काभ्रेमा नाबालिग छात्रालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापकसहित दुई शिक्षक पक्राउ परेका छन् । जिल्लाको पाँचखाल नगरपालिका ६ स्थित जोरपाटी माध्यमिक विद्यालयका प्रधानाध्यापक गणेशमान गुरुङ र शिक्षक मच्छेनारायण श्रेष्ठ पक्राउ परेका हुन् । जिल्ला प्रहरी काभ्रेका डिएसपी राजकुमार श्रेष्ठकाअनुसार मच्छेनारायण विद्यालयका विज्ञान पढाउने शिक्षकै हुन् । पीडित बालिकाको सामाजिक सञ्जालमार्फत घटना बाहिरिएपछि जनप्रतिनिधिहरू विद्यालयमा पुगेर दुवै शिक्षकलाई प्रहरीको जिम्मा लगाएका थिए । शिक्षक श्रेष्ठले दसैं तिहारको बिचको बिदामा बालिकालाई ललाइफकाई बनेपा लगेर बलात्कार गरेको खुलेको छ । त्यसपछि विद्यालयका प्रधानाध्यापकसहित अन्य शिक्षकहरूले पनि बालिकालाई सामाजिक सञ्जालमार्फत अश्लील र आपत्तिजनक म्यासेज पठाउने गरेको देखिएको स्थानीय जनप्रतिनिधिले बताएका छन् । पीडित पक्षले दुवै शिक्षकविरुद्ध जाहेरी दिएको र सोही अनुसार अनुसन्धान प्रक्रिया अगाडि बढाइ दोषीलाई उम्कन नदिने कुरा डिएस्पी श्रेष्ठले बताउनु भयो ।
