IMG-LOGO

आफन्तका फेरिएका परिभाषा

 मंगल, फागुन २२, २०८०  – नरेन्द्रजंग पिटर

    अध्ययन गर्न अत्यन्तै कठिन, अत्यन्तै गम्भीर कृति मान्छे हो । त्यसैले साथी बनाउन हतारिनु हुँदैन । पार्टीमा लाग्नु र छाड्नु पनि त्यस्तै हो । झन् बनिसकेका साथीसँग त मित्रता तोड्न हतारिनै हुँदैन ।  सशरीर परिचित वा अपरिचितसँग संवाद हुन्छ । जीवन र जगत कसले कसरी बुझेको छ ? कुन विषयमा परिष्कृत हुन समयले मागिरहेको छ ? भनेर सिक्न र समकालीन समाज पढ्न मान्छे पढ्नु आवश्यक हुन्छ । अझ समाज पढ्न सामाजिक सञ्जालका स्टाटस र प्रतिक्रिया सन्दर्भसामग्री बन्छन् । सबैसँग आफू ठिक भएका तर्क हुन्छन् नै । म अहिले अध्ययन सामग्रीमा समाज, साथी, सरकार र अदालतका फैसला सूक्ष्म नियालिरहेको छु । म ‘बाउँठिएको’ मान्छे । पहिलाका साथीहरू तर्कन्छन्, न्यास्रो त लाग्छ नै । आफन्तसँग आमनेसामने भएर पनि नबोल्दा वैराग्य छाउँछ । अझ प्रेमीप्रेमिका आमनेसामने हुन् तर एकअर्कालाई नदेखेझैं गरून्, अनि उनीहरू आफैं के सोच्दा हुन् ? केही मान्छे सम्बन्धहरू कपडा फेरेझैं फेर्छन् ।  सर्तले सम्बन्ध निर्धारण गर्ने याममा सफलताको सूत्र नै हृदयले होइन, मस्तिष्कले तय गर्छ । आफन्तसँग धेरै बेर आमनेसामने भएँ तर संवाद भने गरेनौं ।      मान्छेसँग स्वत्वले अहङ्कारको रूप लिएपछि जटिलता सुरु हुन्छ । विकसित चिन्तनको स्तर अनुसार धारणा बनाएर व्यवहार गर्छ । बनिसकेको तस्बिर च्यात्न भने गाह्रै पर्छ । अपराधी, मानसिक रोगी, तानाशाह, व्यभिचारी र भ्रष्टाचारीसँग पनि आफू ठिक भएको विश्वस्त हुने तर्क र आधार हुन्छन् । नत्र गलत काम, अपराध र कुकृत्य गर्नै सक्दैनन् । विभिन्न पात्र र प्रवृत्तिसँग म संवादमा हुन्छु । त्यसका केही बान्की राखौं । आज एकजनाले प्रेम र सत्यबारे सोध्यो । भनें– सत्य सार्वभौम हुँदैन । अझ भ्रमित सत्यले अविश्वास र आशंका जन्माउँछ । सत्य पनि फेरिँदा रहेछन् । फेरिएका सत्यसँगै आचरण र सौन्दर्यशास्त्र पनि फेरिन्छन् । मित्र र विरोधी दुस्मन  फेरिँदारहेछन् । नायक र खलनायक फेरिन्छन् । फेरिँदारहेछन् चस्मासँगै दृश्यहरू, दृश्यसँगै ओझेलिँदा रहेछन् सपनाहरू । भ्रमभन्दा ठुलो खतरा संसारमा केही हुँदैन ।      जिज्ञासा रहित अविश्वासले सधैं समर्पणको प्रमाणपत्र खोज्छ । प्रेममा कुनै तमसुक हुँदैन, समर्पण मात्र हुन्छ । प्रमाणपत्र देखाएर बन्ने प्रेमी र गेरुवस्त्र लगाएर बन्ने धार्मिक एकै खाले हुन् । जब प्रेम र धर्मले विश्वासको प्रमाणपत्र खोज्न थाल्छन्, तब प्रेमी र धार्मिक रहिरहँदैनन् । प्रेमले विलीनको माग गर्छ । प्रेममा कुनै प्रमाणपत्र हुँदैन, न त्यो बजारमा खरिदबिक्री गर्ने वस्तु हो । प्रेमका तराजु हुँदैनन् । आवेग हुन्छ, समर्पण मात्र हुन्छ । प्राप्ति अपेक्षा हुँदैन । नत्र मान्छेमा बलिदानी भाव हुँदैन । मैले दर्शनप्रेमी सुकरातले विष पिएको, विज्ञानप्रेमी जियोड्रानो ब्रुनो जलाइएको पढेको छु । धेरै देशप्रेमीका इतिहास पढेको छु । उनीहरूका हकवाला पनि देखेको छु । उनीहरूमा विधागत प्रेम हुँदैनथ्यो भने समपर्ण भाव नै जन्मिँदैनथ्यो । त्यसैले भ्रमित प्रियजनसँग औधी डराउँछु ।      समय घर्कंदै जाँदा हुने सकारात्मक व्यवहारले भने भ्रम टुट्छ । मूर्खताबाट सुरु भएको रिस र भ्रमित सत्य पनि पछुतोमा गएर टुंगिने गर्छ । अर्काले के भन्यो ? के ग¥यो ? त्यसले कुनै अर्थ राख्दैन । भ्रम उत्पादन हुने आधार त हुन्छन् तर त्यसलाई ध्वस्त गर्न तथ्यमा आधारित तर्क र जीवन व्यवहार हुनेगर्छ । मान्छेको भ्रम जति शक्तिशाली दुस्मन अरू कोही हुँदैन । बिरालोलाई बाघ देख्छ, आफन्तलाई दुस्मन । अर्को पक्षको अवस्था, सोच, चिन्तन के छ ? कुन मनोदशाबाट गुज्रिएको छ ?  बनाएका प्रतीक को प्रति लक्षित छन् ? भनेर सोच्ने कष्टै गर्दैन । यथार्थको साक्षात्कार गर्न नसक्ने कविहरू धेरै भावुक हुन्छन् । भावनामा बगेर अझ भ्रमित हुन पनि सक्छन् । कतै आग्रहले अरूप्रति धारणा गलत त बनाइँदिँदैन भनेर  आफ्नै विश्वासलाई पनि पुनर्मूल्याङ्कन गर्नुपर्छ । क्रोधमा रहेका, आवेगमा आएका, मदहोस भएका, वासनामा लिप्त भएका, खुसीले अति उत्साहित भएका बेला मान्छे दिल र दिमाग छताछुल्ल पार्छन् । रिसाउन नहुने मान्छे रिसाए भने आफ्नै समस्या छ, खुसाउन नहुने मान्छे खुसाउँछ भने अवश्य गम्भीर षड्यन्त्र रचिँदै छ भनेर बुझे हुन्छ ।      अझ खुसामदी व्यवहार कोही गर्छ भने गलत काम गराउन खोज्दैछ भनेर बुझे हुन्छ । स्वार्थ र सर्तमा कोही आफन्त हुनै सक्दैनन् । तितो बोल्ने मित्रहरू साँच्चिकै आफन्त हुन्छन् । उनलाई दुःखित बनाउनु दुःख बेसाउनु हो । शत्रु कमाउन सजिलो हुन्छ, आफन्ती कमाउन औधी गाह्रो । तृष्णा र सन्तुष्टिबिचको द्वन्द्वमा हरेक व्यक्ति अल्झिरहेका हुन्छन् । रूप, मर्म र अवस्था भने एकैनास हुँदैनन् । इच्छाको कहींकतै अन्त हुँदैन, अनन्त हुन्छ । आन्तरिक चेतबिचको विरोधाभाषी चिन्तन र अपेक्षा सहज रूपमा बुझ्न सक्ने चिन्तनशील व्यक्तिले नै जीवन र जगतको  सुखभोग गर्न सक्छन् । त्यस्ता मान्छेलाई सकभर पछ्याउने र संवाद गर्ने कोसिस गर्छु पनि । बाधक नियाल्दा भने कहिलेकाहीं उत्पातै झोक चल्छ । तब म चिच्याउन छोडेर मौन बस्दै लेख्न थाल्छु । सम्झनाले पनि कहिलेकाहीं सम्हालिनै नसकिने गरी भक्कानो फुटाइदिन्छ । सामाजिक चेत, अवस्था र मनोभावबाट म पनि टाढिन सक्दिनँ । सौन्दर्यबोध, विश्वासको आधारमा सुन्दरता र कुरूपता उम्रन्छन् । सुँगुरदृष्टिमा त फोहोरको डङ्गुर सुन्दर र गन्धेनाला बास्नादार लाग्न सक्छ । को, कहाँ, कसरी कुन वस्तु हेर्छ  ? सुन्दरता र कुरूपताका अर्थ पनि त्यस्तै लाग्छन् । शक्ति, धन र रूपको नसा अद्भुत नै हुन्छ । रक्सीजस्तै तुरुन्त उत्रिँदैन । गुमेपछि मात्र शक्ति र धनको नसा उत्रिन्छ । व्यक्तित्वका अनुयायी भनेको विचार, भावना, भूमिका र जीवन व्यवहार पछ्याउनु हो । मान्छे मेसिन होइन । सबै सहन्छ, हेपेको सहँदैन । दुख्छ । दुःख पोखिन्छ–कहिले आक्रोशमा, कहिले आक्रमणमा, कहिले गुनासोमा र कतिपय अवस्थामा आफैंसँग झगडिएर पनि । समाजमा धेरैथरी सोच, चिन्तन, सक्रियता, मान्यता र विश्वास सक्रिय हुन्छन् । ती कतिपय तथ्यमा टेकेर तर्क उत्पादन भएर विश्वासमा फेरिन्छन् । तिनै विश्वास अर्को सन्दर्भ र अनुसन्धानले नयाँ विश्वासका आधार बन्छन् । मान्छे परिष्कृत हुँदै नयाँ विश्वास गर्न थाल्छ । अध्ययन, अनुसन्धान, सङ्गत, अन्तरक्रिया र वादविवादले सिमेन्टेड सोच भत्काउँछ । जडसोच भत्काउने उत्तम थलो विश्वविद्यालय, पुस्तकालय, प्रयोगशाला र ज्ञानीजनका संगत हुने गर्छन् । सबै मान्छेमा कुनै न कुनै स्तरको डिप्रेस हुन्छ । डिप्रेस बढेपछि त्यसलाई मनोरोगी भनिन्छ । रोगीले  रोग लागेको पत्तै पाउँदैन । मनोरोगीलाई घृणा नभई माया, प्रेम र सम्मानको खाँचो हुन्छ । अपेक्षा र महत्त्वाकांक्षाको सबल व्यवस्थापन हुन नसक्दा उत्पन्न समस्याग्रस्त मान्छे नै मनोरोगी हुन्छन् ।      दबाब र तनावलाई व्यवस्थापन गर्न सकिएन भने सोच र भूमिकामा प्रभाव पार्छ । शंकालु र भ्रमित स्वभाव देखिन्छन् । अरूबाट माया, सम्मान र सहयोगको अपेक्षा त हुन्छ तर आफ्नै शब्दवाणले अन्यलाई चोट पनि लाग्दो हो, पीडा पनि पु¥याउँदो हो भन्ने मनोरोगीले हेक्का राख्दैनन् । नकारात्मक र व्यक्ति केन्द्रित कुरा गर्नु स्वभाव नै बन्न पुग्छ । हीनताबोध, उच्चताबोध र व्यक्ति केन्द्रित सोच मनोरोगीका लक्षण हुन्छन् । नेगेटिभ सोचका हुन्छन् ।  रोगको उपचार भनेकै आफन्तीको माया र विश्वास हो । चौतर्फी विरोधी देख्नु र चापलुसबाजलाई साखुल्ले सोच्नु अनि भजनमा रमाउनु स्वभाव बन्दै जान्छ । आलोचना, सुझाव र सल्लाह पचाउनै नसक्ने बन्न थाल्छन् । त्यस्ता बिरामीको संगत भने गर्नुहुँदैन, रोग सर्न सक्छ । स्वीकार हो कि रोगले चापेर हो, डिप्रेसनले सताइएका आफन्तीले एकपटक भने– ‘समस्या ममा नै छ । खोट ममा नै छ । स्वभाव बनिसक्यो त के गरौं ?’ मैले जीवनको अन्तसम्म अब यसैलाई भोग्नुपर्छ । अरूले आदर गर्दा  अहंकारी बन्दो रहेछु । प्रेम गर्दा बैगुनी हुँदोरहेछु ।      औलो दिँदा डुँडुलो निल्दोरहेछु । प्रशंसाको भोको चाकडीमा रमाउने पो भएछु । अरूको हैसियत, क्षमता बढेको पटक्कै देख्नै सक्तिनँ । अरूलाई हेपेपछि मनसुख हुन्छ । अरूको छिद्र खोज्न क्षमता र दक्षता खर्च गर्दो रहेछु । अरूलाई संकेत गरिएका कुरा पनि आफैंलाई नै आक्रमण गरिएको सोच्छु । झगडिन्छु । अरू पाइएन भने नक्कली शत्रु बनाएर झगडिँदो रहेछु । अरूलाई हेप्न, दाप्न म जतिको सिपालु कोही छैन । चिनेका, जानेका र संगत गरेकालाई नै मैले हेप्ने हो । आदर्श छाँटिने हो । अरूको हैसियत बढ्यो भने मलाई डाहा छुट्दोरहेछ । टाउको रिँगाउँछ । नचिनेका, नबुझेकाको  त मैले रौं पनि हल्लाउन सक्तिन, थाहा छ । तर अरूलाई माया, प्रेम र आदर दिन म कन्जुस छु । हो, मेरो समस्या मनै हुँ । मलाई फेरिन उपदेश दिने मूर्खजन, म फेरिनेवाला छैन ।  म यो लोकको सर्वज्ञ हुँ ।’ चुपचाप उनको कुरा सुनें । उनले मलाई कमजोर, मूर्ख, तर्कहीन सोचे । म भने उनको रोगबाट चिन्तत भएँ ।      संसारभरि विभिन्न आकारप्रकार, बास्ना, स्वादका चार लाखभन्दा बढी फूल फुल्ने बिरुवाका प्रजाति छन् । पात्रहरू पनि सबै सबैजस्तो हुन सक्दैनन् । स्वार्थ होस् या मानव केन्द्रित सोचले एकै भावमा देखिन सक्छ । तब मेरो बकपत्र बन्यो– उनीजस्तो म हुनै सकिनँ, उनी मजस्तो । धेरैले हिँड्ने बाटाहरू नहिँडेपछि बाटो फरक भयो । फरक परे– विश्वास, मूल्य, मान्यता र सौन्दर्य । तब म भिडमा अकेला । उनलाई खुसी पार्न भिडसामु आत्मसमर्पण गर्नुपथ्र्यो । मिथकलाई इतिहास मान्नुपथ्र्याे । पत्थरमा प्राण भर्न सकिन्छ, स्विकार्नुपरथ्यो । पीतवस्त्र धारण गरेर संस्कारी बन्नुपथ्र्यो । सकिनँ । तब फेरिए आफन्तका परिभाषा ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्