बेलायतबाट कानुनमा स्नातकोत्तर सकी नेपाल फर्केर प्रधानन्यायाधीशको अनुसन्धान अधिकृत र राजा वीरेन्द्रको कानुनी सल्लाहकारजस्ता महत्वपूर्ण भूमिकामा राष्ट्रको सेवा गरेको एक वर्षपछि डा. सूर्य सुवेदी अक्टोबर १९८९ मा आफ्नी गर्भवती श्रीमतीका साथ विद्यावारिधिको अध्ययन सुरु गर्न नेपालबाट अक्सफोर्ड आइपुगे । नयाँ शैक्षिक सत्रको पठनपाठन तुरुन्त सुरु हुन लागेको र श्रीमतीसहित परिवारको पनि घरजम गर्नुपर्ने दुवै जिम्मेवारी उनको काँधमा आइपुगेको थियो । उनले पाएको छात्रवृत्ति एकल थियो । अरु कमनवेल्थ मुलुकबाट आउने सहपाठीहरूले पारिवारिक भत्ता पनि पाउँथे । तर कहिल्यै बेलायती उपनिवेश नभएको नेपालको नागरिक सुवेदीको छात्रवृत्ति फरक थियो । अक्सफोर्डमा उनले अध्ययन सुरु गरेपछि पहिलो वर्ष मास्टर अफ लेटर्स भन्ने डिग्रीका लागि पढ्नुपर्दथ्यो । त्यो डिग्रीमा सफल भइसकेपछि मात्रै विद्यावारिधिका लागि अध्ययन सुरु हुन्थ्यो । अक्सफोर्डको विद्यावारिधि अक्सफोर्डको प्राज्ञिक वातावरण उत्कृष्ट थियो । त्यहाँका प्राध्यापकहरू धेरै सहयोगी र उत्साह भर्ने किसिमका थिए । त्यस अलवा अक्सफोर्डले संसारभरिका ठूलठूला विद्वानहरूलाई आगन्तुक प्राध्यापकका रूपमा प्रवचन दिन बोलाइरहन्थ्यो । प्राध्यापक सुवेदीका आफ्नै सुपरीवेक्षक प्राध्यापक क्रिश्चिन ग्रेले सुवेदीलाई आफ्नो थेसिस विस्तार गर्न मनग्गे स्वतन्त्रता दिइन् र सुवेदीले लेखेका अध्यायहरूमाथि धेरै गहिरा टिप्पणी गर्दथिन् । उनले आफ्नो अध्ययन सकेपछि तयार पारेको शोधग्रन्थको मौखिक परीक्षा अक्सफोर्डको धेरै सुन्दर मानिने कलेज अल सोल्स्को भव्य कक्षमा भएको थियो । मौखिक परीक्षा सकिएपछि प्राध्यापक इयान ब्राउन्लीले उनलाई निजी अध्ययन कक्षमा लगेर आफूले जिन्दगीभर संकलन गरेका ग्रन्थहरू र ऐतिहासिक रूपका महत्वपूर्ण दस्तावेजहरूको संग्रह देखाएका थिए । पछि कालान्तरमा गएर प्राध्यापक इयान ब्राउन्लीका संग्रहमध्ये बेलायतले भारतमा शासन गर्दा तयार पारेको भारतको नक्सा भएको किताब सुवेदीका लागि धेरै महत्वपूर्ण बन्न पुग्यो । किनभने सन् २०२० मा आएर नेपालले भारतसँगको सीमा विवाद उठेपछि संविधान संशोधन गरी लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको राजनीतिक नक्सामा समावेश गरी प्रकाशन गर्ने क्रममा नेपालले सीमा विज्ञहरूको एउटा समूह गठन गरी प्राध्यापक सुवेदीलाई सदस्य नियुक्त गरेको थियो । नेपालको भारतसँगको यथार्थ सीमा के हो भन्ने प्रमाण जुटाउने, त्यसको निक्र्यौल गर्ने र नेपाल सरकारलाई आवश्यक सुझाव दिने सो विज्ञ समितिको कार्यभार थियो । यसरी प्रमाण संकलन गर्ने क्रममा सुवेदीलाई प्राध्यापक ब्राउन्लीको संग्रहमा भएको उक्त किताबले धेरै मद्दत गरेको थियो । किनभने उक्त किताबमा तत्कालीन भारत सरकार आफैंले प्रकाशन गरेको नक्साहरूमा लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भागमा पर्नेगरी देखाइएको थियो । सुवेदीको अक्सफोर्ड बसाइको पहिलो ६ महिनामै पहिलो सन्तान प्राप्ति भएको थियो । सुवेदी दम्पतीको नेपालमा गुमाएको पहिलो सन्ततिपछि प्राप्त भएको नयाँ सन्ततिले उनीहरूमा हर्ष र उत्साह थपेको थियो । सुवेदीको शोधपत्रको विषयवस्तु सुवेदीको शोधपत्रको विषयवस्तु संसारमा निशस्त्रीकरण कसरी गर्न सकिन्छ, तत्कालको शीतयुद्धले जन्माएको दुई महाशक्तिबीचको होडबाट साना राष्ट्रहरूलाई कसरी सुरक्षित राख्न सकिन्छ र अन्तर्राष्ट्रिय कानुनले त्यसमा के भूमिका खेल्न सक्दछ भन्नेमा केन्द्रित थियो । नेपालका राजा वीरेन्द्रको नेपाललाई शान्तिक्षेत्र घोषणा गरियोस् भन्ने प्रस्ताव र संसारका अन्य ७ वटा स्थलगत, सामुद्रिक र भौगोलिक क्षेत्रलाई शान्तिक्षेत्र घोषणा गर्न गरिएका प्रस्तावहरूको अन्तर्राष्ट्रिय कानुनमा कस्तो स्थान रहन्छ भन्नेमा केन्द्रित थियो । यो शोधग्रन्थ तयार गर्ने क्रममा सुवेदीले जेनेभा र न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको संग्रहालयमा राखिएका अभिलेखहरू अध्ययन गर्न जाने मौका पनि पाएका थिए । यसरी ऐतिहासिक अभिलेखहरूको समेत मूल्यांकन गरी अन्तर्राष्ट्रिय कानुनमा शान्तिक्षेत्रको अवधारणा विकसित गर्ने श्रेय सुवेदीले पाएका थिए । त्यही योगदानको मूल्यांकन गर्दै अक्सफोर्ड विश्वविद्यालयले सुवेदीलाई सन् १९९३ को दास्तुर जादा पाभ्री मेमोरियल पुरस्कार प्रदान गरेको थियो । यसबाट उत्साहित भएर सुवेदीले आफ्नो शोधग्रन्थलाई आवश्यक परिमार्जनसहित प्रकाशनार्थ अक्सफोर्ड विश्वविद्यालय प्रेसमा प्रस्तुत गरे र सन् १९९७ मा त्यो ग्रन्थ प्रकाशित भयो । सुवेदीले अक्सफोर्डमा अध्ययन समापन गरेको झण्डै २० वर्षपछि सन् २०१६ मा अक्सफोर्डले प्रत्येक वर्ष आगन्तुक प्राध्यापकको रूपमा काम गर्न निमन्त्रणा दियो । सो क्रमलाई सुवेदीले अहिलेसम्म निरन्तरता दिइरहेका छन् । अक्सफोर्डको महाविद्यावारिधि अक्सफोर्डबाट विद्यावारिधि गरेपछि सुवेदीले बेलायत, अमेरिका, नेदरल्यान्ड्स र स्विडेन लगायत देशका सातवटा विश्वविद्यालयमा प्राध्यापन गरेपछि र अन्तर्राष्ट्रिय कानुनका विभिन्न आयाममा १० वटा ग्रन्थ र झण्डै ६० वटा अनुसन्धनात्मक लेखहरू प्रकाशन गरिसकेपछि उनलाई अक्सफोर्डको महाविद्यावारिधिका लागि प्रतिस्पर्धामा भाग लिने विचार आयो । अक्सफोर्डको महाविद्यावारिधि प्राज्ञिक क्षेत्रको सर्वोच्च उपाधि मानिन्छ । त्यो उपाधि प्राप्त गर्न धेरै उच्च तहका प्रावधान पूरा गर्नुपर्छ । जसमध्ये सम्बन्धित व्यक्तिले प्रकाशन गरेका ग्रन्थहरू मौलिक हुनुपर्ने, ती ग्रन्थहरू संसारभरी पढिएको हुनुपर्ने, ती ग्रन्थहरूले नीति निर्माणमा महत्वपूर्ण भूमिका खेलेको हुनुपर्ने र ती ग्रन्थहरूले सम्बन्धित विधाको विभिन्न क्षेत्र समेटेको हुनुपर्ने र प्रकाशनहरू उच्चकोटी र यथेष्ट संख्यामा हुनुपर्ने अक्सफोर्ड विश्वविद्यालयको नियम छ । सुवेदीले आफूले प्रकाशित गरेका सबै ग्रन्थहरू र ती ग्रन्थहरूले अक्सफोर्डको प्रावधानहरू कसरी पूरा गर्छन् भन्ने विस्तृत व्याख्यासहितको दस्तावेज प्रस्तुत गरेका थिए । उनका ग्रन्थहरूलाई मूल्यांकन गर्न अक्सफोर्ड विश्वविद्यालयले एक उच्चस्तरीय मूल्यांकन समिति गठन गरेको थियो । त्यो समितिले झण्डै एक वर्ष लगाएर सुवेदीका ग्रन्थहरू अध्ययन गरेपछि सुवेदी अक्सफोर्डको महाविद्यावारिधिका लागि योग्य व्यक्ति हुन् भन्ने निर्णयमा समिति पुग्यो । सो समितिले दिएको प्रतिवेदन आफैँमा एउटा लामो दस्तावेज थियो । जसमा सुवेदीका ग्रन्थहरूको समीक्षा गरिएको थियो । यसरी अक्सफोर्डबाट महाविद्यावारिधि पाउने विरलै व्यक्तित्वभित्र सुवेदी समावेश हुन पुगे । अक्सफोर्ड विश्वविद्यालयले सुवेदीलाई महाविद्यावारिधिको घोषणा गर्दा उनी आफ्नो लन्डनको घरमा आफ्ना मातापिताको सम्मान र सम्झनामा एक श्रीमद्भागवद् महापुराण लगाइरहेका थिए । त्यो खबरले यज्ञमा समाहित सबैमा खुसीको सञ्चार भएको थियो भने नेपालमा, अक्सफोर्डमा, सुवेदीले प्राध्यापन गर्ने आफ्नो विश्वविद्यालय र उनले कानुनी पेसा गर्ने लन्डनको ब्यारिस्टरको संस्थामा प्रमुख खबरको रूपमा स्थान पाएको थियो । अक्सफोर्डमा भव्य समारोह कोभिड महामारीका कारण तीन वर्षसम्म दीक्षान्त समारोहहरू स्थगित भएको कारणले प्रा सुवेदीको महाविद्यावारिधि ग्रहण गर्ने पालो ३ वर्षपछि मात्र आयो । अक्सफोर्ड विश्वविद्यालय अंग्रेजी बोल्ने देशमा रहेकामध्ये सबैभन्दा पुरानो विश्वविद्यालय हो । जसको झण्डै ८ सय वर्ष पुरानो इतिहास छ । बेलायतका सबैभन्दा बढी प्रधानमन्त्री उत्पादन गरेको विश्वविद्यालय पनि हो यो । यस विश्वविद्यालयमा अध्ययन गरेका थुप्रै मानिसहरू राष्ट्रप्रमुख र सरकार प्रमुख भएका छन् । अहिले पनि अक्सफोर्ड विश्वविद्यालय संसारकै सर्वोत्कृष्ट शैक्षिक संस्थामा पंक्तिवद्ध छ । यो सबैभन्दा ठूलो विश्वविद्यालय त होइन, तर ऐतिहासिक र शैक्षिक गुणस्तरको हिसाबले सर्वोत्कृष्ट मानिन्छ । यसका प्रमुख कारणमध्ये एउटा त शैक्षिक वातावरण, दोश्रो ट्युटोरियल सिस्टम (अधिकांश वान टु वान ट्युटोरियल), आगन्तुक प्राध्यापकहरूको स्तर, पुस्तकालय र अन्य शैक्षिक सामग्रीहरूको पर्याप्त उपलब्धता आदि हुन् । अक्सफोर्ड विश्वविद्यालय संघीय प्रणालीमा आधारित शिक्षण संस्था हो जसमा झण्डै ४० वटा कलेज आवद्ध छन् । अक्सफोर्डको प्रत्येक विद्यार्थी एउटा कलेजको सदस्य हुन्छ र त्यो कलेजले ट्युटोरिएल व्यवस्था गरेको हुन्छ । कलेजले प्रदान गर्ने ट्युटोरिएलको शिक्षा र विश्वविद्यालयले प्रदान गर्ने लेक्चरका कारणले विद्यार्थीहरूले धेरै सिक्ने मौका पाउँछन् । यही विश्वप्रसिद्ध अक्सफोर्ड विश्वविद्यालयले प्राध्यापक सुवेदीलाई प्राज्ञिक क्षेत्रको सर्वोच्च उपाधि महाविद्यावारिधि प्रदान ग¥यो सन् २०२२ को सेप्टेम्बर दोश्रो साता । त्यो भव्य दीक्षान्त समारोह प्राचीन शेल्दोनिअन थिएटरमा भएको थियो । यस्तो दीक्षान्त समारोह गर्ने परम्परा १२ औँ शताब्दीदेखि चल्दै आएको छ र अझै पनि उही प्राचीन परम्परामा दीक्षान्त समारोह सञ्चालन गरिन्छ । दीक्षान्त समारोह प्राचीन ल्याटिन भाषामा गर्ने प्रचलन छ । शेल्दोनिअन थिएटर पनि झण्डै ६ सय वर्ष पुरानो भवन हो । त्यही थिएटरमा ३५० वर्षदेखि दीक्षान्त समारोह हुँदै आएको छ । यो थिएटर बेलायतका प्रसिद्ध कलाकार क्रिष्टोफर रेनले बनाएका थिए जो आफैँ विश्वविद्यालयमा खगोलविद्याका प्राध्यापक थिए । उक्त ऐतिहासिक थिएटरमा आयोजित एक भव्य दीक्षान्त समारोहमा अक्सफोर्डको कानुन संकायकी डिन प्राध्यापक आन डेभिसले सुवेदीलाई प्रस्तुत गरेकी थिइन् भने अक्सफोर्डकी उपकुलपतिले महाविद्यावारिधिको उपाधि प्रदान गरेकी थिइन् । महाविद्यावारिधि विरलै प्रदान गरिने अक्सफोर्डको उपाधि हो र आफ्नो साधनाको क्षेत्रमा असाधारण योगदान गरेको व्यक्तिलाई मात्र यो उपाधि प्रदान गरिन्छ । पाँचसात वर्षमा एकाध व्यक्तिलाई मात्र यस्तो उपाधि प्रदान गरिँदै आएको छ । दीक्षान्त समारोहमा दीक्षित हुने व्यक्तिले हल प्रवेश गर्दा आफूले पहिला पाएको शैक्षिक उपाधिको गाउन लगाएर प्रवेश गर्नुपर्छ र दीक्षान्त समारोहमा नयाँ उपाधि लिएपछि थिएटर बाहिर निस्किएर अक्सफोर्डको डिभिनिटी स्कुलमा गएर आफ्नो नयाँ योग्यता बमोजिमको गाउन लगाई फेरि थिएटरमा प्रवेश गर्नुपर्छ । त्यसरी प्रवेश गर्दा महाविद्यावारिधि प्राप्त व्यक्तिलाई थिएटरका सम्पूर्ण व्यक्तिहरूले करतल ध्वनिका साथ स्वागत गर्दै बधाइ दिन्छन् । त्यो नै समारोहको सबैभन्दा मनमोहक र गर्व गर्न लायक क्षण हो । झण्डै डेढ घण्टाको शेल्डोनियन थिएटरको समारोह सकिएपछि प्राध्यापक सुवेदी त्यो दिनको दोश्रो कार्यक्रम हुने स्थल आफ्नो कलेज एक्सेटरमा प्रवेश गरे, जहाँ उनलाई कलेजका प्राचार्य सर रिक ट्रेनरले स्वागत गरे । कलेजभित्र प्रवेश गरेपछि कलेजका प्राचार्यले समारोहमा सहभागीहरूलाई सम्वोधन गर्दै प्रा सुवेदीले अन्तर्राष्ट्रिय कानुन र मानवअधिकारको क्षेत्रमा दिएको असाधारण योगदानको चर्चा गरे । त्यस क्रममा उनले प्राध्यापक सुवेदीका प्रकाशित ग्रन्थहरू र संसारलाई अन्य विभिन्न रूपमा दिएको योगदानको प्रशंसा गरे । त्यसपछि प्रा सुवेदीले प्रत्युत्तर सम्बोधनका क्रममा आफू अक्सफोर्ड विश्वविद्यालय र एक्सेटर कलेजप्रति आभारी भएको बताए । प्रा सुवेदीले मन्तव्यका क्रममा सधैँ संसारमा कानुन बमोजिमको शासन कसरी प्रवर्द्धन गर्न सकिन्छ, मानवअधिकार र लोकतन्त्रको अझ बढी संस्थागत विकास कसरी गर्न सकिन्छ र संसारका मुलुकहरूबीचको सम्बन्ध कसरी न्यायपूर्ण रूपले विकास गर्न सकिन्छ भन्ने विषयमा आफूले जिन्दगीभर कलम चलाएको र त्यस्तो योगदानको कदर गर्दै अक्सफोर्डले महाविद्यावारिधि जस्तो प्राज्ञिक क्षेत्रको सर्वोच्च उपाधि प्रदान गरेकोमा आफू गौरवान्वित र हर्षित भएको बताए । सो अवसरमा प्राचार्य ट्रेनरले प्राध्यापक सुवेदीको सम्मानमा दिवाभोज आयोजना गरेका थिए । (‘प्रा. सूर्य सुवेदीः महाविद्यावारिधि देखि नोबेल शान्ति पुरस्कार मनोनयनसम्म’ पुस्तकको एक अंश । पत्रकारद्वय भगीरथ योगी र नवीन पोखरेलको लेखन तथा सम्पादन रहेको पुस्तक हालै काठमाडौँमा लोकार्पण गरिएको थियो)
