माघ शुक्ल पञ्चमी अर्थात श्री पंचमीका पावन दिनलाई सरस्वती दिवस अनि सरस्वती जयन्तिका नामले चिन्ने गरिन्छ । श्री शब्द मंगल सूचक हो । श्री भन्नाले धनकी अधिष्ठात्री लक्ष्मीलाई बुझाउछ भने श्री शब्दले नै ज्ञान तथा विद्याकी अनि वाणिकी देवी सरस्वतीलाई पनि जनाउँछ । सरस्वतीलाई देवी, माता अनि नदीका रुपमा मान्ने गरिन्छ । श्री पञ्चमीका दिन विद्याकी अधिष्ठात्री सरस्वतीको विशेष पूजा उपसना गरि विद्यार्थीहरुले विद्या प्राप्तीका लागि व्रत बस्ने गर्दछन् । सरस्वतीका उत्पतिका बारेमा देवी भागवतमा यसरी उल्लेख गरिएको पाइन्छ । आविर्भूता यथा देवी बक्रत कृष्ण योषित ।। अर्थात देवी सरस्वती श्रीकृष्ण प्रिया राधाका मुखरविन्दबाट उत्पति भएकी हुन् । यता श्रीमद् भागवत महापुराणमा पनि सरस्वती देवी ब्रम्हाजीका मुखरविन्दबाट उत्पति भएकी हुन् भन्ने उल्लेख गरिएको छ । राधा अथवा ब्रम्हा जसबाट उत्पन्न भएकी भएतापनि सरस्वतीको उत्पति मुखबाट नै भएको बुझिन्छ । त्यसैले पनि सरस्वतीलाई वाणिकी देवी अर्थात वाक् देवी भनिएको हो । या वसेत् प्राणी जिहासु सदा वागुष वर्तनात् ।। सरस्वतीति नाम्नेर्य सदा सेव्या महार्षिभि ।। अर्थात वाणि रुप भएर सम्पूर्ण प्रणीहरुका जिह्वामा वास गर्ने शक्तिलाई महर्विहरुले सधैं सरस्वतीका नामले पुकार्नेछन् । महाविद्या महावाणि भारती वाक् सरस्वती ।। आर्या व्राम्ही कामधेनु वेदगर्भा च धीश्वरी ।। शारदा, वागिश्वरी आदि नामद्धारा वर्णित सरस्वतीलाई १० नामले पुकारेको पाइन्छ । विद्या, वाणि, ज्ञान, वचन, कामधेनु, कला–कौशल, विज्ञान आदि समस्त विद्याकी अधिष्ठात्री देवीका रुपमा सरस्वतीलाई मानिने गरिन्छ । वौद्ध धर्मावलम्बीहरुले पनि सरस्वतीलाई महामञ्जु श्री, बील सरस्वती, आदि नामले उपासना गर्ने गर्दछन् । उनीहरु श्री पञ्चमीलाई मंञ्जु पंचमी पनि भन्ने गर्दछन् । नामले जुनसुकै रुपमा पुकारे पनि सरस्वतीलाई सबैले विद्याकी देवीकै रुपमा उपासना गर्ने गर्दछन् । सरस्वतीको वास्तविक स्वरुप भनेको पुस्तक नै हो र उनको मन्दिर पुस्तकालय नै हो । वाक् देवी स्वरुपा देवी सरस्वतीको प्रमुख स्वरुप भनेकै वैखरी हो । प्राणीहरुका वाणीहरुबाट उच्चारीत स्पष्ट ध्वनी नै वैखरी हो । शब्दहरुको स्वरुपमा व्यक्त भएका सबै किसिमका ध्वनीहरुनै वैखरीका स्वरुप हुन् । वाक् नै शक्ति हो शास्त्रहरुमा वाक्लाई वज्रको रुपमा तुलना गरेको पनि पाइन्छ । कौशिक्याप उपस्पृश्य वाग्वजं्र विसर्सज ह ।। श्रृंगि ऋषिद्धारा महाराज परीक्षितलाई श्राप दिँदाको प्रसंगमा श्रीमद भागवतमा वताइएको तथ्यले यसरी पुष्टि गर्दछ कि गंगाको जल हातमा लिएर वाग्वज्र अर्थात वचनरुपी वाण छोडिदिए, त्यस्तै वचनलाई वाणको रुपमा प्रस्तुत गरिएका तथ्यहरु पनि हामी विभिन्न पुराणमा भेट्टाउने गछौं । श्री पंचमीका दिनदेखि घरघरमा सरस्वती पूजा गरी स—साना बालबालिकाहरुलाई अक्षरारंभ गराइन्छ । यस दिनमा अक्षरआरम्भं गराएमा सर्व सिद्धि प्राप्त हुन्छ भन्ने पौराणिक विश्वास रहेको छ । यस दिन प्रत्येक विद्यालयमा सरस्वती पूजाका गरिनुका साथै अधिराज्यका सरस्वती मन्दिरहरुमा भक्तजनहरुको भिड लाग्ने गर्दछ । माघ शुक्ल पंचमी सौर्यमानद्धारा गणना गर्दा फागुन महिनामा पनिपर्न सक्दछ । माघ तथा फागुन महिना शिशिर ऋतुमा पर्दछ । तर पनि यस दिनबाट जाडो हटदै गएर वन उपवन बगैंचाहरुमा हरियाली आगमनको संकेत देखिने हुँदा यस दिनलनई वसन्त पंचमी पनि भनिन्छ । हाम्रा धर्म शास्त्रहरुले वसन्त पंचमीका दिनलाई रती कामदेव पुजाका नामले पनि वर्णन गरेका छन् । प्राचिन कालमा यस दिनलाई मदनोत्सव पर्वका रुपमा मानिन्थ्यो । लिच्छवी काल, मल्ल कालमा पनि मदनोत्सवलाई धुमधामकासाथ मनाएईका इतिहासहरु हामि पाउँछौं । वीणा, पुस्तक, माला, अमयमुद्रा, कमलको फूल, सेतो वस्त्र, देवी सरस्वतीका प्रिय हुन् । यी सबै ज्ञानका प्रतिक हुन् । त्यसैले पनि संगित, विद्या, निस्कलंक, निस्पक्ष, मूर्खत्वनास, यी सबै देवी सरस्वतीका आफ्ना उपसकहरुलाई प्रदान गर्ने वरका रुपमा मान्ने गरिन्छ । (लेखक रेडियो एविसी एफ.एम ८९.८ मेगाहर्जका धार्मिक कार्यक्रम जीवनधाराका सञ्चालक हुन्) ।
