”श्रद्ध्या क्रियते यत्र, तत्श्राद्धं परिकीर्तितम् “!! श्रद्धा पूर्वक जुन कार्य पितृको उद्देश्यका साथ गरिन्छ त्यो नै श्राद्ध हो । आश्विन कृष्ण पक्ष पितृ पक्ष, यो महिना शरद ऋतुको पहिलो महिना पनि हो । शरद ऋतुको पहिलो महिना तथा पहिलो पक्ष पितृको प्रिय भएकोले नै यसलाई पितृ पक्ष भनिन्छ । आश्विन महिनाको दोश्रो पक्ष दुर्गा पक्ष भएकोले पनि पहिलो पक्ष पितृ पक्ष हुन गएको हो । आश्विन शुक्ल पक्ष सम्पूर्ण हिन्दु धर्मावलाम्बिहरुको महान् चाड बडा दशैं भएकाले पनि पर्व मनाउनु अघि पितृहरुको सम्झना स्वरुप पार्वण श्राद्धको सुरुवात भएको हो । ”देशे कालेचपात्रेच श्रद्ध्या विधिना चयत् पितृनुुदिश्य विप्रेभ्योदतं श्राद्धंमुदारितम् “!! पितृको उद्देश्य गरेर श्रद्धापूर्वक देश काल परिस्थिति अनुसार ब्राम्हणलाई दान दिइन्छ भने, त्यो नै श्राद्ध हो । हामी कुनै पनि पर्व मनाउनु अघि पितृको सम्झना गर्दछौं । ब्रतबन्ध गर्नुअघि पूर्वाङ्खमा नान्दिमुखी श्राद्ध , विवाह, श्रीमद भागवत् सप्ताह, नवाह, आदि सुरुवात गर्नु अघि अथवा कुनै पनि पूर्वाङ्ख गरिने अनुष्ठानमा हामी आभ्युदयिक अर्थात नान्दिमुखी श्राद्ध गर्दछौं । जसमा मातृ पितामही प्रपितामहि , पितृ पितामह,प्रपितामह तथा मातामह, प्रमातामह, वृद्ध प्रमातामह गरि ६ ब्राम्हण स्थापना गरेर सात भाग सिदा राखेर यो श्राद्ध गरिन्छ । यो श्राद्ध आमा जीवित हुनेले गर्न मिल्दैन । सामान्यतया श्राद्धका विभिन्न भेद छन् । ती मध्ये नित्य श्राद्ध, मासिक श्राद्ध, सपिण्ड श्राद्ध, अष्टका श्राद्ध, तीर्थ श्राद्ध, वार्षिक श्राद्ध, नान्दि श्राद्ध, वृद्दि श्राद्ध, एकोदिष्ट श्राद्ध, एकपार्वण , पार्वण आदि । जसमध्ये दिनदिनै गरिने नित्य श्राद्ध , प्रत्येक महिना गरिने मासिक श्राद्ध, मृत्युको बाह्रौं दिनमा गरिने सपिण्डि श्राद्ध, विभिन्न पर्वमा गरिने अष्टका श्राद्ध, तीर्थमा गरिने तीर्थ श्राद्ध, वर्ष दिनमा गरिने वार्षिक श्राद्ध, पूर्वाङ्घमा गरिने नान्दिमुखि श्राद्ध, महोत्सवमा गरिने वृिध्द श्राद्ध, वर्ष वर्षमा गरिने एकोदिष्ट श्राद्ध, सोह्र श्राद्ध तथा औंशीका दिन परेको एकोदिष्ट श्राद्धलाई एक पार्वण श्राद्ध भनिन्छ । यसमा २ ब्राम्हण, ३ सिदा र ३ पिण्ड दिइन्छ , जसलाई त्रिपिण्डी श्राद्ध पनि भनिन्छ । अबको प्रसंग पार्वण श्राद्ध अथवा सोह्र श्राद्धको पार्वण श्राद्धलाई महालय अथवा १६ श्राद्ध पनि भन्ने चलन छ । सोह्र श्राद्ध भनेको के हो र यो कसरी गरिन्छ भन्ने विषयमा गहिरो चिन्ता गर्नु आजको आवश्यकता देखिन्छ । सामान्यतया सोह्र श्राद्ध भन्नाले १६ दिन गरिने श्राद्ध भन्ने बुझिन्छ । यो श्राद्ध आश्विन कृष्ण पक्षमा गरिन्छ । श्रद्धा र क्षमता राख्ने व्यक्तिले यो श्राद्ध १६ दिन सम्म दिनदिनै गर्दछन् । कुनै पनि १ पक्ष १५ दिनको हुन्छ भने सोह श्राद्ध कहिले देखि कहिले सम्म लिने भन्ने विषयमा ठुलो विवाद देखिन्छ । आज सम्म पनि यो एउटा सामाजिक समस्या बनिरहेको छ । यसमा निर्णय लिन सम्बन्धित पक्षले आँट गरिरहेका छैनन् । आश्विन कृष्ण पक्षलाई मात्र लिने हो भने सोह्र श्राद्ध १५ दिन मात्र हुन्छ , कि यसलाई पन्धु श्राद्ध भन्नु प¥यो हैन भने सोह्र दिन देखाइदिनु प¥यो । हाम्रो पञ्चाङ्ख (पात्रो)मा पनि आश्विन कृष्ण प्रतिपदा देखि सोह्र श्राद्ध आरम्भ भनेर लेखेर औंशीको दिन सोह्र श्राद्ध समाप्त भनेर लेखिन्छ । जम्मा १५ दिनमै सोह्र श्राद्ध समाप्त भयो भनेर उल्लेख गरिदा यसको जिम्मेवारी कस्ले लिने ? निर्णायकहरु आजसम्म पनि किन अनिर्णित छन् ? यो एउटा दुखको कुरा हो । मानिस सोह्र श्राद्ध भनेर आज सम्म पनि १५ दिन श्राद्ध गरेर बसिरहेका छन् । अब यसमा कसैले शंका लिनु पर्दैन सोह्र श्राद्ध भाद्र शुक्ल पूर्णिमा देखिनै सुरु हुन्छ । यो नै आधिकारीक निर्णय हो । आफ्ना पिताको तिथि पूर्णिमामा परेको छ भने पुत्रले पार्वण श्राद्ध भाद्र शुक्ल पूर्णिमामा नै गर्नुपर्दछ किनभने , ”पौर्णमाससु सर्वासु निसिध्दं पिण्ड पातनम् बर्जयित्वा पौ्रेष्ठपदि यथा दर्श तथैव सा “!! भाद्र शुक्ल पूर्णिमा बाहेक अन्य पूर्णिमाका दिन पिण्ड दान वर्जित छ , भाद्र शुक्ल पूर्णिमा भनेको औंशी सरह हो । त्यसैले भाद्र शुक्ल पूर्णिमाका दिन श्राद्ध पिण्डदान गर्नु । यो प्रमाणले पनि भाद्र शुक्ल पूर्णिमा देखि नै सोह्र श्राद्ध आरम्भ भएको मानिन्छ । फेरी अर्को पनि आधिकारीक प्रमाण यस्तो छ । ”आषाढिमबधिंकृत्वा पञ्चम पक्षमाश्रित कान्क्षति पितरो ह्ृष्टवा अन्नपान जलादिकं “!! अर्थात आषाढ् शुक्लपक्ष देखि पाँचौ पक्षमा पितृदेवहरु अन्न जलको आशा गर्दछन् । आषाढ शुक्ल पक्षदेखि पाँचौ पक्ष भनेको भाद्र शक्ल पक्ष हो त्यसैले पनि भाद्र शुक्ल पक्षको पूर्णिमाको दिन देखि नै सोह्र श्राद्ध सुरु हुन्छ । यसमा शंका लिनुपर्ने कुनै कारण देखिंदैन । धर्म सन्धुको “प्रोष्ठपदि श्राध्दम्” प्रकरणमा यो प्रोष्ठपदि (भाद्रशुक्ल पूर्णिमा ) श्राद्ध पार्वण श्राद्ध भएकाले अपराण्ह कालमा पुरुरवा र आर्दव नामका देवताको समेत आवाहन गरि गर्नुपर्दछ भनिएको छ । सोह्र श्राद्धको पद्दति एउटै भएपनि विधि फरक फरक देखिन्छ । यसमा पनि कतैबाट एउटै निर्णय भएको पाइंदैन । जस्मा कतिले ६ वटा पिण्ड दिन्छन् , त कतिले ७ वटा पिण्ड दिन्छन् ,कतिले सोह्र वटा पिण्ड दिन्छन् भने कतिले जति पितृलाई तपर्ण दिइन्छ त्यतिलाई नै पिण्ड दिन्छन् । षट्पिण्डीको मान्यतामा पितृ पितामह, प्र पितामह, सपत्निक, मातमह, प्रमातामह, वृद्ध प्रमातामह , यो मान्यतालाई पनि सहज लिन सकिन्छ किनकी हस्तार्घ पनि ६ वटै रहन्छ । फेरी ७ पिण्डमा यहि बमोजिम ६ पिण्ड दिएर बाँकि सबैलाई एक पिण्ड दिने सोह्र पिण्डको मान्यतामा प्रत्येक दिनको एक पिण्ड दिने अब बाँकि भनेको जति पितृलाई तर्पण दिइन्छ त्यति पितृलाई नै पिण्ड दिने यो परम्परा समाजमा अलि बढी प्रचलित देखिन्छ । पार्वण श्राद्धको विधि यसरी स्थान विशेष अनुसार फरक हुनुलाई हामी सबैले दुःःखका साथ स्विकारेका छौं । एउटै कार्य ,पद्दती एउटै तर विधिमा कसरी पृथकता आयो यस विषयमा चासो दिने र निर्णय लिने पक्ष कुन हो ? सम्बन्धीत सबैले समयमै चनाखो हुनुपर्ने देखिन्छ । “बडाले जो ग¥यो त्यहि हुन्छ है सर्वसम्मत” भनेजस्तै आज सोह्र श्राद्धमा आ –आफ्ना गुरु पुरोहितहरुले जस्तो निर्णय गर्नुहुन्छ यजमानले त्यसैलाई स्विकारी रहनु परेको छ । कसैका १५ दिनमा सोह्र श्राद्ध , कतिका षट्पिण्डी बाँकि सबैलाई “लेपभाग भूज तृप्यन्तु ” भनेर पिण्ड नजिक पिण्डको शेष राखिन्छ । यो विविधतामा एकता भनेझैं यो सबैमा एकरुपता कसरी ल्याउन सकिन्छ होला सम्बन्धित सबैले बेलैमा सोच्न सके समस्त पितृदेवहरु तृप्ति हुन पाउँथे भन्ने हामी सबैको ठुलो आशा रहेको छ । लेखक – रेडियो एवीसी ८९.८ मेगाहर्जको धार्मिक कार्यक्रम (जिवनधाराका) संचालक हुन् ।
