IMG-LOGO

काभ्रे टाईम्सबारे

 मंगल, माघ २, २०८०  – प्रा.डा. सुमनराज ताम्राकार

    काभ्रे टाईम्सको जन्म सजिलो समयमा भएको थिएन । देशमा माओवादी सशस्त्र द्वन्द्वले बिस्तारै पिकअप लिन लागेको बेलामै काभ्रे टाईम्सको प्रकाशन थालनी भएको थियोे । सञ्चार माध्यमको नाममा सरकारी अखबार गोरखापत्र, राईजिङ नेपाल र रेडियो नेपालमा अभ्यस्त हाम्रो पुस्ताको लागि नीजि क्षेत्रका तर्फबाट एकाध पत्रपत्रिका, राष्ट्रिय स्तरमा अर्थात् काठमाडौंबाट भर्खर भर्खर शुरु हुन लागेबाट निकै हौसिएका थियौं । पहिलो जनआन्दोलन २०४६ मा होमिने क्रममा आफूले सक्दो सहभागिता जनाएकोका एउटा उपलब्धि यसलाई मानें ।     त्यसमाथि गाउँ ठाउँकै खबरलाई प्राथमिकता दिने गरि स्थानीय स्तरमै साप्ताहिक रुपमै भएपनि पत्रिका थालनी हुनु निकै चुनौतीको विषय थियो नै । आज काभ्रे टाईम्स २७ वर्ष पूरा गर्ने क्रममा अग्रज पत्रकार भरतराज श्रेष्ठ र आरएल श्रमजीवीको आँट, सपना एवं पहलकदमीको प्रशंसा गर्नुपर्छ । तत् समय म चिकित्सा क्षेत्रमा आफ्नो क्यारियर बनाउने क्रममा त्रि वि शिक्षण अस्पतालमा व्यस्त भएपनि सप्ताहान्तमा पनौती घरमा आउने बेलामा काभ्रे टाईम्स भएजति पढ्थें, संकलन पनि गर्दै जान थालें ।     चिकित्सा सेवा मेरो कार्य हो । र, चिकित्सक भएपछि आफ्नो जन्मथलो काभ्रेलाई नै कर्मथलो बनाउँछु भन्नेमा म दृढनिश्चय थिएँ । यसमाथि लेखहरु लेख्नु, साहित्यमा कलम चलाउनु मेरो प्यासन हो । काभ्रे टाईम्स प्रकाशनमा आउनु निकै अगाडि नै २०४५ सालमै गोरखापत्रमा पनौतीको चिनारी विषयमा लेख लेखेर श्रीगणेश गरेको पहल आजपर्यन्त जारी छ । यस बीच काभ्रे टाईम्सको शुरुआती दिन देखि अटुट रुपमा लेखहरु लेख्ने कार्य जारी राखें ।     अब फर्किउँ काभ्रे टाईम्समै, प्रकाशन थालनीकै बेला प्रतिकूल परिस्थिति भोगेको काभ्रे टाईम्सले यस बीच निरन्तर जस्तो बन्द, हड्ताल खेप्नुपर्याे, दरबार हत्याकाण्डलगत्तै ज्ञानेन्द्र शाहको शासन, दोश्रो जनआन्दोलन, मधेश आन्दोलन, सशस्त्र समूहहरुको एकपछि अर्को डिस्टर्बेन्स, वृहत् शान्ति सम्झौता पछिका केही वर्षसम्म सन्तोषको सास फेर्न पाएन । राजनैतिक हिसाबले अब त अलि सजिलो माहोल भयो कि भन्ने बेलामा २०७२ को महाभूकम्प भोग्नुपर्याे । पछिल्लो समय कोभिड महामारीले पु¥याएको सास्ती र क्षतिको त के कुरा गराई भयो । मानिसको, देशको सबैजसो क्षेत्रमा यसले नराम्रो असर पु¥यायो, जसबाट अझै तङ्ग्रिन सकेको छैन । देशका ठूल्ठूला प्रकाशन संस्थाले भटाभट आफ्ना सह–प्रकाशनहरु बन्द गरिरहेको बेला, वर्षाैदेखि कार्यरत आफनै सहकर्मीहरुलाई बलपूर्वक निष्काशन गरिरहेको बेला काभ्रे टाईम्सले येनकेन निरन्तरता दिन सक्नु नै ठूलो कुरा हो ।     काभ्रे टाईम्स स्थानीय प्रकाशन हो, स्थानीय प्रति प्रतिबद्ध हुने उद्धेश्यले । त्यसो भएर काभ्रे टाईम्सले राष्ट्रिय, अन्तर्राष्ट्रिय समाचार होईन गाउँ ठाउँकै खबरलाई प्राथमिकता दिनुपर्छ । काभ्रे टाईम्समा नकारात्मक एवं हिंसात्मक समाचारलाई न्युज स्कुप बनाउने, अल्पकालीन ख्यातिका लागि अथवा न्युज ब्रेक गर्ने नाममा अनुत्पादक समाचारलाई स्थान दिनु भन्दा गाउँ, समुदायका सफल कथाहरु छाप्नु राम्रो हुन्छ । काभ्रेका १३ पालिका एवं छिमेकी जिल्लाका पालिकाहरुमा भए गरेका विकास निर्माणका खबर उजागरमा ल्याउनु, स्थानीय पालिकाहरुलाई जवाफदेही बनाउनु काभ्रे टाईम्सको मर्म हुनुपर्छ । विकास निर्माणमा भएका ढिलासुस्ती, सरकारी एवं नीजि क्षेत्रमा भए गरेका भ्रष्टाचारलाई प्रकाशमा ल्याउन सक्नुपर्छ ।     काभ्रे टाईम्स धेरै काभ्रेली पत्रकारहरुका लागि लर्निङ स्कुल पनि हो । धेरै जनाले यही प्रकाशन मार्फत् आफ्नो कलम तिखार्न पाएका थिए । यसमा काभ्रे टाईम्सले गर्व मान्नुपर्छ । यसो भन्दै गर्दा विगतमा काभ्रे टाईम्समा राम्रा, गहकिलो लेख लेख्नु हने कलमजीविलाई अतिथिकै रुपमा भएपनि काभ्रे टाईम्समा लेख लेख्न उत्प्रेरित गर्नु राम्रो हुन्छ । मैले धेरै चोटी भनिसकें अब एकपटक काभ्रे टाईम्समा नियमित लेख्नेहरुको एकदिने कार्यशाला गर्नुपर्याे । भविष्यमा काभ्रे टाईम्स कसरी अगाडि बढ्ने विषयमा छलफल हुनुपर्याे । काभ्रे टाईम्सलाई अहिलेको ठूलो चुनौती भनेको अनलाइन न्युज पोर्टलहरु नै हुन् । विगतमा पनि टिभी च्यानल, केबुल नेटवर्क, ईन्टरनेट, गुगल विकिपेडिया र सामाजिक सञ्जालबाट काभ्रे टाईम्सले चुनौती व्यहोरेकै थियो । यो २७ वर्षको अनुभवले काभ्रे टाईम्सले अनलाइन न्युज पोर्टलको अहिलेको चुनौती पार लगाउने नै छ । काभ्रे टाईम्सलाई वार्षिकोत्सवको शुभकामना ।  

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्