त्यो वर्ष भारतीय राजदूत भगवान सहायले भारतको अन्तराष्ट्रीय पुरस्कार महात्मा गान्धी शान्ति पुरस्कार नेपाल ल्याएका थिए । राजदूत महोदय यो पुरस्कार नेपालमा कसलाई दिने वा यसको लागि योग्य नेपाली को होलान् भनी खोज्दै थिए । कसैले भनिदियो एकजना इतिहासज्ञ छन्। आँखा देख्दैनन् तर बिद्वान हुन्। एभरेष्ट शिखरको नेपाली नाम सगरमाथा उनैले फेलापारेका हुन् । एक अपरान्ह भारतीय दूताबासका साँस्कृतिक सहचारी सुमन बत्तीसपुतलीको बाबुराम आचार्यको घरमा टुप्लुक्क आइपुगे । ‘क्यों पधारे आप ?’ भनी बाबुरामले सोध्दा सुमनले भने, ‘यों हि ।’ ‘गुरूजी से इतिहासके कुछ बातें करें।’ बनारसमा पढेका बाबुराम हिन्दी, संस्कृत र अंग्रेजी जान्ने हुनाले उनलाई सांस्कृतिक सहचारीसँग सम्बाद गर्न अप्ठेरो भएन । हसी ंमजाक समेतको कुराकानी भएको केहि बेरपछि सुमनले भने, ‘हमारी राजदूत महोदय चाहते है कि आप ये गान्धी पुरस्कार ग्रहण करे ं।’ पुरस्कारको रकम दुई लाख भारतीय रूपैयाँ थियो । एउटा अडचन भनू वा शर्त भने पक्कै थियो । पुरस्कारकोलागि नेपालको सामाजिक–राजनीतिक अबस्थाबारे एउटा आलेख प्रस्तुत गर्नुपथ्र्यो । त्यो बेला नेपाल एउटा जटिल अबस्थाबाट गुज्रिरहेको थियो । केही वर्षअघिमात्र राजा महेन्द्रले निर्वाचित संसद भंग गर्दै सत्ता हत्याएका थिए । राजाको कदमको भारतमा ठूलै विरोध भएको थियो, संसदमा समेत । नेपालको राजनीतिक परिवेशबारे भारतलाई रूची हुने लेख आलेख लेख्न जोसुकैलाई पनि असहज हुन्थ्यो। त्यसमाथि पनि एक राजनीतिक व्यक्ति नभई इतिहासकार र अनुसन्धानकर्ताको रूपमा नाम कमाएका बाबुरामलाई झनै अप्ठ्यारो हुनु स्वाभाविकै थियो । बाबुरामलाई झट्ट आभास भयो कि यो पुरस्कारमा राजनीतिक गन्ध छ । ‘सुमनजी, मै कहाँ आपको ?’ ‘हम नेपाली लोग राजाके साथ चल्ते है । वो कुछ भि करते है देश और जनताके भलाईके लिए करते है । राजदूतको आप कह दिजिए मै बहुत आभारी हँु । मगर ये पुरस्कार, मैं नहीं ले सकता ।’ सुमन निरास भएर फर्के । केही वर्षपछि त्यो गान्धी शान्ति पुरस्कार फेरि नेपाल ल्याईयो र प्रसिद्ध समाजसेवी र गान्धी चर्खा प्रचारक महागुठीका संस्थापक तुलसीमेहर श्रेष्टलाई प्रदान गरियो । उनलाई दिइएको अभिनन्दन पत्रका अनुसार तुलसीमेहरले गान्धीको सेवा सुश्रुसा गर्दै भारतमा धेरै समय बिताएका थिए । अहिलेको मूल्यमा २५ लाख बरोबर हुने त्यो पुरस्कार जुन बेला बाबुरामले अस्वीकार गरे, त्यो बेला उनी निर्धन थिए । बिरामी छोराको उपचारकालागि खर्च जुटाउन आफ्नो भएको जायजेथा बन्दकीमा राखेका थिए भने गौचरणमा (हाल त्रिभुबन बिमानस्थल) भएको उनको पाँच–सात रोपनी खेतबारी सरकारले प्रति रोपनी ६१०। रूपैया मुआब्जा दिएर अधिग्रहण गरिदिएको थियो । माधब आचार्यको ‘मोटले टेल्स’ कथा संग्रहबाट अनुदित । माधब आचार्य इतिहास शोरोमणि बाबुराम आचार्यका नाति हुनुहुन्छ ।
