IMG-LOGO

बेलविवाहका अगुवा अनि उषाहरणकी नायिका पनौतीका मच्छे नारायण कर्माचार्य

 मंगल, चैत ६, २०८०  – प्रा.डा. सुमनराज ताम्राकार

        धार्मिक तथा सांस्कृतिक नगर पनौतीको लागि अक्षय तृतिया तिथि पनि अलि विशेष छ । यसै तिथिमा भगवान् महादेवले पार्वतीसँग विवाह गरेका थिए । त्यसैकारण विवाहकार्यको लागि यो दिन लगन चाहिँदैन भनिन्छ । प्रत्येक वर्ष पनौतीको त्रिवेणीघाटमा अक्षय तृतियाको अवसर पारेर कन्याहरुलाई सामूहिक रुपमा दुई दिने बेल विवाह (इही) को आयोजना गरिन्छ । त्यसैले पनि यहाँ अक्षय तृतिया आउनु ४–५ दिन अगाडि देखि निधारमा रातो टिका लगाई हिँड्ने ७ देखि ९ वर्षका कन्या केटीहरु थुपै्र देख्न पाइन्छ । पनौती वरपरका टौखाल, सुब्बागाउँ, मल्पी लगायत अन्य जिल्लाहरु काठमाण्डौ, ललितपुर, भक्तपुर, सिन्धुलीका कन्याहरु पनि सहभागी हुन्छन् । पहिले पहिले एक आपसमा मित लाउने काम पनि गरिन्छ ।         यस किसिमको बेल विवाह वि.सं. १९७५ देखि ईन्दे्रश्वर महादेवको प्राङ्गणमा हुन्थ्यो । पछि मच्छेनारायण कर्माचार्यकै एक आफन्त बद्री केदार घुमेर आएपछि यस्तो मन्दिर हाम्रै ठाउँमा बनाउनु पर्छ भनी बद्री केदार स्थापना गरेर अश्वमेघ यज्ञ पनि गर्नुभएछ । वि. सं. १९८० तिरबाट बद्री नारायणको स्थापना भए पश्चात् त्रिवेणीघाटमा वर्सेनी संचालन हुँदै आएको छ ।         सोही बेलविवाहका लागि १० जनाको गुठी छ । पनौती बसपार्कमा १० वटा सटर भएको कर्माचार्य कम्प्लेक्स छ । यहि कम्प्लेक्सको आयस्ताबाट बेलविवाहका सहभागीहरुलाई मासु भात, स्वारी, मालपुवा, दही आदि भोजनको व्यवस्था मिलाउने गरेको छ । कसैले पूजाथाली मात्रै ल्याउँछन् भने कतिले त्यो पनि ल्याउँदैन तर पनि आवश्यक सामाग्रीको बन्दोबस्ती हुन्छ । वर्सेनी बेलविवाह पर्व आउन लाग्यो कि अगुवा मच्छेनारायण कर्माचार्य लगायतका कर्माचार्यहरुलाई यसको व्यवस्थापन तथा पूजाकार्यको कारण बेपूmर्सदी हुन्थ्यो ।         उही अगुवा मच्छे नारायण कर्माचार्यले २०८० माघ शुक्ल चतुर्दशी (फागुन ११ गते) का दिन यस धर्तीबाट सदाका लागि बिदा लिनुभयो । पिता रत्न लाल कर्माचार्य तथा माता चमेली कर्माचार्यका ६ छोराहरुमध्ये कान्छा छोराका रुपमा मच्छेनारायण कर्माचार्यको जन्म वि. सं १९९४ जेठ कृष्ण पक्ष चौथीका दिन भएको थियो । उहाँले २०१८ साल एस एल सी उत्तिर्ण गर्नुभयो । प्रतिमा कर्माचार्यसँग विवाह बन्धन गर्नुभएका मच्छे नारायण कर्माचार्य दम्पत्तिले ३ छोरी र ६ छोरा पाउनु भयो ।         १६, १७ सालसम्म पनौतीको हुलाक बाह्रबिसे अन्तर्गतको भएकोले अस्थायी थियो । सो हुलाक फर्केर जाने भएपछि मच्छेनारायण कर्माचार्य लगायतका पनौतीवासी हुलाक नियन्त्रक कहाँ गई पनौतीमा यसको आवश्यकता रहेको जाहेर गर्नुभएछ । त्यसो भए आपैंm जागीर खानु र हुलाक पनि चलाउनु भन्ने निर्देशन भएछ । पहिले भरत चरणको बुबा (ग्वः पसल्या बुरा) को घरमा वर्षौंदेखि हुलाक सित्तैंमा राखिराखेकोमा पछि पैसा तिर्ने गरी भाडा घर खोज्नुपर्ने भएछ । यस मामिलामा १०, १२ जनाको टेण्डर, सीडीओसँगको मनमुटावपछि सोही ग्वः पसल्या बुराको घरलाई नै बलजफ्ती सदर गरेको र पनौतीमा हुलाक स्थायी गरेको घटना ताजै सुनाउनु भएको थियो मच्छेनारायण कर्माचार्यले ।         २०११ सालमा भर्पाई आन्दोलनमा सघाएको र प्रजातान्त्रिक विचार राखेको कारण २०१७ सालमा पञ्चायती व्यवस्था आएपछि केहि समय भागी हिँड्नु भयो उहाँ । त्यस्तो प्रतिकुल अवस्थामा पनि रोशीमा प्राथमिक स्कुल खोल्न भ्याउनु भएछ । र, २८, २९ साल देखि कर्मचारी सञ्चय कोषमा अडिटरको काम थालेर पछि २०३० सालदेखि कृषि विकास वैंकमा स्थायी कर्मचारीको रुपमा ६० को दशकमा सेवानिवृत्त हुने बेलासम्म वनेपा शाखामा कार्यरत हुनुहुन्थ्यो भने नोकरीपछि स्थानीय क्षेत्रको एक सहकारीमा सल्लाहकारका रुपमा काम गर्नुभयो ।         मित्र प्रसाद गुरुका सानिध्यबाट अमरकोष छिचोलेका मच्छे नारायणले पुष्पराज ताम्राकारसँगै रोहितमान गुरुजुबाट नाटक तालिम हासिल गर्नुभएको थियो । तर उही मच्छे नारायणको नाटकमा सँलग्नता धेरैले बिर्सि पनि सके । त्यसो त पनौतीमा नाच (प्याखँ) देखाउने तथा नाटक मञ्चन गर्ने कार्य निकै पहिले देखि पनि गरिन्थ्यो । लिच्छवीकाल तथा मध्यकाल अगावै एवं पछि मल्लकालताकै नाटक तथा नाच देखाइने कार्य थियो भन्ने कुरा त्यसबेला नै विभिन्न चोक, डबली, ननीको निर्माण तथा त्यससँगै राखिएका शिला तथा अन्य लेखहरुबाट पुष्टि हुन्छ ।         नाट्य सम्बन्धि पुरानो कुरा यसरी सम्झिनु भएको थियो – एक ताका माथिल्लो टोलमा विराट पर्व र तल्लो टोलमा उषाहरण प्रदर्शन हुने क्रममा प्रतिस्पर्धा यति बढेको थियो कि त्यसबेला बिजुली नभएपनि जेनेरेटर तथा माइक भाडामा ल्याएर भएपनि नाटक मञ्चन गरिएको थियो । माथिल्लो टोलमा रोहितमान (कान्छा) गोछेंको निर्देशकत्वमा विराट पर्व नाटक प्रदर्शनका लागि प्रशिक्षण शुरु भएछ । प्रशिक्षणको चौथो दिन द्वारिकादास कर्माचार्य हेर्न जाँदा खेरी तल्लो टोलको मान्छे हेर्न आयो भनी गुनासो गर्दै हेर्न दिएनछ । ज्ञानविकास पुस्तकालय नजिकको फल्चामा बसिबियाँलो गरिराखेका बूढापाकाहरुले सो कुरा थाहा पाएर यसैको रिस फेर्न महाभारतको उषाहरण लडाईं पर्व देखाउने योजना बनाएछ । लालबहादुर धन्जुलाई ३२ पेजको अर्थात् ६४ पन्ना सुखसागर कण्ठस्थ थियो । उहाँको डिक्टेशनको आधारमा गोपालमान श्रेष्ठले नाटक लेख्ने निधो भएछ । त्यो बेला गोपालमान माड्साप ईन्द्रेश्वर मिडिल स्कुलको हेडमास्टर भएपनि तलबको व्यवस्था थिएन । उहाँलाई खुशी पारीराख्न मच्छेनारायण कर्माचार्य लगायतका ६,७ जना उहाँकोमा ट्युशन पढ्ने र फि वापत चामल, तरकारीको बन्दोबस्त गरिएछ । उहाँले भनेजस्तो अनुशासनमा बस्नुपथ्र्यो र उहाँको च्वाइस पनि राम्रो थियो । बनेपाका विष्णु सेवाचार्यले पनि सिकाउन आउनुभएको थियो । स्टेज नै कस्तो भव्य थियो । अर्को रोचक कुरा दबू प्याखँ तयार भएपछि माथिल्लो टोलकाले बिजुली बाल्न जेनेरेटर ल्याउने र तल्लो टोलकाले माइक ल्याउने प्रतिस्पर्धा भएछ । तर जेनेरेटर र माइक काठमाडौंका साहुको एउटै पसलबाट ल्याइएछ, विश्वज्योतीका गरिबनाथको पसलबाट । उही साहुको पसलबाट मच्छेनारायण कर्माचार्यले ७०० तिरी रेडियो किनेर ल्याउनुभएछ ।         २००८ सालमा प्रदर्शित उषाहरणमा मच्छेनारायण कर्माचार्यले उषाको लिड रोल खेल्नु भएको थियो । सोही नाटकमा चन्द्र लक्ष्मी ताम्राकारले उषाको बालभूमिका गरेकी थिईन् भने श्रीराम कर्माचार्य, नारायण ताम्राकार, द्वारिकादास कर्माचार्य, गणेश भक्त कर्माचार्य (वाणासुर), प्रद्युम्न, माधव नारायण कर्माचार्य, बद्री ताम्राकार (चित्रलेखा) गरी अन्य २२, २५ जना सहभागी थिए । तर पनि कलाकार नपुग भएकोले महाद्य कृष्ण फेरि फेरि राख्नुपथ्र्यो । महिनौं दिन सम्म उक्त नाटक मञ्चन हुँदा पाहुनालाई पाल्नुपथ्र्यो । रक्सौलदेखि नाटक हेर्न आएका थिए मानिसहरु ।         २००० साल अगाडिका नाटक निर्देशकहरुमध्ये मोतीमान गुरुजुको नाम अग्रपंक्तिमा आएपनि अन्य पुराना नाटक निर्देशकहरुमा रोहितमान गोछें, कृष्णभक्त सैंजू, रामसुन्दर सैंजू, गोकुल माझी श्रेष्ठ आदि हुन् । त्यसपछिका पिँढीहरुमा पुष्पराज ताम्राकार, मच्छेनारायण कर्माचार्य, पूर्णभक्त कर्माचार्यहरु हुन् । पनौतीमा आई नाटक सिकाउन आउनेहरुमा बनेपाका गोपालमान श्रेष्ठ, बिष्णुप्रसाद सेवाचार्य, भक्तपुरका बुद्धिसागर रञ्जित, लालबहादुर आदि हुन् ।         यसै प्रसङ्गमा बुद्धि सागर रञ्जितले पिटेको घटना बिर्सनु हुन्न उहाँ । यसैको तोडले आपैंm सिक्नथाल्नु भयो । यसक्रममा नाटक फिल्म बराबर हेर्ने गर्नुभयो । त्यो बेला जनसेवा र थापाथलीमा रहेको मुनलाईट नामका सिनेमाहल थिए । नयाँ फिल्म आयो कि काठमाडौंसम्म हेर्न जाने गर्नुहुन्थ्यो । जहाँ गएपनि हिँडेरै पुग्नुपर्ने त्यो समय कहिलेकाहीँ भने भक्तपुरदेखि भ्वाँक भ्वाँक गर्ने चेभरलेट गाडी चढ्ने चान्स मिल्थ्यो । हल बाहिर आउनासाथ गित कण्ठ गर्ने, आपूmले पर्दामा हेरेको कुरा डेरामा आई रिहर्सल गर्ने उहाँको दैनिकी हुन्थ्यो । कुनै दिन ८ बजे देखि ४ बजे सम्म र कहिलेकाहीँ ६, ७ दिन सम्म लगातार पनि फिल्म हेर्नुहुन्थ्यो । र, उहाँको लागि फिल्म नै ट्रेनिङ साबित भयो ।         ‘गाईजात्रा नजिकिन थालेपछि भ्याईनभ्याई हुन्थ्यो ।’ आफ्नै बज्यै विष्णुमाया, आमा चमेली, कान्छाबाजे जितमेर, ठूलोबुबा शेर बहादुर र गोकुल काकाको निधनपछि उहाँहरुको स्मरणमा गाईजात्रामा निकालिएको झाँकीमा पनि सहभागी हुनुभयो भने गाईजात्राताका नै साधारण रामायण प्याखँको तालीम लिई पुष्पराज ताम्राकार, सानुकाजी कोङ्गा, स्व. सहदेव ताम्राकार, भरत चरणका दाजु, रत्नलाल दुवाल ‘माकुरी’, राम नापितसँगै शैलीको भूमिका निभाएको याद गनुभयो – मक्षेनारायण कर्माचार्यले । त्यसैगरी भक्तप्रल्हादमा सुन्दर कर्माचार्यसँग र लाल बहादुरको छोरा ककाभाईसँग सुखसागरमा अभिनय गरेको अनुभव पनि सुनाउनु भएको थियो ।         आज मच्छे नारायण कर्माचार्य काकाको १२ औं दिनको तिथीमा उहाँ प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोक संतप्त कर्माचार्य परिवारप्रति समवेदना प्रकट गर्दछु ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्