शरीरलाई हामीले बोकिहेका छौं । बोकेर हिंडरहेका छौं । शरीरलाई आफ्नै हो भनेर सम्झिरहेका छौं । नसम्झौं, कसरी नसम्झौं । जन्मेदेखि मृत्युसम्म यसैका साथ रहनु छ । यहिसँग रमाउनु छ । जीवन बिताउँनु छ । शरीर जीवन साथी हो । घनिष्ठ मित्र हो । हामी पहिलो प्राथमिकता यसैलाई दिन्छौं । बिहान उठेदेखि पहिलो चासो यसैको हुन्छ । यसलाई अलिकति केहि दुःख, परेमा सबैकाम छोडेर यसैको उपचारमा लाग्छौं । “शरीरमाद्यं खलु धर्मसाधनम्” शरीर नै धर्म कर्मको पहिलो साधन हो । शरीरले सुरुवात नगरिकन अरु साधनको काम आउँदैन । कहिले कहिले शरीरले अर्धम पनि गर्छ । कहिले क्रूर बन्छ । कहीले चोरी पनि गर्छ । कहिले दान गर्छ त कहिले साधु बन्छ । यसको कला पनि अपरम्पार छ । हामी शरीर देखि अलग भएर रहन सक्दैनौं । त्यसैले शरीर मेरै हो जस्तो लाग्छ । अझ हामी यतिसम्म भुलभुलैयामा परेका छौं कि शरीरलाई म सम्झेर व्यवहार गरिहेका छौं । मलाई आगोले पोल्यो भन्छौं । मलाई सियोले घोच्यो भन्छौं । यहाँ मलाई भनेर हामी भित्रको आत्मस्वरुपमा रहेको चेतन तत्वलाई भनेको हो । वस्तु पोल्ने क्रिया र घोच्ने क्रिया आत्लाई भएको होइन । शरीरका कुनै भागलाई भएको हो । शरीलाई धेरै पीडा भयो भने म मरें भन्छौं । म (आत्मा) मर्ने वस्तु हैन । आत्मा मर्दै मर्दैन । यो अजर अमर छ । शान्त छ । आनन्दस्वरुप छ । शास्त्रहरुको कथन पनि यही हो । दुःख, पीडा शरीरका कुनै अंगमा हुन्छ । शरीरलाई म सम्झेर म मरें भन्छौं । यो हाम्रो फरक बुझाई हो । यस्तो बुझाइले हामीलाई सत्यमा पु¥उँदैन । हामी ढाक्रे जस्ता भयौं । ढाके्रले साहुको भारी बोक्छ । कहाँ पु¥याउन पर्ने छ त्यहाँ पु¥याउँछ । भारी भित्र के कस्ता बस्तुहरु पोका पारेर, गाँठो पारेर राखिएको हुन्छन् । त्यो उसलाई थाहा हुँदैन । कहाँ लगेर बिसाउनु छ, बिसाउँछ । भारीभित्रको स्वामित्व सबै साहूको हुन्छ । भारी भित्र के के छ भन्ने वषयमा ढाक्रे चासो राख्दैन । खाना खान्छ भनेजति पारिश्रमिक पाउँछ, खुसी हुन्छ र उसको काम सकिन्छ । ऊ यसरै नै विभिन्न महानुभावहरुको भारी बोक्छ । आयु बिताउँछ । हामी पनि त्यही रुपमा पुग्न सक्छौं । यो जुनीमा मानिसको शरीररुपी भारी बोकेर हिंडिरहेका छौं । अर्को जुनीमा कुनै कुकुर, बिरालो अथवा अरु जनावरको रुप लिएर त्यसैको शरीर लिएर हिड्नुपर्छ । के भन्न सकिन्छ र ? त्यस्तो भारी बोक्न नपर्ने उच्च कोटीको काम पो के गरेका छौं र ? यो धर्तिमा जन्म लियौं, कमायौं, रमायौं, पायौं अनि पतन भयौं । “पुनरपि जननं पुनरपि मरणम्” त्यही जन्म र मृत्युको चक्करमा प¥यो । जन्मदै पिच्छे एउटा न एउटा शरीर लियो । त्यही शरीर बोकर हिँड्यो । तृष्णा बढायो । जीवन चक्रमा प¥यो, घुमिरह्यो । जसले सत्य खोजे उनीहरुले सत्य पाए । जन्म मृत्युको घुमाइबाट छुटकरा पाए । हामी दुनिँया खोजिरहेका छौं, जसले दुःख दिइरह्यो । त्यैसमा भुलिरहेका छौं । त्यसबाट कहिल्यै चतेनौं । कसैले यस्ता उपयोगी कुरा सुनायो हो क्यारे जस्तो लाग्छ । तर अलग रहने कोशिश गरेनौं । फरक रुपले हेर्न सकेनौं । सुन्दा सुन्दै जीवन गुजा¥यौं । अब दुनियाँतिर होइन, दुनियाँ बनाउनेलाई जान्नुपर्छ । त्यो हो ईश्वरको मार्ग । अनिमात्र शरीरको भारी पन्छिन्छ । शरीरलाई आध्यात्मिक रुपले हेर्नुपर्छ । अन्यथा हामी पनि शरीररुपी भारी बोक्ने ढाक्रे जस्ता हुन्छौं । हाम्रो शरीर हामीले बनाएको होइन । हामी त निमित्त कारण मात्र हौं । यो शरीर भगवानको उपहार हो । यसप्रति उनैको महान् योगदान छ । उनले नदिएको भए हामीले यो शरीर पाउने थिएनौं । यो शरीरमाथिको अनुग्रह भगवान्को हो । हाम्रो शरीर परमात्माको रचना हो । भगवान् श्रीकृष्ण भन्नुहुन्छ, “हरेक प्राणीको देहमा म अग्नि भएर बसेको छु ।” हामीले भोजनका रुपमा ग्रहण गरेका सबै भोज्य पदार्थ पचाउने काम त्यही अग्निबाट हुन्छ । शरीर मेरो भन्छौं तर निद्रा मेरो अधिनमा छैन । निद्रा पनि भगवान्को रुप हो । “यादेवी सर्वभुतेषु निद्रा रुपेण संस्थिता” देवी भगवती सबै प्राणीमा निद्राको रुपमा बसेकी छिन् । यसलाई हेरिएर बिचार गर्ने हो भने खाएको कुरा न आफैं पचाउन सक्छौं न आफैं निदाउन सक्छौं । निदाउन सक्ने भए निन्द्राको औषधी किन सेवन गर्नुपथ्र्यो ? शरीरले फेर्ने श्वास प्रश्वासको गति पनि मेरो हैन । मैले फेरेर तारलाग्ने भए निदाएको समयमा स्वास फेर्न बिर्सिएर कति मर्थे हुला । यो पनि भगवान्ले चलाइराखेका छ । यस संसारमा मेरो भन्नु के छ र ? मायाको भ्रमले गर्दा संसार सत्य जस्तो लाग्छ । हाम्रो शरीर पनि संसार भित्रको एक अंग हो । संसारका सबै जलचर, थलचर, खेचर, जल, थल, आकाश बनस्पति सबै ईश्वरीय शक्ति भएका छन् । हामी यो शरीरलाई मेरो शरीर भन्छौं यो पनि एउटा भ्रम हो । मायाको जाल हो । शरीरलाई मेरो भन्नु एउटा भान मात्र हो । यो हाम्रो हातमा छैन हाम्रो अनुकूलमा छैन । यसको भविष्य हामीले बुझेका छैनौं । जन्मदेखि मृत्युसम्मको सबै भगवानको अधिनमा छ । यो शरीर नै भगवान्को सृष्टि हो । भगवान्को सृष्टिलाई हामीले तानतुन गर्न सक्दैनौं । शरीर मेरो हो भने आफ्नो शरीरलाई सधैं जवानीकै अवस्थामा राख्न सक्थ्यौं । स्वस्थ्य बनाइराख्न सक्थ्यौं । इच्छा अनुसार बचाइराख्न सक्थ्यौं । त्यसो गर्न कोही सक्दैन र हुँदैन पनि । यी परिवर्तनशील छन् । जन्म, मृत्यु, जराव्यधि अर्थात् जन्मनु, बुढो हुनु मर्नु, रोग लाग्नु शरीरका धर्म हुन् । यी धर्मलाई सहनु हाम्रो धर्म हो । साधु, सन्त, धनी सबैको जीवनमा यीनै धर्म लागु हुन्छन् । यसबाट बच्न कोही सक्दैनन् । आफ्नो बशमा नभएको, समयको गतिमा चलेको यस्तो क्षणभङ्कर शरीरलाई मेरो मेरो भनेर कसैप्रति अशक्तिको भाव बनाइराख्नुलाई शास्त्रले उचित मान्दैन । आज हामी जहाँ छौं, त्यहाँ भोलि रहने छैनौं । हिजो बालक थियौं । आज युवा छौं । भोलि बृद्ध हुनेछौं, हेर्ने शक्ति, सुन्ने शक्ति, पनि उमेर अनुसार शिथिल बन्दै जान्छन् । यी शक्तिलाई बचाईराख्न सक्दैनौं । भगवान् श्री कृष्ण भन्नुहुन्छ “सबै जीव मेरा अंश हुन् ।” म अंशी हुँ । जीवसँग मेरो सधैंको सम्बन्ध छ । म बिना जीव निर्जिव हुन्छ । त्यसैले म होइन । मेरो पनि होइन । यो त भगवानको दिव्य मन्दिर हो । “शरीरं देवमन्दिरम्” आस्तु ।
