चितवनको शिशु निकेतन स्कूलको होस्टेलमा झुन्डिएको अवस्थामा भेटिएकी शालिन पोखरेलको मृत्युलाई लिएर सामाजिक संजालमा अहिले दुईथरी प्रसङ्ग उठिरहेको छ । एकथरीले बाबुआमालाई दोष दिइरहेका छन् भने अर्कोथरी स्कूल प्रशासनको विपक्षमा छ्न् । के बाबुआमाको काख बाहिरका छोराछोरी माथि यस्तै हुनुपर्ने हो ? बाबुआमा भिन्न भएका, टाढा भएका बालबालिकालाई जे गरे पनि हुन्छ ? कुनै समय र परिस्थितिमा बाबुआमाको कुरा मिलेन अलग भए । यसलाई कमजोरी बनाएर निर्दोष सन्तान माथि अन्याय गर्ने ? एकपटक हामी जिम्मेवार नागरिक भएर सोचौँ त ! देशका हरेक बालबालिकाले सुरक्षित रूपमा हुर्कन पाउनुपर्छ । सुरक्षित रूपमा विद्यालय जान पाउनुपर्छ । स्कूल तथा छात्राबासको आफ्नै नियम हुन्छ तर स्वतन्त्र रूपमा सिक्ने सिकाउने वातावरण हुनुपर्छ । शिशु निकेतन स्कूलले आफ्ना सबै विद्यार्थीको सुरक्षाको जिम्मेवारी लिनुपर्ने हो । जुन घटना विद्यालयमा घटनुहुन्थेन । बिना डर त्रासको वातावरणमा बालबालिकाले विद्यालयमा पढ्न पाउनु बालबालिकाको अधिकार हो । यदि शालिन नानूले आत्महत्या नै गरेकी हुन् भने के कारणले उनलाई आत्महत्या गर्न प्रेरित गर्यो ? घटनाअघिका उनका हरेक क्रियाकलाप र गतिविधिको जानकार होस्टेल वार्डेन र विद्यालय प्रशासन नै हुनुपर्छ । उनीहरूको बयानले पनि घटनाको सत्यतथ्यसम्म पुग्न मद्दत गर्दछ । पोस्टमार्टमको रिपोर्टले उनको हत्या नभई आत्महत्या नै हो भनेछ । हत्या र आत्महत्या जे भए पनि थप अनुसन्धानले पुष्टि गर्ला । तर कानुनभन्दा माथि बसेर कसैले गलत निर्णय नगरोस् । एउटी सन्तानको मृत्युमा आमाबाबुलाई गाली गरेर निरीह नबनौँ । पन्छिन नखोजौँ । जन्मदै आमाबाबु गुमाएका सन्तान सबैले यसरी नै मर्ने मारिने हो त ? देशका बालबालिकालाई सुरक्षाको प्रत्याभूति दिलाउनु राज्यको दायित्व हो । हरेक तह र तप्काका नागरिकको पनि दायित्व हो । ।
