तपाईँलाई थकाइ लागेका वा छाला सुक्खा भएका बेला पानी पिउन भनिएको होला । तर विज्ञहरू भने पानीको बोतल बोकेर हिँडिरहने बानीका कारण हामीले हाम्रो शरीरलाई चाहिनेभन्दा बढी पानी पिइरहने बनाएको हुन सक्ने ठान्छन् । पहिला पहिला धेरै मानिसले एक पटकमा आधा घुट्कोभन्दा बढी पानी पिउँदैनथे । कसरी समय परिवर्तन भयो । यूकेमा पछिल्ला वर्षहरूमाभन्दा अहिले मानिसहरू बढी पानी पिउँछन् । अमेरिकामा सोडाभन्दा पानीका बोतलहरू बढी बिक्री भएको छ । स्वस्थ शरीर, धेरै ऊर्जा, राम्रो छालाका लागि र वजन कम गर्न अनि क्यान्सरबाट जोगिन दैनिक लिटरका लिटर पानी पिउने गरेको भन्ने हामी धेरै सुन्छौँ । दैनिक यात्रा गर्ने मानिसलाई, स्कुले विद्यार्थीलाई पानी बोकेर हिँड्न सुझाइन्छ । एउटा अनौपचारिक सल्लाह अनुसार दैनिक २४० मिलिलिटर पानी अट्ने गिलासको आठ गिलास खान सुझाइन्छ । जम्मा गर्दा त्यो पानी दुई लिटर हुन्छ । यद्यपि यस्तो वैज्ञानिकहरूले सुझाएका भने होइनन् । न यूके वा युरोपेली सङ्घका अधिकारीहरूले नै सुझाएका हुन् । दैनिक कति पानी पिउनुपर्छ भन्नेबारे किन यति धेरै अस्पष्ट सूचनाहरू छन् ? दशकौँ अगाडिका दुई वटा निर्देशिकाको गलत व्याख्याका कारण यस्तो भएको हुन सक्छ । सन् १९४५ मा अमेरिकी फूड एन्ड न्युट्रिशन बोर्ड अब न्याशनल रिसर्च काउन्सिलले मानिसहरूलाई कति क्यालोरी खाना भनिएको छ त्यो अनुसार एक मिलिलिटर पानी पिउनुपर्ने भनिएको थियो । त्यस अनुसार महिलाले दैनिक दुई हजार क्यालोरी खान्छन् भने उनीहरूले दुई लिटर पानी पिउनुपर्ने र पुरुषले २५०० क्यालोरी बराबर खानेकुरा खान्छन् भने उनीहरूले साढे दुई लिटर पिउनुपर्ने सुझाइएको थियो । तर त्यति मात्रा पानीमा केवल पानी मात्रै नभएर हामीले फलफूल र तरकारीबाट पाइने पानी पर्छ । हालैका अनुसन्धानहरूले सुझाए अनुसार दैनिक आठ गिलास अर्थात् दुई लिटर पानी पिउनु भनेको हाम्रो शरीरलाई चाहिनेभन्दा धेरै हो । त्यसको सट्टा हामीले दैनिक डेढ लिटरदेखि १.८ लिटर पानी पिउनु ठिक हुन्छ । तापक्रम र हाम्रो दैनिक गतिविधि अनुसार आफूले कति पानी पिउने भनेर त्यसलाई व्यक्ति अनुसार बनाउनुपर्छ । विज्ञहरूका अनुसार गर्मी र धेरै तापक्रम भएको ठाउँमा बस्ने, उँचो स्थानमा बस्ने, खेलाडी, गर्भवती, स्तनपान गराउने आमाले अन्यले भन्दा धेरै पानी पिउनुपर्छ । शरीरलाई पानी चाहिनुको विज्ञान पानी पक्कै पनि महत्त्वपूर्ण छ । हाम्रो शरीरको दुई तिहाइ तौल पानी नै हो । यसले नै हाम्रो शरीरमा पोषक तत्व र फ्याँक्नुपर्ने वस्तु एक ठाउँबाट अर्को ठाउँमा ओसार पोसार गर्छ । हाम्रो शरीरको तापक्रम स्थीर राख्छ । हाम्रा शरीरका जोर्नीहरूलाई लचकदार बनाउन आवश्यक चिप्लो पदार्थको जस्तो काम पनि गर्छ, कुनै चोट लाग्दा त्यसलाई शोस्ने काम पनि गर्छ । र हाम्रो शरीरभित्र हुने विभिन्न रासायनिक प्रतिक्रियामा भूमिका खेल्छ । हामीले श्वासप्रश्वास, पसिना र पिसाबबाट निरन्तर रूपमा शरीरबाट पानी खर्चिरहेका हुन्छौँ । त्यही अनुसार पानीको सन्तुलन मिलाइरहनु पर्छ ता कि शरीरमा पानीको कमी नहोस् । जब शरीरको पानी १ देखि २ प्रतिशत गुम्छ तब हामी शरीरमा पानीको कमी भएको थाहा पाउन सक्छौँ । र हामीले त्यो पूर्ति नगर्दासम्म पानीको कमी खट्किरहेको हुन्छ । दैनिक ८ गिलास पानी पिउने भन्ने वर्षौँ देखिको आधारविहीन दाबीका कारण तीर्खा लाग्ने बित्तिकै हामीमा खतरनाक अवस्थामा पानीको कमी भएको हो कि भन्ने हामी ठान्छैँ । तर विज्ञहरू भने हाम्रो शरीरले दिने सङ्केतभन्दा बढी पानी पिउनु नपर्ने बताउँछन् । स्वस्थ शरीरले पानी तिर्खा लागेको अनुभव गराएर पानीको कमी भएको जनाउ दिन्छ । स्वस्थ शरीरमा पानी कम हुन लागेको दिमागले पत्ता लगाउँछ र तीर्खा लाग्छ । धेरै पानी पिउनुले स्वास्थ्य सुधार वा वजन कम गर्न मद्दत गर्छ ? हामी शरीरले मागेभन्दा बढी पानी पिउँदा त्यसको फाइदा पानी कम हुन नदिनुबाहेक अरू के हुन्छ भन्ने असाध्यै कम प्रमाणहरू छन् । अनुसन्धानहरूले शरीरमा पानीको कमी हुने अर्थात् डिहाइड्रेसनको सुरुवाती चरण हुन नदिँदा त्यसका केही महत्त्वपूर्ण फाइदाहरू रहेको देखाएका छन् । उदाहरणका लागि केही अध्ययनहरूले डिहाइड्रेसन हुन नदिँदा त्यसले दिमागलाई राम्ररी काम गर्न सहयोग गर्ने देखाएका छन् । सन् २०२३ को एक अध्ययनले पानी पिइरहने गर्दा त्यसले बुढो देखिने प्रक्रियालाई सुस्त गरिदिन्छ र मुटु तथा फोक्सोको रोग हुन नदिन पनि मद्दत गर्छ भनेको छ । पानीको खपत गरिरहँदा त्यसले वजन व्यवस्थापनका लागि पनि मद्दत गर्ने कतिपय अनुसन्धानकर्ताले बताएका छन् । भर्जिनिया पोलिटेक्निक इन्स्टिट्यूट एन्ड स्टेट युनिभर्सिटीका मानव पोषण, खाना र अभ्यासका प्राध्यापक ब्रेन्डा डेभीले पानीको खपत र वजनबारे केही अध्ययनहरू गरेकी छन् । एउटा अध्ययनमा उनले दुई वटा समूह बनाएर दुवैलाई स्वस्थ खानेकुरा मात्रै खाना खान भनिन्। तर एउटा समूहलाई खाना खानुअघि ५ सय मिलिलिटर पानी पिउन भनिन् । जुन समूहले खानाअघि पानी पियो त्यो समूहले अर्कोले भन्दा धेरै वजन घटायो । ती दुवै समूहलाई दैनिक १०,००० पाइला हिँड्न पनि भनिएको थियो । जुन समूहले खाना अघि पानी पियो उनीहरूले त्यसलाई राम्ररी अनुसरण गर्न पनि सके । डेभी अनुमान लगाउँछिन् यो किन भएको हो भने मन्द डिहाइड्रेसन अर्थात् १–२ प्रतिशत पानीको कमी हुनु सामान्य हो र धेरै मानिसले यसबारे महसुस पनि गर्दैनन् । तर यो मन्द खालको डिहाइड्रेसनले पनि हाम्रो मुड र ऊर्जालाई असर गर्छ । तर युनिभर्सिटी कलेज लन्डनस्थित सघन उपचारबारेकी प्राध्यापक बारबरा रोल्स पानी पिउँदा वजन घट्ने कुरा चाहिँ खास गरी चिनी भएको अन्य कुनै पेय पदार्थको सट्टा पानी पिउने कारणले हुने बताइन् । “खाना खानुअघि पानी पिउँदा त्यसले वजन घट्छ भन्ने कुरा स्थापित नभएको र खाली पेटमा पानी पिउँदा त्यो छिट्टै रित्तिन्छ । तर यदि सुप जस्तो खानेकुरा खाँदा शरीरमा पुग्ने पानीको मात्राले चाहिँ पेटमा धेरै बेर बस्छ,” उनले भनिन् । पानी पिउँदाको अर्को फाइदा भनेको त्यसले छालामा चमक ल्याउँछ र सुक्खा हुन दिँदैन भन्ने हो । तर यसको विश्वसनीय वैज्ञानिक आधारबारे पर्याप्त प्रमाण छैन । डिहाइड्रेसन भनेको कस्तो हुन्छ ? डिहाइड्रेसन भन्नाले जति तरल पदार्थ शरीरले लिएको छ त्यो भन्दा धेरै गुमाउनु हो । एनएचएसका अनुसार डिहाइड्रेसनको लक्षणमा गाढा पहेँलो पिसाब, थकान महसुस, चक्कर लाग्नु, मुख, ओठ र आँखा सुक्खा हुनु, दिनमा चार पटक भन्दा कम पिसाब लाग्नु जस्ता कुराहरू पर्छन् । तर सबैभन्दा सामान्य लक्षण भनेको चाहिँ तीर्खा लाग्नु हो । तपाईँले धेरै पानी पिउन सक्नुहुन्छ ? दैनिक ८ गिलास पानी खाने उद्देश्य राखेका हामीलाई त्यसले केही हानी गरिरहेको छैन । तर हाम्रो शरीरले खोजेभन्दा धेरै पानी पिउनुपर्छ भन्ने कुरा कहिलेकाहीँ खतरनाक हुनसक्छ । धेरै तरल पदार्थ खपत गर्दा त्यो गम्भीर बनिदिन सक्छ जब त्यसले रगतमा भएको सोडियमलाई पातलो गराइदिन्छ । त्यसले रगतमा भएको सोडियमको मात्रा सन्तुलन गर्न खोज्दा दिमाग र फोक्सो सुनिने गर्छ । हामी यसबारे धेरै सोच्दैनौँ तर धेरै तरल पदार्थ खपत गर्दा त्यो खतरनाक हुनसक्छ । गएको दशकभरिमा कम्तीमा १५ खेलाडीहरूको खेलका क्रममा पानीको धेरै खपतका कारण ज्यान गएको किप्सलाई थाहा छ । पानीको तीर्खाबारे हामीले नबुझ्दा त्यसो भएको उनी शङ्का गर्छिन् । डिहाइड्रेशन नहोस् भन्नका लागि हामी हाम्रो शरीरले मागेभन्दा धेरै पानी पिउने उनी ठान्छिन् । “अस्पतालमा नर्स र डाक्टरहरूले थुप्रै दिनदेखि पानी पिउन नसकेका गम्भीर अवस्थाका बिरामीहरूमा पानीको मात्रा चरम रूपमा कम भएको देख्छन्, तर यी भन्दा खेलका क्रममा मानिसमा देखिने पानीको कमी भनेको एकदमै फरक हो,“ उनले भनिन् । हामीलाई शरीरमा पानी कति आवश्यक पर्छ ? निरन्तर रूपमा हामीले पानी पिउनुपर्छ भन्ने कारणले धेरै मानिसहरू पानी आफूसँग जहाँ जाँदा पनि बोक्छन् र आफ्नो शरीरलाई चाहिनेभन्दा बढी पिउँछन् । “मानिस सबैभन्दा धेरै तापक्रममा हुने भनेको मरुभूमिको बीचमा हुँदा हो र त्यहाँ उसको एक घण्टामा दुई लिटर पसिना बग्न सक्छ तर त्यो एकदमै कठिन हुन्छ,” लन्डनस्थित इन्स्टिट्यूट अफ स्पोर्ट्स, एक्सरसाइज एन्ड हेल्थका अनुसन्धान निर्देशक ह्यू मोन्टगोमेरी भन्छन् । यूकेको एनएचएसले कम चिल्लो पदार्थ भएको दूध, चिया, कफीजस्ता चिनीरहित पेयसहित दैनिक ६ देखि ८ गिलास पानी पिउन सुझाउँछ । यो पनि बुझ्न आवश्यक छ कि हामीलाई तीर्खा लाग्ने प्रक्रियाको संवेदनशीलता ६० वर्षपछि गुम्छ । सन् २०२२ मा अनुसन्धानकर्ताहरूले डिहाइड्रेशनको लक्षण धेरैजसो बेवास्ता गरिने गरिएको पत्ता लगाएका थिए । “उमेर भएसँगै प्यासबारेको हाम्रो प्राकृतिक प्रक्रिया कम संवेदनशील बन्छ र हामीलाई युवालाई भन्दा ’डिहाइड्रेशन’ धेरै हुन्छ । उमेर बढेसँगै हामी शरीरमा पानी कम नहोस् भनेर पानी वा पानी पाइने तरल पदार्थ खानेबारे धेरै ध्यान दिनुपर्छ,“ डेभीले भने । शरीरलाई कति पानी आवश्यक हुन्छ भन्ने कुरा व्यक्तिको उमेर, आकार, लिङ्ग, वातावरण र शारीरिक क्षमतामा भर पर्नेमा विज्ञहरू सहमत छन् । सन् २०२२ मा युनिभर्सिटी अफ एबरडीनका अनुसन्धानकर्ताहरूले मानिसको शरीरलाई चाहिने अनुमानित पानीको मात्रा दैनिक दुई लिटरभन्दा डेढ लिटरदेखि १.८ लिटर भएको अनुमान गरेका थिए । ती अनुसन्धानकर्ताहरूले मानिसलाई दैनिक कति पानी आवश्यक पर्छ भन्नेबारे २३ देशका वैज्ञानिकहरूसँग सहकार्य गरेका थिए । उनीहरूले गर्मी र धेरै तापक्रममा बस्ने लगायत उँचो स्थानमा बस्ने, खेलाडी, गर्भवती महिला र स्तनपान गराउने मानिसलाई अन्य मानिसलाई भन्दा धेरै पानी आवश्यक पर्छ । कति पानी आवश्यक पर्छ भन्ने जान्न उसले कति ऊर्जा खर्चिन्छ भन्नेमा भर पर्छ । एउटै नियम सबैलाई लागु हुँदैन । धेरैजसो विज्ञहरू दैनिक कति पानी चाहिन्छ भन्नेबारे धेरै चिन्ता लिनु नपर्ने र शरीरले नै तीर्खामार्फत् थाहा दिने कुरामा सहमत छन् । प्रायः भोक लागेपछि वा थकानका बेला मानिसलाई तीर्खा लाग्छ । आवश्यकता भन्दा बढी पानी पिउनुको एउटा मात्रै फाइदा भनेको शौचालय गइरहनु पर्दा खर्च हुने थप क्यालोरी हो । श्रोतः– बिबिसीबाट
