IMG-LOGO

मनिषा कोइरालाको चर्चा फेरि चुलियो

 मंगल, जेठ १, २०८१  – ज्योति के श्रेष्ठ (न्युयोर्क अमेरिका)

    मनीषा कोईरालाको चर्चा र लोकप्रियता एकपटक फेरि चुलिएको छ संजयलीला भन्सालीद्वारा निर्देशित हिन्दी चलचित्र “हीरामण्डी” को कारण । निकै पछि उनी पुनः क्रियाशील भएकी छिन् अभिनय क्षेत्रमा । नामका हिसाबले, दामका हिसाबले र प्रभावका हिसाबले अटल रहेपनि जीवन भोगाईका हिसाबले उनको जीवनमा अनेक आरोह अवरोह भैरह्यो । असफल थुप्रै सम्बन्धहरु सफल हुन नसकेको वैवाहिक जीवनस बच्चा जन्माउने अधुरो रहर,पाठेघरको क्यान्सरसँग संघर्षमय जीवन आगोले पोल्ने पिडा भन्दा कम पिडादायी थिएन । तर मन बलियो बनाएर जीवन बाँच्न जानेकी मनीषाले प्राणघातक क्यान्सरलाई पनि जितिन् । अन्य पिडालाई जीवनमा आईरहने गईरहने पिडा सम्झेर छाडिदिईन् । उनले पिडा समातेर, बिलौना गरेर बसिरहिनन् ।     उनले क्यान्सरलाई जितिसकेपछि लेखिएको पुस्तक “जिजीविषा” मा भनेकी छिन् (निरोगी रहन संवेगात्मक रुपमा स्वस्थ रहन जरुरी छ । अर्थात् नकारात्मक सोंचहरु भएसम्म शरीर स्वस्थ हुन सक्दैन । उनको फिल्मी करिअरमा जब उनी शिखरमा थिईन् तब उनमा एक्कासी गहिरो विरक्तीपन देखिएको थियो र उनको जीवनमा, अझ भनौ बेला छँदै सबै कुरा हासिल भएर पनि जीवनसँग उनी सन्तुष्ट थिईनन् । के नभए जस्तो, के नपुगे जस्तो ।     वर्षमा १२ वटा फिल्म, दिनमा १८ घण्टा काम । हरेक दिन २,३ वटा फिल्मको निरन्तर सुटिङले उनी शारीरिक रुपमा खुब थाक्दथिन् । त्यसमाथि बम्बैको ट्राफिक जाम । अस्तब्यस्त दैनिकी । उनी दुःखी, एक्लो, र मायाको भोको भएको महसुस गर्न थालेकी थिईन् । त्यसैले उनी थुप्रै प्रेम सम्बन्धमा परिन् । तर उनले खोजे जस्तो प्रेम कहिल्यै पाउन सकिनन् । उनमा नकारात्मक चिन्ता हावी हुँदै गयो । रक्सी उनको साथी भयो, पछि आदत नै बन्यो ।     केही समयसम्म उनी भावशून्य भईन् । उमेरले ४० लागेपछि उनी झसँग भईन् । उनमा एउटा घर र बच्चाको इच्छा जागृत भैसकेको थियो । आफूसँग ‘डेटिङ’ गरिरहेको केटाले उनीसँग कुनै भविष्य नदेखेको बताएपछि त्यो केटालाई छोडेर उनी विवाह गर्न हतारिईन् । पछि विवाहित जीवन पनि टुट्दै गईरहेको महसुस गरेकी मनीषा भन्छिन्– “मेरो दुःखलाई थप बढावा दिईरहेको त्यो सम्बन्ध पनि दिगो भएन ।”     पाठेघरको क्यान्सरले थलिएपछि न्यूयोर्कमा उपचार गराउन आएकी मनीषा कोईराला त्यसपछि भने उनमा जीवन सोंच्ने तरिकामा एकाएक बदलाव आयो । सबै कुराहरु भैसकेपछि मात्र थाहा हुने रहेछ । उनमा धेरैकुरा खेल्न थाल्यो । “मैले बेस्सरी मदिरापान नगरेको भए हुन्थ्यो की ! मैले अनावश्यक सम्बन्धहरुमा नअल्झिएको भए हुन्थ्यो की !” सम्बन्धमा ब्यर्थै अड्किएको महसुस गरेका महिलाहरुलाई उनको सुझाव छ– सम्बन्ध जोगाउनको लागि सकेको मिहिनेत गर्नुहोस् ! जति गर्दा पनि केही होला जस्तो लागेन भने छाडिदिनुहोस् ! तर जीवनमा आशा गर्न पनि नछाड्नुहोस् ! मन बलियो बनाउनु होस् ! आफ्नो स्वास्थ्य र दिनचर्याको ख्याल राख्नुहोस् ! दिन फेरि आउँछ ।    

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्