नेपाली पत्रकारिताका मूर्धन्य हस्ताक्षर गोकुल पोखरेलको पुस १६ गते ८७ वर्षको उमेरमा निधन भयो । नेपाली पत्रकारितामा छुट्टै छाप छोड्न सफल पोखरेल निधनको खबर सनसनी पूर्ण भने थिएन, भएन । पोखरेलले कुनै समय नेतृत्व गरेको सरकारी र मूलधार भनिएका सञ्चार माध्यमले निधनको खबरलाई औपचारिकता दियो तर प्राथमिकता दिएको पाइएन । एक त उमेरको हदले पनि मृत्युको खबरले समाचारीय मूल्य नबोकेको हुन सक्छ । मृत्युको खबर ‘स्तब्ध’ वा ‘असामयिक’ हुने हदको थिएन । दोस्रो नयाँ मिडिया सञ्चालक र सञ्चारकर्मीले पोखरेलको योगदान र मूल्यन बुझेको हुन सक्छ । तेस्रो पोखरेल कुनै दल विशेषको आज्ञाकारी समर्थक पनि थिएनन् । चौथो नेपाली समाजको समवेदनाले कतातिर छलाङ हान्दैछ भन्ने कुराले पनि घर गरेको हुन सक्छ । नेपाली पत्रकारिताको विकासमा निरन्तर, कठोर, मिहिनेत र दृढता प्रस्तुत गरेका पोखरेलको ऐतिहासिक योगदानको अभिलेख सञ्चार माध्यममा छायाँमा परेको महसुस हुन्छ । पोखरेल प्रवृत्ति नेपाली पत्रकारको साङ्गोपाङ्गो अध्ययन गर्ने हो भने अनेक प्रवृत्ति बीच पोखरेलको फरक प्रवृत्ति भेटिन्छ । हुनत, हरेक विधामा धेरैले आफ्नो छुट्टै पन वाहर्कत गरेर एकल प्रवृत्ति बनाएका हुन्छन् । नेपाली पत्रकार र पत्रकारिता यो मामिलामा अछुतो रहने कुरै भएन । पोखरेलले पत्रकारिता प्रवेश गरेको काल खण्डको हिसाबले बन्द समाज थियो । विचार अभिव्यक्तिको स्वतन्त्रता तथा पूर्ण प्रेस स्वतन्त्रता बन्दा बन्दीको समयमा सरकारी छापा माध्यममा गरिएको पत्रकारिता र खुल्ला आकाशमा गरिएको पत्रकारितामा अवश्य भिन्नता हुन्छ । यद्यपि पोखरेलले गोरखापत्रमा छँदा बीपी कोइरालाको मृत्यु प्रकरणमा देखाएको साहसिकता प्रवृत्तिगत मिसाल हो । पत्रकारितामा इमान र जवाफ देहिता पाठकको सत्य–तथ्य सूचना पाउने हकसँग अन्तर सम्बन्धित हुन्छ । यहीँ प्रतिनिधि मूलक घटनालाई उद्धरण गर्दा पनि उनी अब्बल पत्रकार थिए र मूल््याङ्कन, अभिलेखन योग्य थिए । गोरखापत्रको यतिका वर्ष सम्पादक रहेकाको नाम कुनै पत्रकारिताको विद्यार्थीलाई खरर्र लिन कठिन हुन्छ । तर गोरखापत्रका पूर्व सम्पादकहरूको नाम हाजिरी जवाफमा सोधियो भने गोकुल पोखरेल र भारत दत्त कोइरालाको नाम चैं मुखाग्र आउँछ । यही नै फरक प्रवृत्तिको मानक हो । पोखरेल सँगै छुटाउनु नहुने अर्को नाम हो, भारतदत्त कोइराला । पोखरेल र कोइरालाको यो जोडी नै नेपाली पत्रकारिता विकासको बाँझो फोर्ने एक हल हो । मोफसलको छापा माध्यमलाई उच्च प्रविधिसँग जोड्ने, एकाकार र अभ्यस्त बनाउने श्रेय यो एक हल जोडीलाई जान्छ । पोखरेल र कोइराला नेतृत्वको संस्था ‘नेपाल प्रेस इन्स्टिच्युट’ले नेपाली पत्रकारिताको विकासमा देखाएको भूमिका नै आजको पत्रकारिताको प्रस्थान विन्दु थियो । यसमानेमा मोफसलीय पत्रकारिताको विकासमा पोखरेल र कोइरालालाई चाहेर पनि नजर अन्दाज गर्न सकिन्न । तर आजको पत्रकारितामा मोफसलले पनि पोखरेलको योगदानलाई दिल खोलेर सम्झन सकेन । यसले पत्रकारिताको पुराना नयाँ पुस्तान्तरणका छिद्रपनि टाढिएको थाहा लाग्छ । पत्रकारितामा जीवन २६ वर्षको लक्कातन्नेरी उमेरबाट पत्रकारितामा प्रवेश गरेका पोखरेल जीवन पर्यन्त पत्रकारिताको उन्नयनमा लागे । करिब ३० वर्ष सरकारी सञ्चार माध्यमको नेतृत्व गरे । सरकारी छापा माध्यम गोरखापत्र (नेपाली) र राइजिङ नेपाल (अंग्रेजी) पत्रिकाको सम्पादन गरे । नेपाली र अंग्रेजी भाषामा उत्तिकै कलम चलाउने पोखरेल पत्रकारिता शिक्षाका संस्थापक अध्यापक पनि हुन् । राष्ट्रिय समाचार समिति (रासस), गोरखापत्र, राइजिङ नेपाल, मधुपर्क, मुनापत्रिकाको सम्पादनमा नेतृत्वदायी खुबी देखाए । फ्रान्सिसी समाचार संस्था, प्रेस ट्रष्ट अफ इण्डिया (पीटीआई) लगायतको न्युज एजेन्सीको अध्ययन अनुभव बटुले । यसकारण पोखरेल नेपाली पत्रकारिता विकासको सन्दर्भ सामग्री हुन् । २०४१ सालमा नेपाल प्रेस इन्स्टिच्युट (एनपीआई) स्थापना गरेर दक्षपत्रकारको उत्पादनमा भूमिका खेले । डेनिस सहायता निगमबाट प्राप्त आर्थिक सहयोगलाई ‘मिडिया विकास कोष’बनाएर संस्थागत गरे । चाहेको भए यो कोष आफ्नै प्रेस इन्स्टिच्युटमा राख्न सक्थे तर उनले यो कोषको स्थायित्वको लागि सरकारी स्वामित्वको प्रेस काउन्सिलको जिम्मा लगाए । प्रेस इन्स्टिच्युटलाई सञ्चार केन्द्रको नाममा पूर्वाञ्चल र पश्चिमाञ्चलमा विस्तार गरे । यिनै सञ्चार केन्द्र मातहत मोफसलको पत्रकारितामा सेवा विस्तार भयो । पत्रकारको सीप, दक्षता, क्षमता अभिवृद्धिका अनेकानेक कार्यक्रम केन्द्रमार्फत सञ्चालित भए । क्षेत्रीय र स्थानीय स्तरमा अनगिन्ती आधार भूत, एड्भान्स पत्रकारिता तालिम, गोष्ठी, सेमिनारहरू भए । फिचर लेखमाला उत्पादन र वितरण गरियो । समग्रमा राज्यस्तरबाट हुने पत्रकारिताको विकासमा भन्दा कता हो कता बढी योगदान दिने संस्था नेपाल प्रेस इन्स्टिच्युट हो । कुनै समय यस्तो थियो विश्व विद्यालयमा पत्रकारिता पढेका विद्यार्थी भन्दा प्रेस इन्स्टिच्युटमा तालिम लिएका पत्रकारहरू दक्ष त हुन्थे नै, तत्कालीन पत्रकारितामा छाएका पनि थिए । गोकुल सर ः छविलाल गुरु धनकुटा जिल्ला सदरमुकामबाट बिब्ल्याँटो फर्कियो भने कचिंडे भन्ने गाउँ आउँछ । त्यही कचिंडे गाउँमा विसं १९९३ माजन्मेका गोकुल पोखरेलले पत्रकारितामा उल्लेख्य योगदान गरे । पूर्वीय दर्शनका प्रख्यात विद्वान् तथा समाज सुधारक पण्डित छविलाल पोखेरलका आधादर्जन बढी छोराछोरी मध्ये गोकुल माइला छोरा हुन् । तर यिनको कदभने छविलालका बाँकी छोराछोरी भन्दा अग्लो छ । यसो त सानो कचिंडे गाउँमा जन्मेका धेरै पोखरेलहरूले जीवनमा केही न केही राम्रो योगदान देशलाई गरेका छन् । डा. रामप्रसाद (वरिष्ठ आँखा रोग विशेष), उमानाथ(विद्वान् पण्डित), डा.शिवप्रसाद (आयुर्वेद), जगन्नाथ (जुनार खेती विशेषज्ञ), कृष्ण र राजेन्द्र (कृषि), शिक्षणमा विद्यानाथ, उपेन्द्र, दिवाकर, राजनीतिमा दुर्गा, मोहन लगायत कचिंडेका प्रतिनिधि मूलक पोखरेलहरूमा उल्लेख्य नाम हो । खुदै पण्डित छविलालका आधा दर्जन बढी छोराछोरीमा डा.गोविन्द, स्वयम् गोकुल, इन्जिनियर गणेश र अलगधार्मिक अभियानका रुद्राक्ष बाबा अमुकुन्द पोखरेल पनि छन् । बाहुनको पोखरेल थरमापानी र दूध पोखरेल नाममा अलगगोत्र छ । दुई पोखरेल बीच कुटुम्बेरी पनि चल्छ । कचिंडेका पोखरेलहरू पानी पोखरेल हुन् । नाम अनुसार नै यिनले धेरै विधामा पानी–पानी बनाएका छन् । त्यसको छुट्टै चर्चा गर्नु मनासिब हुन्छ । छविलाल पोखरेल पूर्वीय दर्शनका ज्ञाता समाज सुधारक त हुँदै हुन् । संस्कृत साहित्य, दर्शनका प्राध्यापक तथा प्रजातान्त्रिक आन्दोलनका सेनानी पनि हुन् । पूर्वाञ्चलको शैक्षिक अभियानमा पण्डित छविलाल बिर्सन नसकिने पात्रहुन् । छुवाछूत विरुद्धको समाज सुधारमानलिई नहुने नाम हो । बाहुनलाई लसुन, प्याज, टमाटर उपयोग गर्न तर तास, जुवा छोड्ने असल सल्लाह दिने उनै हुन् । डा. स्वामी प्रपन्नाचार्य (काले राई) को सहयोगमा प्रकृति पूजक किँरातीहरूलाई जनै भिराउने कामबाहेक यिनले जीवनमा अन्यथा गलत गरेनन् । समाज सुधारका अनेकानेक काम गरेर पण्डित छविलाल गुरु भएर प्रख्यात भए । यता उनका माइला छोरा पत्रकारिताका गोकुल सर भए । (साभार ः अनलाइनखवरबाट)
