दुर्घटनामा परेर प्रा.डा. ताराकान्त पाण्डेयको मृत्यु भएको खबर शुरूमा त विश्वासै लागेन तर विश्वास नगरी सुख पनि थिएन । १०-१५ दिनअघि उहाँसाग कुराकानी भएको थियो । ‘प्रवर्तक’को समालोचना अंकका निम्ति माघ १५ गतेसम्म समालोचना उपलब्ध गराइदिन आग्रह गर्नुभएको थियो । डेढ महिनाअघि समालोचनाका निम्ति आग्रह गरिएको थियो । मैले सकेसम्म निर्धारित समयमै आलेख उपलब्ध गराउने बताएर फोन राखेँ । लामो कुरा भएन । फोनमा लामो कुरा गर्ने बानी उहाँको थिएन । कमसेकम मसाग फोनमा लामो कुरा गरेको मलाई थाहा छैन । प्रशिक्षण कार्यक्रममा सहभागी हुन उहाँ सुदुरपश्चिमको कैलाली जानु भएको थियो । इच्छुक सांस्कृतिक प्रतिष्ठानको अध्यक्ष र क्रान्तिकारी कम्युनिष्ट पार्टीको स्कुलिङ विभागसाग सम्बद्ध हुनुहुन्थ्यो । स्कुलिङ विभागले आयोजना गरेको कार्यक्रममा प्रशिक्षकका रूपमा सहभागी हुन कैलाली पुग्नुभएको थियो । प्रशिक्षणपछि बाँके खजुरामा रहेका आफन्तहरूलाई भेटेर काठमाडौँ फर्किदा दाङको भालुवाङमा बस दुर्घटनामा परेर उहाँको निधन भयो । चालकको लापरबाहीका कारण उहाँसहित १२ जनाले ज्यान गुमाए । भालुवाङको राप्ती पुल दुर्घटना हुने ठाउँ नै होइन । चौकीमा इन्ट्री नगरी हुँकिएको बस तीव्र गतिकै कारण पुलबाट तल खसेको थियो । उहाँको मृत्युको अप्रत्यासित खबरले गहिरो चोट लाग्नु स्वाभाविक थियो । खबर पाएपछि आफूलाई सम्हाल्नै गाह्रो भयो । उहाँ मेरा नजिकका मित्र हुनुहुन्थ्यो । हामी समवयी थियौँ । उहाँभन्दा म १० दिनले जेठो थिएँ । उहाँ मेरो विद्यावारिधिको शोध निर्देशक पनि हुनुहुन्थ्यो तर हाम्रो सम्बन्ध गुरु-शिष्यको जस्तो थिएन । पारिवारिक स्तरमै राम्रो सम्बन्ध थियो । उहाँसागको मेरो संगत धेरै पहिले देखिको हो । हामी एउटै राजनीतिक, साँस्कृतिक आन्दोलनका सहयात्री थियौँ । ने.क पा मशाल, नेकपा एकता केन्द्र र नेकपा माओवादीसाग सम्बद्ध रहेर हामीले भूमिका सम्पादन गर्यौँ । जनयुद्ध आरम्भ हुनुभन्दा केहीअघि मात्र म त्यस आन्दोलनबाट अलग भएको थिएँ । राजनीतिक, वैचारिक रूपमा फरक ठाउँमा उभिए पनि हाम्रो सम्बन्ध बिग्रिएन । व्यक्तिका बारे टिप्पणी गर्ने कुराबाट सकेसम्म बच्ने उहाँको बानी पनि सम्बन्ध यथावत रहनुको महत्वपूणर् कारण थियो । राजनैतिक, वैचारिक विमति राख्ने उहाँको तरिका पनि शिष्ट र मर्यादित थियो । नजिकको मित्र र एउटै आन्दोलनको सहयात्रीका कारण २०४२ सालमा प्रगतिशील ढंगले साहित्यकार शीला योगीसाग भएको विवाहको म साक्षी मात्र थिइनँ, वक्ता पनि थिएँ । २०४७ सालमा मेरी जीवनसागीनीको पित्तथैलीको अप्रेशन वीर अस्पतालमा हुँदा उहाँ र शीलाले गरेको सहयोग मेरो जीवनको सुन्दर स्मृतिका रूपमा सुरक्षित छ । त्यसबेला कृष्णसेन इच्छुक र यदु गौतमले गरेको सहयोग पनि बिर्सनै नसकिने खालको छ । दुवै जना आज हुनुहुन्न । मलाई मेरा सबल-दुर्बल पक्षहरूको योगमा हेर्ने, राम्रोलाई राम्रो भन्ने र कमजोरीलाई हटाउन आग्रह गर्ने, मबाट कमजोरी भए पनि मलाई माया गर्ने मित्र हुनुहुन्थ्यो उहाँहरू । इच्छुक र यदुको अभाव आज पनि मलाई गहिरो गरी खट्कन्छ । ताराको असामयिक निधनले यो अभाव अझ बढेको छ । आफूलाई खुलस्त राख्न सक्ने, त्यसको मर्मलाई बुझिदिने र समस्याहरूप्रति संवेदनशील र सहयोगी भइदिने मित्रहरू नै वास्तविक मित्र हुन्छन् । जीवनलाई पोख्ने ठाउँ पनि चाहिन्छ । आफूलाई आत्मीय मित्रहरूका माझमा खुलस्त राख्न सक्दा नै मन झरी पछिको आकाश जस्तै सफा र सुन्दर हुन्छ । त्यस्ता मित्रहरू गुमाउँदा गहिरो चोट लाग्छ । एउटा असल मित्र सधैँका निम्ति जाँदाको पीडालाई शब्दमा व्यक्त गर्न गाह्रो हुन्छ । सामान्य परिवारमा जन्मनुभएका ताराको जीवन संर्षपूणर् रह्यो । भारतमा मजदुरी गरेर भए पनि पिताले उहाँलाई पढाउनुभयो । उहाँ आफैले पनि काम गर्नुभयो । आईए भारतबाटै गर्नुभयो । बुटवलबाट बीए गर्नुभयो । त्यसपछि उहाँ काठमाडौँ निस्कनुभयो । काठमाडौँमा आर्थिक रूपले अझ गाह्रो थियो । काम गर्दै र पढ्दै गर्नुभयो । नेपालीमा एमए त्रिविबाटै गर्नुभयो । प्रथम श्रेणीमा प्रथम भएर एमए उत्तीणर् गर्नुभएको थियो । त्रिविमा पढाउन थालेपछि उहाँलाई आर्थिक रूपले थोरै सजिलो भयो । पछि उहाँले २०१७ देखि २०४६ सालसम्मको प्रगतिवादी नेपाली कवितामा अभिव्यञ्जित यथार्थका विषयमा विद्यावारिधि गर्नुभयो । उहाँ श्रमबाट निर्मित प्रतिभा हुनुहुन्थ्यो । निरन्तरको अध्ययन र लेखनबाटै उहाँको लेखकीय व्यक्तित्वको निर्माण भएको थियो । मिहिनेत र लगनकै कारण उहाँले कठिनाइका बीचबाट उच्च शिक्षा हासिल गर्नुभएको थियो । सरल, स्वभिमानी र क्रान्तिकारी चेतनाका धनी उहाँ साँच्चिकै अनुकरणीय व्यक्तित्व हुनुहुन्थ्यो । नेपाली विषयका गम्भीर र अध्ययनशील प्राध्यापकका रूपमा उहाँलाई लिइन्थ्यो । विद्यार्थीहरूका निम्ति प्रिय र सहयोगी शिक्षक हुनुहुन्थ्यो । धेरैका विद्यावारिधिका शोध निर्देशक रहनुभयो । शोध निर्देशकका रूपमा उहाँको भूमिका सधैँ सहयोगी, उत्प्रेरक र हार्दिक रह्यो । भोलि-भोलि भनेर झुलाएको, समय दिन गाह्रो मानेको वा यो भएन त्यो भएन भनेर दुःख दिएको टिप्पणी अहिलेसम्म कसैले गरेको मलाई थाहा छैन । मैले जस्तै अरू शोधार्थीहरूले पनि उहाँप्रति सकारात्मक धारणा राखेको र आदर व्यक्त गरेको पाएको छु। शोध निर्देशकका रूपमा अनुसन्धान खँदिलो होस् भन्ने उहाँको चाहना हुन्थ्यो । म आफैँ यसको उदारण हुँ । कवितामा वर्ग-द्वन्द्वको अभिव्यक्तिबारे विद्यावारिधि शोधपत्रको रूपरेखा तयार गर्दा उहाँले अन्तर्वस्तुमा मात्र होइन रूपमा पनि वर्ग-द्वन्द हेरौँ भन्नुभयो । मैले अलि गाह्रो हुन्छ कि भनेँ । छलफलपछि हेर्न सकिने निष्कर्षमा पुगियो । रूपमा वर्गद्वन्द्वको अभिव्यक्ति हेर्न सजिलो थिएन । उहाँको भनाइ थियो विद्यावारिधि अलिकति कठिन र नयाँ त हुनुपर्यो नि । अन्तवस्र्तुमा मात्र त त्यति उपलब्धिमूलक नहोला । उहाँ प्रगतिवादी साहित्यिक, साँस्कृतिक आन्दोलनका अगुवाहरू मध्येका एक हुनुहुन्थ्यो । प्रगतिशील लेखक संघमा रहेर प्रगतिशील साहित्यिक आन्दोलनलाई अघि बढाउन उहाँले महत्वपूणर् योगदान दिनुभएको थियो । अन्य साहित्यिक, साँस्कृतिक संस्थाहरूमा रहेर प्रगतिवादी साहित्यिक एवम् साँस्कृतिक आन्दोलनलाई अघि बढाउन उहाँले सम्पादन गरेको भूमिका पनि महत्त्वपूणर् रहेको छ । उहाँ माझिएका सम्पादक हुनुहुन्थ्यो । उहाँले सम्पादन गरेका कलम, आलोचना, प्रर्वतक आदि साहित्यिक पत्रिकाहरू यसका उदाहरण हुन् । उहाँ राम्रो सङ्गठक र प्राज्ञिक क्षेत्रको अगुवा पनि हुनुहुन्थ्यो । प्राध्यापक संगठनमा रहेर पनि उहाँले उल्लेखनीय भूमिका सम्पादन गर्नुभएको थियो । उहाँको मूल व्यक्तित्व भनेको माक्र्सवादी समालोचक र साहित्य चिन्तकको हो । उहाँ राम्रो कवि पनि हुनुहुन्थ्यो । नेपालको माक्र्सवादी समालोचना क्षेत्रको थोरै उल्लेखनीय व्यक्तित्वहरूको लहरमा पर्नुहुन्छ । नेपालको माक्र्सवादी समालोचनाको इतिहास सात दशकभन्दा लामो छ । उहाँ चालिसको दशकदेखि माक्र्सवादी समालोचनाका क्षेत्रमा सक्रिय रहनुभयो र यो यात्रा निरन्तर परिष्कृत हुँदै अघि बढ्यो । एक प्रखर माक्र्सवादी समालोचकका रूपमा उहाँले प्रतिध्रुवीय साहित्य चिन्तनविरुद्ध वैचारिक संघर्षका साथसाथै सैद्धान्तिक एवम् प्रायोगिक समालोचनाका क्षेत्रमा पनि महत्वपूणर् कामहरू गर्नुभयो । माक्र्सवादी समालोचना सम्बन्धी उहाँका आफ्ना बुझाइहरू थिए तर साहित्यसम्बन्धी माक्र्सवादी सिद्धान्तको गम्भीर अध्येता हुनुहुन्थ्यो । माक्र्सवादी साहित्य र साहित्यिक आन्दोलनलाई बलियो कसरी बनाउन सकिन्छ भन्ने विषयमा गम्भीर पाइनुहुन्थ्यो । माक्र्सवादी सौन्दर्य चिन्तन र समालोचनालाई समृद्ध गर्न रहेको छ । ‘कला, साहित्य, भूमिका र मूल्याङ्कनकन’ (२०५३), ‘प्रगतिवाद र कविता’ (२०५६), ‘देवकोटको व्यंग्य कवितत्व’ (२०५८), ‘अर्थभ्रान्तिको उत्तर चेतना विरुद्ध’ (२०६७), ‘अर्थ उहाँले दिएको योगदान विशिष्ट को आनन्द’ (२०६८), ‘समय, सिर्जना र संवाद’ (२०६८), ‘समकालीन कविताको संरचना’ (२०६९) र ‘माक्र्सवाद, सांस्कृतिक अध्ययन र साहित्यको समाजशास्त्र’ (२०७३) जस्ता उहाँका कृतिहरू यसका उदाहरण हुन् । साहित्यको सामाजिक प्रयोजन र पक्षधरता, परिर्वतनमा साहित्यको भूमिका एवमं मनुष्यलाई आत्मिक रूपमा रूपान्तरण गर्न साहित्यले सम्पादन गर्ने भूमिकालाई उहाँले महत्त्व दिएर उठाउनुभयो । उत्तरआधुनिकतावाद, कलावाद लगायत माक्र्सवादी साहित्य चिन्तन विरोधी दृष्टिकोणको उहाँले तिखो आलोचना गर्नुभएको छ । उहाँका साहित्य सम्बन्धी माक्र्सवादी दृष्टिकोणका कतिपय पक्षसँग विमति राख्न सकिन्छ तर नेपालको माक्र्सवादी समालोचनाका क्षेत्रमा उहाँले दिएको योगदानलाई न्यून गरेर हेर्न सकिन्न । उहाँ अब्बल माक्र्सवादी समालोचक हुनुहन्थ्यो र त्यसलाई समृद्ध गर्न निरन्तर लागिरहनुभयो । माक्र्सवादका नाममा माक्र्सवादविरुद्ध उभिने प्रवृत्ति मौलाउदै गरेको बेला उहाँको असामायिक निधन हामी सबैका निम्ति अपूरणीय क्षति हो । उहाँजस्ता माझिएका माक्र्सवादी समालोचक माक्र्सवादप्रतिको गहिरो प्रतिबद्धता र मिहिनेतले मात्र तयार हुन्छन् । उहाँको अनुपस्थिति हामीलाई लामो समयसम्म खट्कनेछ । (प्रस्तुत संस्मरण अमर गिरीको फेसबुक वालबाट लिइएको हो ।)
