शिवका तीन आँखा छन् । त्यसैले उनलाई त्रिलोचन भनिन्छ। ती आँखा सत्व, रज र तम गुणका प्रतीक हुन् । भूत, वर्तमान र भविष्यका साथै स्वर्ग, मृत्यु र पाताल लोकका प्रतीक हुन् । आनर्तविषये रम्यं सर्वतीर्थमयं शुभम्। हाटकेश्वरजं क्षेत्रं महापातकानाशम् । मर्यार्हाघंत्दिलिङ्ग हाटकेनविनिर्मितम् । ख्यार्तियास्यति सर्वत्र पाताले हाटकेश्वरम् । आकाशे तारके लिंङ्ग पाताले हाटकेश्वरम्। मृत्युलोके पशुपतिम लिंङ्गत्रय नमोस्तुते । भजन्ति हाटकेश्वरं सुरभक्ति भावतोत्रये ।श्री हाटकेश्वर नमस्ते नमस्ते नमस्ते नमः । मानसखण्ड स्कन्धपुराण श्रीमद्भागवतका अनुसार वितल नामक अधोलोकमा स्थित शिवको नाम नै हाटकेश्वर हो । सप्तपातालहरु अतल, वितल, सुतल, तलातल, महातल, रसातल र पातालमध्येको “वितल” नामको पातालमा भगवान श्री हाटकेश्वर महादेवको लिंग अवस्थित छ । पाताललोक अनन्य ऐश्वर्य, सुख, शोभा तथा वैराग्यले सुशोभित छ । श्रीब्रह्माजीले अलौकिक “वितल” पातालमा हाटक नामक अद्भुत स्वर्णद्वारा भगवान् हाटकेश्वर महादेवको शिवलिङ्गको रचित–अर्चित गर्नु भएको थियो भनिन्छ । श्री स्वस्थानी व्रतकथाको नवौं अध्याय “श्री महादेवले सतीदेवीको गल्दै गरेको शरीर बोकेर एकावीर पुगे । त्यहाँ सतीदेवीको नाभी पतन भयो । एकावीर पीठ, एकावीरा देवी, गोरक्षा योगिनी, हाटकेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस पुण्यभूमिमा नागहरु आई नानारत्न र मणि आदि रत्नहरु चढाई तपस्या गरे । ईश्वरी एकावीरा देवी प्रसन्न हुनुभई वरदान माग भन्नुभयो र नागहरुले सप्तपातालको अधिपति हुन पाऊँ भनी वर मागे । ईश्वरीले ‘तथास्तु’ भनी वरदान दिनुभयो – २६ ।” तल सप्तापाताल स्वरूपका विभिन्न नागहरुको बस्ति (हाल खेत) रहेको, गाई तथा नन्दीहरुको पालनपोषण, रेखदेख, औषधि उपचार – गोरक्षा गर्ने स्थल अर्थात् गोरक्षेश्वर माहदेव नै हाटकेश्वर महादेव हुन । स्थानीय बोलीचालीमा बहल्टारेश्वर, बलटारेश्वर, बहरटारेश्वर, गौरक्षेश्वर, गोरक्षेश्वर, सप्तापातल, नाभिकस्थान भनिने महादेव नै हाटकेश्वर महादेव हुन् । धुलिखेल नगरपालिका वार्ड न ८. बडालगाउँमा बडालहरुले पुजा आजा गर्दै आएको हुनाले बडालेश्वर भन्ने गरेको पनि सुनियो । एक्लेखेतमा एकाबिरादेवीको मन्दिर, सप्तपातालमा नागहरु, नाभिकस्थानमा मन्दिर, तथा गोरक्षा गर्ने इतिहासको अध्ययन गर्दा उक्त क्षेत्र अत्यन्त पावन भृगु ऋषिको तपस्थली हाटकेश्वर क्षेत्र नै हो । पातालका देवता, हाटकेश्वर महादेव नागर ब्राह्मणका (नागको पुजा गर्ने ब्राह्मण) कुलदेवता मानिन्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका कुलदेवता नै हाटकेश्वर महादेव हुन् । यस हाटकेश्वर क्षेत्रलाई गुप्तकाँशी अथवा सौम्यकाँशी पनि भनिन्छ । भगवान हाटकेश्वरको मूल लिंग नै पातालमा रहेको छ भन्ने शास्त्रीय मान्यता रहि आएको छ । बामन पुराणका अनुसार यस मन्दिरमा भगवान वामन आएर पृथ्वीको चरण नाप्नु भएको थियो । यहाँ द्वारिकधिश भगवान श्रीकृष्ण पनि आएर पुजा अर्चना गर्नु भएको इतिहास भेटिन्छ । भारतमा विभिन्न स्थानमा भगवान हाटकेश्वरको शिवालय स्थापना गरिएको छ । तर नेपालमा हाटकेश्वर शिवलिंग पशुपति क्षेत्र (भक्तको पसल तथा दाउरा गुठीको सत्तल पछाडि सामान्य अवस्थामा रहेको छ । स्पष्टरुपले हाटकेश्वर महादेवको शिवलिंग सिद्धेश्वर महादेवको रुपमा मृगस्थलीमा रहेको छ । भाषा, इतिहास, भूगोल, संस्कृति, स्वथानी, तथा पुराणहरुको आधारमा यो क्षेत्र नाभिकास्थान सप्तपाताल नै हो भन्न सकिन्छ । त्यसैले नाभिकस्थान सप्तपातालको गोरक्ष योगिनी पिठ तथा एकाविरा (एक्लेखेत) देवी रहेको स्थानमा अवस्थित शिवालय “हाटकेश्वर” शिवालय नै हो । यो पृथ्वीलोकको लिङ्गक्षेत्र भन्नाले आराध्यदेव भगवान श्रीपशुपतिनाथको पुण्यभूमि पाशुपत क्षेत्रलाई मानिन्छ । एक चोटी इन्द्र, ब्रह्म र विष्णु बीचको ठुलो भन्ने संघर्ष भयो । आराध्यदेव भगवान शिवलाई उनीहरुको वास्तविकता बुझाउनु थियो । एउटा सुन्दर भब्य मृगको रुप लिएर मृगस्थलीमा विचरण गर्दै हुनुहुन्थ्यो । महादेव विना सृष्टि धान्न गाह्रो भएपछी उनीहरु शिवजिको खोजीमा गए । महादेव भोलेबाबा उनै मृगेन्द्र हुन् भन्ने चिने पछी उनीहरुले मृगलाई सिंगमा समातेर पकडमा लिन खोज्दा उक्त सिंग तिन टुक्रा भयो । इन्द्रले आफ्नो राज्य स्वर्गमा लगे, विष्णुले मर्त्यलोकमा (पाशुपत क्षेत्र) लगे भने ब्रह्माले सृष्टिको आधार मानिएको पातालमा लगेर भब्य शिवलिंग स्थापना गरे । हाटकेश्वर महादेव गुजरात वाडनगरमा, काँशी बनारसमा, प्रयागराजमा तथा पिथौरागढ उत्तर प्रदेशमा पनि पृथ्वीका सम्पूर्ण अमुल्य रत्नका (सुन चांदी मणि माणिक्यका) स्वामी, पातालका आराध्यदेव भगवान हाटकेश्वरको मन्दिर स्थापना गरिएको छ । स्कंद पुराणको मानसखंडमा यो शिवालयको महिमाको सुंदर वर्णन छ । स्वयं महर्षि भृगुले भन्नु भएको छ कि “हाटकेश्वर क्षेत्र अन्य क्षेत्र भन्दा प्रमुख व उत्तम क्षेत्र हो” यहाँको पहाड खोलानाला बनजंगलमा ऋषि मुनिहरु सूक्ष्म रुपले सदैव भगवान शिवको ध्यान गरिरहेका हुन्छन । पातालभुवनेश्वरको महिमाको विस्तारमा हाटकेश्वर महादेवको वर्णन गरिएको छ । तिनै लोकमा अवस्थित, आकाशमा तारकलिंग–“तारकेश्वर”, पातालको हाटाकी नदीको छेउ भृगुतम्व क्षेत्रमा अवस्थित हाटकेश्वरलिंग – “हाटकेश्वर” तथा पृथ्वीमा महाकालेश्वरलिंग “श्रीपशुपतिनाथ” मात्रै त्रिमान्य शिवलिंगहरुहुन भनेर शास्त्रमा भनिएको छ । ’दक्षिण भारतीय–परपंरा अनुरुप भारद्वाज तथा तिवारी पण्डितहरु पुजारी राख्ने चलन रही आएको छ । श्री वामन पुराणमा “हाटकेश्वर स्तुति तथा तथा श्रीहाटकेश्वराष्टकं” पनि प्रस्तुत गरिएको छ । धार्मिक मान्यता अनुसार साँचो मनले भगवान शिवको (हाटकेश्वर) आराधना गर्नाले साधकको सबै मनोकांक्षा पूरा हुनुका साथै जीवनमा सुख प्राप्त हुन्छ । महिलाहरूले आफू अनुकूलका पति पाउन र सुख र समृद्धिको लागि भगवान शिवको पुजा आराधना गर्ने तथा ब्रत बस्ने गर्छन् । पार्वतीले पनि यसै समयमा महादेवसँग विवाह गर्न पाउँ भनी व्रत बसेर महादेवको पूजा आराधना गरेकी थिइन् । जसले विधिपूर्वक महादेवको व्रत बस्छ ऊ अपुत्र भए पुत्र प्राप्त गर्छ, निर्धन भए धनवान् हुन्छ, अविद्या भए विद्या प्राप्त गर्छ अनि समाजमा बुद्धिमान् मानिसको रूपमा प्रसिद्ध हुनेछ । प्रत्येक सोमबार दुध र पानीले जलधारा अभिषेक गरेर, तिनपत्र स्पस्ट देखिने बेलपत्र अर्पण गरेर, शुद्ध रुपले पंचाक्षरी मन्त्र “ऊँ नमः शिवाय” पाठ गर्नाले ६४ हप्तामा आफुले चाहेको सत्य कुरा पुरा हुन्छ भन्ने जनविश्वास छ । यसै सन्दर्भमा धुलिखेल नगरपालिका वडा नं ८ स्थित “बहल्टारेश्वर” मन्दिर निर्माणार्थ श्रीमद्भागवत महापुराण सप्ताह धनधान्याञ्चल महायज्ञ शुरु भएको छ । मुक्तिनाथ पीठाधिश्वर स्वामी कमलनयनाचार्य श्रीजी महाराज (श्री मुक्तिनाथ बाबा)को प्रमुख आतिथ्यतामा हुने महायज्ञमा आचार्य श्री विष्णुहरि बडाल एवं आचार्य श्री सुदर्शन बडाल प्रमुख वाचक रहेका छन् भने पण्डित रामहरि बडाल उपवाचक छन् । पुरुषोत्तम बडालको अध्यक्षता एवं रमेशप्रसाद न्यौपानेको संयोजकत्वमा १ सय ८ सदस्यीय मूल समारोह समिति र विभिन्न उपसमिति गठन गरिएको छ । वडाअध्यक्ष बिनोद गौतमले उक्त भब्य सभ्य दिव्य समारोहको युद्धस्तरमा तयारीमा लागेको बताउनु भएको छ । सम्पूर्ण धर्मानुरागी, विकासप्रेमी, राष्ट्रप्रेमी सबैलाई उक्त समारोहमा उपस्थित भै पुण्यलाभ ग्रहण गर्न हुन हार्दिक अनुरोध गर्दै भगवान श्री पशुपतिनाथलाई स्मरण गर्न चाहान्छु । जय श्री बहल्टारेश्वर महादेव जय श्री हाटकेश्वर महादेव ओं त्र्यम्बकं यजामहे सुगन्धिं पुष्टिवर्धनम् । उर्वारुकमिव बन्धनात्, मृत्योर्मुक्षीय मामृतात्
