरबाट हाराकिरी टापु साबित हुनथालेको छ । कुनै मूर्ति नभएको काष्ठमण्डपमा पहिचान बिनाका अनेकन मूर्ति थुपारिएका छन् । समावेशी शब्द जतिसुकै फैलिए पनि शहर घोर सङ्कुचनको जालोमा जेलिँदै गएको छ ।       कुनै समय यस्तो पनि थियो जहाँ चटकेहरु औषधिको प्रचार गर्थे, ‘गानो गोलामा, धातु बगेकोमा, अमिलो पानी आएकोमा, बात र पित्तमा–ल आयो, महाऋषि धन्वन्तरीको अचुक फर्मुलामा हाम्रो आफ्नै कारखानामा शुद्ध हिमाली जडिबुटीबाट तयार पारिएको यो औषधि तातो पानी वा मन तातो दूधसँग राती सुत्ने बेलामा पिउनुहोस् र खटिया तोड शक्ति आर्जन गर्नुहोस ।’ तासका आधा दर्जन चटक देखाइसकेपछि औषधिको चटके प्रचारक डमरु बजाउँथ्यो । टुँडिखेल तालीको गडगडाहटमा डुब्थ्यो । अहिले प्रचारबाट डमरु हटेको छ र पनि शैलीउस्तै छ । मानिसहरूको उर्लिँदो भीडमा चटक, बिक्रेता र ग्राहकको बढी छन् ? संख्याको ठेगान लाग्नसक्ने त अवस्था नै छैन । हाराकिरीपछि पनि काठमाडौँ टुक्रा–टुक्रा अस्तित्वमा जसोतसो बाँचेकै छ, निस्सासिँदै । हृदयहीन मानिसका कृतघ्नताले पटक–पटक घाइते भएर पनि उसलाई कुनै असर पारेको छैन । उसले त हाराकिरी गरिसकेको छ ।       के हुन्थ्यो काठमाडौँ शहरमात्रै भएर नेपालको राजधानी नभै दिएको भए ? यो खाल्डोबाट राजधानी अन्यत्र कतै सरेको भए सम्भवतः राजनीतिक नेताहरूले यसलाई मृत शहर घोषित गर्ने थिए होलान् । घोषणा गर्दैमा कुनै पनि जीवित संस्कृति र सभ्यता मर्ने भए संसारका धेरै शहर खण्डहरमा परिणत भैसकेका हुन्थे । राजनीतिको पनि केन्द्र नभइदिएको भए निरन्तरका प्रतिघातबाट जोगिन्थ्यो काठमाडौँ संस्कृति । केन्द्रीय राजनीति र राजधानीको अतिरिक्त भारी बोकेकै कारण काठमाडौले अपयशहरूको भारी बोक्नु पर्दैनथ्यो होला । सारा देशको शोषण गरेर आफूलाई मात्र सिँगारेको र सजाएको दोष खेप्नु पर्दैनथ्यो । नेपाल जित्न बित्तिकै पृथ्वीनारायण शाहले राजधानी बोकेर गोर्खा नै लगेको भएपनि के बिग्रिने थियो र काठमाडौँ शहरको ? कहाँनिर जोडिएको छ र काठमाडौं राजधानीसँग ? राजधानीको ढल र फोहोर, कुण्ठा र निराशा, घात र अन्तर्घात बेहोर्दा बेहोर्दै हाराकिरी गरेको छ काठमाडौँ शहरले । राजधानीका झुटा र फोस्रा आश्वासनहरूले निस्लोट परेको काठमाडौँ आफैँले गरेको हाराकिरीपछि छताछुल्ल भएका आन्द्राभुँडी कुहिएर फैलिएको बीष लागेर मरेका मानिसहरूको असंख्य लाश सकीनसकी घिसार्दैछ । राजधानीमा प्रति महिना कति मानिस ट्राफिक दुर्घटनामा परेर मर्ने गर्छन् ?त्यसको सही तथ्यांक कसैसंग छैन ।       काठमाडौँ आफ्ना सम्पूर्ण सभ्यता र संस्कृतिसहित छरछिमेकका गाउँसँग आवधिक हिसाबले भाडामा लिइएका विभिन्न डम्पिङ साइटमा गाडिएको छ । त्यो हिसी परेको समुद्रजस्तै लाग्ने काठमाडौँ अब कतै बाँकी छैन । साभार ः– रुपान्तरबाट

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्