IMG-LOGO

वडा दशैं — धार्मिक महत्व

 मंगल, असोज ३०, २०८०  – गोपाल  प्रसाद ज्ञवाली

     “दशैं आयो” यो मिठो शब्द सुन्ने वित्तिकै कस्को मन नरमाउला र ? के बालक, के जवान अनि के वृद्ध, यो शब्द सुन्न साथ सबको मनमा छुट्टै आनन्द आइहाल्छ । “दशैं” यो शब्दनै यति मिठो छ जस्लाई बाह्र मसलाको जरुरत नै पर्दैन । तर एक थरि निराशावादिहरु यहि दशैंलाई दशाको संज्ञा दिने गर्दछन् । तर कुनै पनि अर्थमा दशैंलाई दशाको रुपमा लिनु ठुलो भूल हुनेछ ।      धार्मिक, समाजिक, ऐतिहाँसिक,साँस्किृतिक या परम्परागत जुनसुकै दृष्टिकोणबाट पनि वडा दशैंको ज्यादै महत्व छ । विशेष गरी धार्मिक क्षेत्रको प्रमूख विषेशता बोकेको वडा दशैंले “सत्यमेव जयते ” अर्थात सत्य  को सधैं विजय हुन्छ भन्ने सन्देश प्रदान गरेको छ । यसलाई मर्यादा पुरुषोतम श्री रामचन्द्रको कथासँग पनि जोडिएको पाइन्छ ।      अयोध्यापति दशरथ नन्दन भगवान श्री राम, सीता र लक्ष्मणलाई साथ लिई वनवास सवारी भयो । पंचवटीमा मारिचले छल गर्दा रावणले सीता हरण गरेर लंका पु¥यायो , सीता वियोगको विरहमा विह्वल हुनुभएका श्रीराम लक्ष्मणलाई साथ लिएर सीता खोजिमा संलग्न हुनुभयो । सुग्रिवसँग मित्रता गरी वालि उद्धार गर्दै लंका पुग्न ४०० कोष समुन्द्र पार गर्न समुन्द्रको किनारामा आश्विन शुक्ल प्रतिपदादेखि घटस्थापना हँुदै नवरात्र विधिद्धारा व्रत गरि नव दुर्गा भवानीको उपसाना गर्नु भयो । आश्विन शुक्ल दशमीका दिन घटस्थापनाको दिन स्थापित  घडाको जल अभिषेक लिई  दुर्गा भवानीको महाप्रसाद स्वरुप रातो अक्षता तथा जमरा धारण गरी शुभ विजय यात्रा शुभारम्भ गर्नुभयो ।      दुर्गा भवानीको आशिर्वादद्धारा रावण वध गरी सीता प्राप्त गर्नुभयो । त्यसैले आश्विन शुक्ल दशमिलाई विजया दशमी भन्ने गरिन्छ । यस दिन दुर्गा भवानीको महा प्रसाद ग्रहण गर्नाले सबत्र विजय प्राप्त हुने विश्वास लिइन्छ ।      शरद ऋतुमा खुलेको आकाश धान भित्राएको खुसी, ढकमक फुलेका फूलको सुवासका साथै घरघरमा आउने गर्दछ वडा दशैं । यो महान चाडलाई विभिन्न नामले पुकारिन्छ । दशैं, बडा दशैं, मोहनी दुर्गा पूजा, नवरात्र, नौरथा अनि विजया दशमी ।      वडा दशैंको अर्को पक्ष भनेको महिषासुर, चण्डमुण्ड, शुंभ निशुंभ रक्तविज  आदि दानवको उद्धार पनि हो । चाहे त्यो जतिसुकै शक्तिवान किन नहोस , आसुरीभाव दानवी शक्तिको एकदिन नाश भएरै छाड्छ । यहि पे्ररणा मिल्ने गर्दछ वडा दशैंबाट ।      पौराणिक मान्यता अनुसार सत्य युगमा महिषासुर, शुंभ निशुंभ आदि दानवले ब्रम्हाको तपस्या गरी आफूलाई कुनै पनि पुरुषले मार्न नसक्ने बरु महिलाको हातबाट मर्न पाँउ भन्ने बरदान लिए । ब्रम्हाबाट वर प्राप्त गरेका दानवले देवलोकमा आक्रमण गर्न थाले अन्त्यमा पराजित देवताहरुले हिमालय पर्वतमा गई आ आफ्नो शक्तिद्धारा एक एक शक्ति पुञ्ज श्रृष्टि गरे जसबाट महामाया जगत् जननी आदि शक्तिको श्रृष्टि भयो उनै देवीलाई देवताहरुले सस्त्र अस्त्रले सुसज्जित गराए ।      देविका साथमा दानवहरुको रोमहर्षण युद्ध भयो । अन्त्यमा देवीका शक्तिद्धारा सबै दानवहरु सखाप भए । बाँचेका दानवहरु बोका, राँगा, हाँस, कुखुरा आदि दोपाया, चौपाया जनावरहरुमा प्रवेश गरे । देवीले पनि दोपाया चौपायाहरुलाई खोजी खोजी वलि दिन थालिन । यसैकारण दशैंमा दोपाया, चौपाया पशुको वलि दिने चलन चलेको हो । देवी भगवतमा बताइएको छ मांसासनं ये कुर्वान्ति तै कार्यं पशुहिंसनम् !!! महिषाज वराहाणां वलिदानं विशिष्य ते !!!      अर्थात जसले मांसाहर गर्छ उसले वलि दिनु, राँगा, बोका, बंदेललाई नै वलि भनिन्छ । हम्रो संस्कारले वलिलाई नकार्न सक्दैन । श्रीमद् भगवतमा पनि उल्लेख गरिएको छ । अहस्तानि सहस्तानम् अपदानि चतुष्पदाम् !!! फल्गुनि तत्र महतां जीवो जीवस्य जीवनम् !!!      अर्थात एक जीवलाई नाश नगरी अर्को जीवको जीविका चल्न सक्तैन जस्तै हात नहुनेलाई हात हुनेले, खुट्टा नहुनेलाई चार खुट्टेले आहार बनाउँछ । यो नै प्रकृतिको गुण हो । समुन्द्रमा ठूलो माछाले सानो माछालाईनै आहार बनाउँछ यो नै सत्य हो ।        समय समयमा दोपाया चौपायाको उद्धार गर्दा  वतातावरणमा मानव र जीव जनावर विच संतुलन पनि कायम रहन्छ । जतिसुकै  अहिंसा गरेपनि प्राण धान्न प्रत्येक व्यक्तिले जीवको नास गरेकै हुन्छ । धन रोपेर, गोडमेल, मलजल गर्दै झपक्क वाला लागेपछि पाक्यो भन्दै त्यसलाई काटेर हामी  आहार बनाउँछौं । लहलहाउँदो रायो, तोरी , साग सब्जी उखेलेर, कराईमा पकाउँदा हामी त्यसैलाई मिठो  भनिरहेका छौं । यो नै हाम्रो सनातान हो, । यहि  हाम्रो धर्म हो । हिंसा गर भनेर कुनै पनि शास्त्रले भन्दैन तर पनि परम्परागत रीति अनुसार चल्नुमा कत्ति पनि दोष देखँदैन ।      ब्रम्हाले श्रृष्टीका लागि, विष्णुले पालनका लागि र रुद्रले  संहारका उनै  आदि शक्तिको उपासना गरेका छन् । धर्म शास्त्रअनुसार माता भगवतीको पुजा गर्दा  नैवेद्य के अर्पण गर्ने ? तिथि बार अनुसार पृथक पृथक नैवेद्य अर्पण गर्ने मान्यता छ ।      आइतबार पायस, सोमबार दुध, मंगलबार केरा, बुधबार नौनी, विहिबार खुँदो , शुक्रबार चिनी, शनिबार घिउ नैवेद्य अर्पण गरिन्छ भने तिथि अनुसार प्रतिपदाका दिन घिउ, द्धितियाका दिन चिनी, चौथिका दिन मालपूवा, पंचमीका दिन फलफूल, षष्ठिका दिनमह, सप्तमीका दिन सखर, अष्टमीका दिन नरिवल, नवमीका दिन लावा, तथा दशमीका दिन कालो तिल नैवेद्यका रुपमा अर्पण गरिन्छ । शक्ति स्वरुपपिणी, महामाया, श्रष्टि, स्थिती र संहारका लागि नित्य देवताका आराध्या गरेकी छिन् ।         सत्य युगे भवेत् चण्डी त्रेतायां चण्डी जानकी !!!        द्वापरे द्रौपदी चण्डी कलौ चण्डी गृहे गृहे !!!      अर्थात सत्य युगमा चण्डीले महिषासुर आदि दानव संहार गरीन, त्रेतामा सीता चण्डी बनेर रावण आदि दुष्ट संहार गरिन द्वापरमा द्रौपदी चण्डी बनेर महाभारतको रचना गरेर सारा अधर्मीहरुको नाश गरेर धर्म स्थापना गराउनुभयो । अब कलीमा चण्डी खोज्न टाढा जानु पर्दैन ।      उनै शक्ति स्वरुपिणी मातालाई शक्तिका लागि महाकाली , धनका लागी महालक्ष्मी, ज्ञानका लागी महा सरस्वती स्वरुपमा उपासकहरुले आरधना गरी अज्ञानरुपी पशु देवीलाई अर्पण गरी ज्ञान मार्गलाई प्रशस्त गर्ने गर्दछन् ।      भक्तको अज्ञानरुपी पशुवली आफुले ग्रहण गरी सम्र्पूण उपासक प्रति शक्ति धन तथा विद्या प्रदान गर्ने महामायामा वर्षको ४ पटक नवरात्रमा आरधना गरिन्छ । पहिलो नवरात्र आश्विन शुक्ल पक्ष हो भने दोश्रो नवरात्र चैत्र शुक्लपक्ष हो । आषाढ शुक्लपक्ष तथा माघ शुक्लपक्षलाई पनि हामी नवरात्रका रुपमा लिन्छौं ।      यी सबै मध्ये समाजमा बढी प्रचलित भनेको आश्विन शुक्लपक्ष नै रहेको छ । या देवी सर्वभूतेषु मातृरुपेण सांस्थिता !!! नमस्तस्यै नमस्तस्यै नमतस्यै नमो नम !!!      चराचर जगतकी मातृस्वरुपीणी नवदुर्गा भवानी प्रतिहामी सबैको सतत नमन छ ।      (लेखक रेडियो एविसी एफ.एम ८९.८ का धार्मिक कार्यक्रम जीवनधारका संचालक हुनुहुन्छ)   

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्