पारामिक्जोभाइरस परिवारमध्येको एउटा भाइरसले दादुरा गराउँछ भने रुबेल्ला पनि रुबि भाइरसको कारण हुने संक्रमण हो । रुबेल्लालाई जर्मन मिजल्सको नामले पनि चिनिन्छ । अन्य भाइरल संक्रमणको जस्तै दादुरा र रुबेल्लाको पनि खासै उपचार छैन । तर दादुरा र रुबेल्ला जस्ता संक्रामक रोगहरु खोपका माध्यमबाट जोगाउन सकिन्छ । नेपाल सरकारले अस्तिदेखि देशैभर दादुरा–रुबेला खोप अभियान सञ्चालन गर्दै छ । यो अभियान चैत ७ गतेसम्म जारी रहनेछ । खोप भारतसँग सीमा जोडिएका दादुरा–रुवेलाको अति सङ्क्रमित २१ जिल्ला तथा काठमाडौं उपत्यकाका तीन जिल्ला गरी २४ जिल्लामा ९ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई लगाइनेछ । यस्तै, ५१ जिल्लाका ९ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई पनि खोप लगाइनेछ । यस क्रममा ९ महिनादेखि ५ वर्षमुनिका २१ लाख ३० हजार ६ सय ८३ बालबालिका र ५ वर्षदेखि १५ वर्षमुनिका ३६ लाख १२ हजार ३ सय १० बालबालिका गरी कूल ५७ लाख ४२ हजार ९ सय ९३ बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएको छ । करिब एक लाख दश हजार स्वास्थ्यकर्मी एवं स्वयंसेवक परिचालन गरि यो खोप बिहान १० बजदेखि दिउँसो ४ बजेसम्म बालबालिकालाई विद्यालय तथा खोप केन्द्रमा लगाइनेछ । यो खोप सुरक्षित र प्रभावकारी रहेकाले सबैले आ–आफ्ना बालबालिकालाई खोप लगाउन आह्वान गरेको छ । यो खोप लगाएपछि ८५ प्रतिशतलाई दादुरा रुवेला रोगसँग लड्ने क्षमता विकास गर्ने जनाएको छ । खोप लगाएपछि कतिपय बच्चालाई ज्वरो आउने, रुघाखोकी आउनेजस्ता समस्या देखिए पनि आत्तिनुपर्ने हुँदैन । खोप लगाएपछि बच्चामा गम्भीर समस्या देखिएमा जिल्लाका अस्पतालहरुमा आकस्मिक उपचार टोलीसमेत गठन गरिएको छ । विगतमा कोभिड महामारीका कारण खोप सेवा प्रभावित भएको र धेरै बालबालिकाहरुले दादुरा रुबेल्लाको खोप लगाउन छुटाएका कारण अघिल्लो वर्ष काठमाण्डौ लगायत तराईका जिल्लाहरुमा दादुरा महामारीका रुपमा पैmलिएको थियो । त्यसैले दादुरा–रुवेला खोप अभियानकै क्रममा नियमित छुटेका खोप पनि बालबालिकालाई लगाइने छ । खोप अभियानको क्रममा अन्य ७ वटा रोग विरुद्धको खोप पनि सँगै सञ्चालन हुनेछन् । यसैबेला खोप लगाउन छुटेका ९ महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई हेपाटाइटिस बी, धनुष्टाङ्कार, इन्फ्लुएन्जा, लहरेखोकी, भ्यागुते रोग, निमोनिया र पोलियोविरुद्धको खोप पनि लगाइने छ । त्यसमाथि नेपाल सरकारले सन् २०१८ मै दादुरा रुवेलालाई निवारण गर्न लक्ष्य राखेको भएपनि पटक पटक समय सीमा सारेर अब सन् २०२६ सम्म दादुरा–रुवेला निवारण गर्ने लक्ष्यका साथ यसपटक खोप अभियान सञ्चालन गर्न थालेको हो । बालबालिकाहरुमा दादुरा दादुरा एक खालको आर एन ए भाइरस (जीवाणु) बाट संक्रमण हो । दादुरा गराउने भाइरस घाँटीको माथिल्लो भागको सतह र आँखा ढाक्ने झिल्लीमा हुन्छ । त्यहाँबाट नै नजिकको ग्रन्थी (ग्लेन्ड) मा जान्छ । दादुराको संक्रमण अनपेक्षित रुपमा जाडो मौसममा पनि देखा पर्न सक्दछ । यो संक्रमण विभिन्न चरण पार गर्दै जान्छ । संक्रमणको दुई हप्तामा रगतमा भाइरसको संख्या अत्यधिक हुन्छ । यस बेला छाला, आँखा ढाक्ने झिल्ली र श्वास नलीमा असर हुन्छ । यस संक्रमणको सुरुमा हल्का ज्वरो आउने, जीउ दुख्ने, आँखा रातो एवं रसिलो हुने, रुघाखोकी लाग्ने हुन्छ । दादुराको संक्रमण हुन थालेको करिब १–२ दिनपछि उच्च ज्वरो आउँछ । शरीरभरि बिमिरा आउनुका साथै २–३ दिन अघि गाला भित्र सेतो दाग आउँछ । संक्रमणको दुई हप्तापछि अर्थात्् उच्च ज्वरो आउन थालेको चौथो दिनदेखि शुरुमा कान पछाडि, निधारमा त्यसपछि अनुहार, घाँटी हुँदै राताराता मसिना (नपाक्ने खालका) बिमिराहरु क्रमशः शरीरभरि पैmलिंदै जान्छन् । यी बिमिराहरु भएका ठाउँमा निको हुँदा खैरो दाग बस्दछ । यी बिमिराहरु निस्कनु ४ दिन अगाडिदेखि बिमिरा निस्की सकेपछिको ४ दिनसम्म दादुराको रोगी बढ्ता संक्रमित हुन्छन् । यस अवधिमा रोगीको सम्पर्कमा आएको व्यक्तिलाई दादुरा सर्ने बढ्ता सम्भावना हुन्छ । यसबेला स्कुले नानीलाई स्कुल पठाउनु हुदैन । दादुराको संक्रमणबाट यस विरुद्धको प्रतिरक्षा शक्ति पनि विकसित हुने हुनाले एक पटक दादुराबाट संक्रमण भएपछि पछिसम्म रोगसँग लड्ने क्षमता हुन्छ । बच्चा ९ महिना पूरा भएपछि एक मात्रा दादुराको खोप दाहिने तिघ्राको मासुमा दिनुपर्दछ । हाँडे र रुबेल्ला सहितलाई काम लाग्ने एमएमआर खोप चाहिं १५ देखि २४ महिनामा दिनु उचित हुन्छ । बिफर उन्मूलनबाट उत्साहित भएर विश्व स्वास्थ्य संगठन पोलियो (पक्षघात) पछि दादुरा उन्मूलन गर्ने अभियानमा छ । नेपालमा हाल करीब ९० प्रतिशत बालबालिकाहरुलाई दादुरा विरुद्धको खोप लगाई दिने गरेको छ । दादुराका कारण वा दादुरा बल्झेर ब्रोङ्कोनिमोनिया, कान पाक्ने, पखाला लाग्ने, आउँ, रगतमासी पर्ने, गिदीको सुजन (इन्सेफलाइटिस) हुने, मुखमा घाउ आउने जस्ता जटिलता उत्पन्न हुनसक्छन् । दादुरा भाइरल संक्रमण भएकाले लाक्षणिक (लक्षण अनुसारको) उपचार गर्नुपर्दछ । झोलिलो पदार्थ खुवाउने, आमाको दूध प्रशस्त खुवाउने, खुल्ला हावामा राख्ने, बच्चालाई न्यानो राख्ने, ज्वरो कम हुने औषधी खुवाउने गर्नुपर्दछ । तर माथि उल्लेखित जटिलताहरु उत्पन्न भएको खण्डमा चिकित्सकको सल्लाहमा प्रतिजैविक (एन्टिबायोटिक) औषधि लगायतको थप उपचार आवश्यक छ । रुबेल्ला यो तीब रुपमा पैmलिने संक्रामक रोग हो । यसका भाइरस शरीरमा पसेको दुई देखि तीन हप्तामा लक्षण चिन्ह देखा पर्दछ । यस संक्रमणमा मध्यम ज्वरो आउने, बिमिरा आउने, घाँटीका ग्रन्थी वृद्धि हुने, आँखा पाक्ने, वाकवाकी आउने हुन्छ । बिमिराहरु अनुहारबाट देखिन शुरु भएर शरीरका विभिन्न भाग हुँदै खुट्टासम्मै पैmलिन्छ । बिमिराहरु तीनसम्ममा आपैंm हराउन थाल्छन् भने बिमिरा देखिएको एक देखि पाँच दिनसम्म अन्यलाई सार्न सक्दछ । वयस्कमा रुबेलाका कारण जोर्नी सुन्निने र दुख्ने हुन्छ । गर्भावस्थाको शुरुवाती तिर रुबेला संक्रमण भएमा गर्भे भ्रुणलाई सर्ने सम्भावना ९० प्रतिशत सम्म हुन्छ । यसकै कारण गर्भपतन हुने, पेट भित्रै शिशुको मृत्यु हुने तथा नवजात शिशुमा जन्मजात खराबी देखिने हुनसक्छ । जन्मजात खराबी भन्नाले सुस्त बुद्धिको हुने, जन्मजात अन्धो तथा बहिरो हुने, मुटुमा प्वाल पर्ने सम्भावना हुन्छ ।
