संकटग्रस्त भनिएको नेपालले त्यतिखेर बिश्वकै ध्यान आकर्षण गर्यो । भारतको दिल्ली र थाईलैण्डको बैंककस्थित बिश्वभरका बिभिन्न संचारमाध्यमका प्रतिनिधिहरू समाचार प्रबाह गर्न काठमाडौ ओइरिए । लर्को लाग्नेहरूमा दिल्लीमा भएका जापानका टिभी र समाचारपत्रका पत्रकारहरू पनि थिए, र जापानकै क्योदो समाचार सेबाको काठमाडौस्थित सम्बाददाताको हैसियतले म आगन्तुकहरूसँग सहकार्य गर्दै थिएँ । यसै क्रममा नेपालको राजसंस्थाबारे जानकार कुनै बिशिष्ट ब्यक्तिसँग कुराकानी गर्न पाए हुने भनी मेरा जापानी साथीहरूले मन्सुबा राखे र हामी गयौ पशुपति श्लेषमान्तक बनको मृगस्थलीमा, जहाँ स्वामी प्रपन्नाचार्य बस्दथे । त्यतिबेला स्वामी राजसभा स्थायी समितीका सम्मानित सदस्य थिए । बिदेशीजस्ता देखिने एक हुल ब्यक्तिले वरिपरिबाट घेरेपछि आफ्नो आश्रमको आँगनमा बसिरहेका प्रपन्नाचार्यले “तपाईहरू को ?” भनी सोधे । म अघि बढेर स्वामीजीलाई नमस्कार गर्दै भने, “हामी सबै पत्रकार र यी महानुभाबहरू जापानका मिडिया प्रतिनिधिहरू ।” अफ्ठेरो अवस्थाबाट गुज्रिरहेको नेपालबारे समाचार लेख्न यिनीहरू आएका हुन् र तपाईस्रँग केही कुरा सोध्न चाहन्छन् भनेपछि स्वामीजी मुसुक्क हाँसे र भने, “हुन्छ, बस्नुस् ।” यसबेला सम्म उभिइनैरहेका सबैलाई ढोकाछेउको पेटीमा बस्न हातले इशारापनि गरे । प्राय ः सबैले स्वामीलाई बिभिन्न प्रश्न सोधे, तर अंग्रेजीमा सोधिएका प्रश्न नबुझेपछि मतिर फर्केर स्वामीले सोधे, “हैन, यिनीहरूले के भनेको ?” “उनीहरू जान्न चाहन्छन्, नेपालको राजसंस्थालाई आज किन संकट आईलाग्यो ?” प्रश्नहरूको भाबानुबाद स्वरूप मैले स्बामीजी संमुख राखें । एकछिन शोचमग्न भएजस्तो गरेर स्वामीले भने, “एउटा शेर सुन्नुस् है ।” “मुझे अपनो ने हि लूटा, गैरोँ का कहाँ दम था । जिस जगह पर मेरी किष्टी (डुंगा) डुबी, वहाँ पानी बहुत कम था ।” स्वामीले नामूद फारसी गजलकार गालीबको रचना हो यो भनेपछि मैले बुझेसम्मका कुरा जापानी मित्रहरूलाई बताएं । त्यत्तिकैमा एकजना पत्रकारले अगाडी बढेर स्वामीलाई अलि स्पष्ट ब्याख्या गरिदिन आग्रह गरे । उनले भने, “नेपालको राजतन्त्र बिदेशी षडयन्त्रको शिकार हुन पुग्यो, तर षडयन्त्रको तानाबानाचाहिं नेपाली राजनीतिक नेताहरूले नै गरेका हुन् ।” यस बारेमा कोहि कसैको नाम लिन सकिन्छ कि भनी जिज्ञासा प्रकट गर्दा स्वामीले भने, “नामै त म नलिउँ, कसैको ।” अनि मतिर फर्केर भने, “तपाईले बुझाइदिनुस् न, यिनीहरूलाई । म बोल्दै थिएं, स्वामीलाई खसखस लागेछ र बिचैमा भने, “सुन्नुस्, यो संस्कृत भाषाको सूत्र सत्यं ब्रुयात, प्रियं ब्रुयात’ नब्रुयात सत्यमप्रियम” मलाई हम्मे हम्मे भयो यो सूत्रको अर्थ र अनुबाद मेरा जापानी मित्रहरूलाई बुझाउन । केहिबेर अरू कुराकानी भएपछि स्वामी “म बृध्दाबस्थामा छु, धेरैबेर ठाडो बस्न सक्दिन” भन्दै आश्रमभित्र छिरे । त्यसअघि पत्रकारहरूलाई उनले भने, “तपाईहरूले खिचेका तस्वीर र लेखेका कुरा मलाईपनि हेर्न दिनुस् है !” केही महिनापछि म फेरि मृगस्थलीस्थित प्रपन्नाचार्यको आश्रममा पुगे । यसपटक एक्लै गएको भएपनि मसँग जापानका लोकप्रिय दैनिक अखबारहरू “माएनिची” र “आसाहिसिम्बुन”मा प्रकाशित फोटो र उनले भनेका कुराहरूको न्यजपेपर कटिगं थिए । फोटोहरू सर्सर्ति अबलोकन गरोपछि स्वामीले सोधे, “के भनेको छ यहाँ ? म त फोटो मात्र देख्छु ।” मपनि जापानी भाषा धेरै जान्दैनथे । बोल्न, कुराकानी गर्न सक्थे तर पढन धेरै आँँँँँँँउदैनथ्यो । मैले भने, “तपाईले भनेका कुराहरू छन्, जस्तो, नेपालको बहुमूल्य राजसंस्था धराशायी भयो ।” स्वामीले भने, “ठिकै छ, जापानपनि राजसंस्था भएको देश हो । जापानीहरूलाई नेपालका कुरा भन्न पाउँदा मलाईपनि खुशी लाग्यो ।” यसको केही बर्षपछि काले राई ऊर्फ स्वामी प्रपन्नाचार्य दिवंगत भए । - माधव आचार्य, पुराना बरिष्ठ पत्रकार ।
