IMG-LOGO

जीवनको अधुरो जिज्ञासा

 मंगल, असार २६, २०८१  – जयदेश श्रेष्ठ

     गायत्री मन्त्र, चण्डी पाठ, योग ध्यान व्यायाम गरियो । तीर्थ, व्रत, पाठ धर्म पनि गरिए कै हो । वेद, पुराणका कथा प्रवचनहरू सुनियो । ईश्वर बुझ्ने जान्ने प्रयासमा धर्म दर्शनका किताबहरू पनि पढियो । रामायण, महाभारत लगायत अनेकौँ धार्मिक धारावाहिक सिनेमा सिरियलहरू चाख मानी मानी हेरियो । धर्मको नाममा दान धर्मको चक्कर सप्ताह, कोटी होम, महायज्ञहरूमा गुरु, पण्डित, बाबाहरूको लीला पनि बुझियो । धर्म परिवर्तन वाहक बिदेशी शक्तिले गरिबिको मजाक धर्मको नाममा कसरी सोझासिधालाइ बलिको बोको बनाउँदो रहेछ । आफ्नै परिवार र समाजमा विखण्डन गराउने आ आफ्नोको प्रचारक सबैमा आफ्नै धर्म ठुलो भन्ने शक्तिको पुजारी अरूलाई भ्रममा राख्न कसरी लागी पर्छन् भन्ने पनि बुझियो ।      यी सबै अनुभव गरेर ईश्वरीय शक्ति धर्मग्रन्थ र मानवीय शक्तिको बारेमा आफ्नै मूल्याङ्कनमा मेरो अझै अध्ययन नपुगेको हो कि ! म अझै अबुझ हुँ कि ! त्यो त थाहा छैन, तर म शून्यताको विन्दुमा पुगेर आफ्नो तर्क राखेको अनुभूति भयो । यहाँ धर्मग्रन्थहरूमा ईश्वर शक्ति भनेको आ आफ्नो अनुकूल व्याख्या गरी काल्पनिक दर्शन शास्त्र प्रचारक गर्नु पनि  पाखण्डीपन हो । जसले हरेकलाई एउटा न एउटा धर्म संस्कारमा लपेटिरहेको हुन्छ । धर्मको नाम दिएर मान्छे मान्छेमा जात वर्णको विभेद गराउने अहंकारी धर्म हुँदैन । तर पनि यो संसार धर्मको नाम उठल पुठल हुने धर्मको शक्ति बढिरहेको छ ।      एउटा अबोध नाजायज बच्चा जसको माता पिता जो सुकै होस । उसलाई जसले पालन पोषण ग¥यो उसलाई त्यही समाजको धर्म संस्कारको ट्याग लगाइ दिन्छ । तब उसले त्यही रीति रिवाजमा आफूलाई बदल्नु पर्दछ। धर्म संस्कारको नाममा यो विशाल समाज आ आफ्नै गतिमा चली रहेको छ । मलाई के लाग्दै छ भने यी सबै धर्म ग्रन्थहरूमा केवल आस्थाको तर्क मात्रै हुन् । जसले कुनै ठोस सत्य स्थापना गर्न सक्दैन, यो केवल विद्वता देखाउने प्रयास बाहेक केही पनि लागेन । सृष्टिको व्याख्या, जीवन–मृत्यु, मोक्ष, निर्वाण, स्वर्ग–नर्क, पाप–पुण्य, धर्म–अधर्म आदि भ्रामक मोह लाग्यो ।        जन्म, जीवन र मृत्युको बारेमा धर्मले गरेको व्याख्याको मैले कुनै वैज्ञानिक आधार देखिनँ । कर्मको फलको व्याख्याले पनि चित् बुझेन । मान्छे मरे पछि गरिने क्रिया कर्म पनि केवल विश्वास जगाउने प्रपञ्च मात्र हो । पापी भनिएका अत्याचारीहरूको सुखभोग र धर्मात्मा भनिएकाहरूको दयनीय दुख भोग देखेर धर्ममा विश्वास गर्नेहरू यो जुनीको फल अर्को जुनीमा हुन्छ भन्ने कुरा पनि धार्मिक शोषण नै लाग्यो ।      मान्छे मरे पछि हाम्रो आत्माको व्याख्या पनि कल्पनाको उडान दन्ते कथा मात्रै लाग्यो । हरेक धर्मका कर्मकाण्डहरू विश्वासको खेती भ्रम पूर्ण नै लाग्यो । समग्रमा यी सबै अचेतन, सामान्य, सरल मन र मस्तिष्कहरूको लागी विश्वास कैदी आस्था बाहेक अरू केही लागेन ।      जीवको जीवन चलाउने प्रमुख दुई तत्त्व शरीर र ऊर्जा भन्ने लाग्यो । शरीर एक भौतिक स्थूल गाडी हो । ऊर्जा त्यसलाई  चलाउने चालक हुन् । शरीर र ऊर्जा एक अर्काका परिपूरक र सापेक्ष लाग्यो । शरीरलाई ऊर्जा दिएर चालकले चलाउन सकुन्जेल ऊर्जाले शरीर चलायमान बनाइ राख्दछ । यही जीवन रहेछ, शरीरलाई ऊर्जा दिएर चलाउन नसके या दुई बिच कनेक्सन टुटे मृत्यु हुन्छ भन्ने लाग्यो । यी दुवैको जागृत अवस्थाले चेतना सृजना हुँदो रहेछ, यी दुई मध्ये शरीर मरे पछि चेतना चालक के हुन्छ ? भन्ने मेरो अधुरो ज्ञान र जिज्ञासा मनमा नै रहयो । मेरो यो अल्प ज्ञानबाट यो मन र मस्तिष्क जोडने प्रयास गरे । जीवनको अधुरो ज्ञान जिज्ञासा हरेक मनुष्यहरूमा हुने गर्दछ। यो संसारबाट बिदा हुने कोही मनुष्यले फर्केर यो प्रश्नको जवाफ दिन सकेको छैन । त्यसैले यो धर्मको नामको प्रपञ्च चली रहेको छ । चली रहने छ । मैले के बुझे के बुझेन यो कल्पनाको सागरमा डुबेर यति लेख्ने प्रयास गरे ।      हामीले मूर्ति बनायौ, मन्दिर बनायौ यसैलाई पुजेर जिवन बितायौ । हामीले कुटो कोदालो बनायौ । त्यसैलाई चलायौ । डोको बुन्यौ त्यसैलाई बोक्यौ । हामी जहाँको तहीँ छौँ । विदेशीहरूले मेसिनरी औजार बनाए त्यसलाई चलाए । गाडी बनाए चलाए गाडीले आफूलाई बोकाए । हाम्रा धर्म दर्शन शास्त्रबाट उनीहरूले विश्व ब्रह्माण्डको अध्ययन अनुसन्धान गरे । चन्द्रमा पुग्ने वैज्ञानिक आधार बनाए ।अहिले विदेशका पार्क पर्यटकीय क्षेत्रहरूमा हाम्रो मठ मन्दिरहरू राख्ने गरेका छन् । हामीले माल पाएर पनि चाल नपाएको पो हो की । यसको निष्कर्ष धर्म गुरु, पण्डितहरूबाट हुन सक्दैन । केवल आध्यात्मिक संसारमा निःस्वार्थ प्रेम भावमा यो मानव संस्कार बदल्नु पर्दछ भनेर लागी पर्ने जीवन विज्ञानका संस्थापक भानु शर्मा र रमेश नेपाल गुरुदेवहरूमा आफ्नो जिज्ञासा साथ यो मेरो मनको कौतुहलता मेटाउने प्रयासमा छु ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्