IMG-LOGO

फेसबुकले हाम्रो जीवनमा कसरी प्रभाव पारेको छ ?

 मंगल, फागुन २२, २०८०  ---

         माथिको तस्बिर हेर्नुहोस् त ! मार्क जुकर्बर्गले आफ्ना केही साथीसँग मिलेर दुई दशकअघि सुरु गर्दा फेसबुक यस्तो देखिन्थ्यो । त्यस बेलादेखि आजसम्म आइपुग्दा यो सामाजिक सञ्जालमा धेरै प्रकारका परिवर्तन भइसके । फेसबुकले दर्जनौँ नयाँ डिजाइन फेरिसक्यो । केही विद्यार्थीले अमेरिकामा सुरु गरेको एउटा परियोजना आज विश्वकै सबैभन्दा लोकप्रिय सामाजिक सञ्जाल बनेको छ । यद्यपि यसको उद्देश्य भने फेरिएको छैन । यसको उद्देश्य आज पनि मानिसहरूलाई इन्टरनेटको माध्यमबाट नजिक बनाउनु र विज्ञापनबाट आयआर्जन गर्नु हो । फेसबुक २० वर्ष पुग्दै गर्दा यसले संसारलाई कसरी फेरिदिएको छ त्यसबारे यहाँ चर्चा गरिएको छ । १. फेसबुकले सामाजिक सञ्जालको परिभाषा फेरिदियो        फेसबुकभन्दा अगाडि माईस्पेसजस्ता अरू सामाजिक सञ्जाल पनि थिए । तर सन् २००४ मा सुरु भएको मार्क जकर्बर्गको यो वेबसाइट तत्काल लोकप्रिय बन्यो । त्यसले यस किसिमको वेबसाइट कति चाँडो प्रभावशाली बन्न सक्छ भने देखायो । स्थापनाको एक वर्ष नपुग्दै फेसबुकका प्रयोगकर्ता १० लाख पुगे । आफ्ना साथीहरूलाई ‘ट्याग’ गर्ने, परिवर्तन वा ‘रिफ्रेश’ भइरहने ‘फीड’जस्ता नयाँनयाँ सुविधा दिँदै चार वर्षभित्र यसले प्रतिस्पर्धी माईस्पेसलाई उछिन्यो । सन् २०१२ सम्ममा एकअर्ब मानिसले मासिक रूपमा फेसबुक प्रयोग गरेका थिए । सन् २०२१ मा दैनिक सक्रिय प्रयोगकर्ता पहिलो पटक एक अर्ब ९२ करोडमा झरेको बेला बाहेक प्रयोगकर्ताको सङ्ख्या निरन्तर बढिरहेको छ । डिजिटल आबद्धता कम भएका मुलुकहरूमा सेवा विस्तार तथा निःशुल्क इन्टरनेटजस्ता सुविधा प्रदान गरी फेसबुक आफ्ना प्रयोगकर्ताको सङ्ख्या वृद्धि गर्न सफल भएको छ ।        सन् २०२३ को अन्त्यमा फेसबुकले आफूसँग दुई अर्बभन्दा बढी दैनिक प्रयोगकर्ता रहेको जानकारी दिएको थियो । हुन त फेसबुक युवाहरूमाझ पहिलाको जति लोकप्रिय छैन । यद्यपि यो संसारको सर्वाधिक रुचाइएको सामाजिक सञ्जालको रूपमा कायमै छ र यसले संसारलाई अनलाइन सामाजिक गतिविधिको एउटा नयाँ युगमा प्रवेश गराएको छ । कसैले फेसबुक र योजस्ता कम्पनीलाई पारस्परिक सम्पर्क र सम्बन्ध बढाउने सशक्त माध्यम मानेका छन् भने कसैले हानिकारक कुलत पनि ठानेका छन् । २. फेसबुकले हाम्रो निजी डेटालाई मूल््यवान् तर ‘कम व्यक्तिगत’ बनाइदियो        फेसबुकले हाम्रो रुचि र अरुचिबारे जानकारी राखेर पैसा कमाउन सकिन्छ भन्ने देखायो । अहिले फेसबुकको माउकम्पनी मेटा विज्ञापन क्षेत्रको एउटा ठूलो खेलाडी हो । त्यसले विश्वव्यापी विज्ञापन बजारको ठूलो भाग ओगटेको छ । सन् २०२३ को तेस्रो त्रैमासिकमा मेटाले ३४ अर्ब अमेरिकी डलर कमाएको देखिन्छ । त्यसमध्ये ११ अर्ब ५० करोड अमेरिकी डलर नाफा भएको कम्पनीले घोषणा गरेको थियो । तर डेटा सङ्कलन कहाँ आपत्तिजनक हुन्छ भन्ने कुरा फेसबुकसँग जोडिएका घटनाहरूले देखाएका छन् । मेटाले व्यक्तिगत विवरण दुरुपयोग गरेको आरोपमा थुप्रै पटक जरिबाना तिर्नुपरेको छ । सर्वाधिक चर्चामा आएको घटना सन् २०१४ को हो । केम्ब्रिज एनलिटिकाको मामिलामा फेसबुकले ७२ करोड ५० लाख अमेरिकी डलर तिरेको थियो ।        सन् २०२२ मा फेसबुकले आफ्नो साइटबाट व्यक्तिगत जानकारी निकाल्न दिएको भनी युरोपेली सङ्घले कम्पनीलाई २६ करोड ५० लाख यूरो तिरायो । गत वर्ष आयरल्यान्डको डेटा संरक्षण आयोगले युरोपेली प्रयोगकर्ताहरूको विवरण अधिकारक्षेत्रभन्दा बाहिर पठाएको भनी एक अर्ब २० करोड यूरो जरिबाना तिर्न लगायो । फेसबुकले उक्त निर्णयविरुद्ध पुनरावेदन गरेको छ । ३. फेसबुकले इन्टरनेटलाई राजनीतिको साधन बनायो        निश्चित समूहका प्रयोगकर्ताप्रति लक्षित विज्ञापनको सेवा दिने भएकोले फेसबुक संसारभरि नै निर्वाचन प्रचारको मुख्य माध्यमका रूपमा उदाएको छ । उदाहरणका लागि, स्ट्याटिस्टा नामक संस्थाले गरेको अनुसन्धानले देखाए अनुसार तात्कालिक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अभियानले सन् २०२० को निर्वाचनअघिको पाँच महिनामा फेसबुक विज्ञापनमा चार करोड अमेरिकी डलरभन्दा बढी खर्च गरेको थियो । फेसबुकले छरिएर रहेका समूहहरूलाई पारस्परिक सम्पर्क स्थापना गर्न, अभियान सञ्चालन गर्न र विश्वव्यापी रूपमा नै सङ्गठित हुन सक्षम बनाएर स्थानीय र क्षेत्रीय राजनीतिमा पनि प्रभाव पारेको छ । अरब क्रान्तिलाई एउटा उदाहरण मान्न सकिन्छ ।        त्यस बेला विरोधप्रदर्शनमा समन्वय गर्न र कुन ठाउँमा के भइरहेको छ भनेर समाचार फैलाउन फेसबुक र ट्विटर (हाल एक्स) ले महत्त्वपूर्ण भूमिका खेलेको मानिन्छ । तर फेसबुकको राजनीतिक प्रयोगलाई मानव अधिकारलगायतका क्षेत्रमा नकारात्मक प्रभाव परेको भनी आलोचना पनि गरिएको छ । सन् २०१८ मा संयुक्त राष्ट्रसङ्घको एउटा प्रतिवेदनले आफ्नो अनलाइन मञ्च प्रयोग गरी म्यान्मारमा रोहिन्ज्या समुदायविरुद्ध भइरहेको ‘अफलाइन हिंसा’ भड्काउने कार्य रोक्न फेसबुक असफल बनेको आल्ैँयाएको थियो । फेसबुकले त्यसलाई अस्वीकार गरेन । ४. फेसबुकले मेटाको प्रभुत्व स्थापित ग¥यो        फेसबुकको अपार सफलताले मार्क जकर्बर्गलाई अभूतपूर्व आकार र शक्ति भएको सामाजिक सञ्जाल तथा प्रविधिको साम्राज्य बनाउन सघायो । फेसबुकले ह्वाट्स्याप, इन्स्टाग्राम र ओक्यूलसजस्ता स्थापित र नयाँ कम्पनीलाई किन्यो र सन् २०२२ मा आफ्नो कम्पनीको नाम परिवर्तन गरी मेटा राख्यो । अहिले तीन अर्ब मानिसले आफ्नो कुनै न कुनै सञ्जाल दैनिक रूपमा प्रयोग गर्ने दाबी मेटाको छ । कुनै प्रतिस्पर्धी कम्पनी किन्न नसके मेटाले आफ्नो प्रभुत्व कायम राख्न त्यसको नक्कल गर्ने गरेको आरोप लागेको छ । फेसबुक र इन्स्टाग्राममा प्रयोग थपिएको ‘स्टोरी’को फीचर स्न्यापच्याटमा भए जस्तै छ । इन्स्टाग्रामको ‘रील’ मेटाले टिकटकको चुनौती सामना गर्न ल्याएको मानिन्छ र ‘थ्रेड्स’ मेटाको ट्विटर (हाल एक्स) को नक्कल गर्ने प्रयास थियो ।        बढ्दो प्रतिस्पर्धा र अझ कडा नियमनका कारण यस्तो रणनीति पहिलाभन्दा बढी आवश्यक भएको ठानिन्छ । सन् २०२२ मा मेटाले घाटा खाएर गिफ निर्माता गिफी बेच्नुपरेको थियो । संयुक्त अधिराज्यका नियामक निकायहरूले बजारमा एउटा कम्पनीको अत्यधिक वर्चस्व हुने डरले गिफीलाई मेटाको स्वामित्वमा रहन नदिने निर्णय गरेपछि ऊ त्यसो गर्न बाध्य भएको थियो । अब २० वर्षमा के होला ?        फेसबुकको उदय र प्रभावले यसको सान्दर्भिकता र मार्क जकर्बर्गको क्षमता देखाउँछन् । तर आगामी २० वर्षसम्म पनि ‘संसारको सर्वाधिक लोकप्रिय सामाजिक सञ्जाल’ रहिरहन भने फेसबुकका लागि चुनौतिपूर्ण हुने छ । मेटाले प्रविधिको क्षेत्रमा रहेका एपलजस्ता प्रतिद्वन्द्वीहरूलाई सम्भवतः पछाडि पार्दै मेटाभर्सको अवधारणामा जोड दिँदै छ । यसले आर्टिफिशल इन्टेलिजन्स (एआई) लाई पनि प्राथमिकतामा राखेको छ । यसरी कम्पनी फेसबुकको प्रारम्भिक बिन्दुबाट अझ पर जाँदै गर्दा सर्वव्यापी यो एप भविष्यमा कहाँ पुग्ला त्यो हेर्नु रोचक हुने छ ।  साभारः बिबिसी न्युजबाट

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्