IMG-LOGO

काभ्रे टाइम्ससँगको साइनो ः बनेपा देखि ब्रागासम्म

 मंगल, माघ २, २०८०  – डा. निरञ्जन सापकोटा

    कुरो २०५४ तिरको होला । साथी विजय सापकोटा कविता लेख्थ्यो । स्थानीय पत्रीकामा छापिन्थ्यो पनि । उ पहिल्यैदेखि राम्रो लेख्ने मान्छे हो । उसले कविता लेखेको देखेर मैले पनि पहिलो कविता लेखेको हुँ ‘विलुप्त’ शिर्षकमा । विजयले सम्पादन गरीदिएको हुनु पर्छ सायद त्यो कवितालाई । मानकाजी सुवाल मार्फत काभ्रे टाइम्स साप्ताहिकमा म पहिलोपल्ट कविको रुपमा मुद्रण भएको सम्झना छ । आफ्नो कविता छापिएको काभ्रे टाइम्सको त्यो अंक अझै सुरक्षित छ घरमा ।      बुवा लोक गायक मच्छेश्वर सापकोटाले आँखा दान गर्नुभयो । त्यसको समाचार काभे्र टाइम्सको पहिलो पानामा छापिएको याद ताजै छ । त्यसपछि पनि कहिले बुवाका अन्तर्वार्ता त कहिले मेरा कविताहरु  प्रकाशित भईरहे । म र मेरो परिवार काभ्रे टाइम्ससँग नजिक थियौँ र भइरहनेछौँ । साथी प्रकाश सापकोटाको संलग्नताले पनि काभ्रे टाइम्ससँग सधैं निकट बनाईरह्यो उतिबेला । सम्पादक दाजु आर एल श्रमजीवी र मेरो बुवाको राजनैतिक आश्था कुनैबेला मिल्थ्यो जस्तो लाग्छ मलाई । त्यही भएर पनि होला यो पत्रिकासँग म भावनात्मक रुपमा निकट थिएँ । आफ्नै जस्तो लाग्थ्यो । तर प्रधान सम्पादक दाजुसँग व्यक्तिगत रुपमा नजिक हुन भने उहाँको स्वभावले दिएको थिएन ।      हेर्दै घमण्डीको रुपमा मेरो नजरमा रहेका आरएल दाजुसँग निकट हुन नेपालमा जुरेको रहेनछ । आजभन्दा सात वर्ष पहिले पोर्चुगलको ब्रागा भन्ने ठाउँमा भेटेपछि हामी जीवनमा कहिल्यै पनि टाढा हुन नसक्नेगरी निकट भएका छौं । त्यसैबेला देखि आरएल दाजु अग्लो चुचुरो जस्तै लाग्छ मलाई । चढ्न कठिन तर टुप्पोमा पुग्न सक्नेका लागि उनि तिर्थ जस्तै हुन् । पत्रिका निर्जीव हो तर काभ्रे टाइम्सलाई जीवन भरेका हुन् आरएल दाजुले । दुईमत छैन । छँदाखाँदाको पत्रकारको जागिर छोडेर आफैँ सम्पादक एवं प्रकाशक बन्ने हुटहुटीमा शुरु गरेको काभ्रे टाइम्स आज २८ वर्ष टेकेको छ ।      आर.एल. दाजुप्रति मनमा रहेका सम्पूर्ण भ्रमका पर्दाहरु मैले च्यातेको छु । मनमा लागेका कुराहरु नलुकाई भन्न सक्ने एकमात्र व्यक्तिमा उनी पर्दछन् । मन परेकालाई असाध्यै माया र आदर गर्न सक्ने र घृणा गरेकालाई बाँकी पेज खुलेर घृणा गर्न सक्ने मान्छे हुन् आर.एल. दाजु । उनले मन नपराउने तर मैले मन पराउने अनि मैले मन नपराउने तर उनले मन पराउने केही मान्छेहरु छन् । यी सबै हुँदा हुँदै पनि हामी आपसमा भने एक छौं । उनका जीवनका अन्तरंग कुराहरु मैले जति सायद कसैले थाहा पाउला । पत्रकार किशोर नेपाल र आफ्नै मामा लेखक नरेन्द्रजंग पिटरप्रतिको दाजुको श्रद्धा मलाई असाध्यै मन पर्ने कुरा हो ।      मैले जसरी पनि विद्यावारिधी गर्नुपर्दछ भनेर हौसला दिनेमा पहिलो नम्वरमा यीनै दाजु पर्दछन् । मेरो सफलतामा मेरो परिवार जत्तिकै रमाउने कोही छ त आर.एल. छ । विद्यावारिधीको कठिन यात्रामा म विचलित भएको बेला आर.एल. दाजुले जगाईदिनुभएको आशालाई मैले विर्सन सक्दिन, विर्सन हुन्न । मैले विद्यावारिधी गरेको खवर काभ्रे टाइम्समा प्रकाशित भएपछि मेरो परिवारले थाहा पाएको थियो । काभ्रे टाइम्सकै साभार गरेर विभिन्न अनलाईन खवरहरुले त्यो समाचार प्रकाशन गरेका थिए पछि ।      आर.एल. दाजु र काभ्रे टाइम्सको बारेमा जति पनि लेख्न सकिन्छ । मैले बाँड्न उपयुक्त केही कुरा मात्र बाँडेको हुँ । अहिले आर.एल. दाजु बेलायतमा बस्नुहुन्छ, म पोर्चुगल बस्छु । नेपालमा मंगलवार काभे्र टाइम्स छापिएर बजार पुग्नु अगाडि नै मलाई दाजुले डिजिटल कपी पठाउनुहुन्छ सोमवार राति नै । काभे्र र आसपासका खवर विदेशमा रहेर पनि समयमै पढ्न पाउनु मेरोलागि भाग्यको कुरा हो । अहिले पनि स्थानीय समाचारको लागि आधिकारिक पत्रिकाको रुपमा काभ्रे टाइम्सलाई नै लिइन्छ ।      अन्त्यमा, काभ्रे टाइम्समा नियमित स्तम्भ लेख्न दाजुले गर्नुभएको अनुरोधलाई समय व्यवस्थापन गर्न नसकेर टार्दै आएको व्यहोरा अवगत गराउँदै पत्रिकाको अझै उन्नतिको कामना गर्दछु । समय मिलाउन सकेको खण्डमा पत्रिकाको लागि लेख्ने वाचा पनि गर्दछु । काभे्र टाइम्स मेरो लागि पत्रिका मात्र होइन, एक साइनो, एक सम्झना र एक इतिहास हो । पत्रिकाको उत्तरोत्तर प्रगतिको कामना ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्