IMG-LOGO

प्रियव्रत

 मंगल, असार १२, २०८१  – फणीन्द्रराज अधिकारी

     श्रीमद् भागवत् आफैंमा एक महापुराण हो । यसलाई ज्ञानको महासागर भनिन्छ । यस महापुराणभित्र उदार चरित्र भएका अनेक महापुरुषहरु पाइन्छन् । ती असाधारण महापुरुषहरुमा एकको नाम हो प्रियव्रत । उनी स्वायम्भुव मनुका जेठा छोरा हुन् । भगवान नारायणको परम भक्त धु्रवका ठूलाबा हुन् । प्रियव्रत भागवद् भक्त एवम् आत्मराम थिए । हरिभक्तिमा लागिरहन्थे । भगवानका कथाप्रति अभिरुचि जगाइरहन्थे । उनले इन्द्रियबाट गरिने सबै कर्मलाई भगवानको चरणमा समर्पण गरिसकेका थिए । अब आफ्नो लागि भने उनको केहि थिएन । उनले जीवन परमात्माका लागि सुम्पिसेका थिए । यस्तै बेलमा प्रियव्रतलाई उनका पिता वायम्भुव मनुले  पृथ्वी पालनका लागि राज्यशासनका निमित्त आज्ञा दिए । राजा बने । पिताको आज्ञा अनुसार राज्य चलाउन थाले । लामो समयसम्म उनले राज्य चलाए । जनताको सुखसुविधामा आफूलाई लगाई राखे । प्रजालाई सुखी बनाउने प्रजावत्सल राजा पाउँदा जनता खुसी थिए ।      उनी महाज्ञानी थिए । संयमी थिए । गृहस्थश्रम उनको रोजाई हैन । बाध्यता हो । परिस्थितिवस उनी राज्यचलाउने ठाउँमा पुगे । उनका पतिको आज्ञा नै यस्तै थियो । पिताको आज्ञालाई शिरोपर गर्नु उनको कर्तव्य थियो । यो पनि उनका लागि एक अवसर थियो । ज्ञान त उनमा छँदै थियो । त्यो ज्ञानलाई जनसेवामा लगाउन पाउनु उनका लागि संयोग नै थियो । गृहास्थाश्रममा पुगेर गृहास्थाश्रमबाट जोगिनु उनको लागि चुनौती थियो । गृहास्थाश्रमबाट उनलाई कुनै बाधा पुगेन । कामवासनाले उनलाई भुलाएन । रागद्देषले सताएन । उनको ज्ञानमा पूर्णता थियो । पूर्णतामा पुगेका महापुरुषहरु सितिमिति डगमगाउँदैनन् । दुध, दहीमा घिउको चिल्लो पदार्थ छिपेको हुन्छ । दही मथन गरेर नौनी निकालिन्छ । त्यौ नौनी पुनः दुध, दहीमा मिल्दैन । यो नौनीको स्वभाव हो । परिपक्कताको परिचय छ ।      ज्ञानीहरुको पनि आफ्नैपन र गुण हुन्छ । जब ज्ञान परिपक्क हुन्छ त्यो अवस्था खारिएको नौनीजस्तो हुन्छ ।      मन्द बुद्धि भएका हामीजस्ता लोभी, लालची, स्वार्थीको स्वभाव विचित्रको छ । “दैवो विचित्रा गति” हामी जता जता काफल  पाक्यो उतै उतै चरी नाचेझैं गर्छौं । हाम्रो ठेगान छैन । भरोषा छैन । हाम्रो आचरण र व्यवहारमा एकरुपता छैन । मन, वचन र कर्ममा सन्तुलन छैन । हामी मनले एउटा विचार गर्छौं । बचनले अर्कै बोल्छौं । फेरि कर्म फरक गर्छौं । यो स्वार्थ परक जीवन हो । यस्तो जीवनशैली अशान्तमय हुन्छ । दुःखित हुन्छ । दुःख सुखको द्धन्दमा परिरहन्छ ।      महापुरुषहरु मान, वचन र कर्मलाई एउटै रुपको बनाउँछन्  । उनीहरु मनले जे सोच्छन् , बोलीले त्यही बोल्छन् । अनि कर्म त्यही अनुरुप गर्छन् । त्यसैले भनिएको छ “मनस्येकं, वचस्येकं, कर्मणयेकं महात्मन् ः। ” उनीहरुको मन बचन र कर्मको स्थिति समान हुन्छ । यो माहपुरुषको लक्षण हो । महापुरुष सरल र स्वभाविक हुन्छन् । प्रियव्रत पनि त्यसै अनुरुप सरल र स्वाभाविक व्यक्ति थिए । उनी प्रियताको व्रत लिन्थे । त्यसैले उनी प्रियव्रतको नामले परिचित भए । सबैलाई प्रिय हुने, सबैको भलो हुने, सबैलाई रुचि लाग्ने, सबैमा सुन्दर भावना जगाउने, सबैको मनोबल बढाउने कार्य गर्थे । प्रिय भनेको सबैका लगि प्यारो अथवा सबैलाई मनपर्ने हो । व्रत ले  संकल्प, अठोट, प्रतिज्ञालाई जनाउँछ । आफूले गर्न आँटेको विषयलाई गरिछाड्छु भन्ने द्दढ विश्वासलाई बुझाउँछ । यिनै आँट, प्रतिज्ञा वा  व्रतले उनलाई माथि उठाउन सहयोग गरेको पाइन्छ । प्रियव्रतले लिने गरेका जीवन दायिनीहरु व्रतहरु १. अनिन्दाको व्रत ः      निन्दा नगर्ने व्रत ,। प्रियव्रतको संकल्प यही थियो । उनी कसैको निन्दा । उनी कसैको निन्दा सुन्न र सुनाउन चाहँदैनथे । उनी कसैको निन्दा र टिकाटिप्पणी गरेर अरुको चरित्र हत्या गर्देनथे । यतिसम्मकी उनी काँडा देख्दैनथे। फूलमात्र देख्थे । यस्तै जीवन शैलीले उनलाई प्रियब्रत बनाएको हो । प्रशंसा सबैलाई मन पर्छ । निन्दा कसैलाई मन पर्दैन । निन्दा कमैको लागि प्रिय हुँदैन  । प्रिय नलाग्ने कुरा गरेर कसैको पनि चित्त दुखाउनु हुँदैन । मानिस आफ्नो निन्दा सुन्न चाहँदैन । अरुको कान थापेर सुन्छ । यो मानिसको स्वभाव हो । निन्दा गरेर अरुको  दोष केलाउनु भनेको आफ्नो कम्जोरीको परिचय दिनु हो । २. अस्वादको व्रत ः स्वाद लिने व्रत      आजको युग स्वादको युग हो । सौन्दर्यको युग हो । आजका मानिसहरु यसैमा रमाएका छन् । यसैमा फसिरहेका छन् । नफसेको को छ र ? बाहिरी बस्तुमा रमाउनु नै फस्नु हो । माछा मासुको स्वादिलो वल्छीमा फसेको छ । मृग सुनाइको शब्द रसमा फसेको छ । पुतली सौन्दर्यको अधीनमा परेर आगामा फसेको छ । भमरो फूलको सुगन्धमा फसेको छ । हात्री काम वासनामा फसेको छ । मानिस सबैमा फसेको छ । यी विषयले मनलाई अशान्त र अतृप्त बनाउँछन् । स्वाद र सौन्दर्यको पछि लाग्नेहरु अन्त्यमा पछुताउँछन् । स्वाद र सौन्दर्यको सीमा हुँदैन । श्रेयलाई पे्रय सम्झनु उत्तम हो । पे्रयलार्य श्रेय सम्झनु अर्धम हो । प्रियव्रत श्रेयलाई पे्रय सम्झन्थे । अस्वादिला पदार्थलाई स्वादिला मानेर सेवन गर्थे । भगवानको प्रसाद सम्झेर ग्रहण गर्थे । यो उनको महानता हो । ३. अक्रोधको व्रत ः क्रोध नगर्ने व्रत      प्रियव्रतले मनमा रिस, राग, क्रोध नउठोस भन्ने व्रत लिएका थिए । हर बखत त्यसैको विषयमा सोचिरहन्थे । काम, क्रोध, लोभ, मोह, जीवनका शत्रु हुन् । यिनीहरुलाई नरकको द्धार मानिएको छ । यिनीहरुमाथि विजय हाँसिल गर्ने उनले संकल्प लिएका थिए । परशुरामका बाबु यमदग्निले क्रोधाग्निलाई जितेका थिए । हामी त यसमै बगिरहेका छौं । यिनैमा मस्त छौं । जीवन परिवर्तन गर्न सर्वप्रथम आफ्नो आनीबानी परिवर्तन गर्नुपर्छ । अनिमात्र जीवन सुध्रिन्छ । ४. सेवाव्रत ः सेवा गर्ने व्रत      प्रियव्रतको व्रत पनि अचम्मको छ । कोही आफूलाई प्यारो लाग्ने बस्तु पाउने मनसायले व्रत लिन्छन् । उनी असह्य , दुःखीहरुलाई कसरी मलम लगाउन सकिन्छ उनीहरुको मुहार कसरी हसाउन सकिन्छ भन्ने भावानाले व्रत लिन्छन् । उनको व्रत परहितको भावनाले ओतपोत छ । यस्तो व्रत कमैले लिन्छन् । सेवामूलक कार्य गर्नु नै उनको व्रत (संकल्प) थियो । जसले गर्छ सेवा, उसले पाउँछ मेवा , “सेवाहि परमो धर्म” यो उनको मूल मन्त्र थियो । करुणा, दयाले भरिएको उनको हृदय सबैको लागि पे्ररणाको श्रोत बनेको छ ।      एउटा फलमा रस हुन्छ । छोक्रा हुन्छ । बोक्रा पनि हुन्छ । एउटै समाजमा पनि विविध विचार समूहका मानिस हुन्छन् । कोहि अरुको निन्दा गर्ने, दोष केलाउने बानी भएका हुन्छन् । कोहि अरुको प्रगतिमा रिस गर्ने, डाह गर्ने हुन्छन् । कोही सेवालाई भन्दा स्वार्थलाई महत्व दिने हुन्छन् । त्यस्ता व्यक्ति, “मै खाऊँ , मै लाऊँ ” भन्छन् । । तर प्रियव्रतका आचरण र स्वभाव मननीय छन् । उनका व्रत सह्रानीय छन् । स्वागत योग्य छन् । अनुकरणीय छन् ।    

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्