IMG-LOGO

जे कुरामा पनि अदालत जाने ?

 मंगल, सावन ८, २०८१  – प्रा. राम लोहनी

                 नेपालीहरू जे कुरा पनि लिएर अदालत जाने लत बसिसक्यो । ऐन, कानुनका कुराहरूसम्म त ठिक हो । तर वैज्ञानिक तथ्यहरू उपर पनि नेपाली अदालत जान्छन् र अदालतले पनि एउटा फैसला गर्दिन्छ । जस्तो कि नेपाली भाषाको बारेमा अदालत गएका जमातको माध्यम गरेर अदालतले भाषाकै परिभाषा गर्दियो, व्याकरणकै परिभाषा गर्दियो । न्युटनको गुरुत्व बलको विरुद्धमा तत्कालको समयमा बेलायत र युरोपमा वैज्ञानिकहरूको ठूलो जमात खडा थियो । शून्यमा पनि प्रभावी हुने त्यस्तो बलको अस्तित्व हुन्न भन्ने ती ‘वैज्ञानिक’ हरूको दाबी थियो । कदाचित नेपालमा भौतिक विज्ञानकै विषयमा केही कुरा कसैले ग¥यो भने केही नेपाली प्रचलित वैज्ञानिक मान्यता विरुद्ध भयो, त्यसको खारेज गरि पाउँ भनेर अदालत जान्थे होलान् र अदालतले पनि त्यो प्राकृतिक शक्तिको पनि आफ्नै प्रकारले परिभाषा गरिदिन्थ्यो होला ।                अहिले हाम्रो अदालतले भाषा र व्याकरणको परिभाषा गरिदिएको छ । हामी भाषाविज्ञानमा भाषा एउटा प्राकृतिक वस्तु हो, त्यसको व्याकरण हुन्छ र त्यो व्याकरण पनि एउटा प्राकृतिक वस्तु हो भनेर पढ्छौँ, पढाउँछौँ । भाषाको एउटा सार्वभौम चरित्र हुन्छ, परिवर्तनशीलता । जसरी विविध प्राकृतिक र सामाजिक वस्तुको वैज्ञानिक अध्ययन अनुसन्धान गरेर त्यसको गुण तथा चरित्र पत्ता लगाइन्छ, भाषाको पनि विश्लेषण गरेर त्यसको प्रवृत्ति, स्वभाव, चरित्र आदिको लेखाजोखा गरिन्छ । वैज्ञानिक विश्लेषणबाट जे पत्ता लाग्यो, त्यो नै भाषाको व्याकरण ठहरिन्छ । जसरी विज्ञानमा निरन्तरको अध्ययन अनुसन्धानबाट नयाँ नयाँ कुरा स्थापित हुँदै जान्छन्, त्यसै गरी भाषा र व्याकरणको बारे पनि नयाँ नयाँ तथ्यहरू पत्ता लाग्दै जान्छन् । यसले गर्दा हिजो यस्तो थियो भन्दै आएको कुरा आज त्यसो नभएर यसो रहेछ भन्नु पर्ने अवस्था हुन्छ । भाषाको व्याकरण पनि त्यस्तै हो । अनुसन्धानबाट पत्ता लागेका तथ्यले नयाँ ज्ञान सिर्जना गर्ने हो । व्याकरणको बारे पनि नयाँ तथ्यको पुष्टि भएपछि त्यो नयाँ ज्ञान भयो । नयाँ ज्ञानले पुरानो ज्ञानको संशोधन गर्छ नै । त्यो नयाँ कुरा विद्यार्थीहरूलाई बताइन्छ, पुस्तक लेखिन्छ, र त्यसभन्दा अगाडि अनुसन्धानको बाटो खुल््छ ।                हाम्रा भाखी पण्डितहरू भाषा ‘आफै’ परिवर्तन हुन्छ त भन्छन् । तर परिवर्तन भएर यस्तो भएको छ भनेको चाहिँ मान्दैनन् । परिवर्तन हुन्छ तर परिवर्तित तथ्य बताउनु भनेको व्याकरण फेरेको तर्क गरिन्छ । भाषा परिवर्तन हुन्छ भन्ने हरूको अर्को मूढ दाबी के भने भाषा परिवर्तन हुन्छ तर व्याकरण परिवर्तन हुन्न । र हाम्रो अदालतले पनि यही कुरालाई समाएर व्याकरण परिवर्तन गर्न नहुने फैसला दियो । व्याकरण कसले परिवर्तन गरेको छ ? कहाँ गरिएको छ ? त्यो चाहिँ केही बुझिएन । कसैले चाहेर व्याकरण परिवर्तन हुन्छ र ? त्यो त भैरहेको हुन्छ, जसको कुनै विशेष कर्ता हुन्न । अनुसन्धानमा त्यो परिवर्तनको तथ्य बाहिरिन्छ । यसलाई परिवर्तन गरेको रटना लगाइन्छ ।                नेपाली विद्वानहरूमा भाषाको व्याकरण र लेिखित रूप फरक कुरा हो भन्ने पत्तो छैन । हिज्जेलाई व्याकरण मान्नेहरूको डाँको ठूलो छ । अदालतले पनि हिज्जे र व्याकरणलाई छ्यासमिस गरिदिएपछि वैज्ञानिक अनुसन्धान कहाँ फलदायी हुन्छ ? सबै कुरामा विचार राख्नु पनि कहिलेकाहिँ प्रत्युत्पादक हुने रहेछ । शब्दकोशमा परिवर्तन गरिएको हिज्जेको विवादलाई भाषा र व्याकरणको सैद्धान्तिक तथ्यहरूसँग गाँजेमाजे पारेपछि एउटा जमातलाई आफू विजित भएको भ्रम खडा भएको छ । नेपाल चार सय वर्ष अघिको युरोपको तहमा उक्लिएकोमा हामीलाई बधाइ छ । त्यो बेला ब्रुनोलाई ज्युँदै जलाइएको थियो । ग्यालिलियोलाई माफी माग्न लगाइएको थियो । न्युटनलाई युरोपियन महाद्वीपमा लगभग अस्वीकार गरिएको थियो । आज युरोप अर्कै छ । भाषा, व्याकरण र हिज्जेका कुरा नेपालीहरूले कहिले बुझ्लान् ?                अदालतको परिभाषाले भाषासम्बन्धी सबै खालका निर्णय गर्ने अख्तियार भाषा आयोगलाई प्रदान गरेको जस्तो देखियो । संविधानको धारा ७ (३) को प्रावधान ूभाषा सम्बन्धी अन्य कुरा भाषा आयोगको सिफारिसमाू गर्ने भनेको कुरालाई उठाएपछि त्यो अर्थ नस्किने निश्चित भएको हो । अर्थात् भाषा आयोगले नेपाली लगायत जुनसुकै भाषाको हिज्जे आदिको निर्णय गर्न सक्ने भयो र सरकारले त्यसलाई लागू गर्न सक्ने भयो । किनभने संविधानले त्यसरी बोलेको छ भन्ने आशय आदेशको देखियो । भाषाको हिज्जे आदिको बारेमा विश्वविद्यालय वा कुनै अनुसन्धाताले बोल्न नपाउने जस्तो बुझियो । संविधानको उक्त धारा भाषा योजनासँग सम्बन्धित हो भनेर कसैले अदालतलाई भनिदिएन । कसैले नभनिदिए पछि अदालतले थाहा पाएन । भाषाविद बनेर अदालत पुगेकाहरू तिनै डाँको ठूलो भएकाहरू नै थिए । अनि कहाँ पुग्छ सही कुरा !  

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्