IMG-LOGO

कालले मान्छे मर्दैन

 मंगल, जेठ ८, २०८१  – फणीन्द्रराज अधिकारी

            काल एउटा हाउगुजी हो । हाउगुजी भनेको एउटा डरको पोको । त्यसको आकार प्रकार हुँदैन । त्यो कल्पित नाउँ हो । त्यसलाई जुन रुपमा सोच्यो त्यही अनुरुपको मनस्थिति भइदिन्छ । कालले हामिलाई मार्छ भनेपछि त्यो त निष्ठुरी होला, डरलाग्दो होला, भन्ने मनमा लाग्छ । त्यसको रुप, रङ, आकार प्रकार केही हुँदैन । तरपनि हो न हो त्यो त भयङ्कर रुपको होला भन्ने हामीलाई लाग्छ । अनि त्यसको नाम लिनासाथ हाम्रो सात्तो जान थाल्छ । त्यसले मानिसलाई तर्साउँछ । मानिसको मृत्यु हुन्छ दोष कालले पाउँछ । मृत्युसँग कालको सम्बन्ध छैन । काल कुन चराको नाम हो कसैलाई थाहा छैन । काल भनेको समय हो भूतकाल, बर्तमान काल, भविष्यत् काल, यिनै कालको चक्करमा मानिम घुमिरहेछ । समय बलवान् छ । मानिस समयको गतिलाई जान्न सक्दैन । समयको गति अपरमपार छ । देखिने वस्तुमा मानिसले पूर्णता पाउन सक्दैन । अहम् विषयमाथि अड्कल लगाउँन सक्दैन । बरु अकालमा परेर चाँहि मानिसको मृत्यु हुन सक्छ । “अनिकालमा बीउ जोगाउनु, हुलमुलमा जीउ जोगाउनु ”भन्छन् । हुलमुल भनेको अकाल हो । हुलमुलमा प¥यो भने ज्यान जान सक्छ । धेरै पानी पर्नु पानीको हुलमुल को । त्यो पनि अकाल हो । खडेरी लाग्नु शुगा लाग्नु, मुसा लाग्नु, सलह लाग्नु यी सबै अकाल हुन । मानिसको मृत्यु आफैं हुन्छ । मृत्युसँग कालको नाता छैन ।            हुलमुल वा अकाल पनि विभिन्न प्रकारका हुन्छन् । केही वर्ष अघि हाम्रो अनुभवमा आएको घटनाको प्रसङ्ग हो । एकपटक हाम्रो जनजीवनमा  कोरोनाले निक्कै हलचल मच्चायो । त्यसको सम्झनाले अहिले पनि ढक्क आंग फुल्छ । कोरोना के हो कसैले चिन्न सकेन । त्यो पनि एक प्रकारको हाउगुजी हो । काल हो । जसले एकपटक विश्व लाई नै थर्कायो । हाहाकार मच्चायो आतङ्कित । त्यो भूकम्प भन्दा पनि फरक स्वभावको थियो । भूकम्प आउँदा जोगिन घर बाहिर निस्कनु प¥थ्यो । कोरोना आएपछि घर भित्रको भित्रै । बाहिर निस्कनै नहुने भयो । त्यसको लक्षण देखिएपछि त झन कोठाको कोठै । त्यसले दुनियालाई त्राहीत्राही बनायो । कोरोनाले गर्दा कतिको ज्यान गयो । धेरैको आकलमा मृत्यु भयो । आयु पनि सबैको एकैचोटि सकिएको होइन होला । आयुको पनि समिा हुन्छ । आयु नसकिकन कालले पनि लाने ठाउँ आउँदैन । त्यसैले मृत्युसँग कालको कुनै सम्बन्ध छैन । अकालको बाढी आएपछि कसैले रोक्न सक्दैन ।           हाम्रो शरीरको जन्म हुनासाथ मृत्युको पनि जन्म साथ साथ आएको हुन्छ । मृत्यु भित्र छ । मृत्युले पछि गएर हाम्रो कपाल फुलाउँछ । कान सुन्न कम गराउँछ । जन्म र मृत्यु एक अर्काका परिपूरक हुन् । जन्मनु मर्नु साश्वत सत्य हो । यो प्रकृतिको नियम हो । एक विना अर्को रहँदैन । यी सँगसँगै आउँछन् । “जातस्य हि धु्रवो मृत्यु” जन्म भएपछि मृत्यु र मृत्यु भएपछि जन्म यो निरन्तर चलिनैरहन्छ । यो संसारको स्थिति हो । सृष्टि, स्थिती र लय यो संसारको गति हो । लय अर्थात परिवर्तनका भगवान् स्वयम् शिव स्वरुपमा हुनुहुन्छ । मनिस जन्मेपछि कति समय जिवित रहन्छ त्यो आयुले बताउँछ । आयु सकिएपछि उसको जीवन सकिन्छ । पञ्चभौतिक शरीर यहिँ रहन्छ । आत्मा छुट्छ ।मृत्यु (परिवर्तन ) सँग कालको सम्बन्ध छैन ।  मृत्यु हुनुलाई कालले लगेको भन्नु भ्रम हो । बत्तिको सम्बन्ध तेलसँग हुन्छ । बत्तिको आयु तेल हो । तेल छउन्जेल बत्ति बलिरहन्छ । तेल सकिएपछि बत्ति आफैं निभ्छ । फुकेर निभाउनु पर्दैन । त्यहाँ फुक्नु पर्ने औचित्य पनि छैन । आयु सकिएपछि मानिसलाई कसैले मार्नु पर्दैन । आर्फैं मर्छ । काललाई खोट लगाउने हाम्रो बानी छ । जन्म र मृत्यु कसैको हातमा छैन । सबै कर्मको फल हो । काल आएपछि मर्छ भन्नु नै समय आएपछि मर्छ भन्नु हो । काल भनेको समय हो । अब मर्ने समय कहिले आउँछ त? आयु सकिएपछि आउँछ ।           महाभारतको युद्ध हुने भयो । त्यस युद्धमा प्रतिपक्षमा रहेका आफन्तलाई मार्नु पर्ने अवस्था आयो । त्यो विषयले अर्जुनलाई दुखित बनायो । उनी युद्धमा अघि नसर्ने टुङ्गोमा पुगे । त्सबेला सम्झाँउदै भगवान श्रीकृष्ण भन्नुहुन्छ , “तिमी शोक नगर यिनीहरुलाई मैले मारिसकेको छु । ” यी  जिउँदा लास भएर उभिरहेका मात्र हुन् । यिनीहरुमाथि धनुष बाँड चलाएर तिमी निमित्त मात्र बन । नामको मात्र कारण बन । तिमीले मार्ने हैन तिमी बाँड चलाएजस्तो मात्र गर । उनीहरुलाई लागे जस्तो गर्छ मार्ने त म हुँ । यसबाट तिमिले पापको भारी बोक्नु पर्दैन । निर्धक्क होउ । मेरो भरोषा गर । मलाई सम्झेर युद्ध गर । त्यसको सबै दोष म लिन्छु । त्यस युद्धमा मर्नेहरु काल आएर मरेका हैनन् । सबैको आयु एकैपटक सकिएर मरेका पनि होइनन् । त्यो धार्मिक क्षेत्रमा भएको धर्म युद्ध हो । अन्यायी, अधर्मी, दुराचारीलाई विनाश गर्ने भगवानको यो विशेष योजना हो ।            राजा परीक्षित श्रीमाद् भागवत् महापुराणका महानायक हुन् । उनी भगवान श्रीकृष्णका परम् भक्त पनि हुन् । अज्ञानचा वश उनले एकजना ऋषिको घाँटीमा मरेको सर्प लगाइदिन्छन् । त्यसको बदलामा अर्का ऋषिले “आजको सातौं दिनमा सर्पले टोकेर मृत्यु होस ।” भनी श्राप दिन्छन् । श्राप लाग्छ र उनको मृत्यु हुन्छ । त्यो मृत्युलाई आफ्नै अशुभ फलको कर्मको फल मानिन्छ । यहाँ काललाई मृत्युको भागिदार भन्न सुहाउँदैन । जसले जस्तो कर्म गर्छ उसले त्यस्तै फल भोग्नुपर्छ । सो सर्व मान्य नियम हो ।           “आयु नाश्यति पश्यताम् प्रतिदिनम् ” हाम्रा नीति शास्त्रहरुले हामीलाई मृत्युको बारेमा सचेत गराईरहेका छन् । हे मानव ! तिमी अत्यन्त  चनाखो होऊ । आयुको गतिलाई हेर । आयु वितेको थाहा हुँदैन । कुन दिन सकिन्छ थाहा हुँदैन । तर स्वास स्वासको गतिमा आयु घटिरहेको छ । चुहिने घैंटोमा राखेको पानी जस्तो हो । पानी चुहिन थालेपछि एकदिन चुहिएरै सकिन्छ । समय अनुसार औषधीको पनी आयु सकिन्छ ।           संसार परिवर्तनशील छ । संसारमा भएका विषयवस्तु पनि परिवर्तनशील छन् । हाम्रो जीवन पनि निरन्तर परिवर्तनमुखी छ । परिवर्तन मृत्युको पहिलो रुप  हो । रुखबाट खस्न लागेको पहेंलो पात पनि मृत्युको संकेत हो । परिवर्तन हुँदै गएपछि अन्त्यमा पुग्ने ठाउँ मृत्यु नै हो । “क्षणे — क्षण्ो गच्छति नाथ यौवनम्” जन्मेदेखि हाम्रो जीवनले क्षण क्षणमा रुप बदली रहन्छ । कुनै पनि बेला जीवनको अन्त्य हुन सक्छ । यसको भरोसा छैन ।           जन्मेको केही समय सम्म बाल्यवस्था हुन्छ । त्यसपछि बाल्यकाल सकिन्छ । त्यो सकिने अवस्था नै मृत्यु हो । एवं क्रमले युा अवस्थाको पनि अन्त्य हुन्छ । वृद्ध अवस्था जीवनको अन्तिम अवस्था हो । अरु अवस्थामा अवस्थाको मात्र परिवर्तन हुन्छ । शरीर रहन्छ तर वृद्ध अवस्थापछि शरीर नै रहँदैन । यो देह एकदिन समाप्त हुन्छ । यो मत्र्यलोक मृत्युको कारखाना हो ।           ईश्वर अपरिवर्तनशील छ । ऊ सदा एक रुपमा रहन्छ । ऊ न घट्छ न उसको न सुर छ बढ्छ न अन्त्य नै हुन्छ । न बूढो हुन्छ न उस्को मृत्यु नै हुन्छ । उ जगदीश भयो । हामी जगत् भयौं । जगदीश अविनाशी छ । जगत् परिवर्तनशील छ, नाशवान् छ । हामीले आफूलाई अविनाशी एवं अपरिवर्तनशील बनाउनु छ भने हामी जसरी बाहिरका विषयमाथी आर्कषण बढाउँछौं । वा बढाईराखेका छौं । त्यसको बदला ईश्वरप्रति जागरुक हुन सक्यौं भने त्यो स्थितिमा पुग्न सक्छौं ।    

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्