देशमा एउटा चिकित्सक, इन्जिनियर, चार्टर एकाउन्टेन्ट (सिए), नर्स, भेटेरिनरी डाक्टर, कृषि विज्ञ, प्राध्यापकदेखि भौतिक शास्त्र, रसायनशास्त्र, जीवविज्ञान लगायतका अन्य विषयहरू पढेका, दक्षता हासिल गरेका जनशक्ति उत्पादनमा राज्यको लगानी, घर परिवार र स्वयं व्यक्तिको योगदान कति हुन्छ ? कसैले अनुमान गर्न सक्छ ? राष्ट्रको लागी अमूल्य युवा पिँढी फल दिने परिपक्को उत्पादक बोट उखेलेर विदेश पठाउदै छौ । नेपाल सरकार सँग बिदेसिएका नेपालीहरूको सही तथ्याङ्क छ न त युवा पिँढी बिदेसिएकोमा पश्चात्ताप छ । दिनहुँ एयरपोर्टबाट पलायन हुने युवाहरू भिड देख्दा भोलीको नेपालको कल्पना गर्दा पनि दिक्दारी हुन्छ । लोकतन्त्रको नाममा गणतन्त्र राज्य व्यवस्था माओवादीको सरकारमा पनि देशमा युवाहरूलाई काम गरि खाने वातावरण छैन । योग्यता अनुसारको तलब सुविधा सरकारले ब्यवस्थापन गर्न सकेको छैन । बिदेसिएको युवा पींढीहरू देख्दा, देशमा परिवर्तन , लोकतन्त्र गणतन्त्र के को लागि भन्ने प्रश्न उठिरहेको छ । भाषण गर्दा नेताहरूले देशमा परिवर्तन ल्यायौ । लोकतन्त्र ल्यायौ । जन अधिकार ल्यायौ । संविधान बनायौ, भनिरहेका छन् । खास देशमा परिवर्तनको प्रत्याभूति कसले गरी रहेका छन् ? आज गरिब निमुखा नेपालीहरूले शान्ति सुव्यवस्थाको अनुभूति गर्न सकेका छैनन् । हामी सबैले देखेका भोगेका अनगिन्ती उदाहरणहरू यि हुन । निर्मला पन्त जस्तै कयौँ नाबालिका, महिला दिन दहाडै बलात्कृत गरेर हत्या हुन्छन् । गरिब निमुखाहरू न्याय नपाएर अदालतमा नै आत्महत्या गर्छन् । गरिबीले दिन दिनै मानिसहरू झुन्डिएर मर्छन् । खोलानालामा डुबेर मर्छन् । छतबाट हाम फालेर आत्महत्या गर्छन् । ऋण तिर्न नसकेर मानिसहरू सडकमा आत्मदाह गर्दै छन् सरकार देखेर पनि नदेखे झैँ गर्छन् । सरकारले समस्या समाधानको जिम्मेवारी र दायित्व महसुस गरेको छैन । देशमा भएको बौद्धिक व्यक्तित्वहरू विदेश पलायमान गराएर देशमा ब्यथितीहरुको भाँड भैलोमा राजनीतिक प्रतिसोधको नाममा जस्तो सुकै घटना परिस्थितिलाई ढाकछोप गरी सरकार र नेताहरू आफ्नो सत्ता टिकाउन व्यस्त छन् । जनताको छोराहरूले आमाबुबा घर परिवारका लागि ल्याएको ४, ५ तोला सुन एयरपोर्टमा खानतलासी र यान्त्रिक मेसिनको सहायताले पक्रिन्छ । तर त्यही एयरपोर्टबाट कसरी क्विन्टलका क्विन्टल सुन तस्कर हुन्छ ? उल्टोबाटो चलेको यो देशमा ठुला ठुला अनेकौँ घोटाला काण्डहरूमा सबै घटनाको दोषी आखिर ठुला नेताहरू र तिनहरूको सन्तान , परिवारको नाम जोडिन्छ अनि अनुसन्धानको दायरा , कारबाहीको प्रक्रियाहरू टुङ्गिन्छ । यो कस्तो देश हो । जुन नेता र पार्टीको सरकार हुन्छ उसले आफ्नो मान्छे र कार्यकर्ताहरू दोषी देख्दैनन् तिनीहरूलाई उन्मुक्ति दिन्छ । अनि अरू पार्टी र अन्य व्यक्तिहरूको अपराध देख्छ कारबाही गर्छ । न्याय अदालतबाट हेर्ने होइन । देशमा कुनै पनि निकाय प्रशासनले निर्भीक भएर स्वतन्त्र रूपमा निष्पक्ष भएर काम गर्न सक्दैनन् ।पार्टी नेताहरूको आदेशमा प्रशासन निरीह भएर कारबाही गर्छन् । बिकाऊ र भाग बन्दी कोटामा नियुक्ति हुने उच्च पदस्थ व्यक्तिहरूले कसरी जनताको लागी निष्पक्ष भएर काम गर्न सक्छन् ? प्रजातन्त्रको नाममा आएको लोकतन्त्रमा जनताले देशमा शान्ति सुव्यवस्थाको प्रत्याभूति नेपाली जनताले गर्न सक्दैनन् भने लोकतन्त्रको के अर्थ ? न्याय नपाए गोर्खा जानु भन्थे अहिले अरू ठाउँबाट चुनाव जित्न नसके गोर्खाबाट चुनाव लड्नु भएको छ ।“ स्वर्ग जस्तो देश नेपाल“ आज आफ्नै देश बिरानो हुने परिस्थिति बन्दै छ । नेता सरकारले भोलिको नेपालको भविष्यको बारेमा आज सोच्न सकिएन भने भोलीको परिस्थितिको जिम्मेवार को हुने हो ? राज्य ढुकुटी सखाप पारेर बिदेशी सहयोग इसारा सरकार चलाउँछ भने यो देशको भोली भविष्य सुखमयको कल्पना गर्न सकिँदैन । आफ्नो सरकार हुँदा नेताहरू देशलाई सिङ्गापुर, मलेसिया अस्ट्रेलियाको दाँजोमा पुर्याउन्छौ भनेर भाषण गर्छन् । अझै पनि तिनीहरूको कुरा कति सुन्ने ? आफ्नो सरकार टिकाउन जस्तो सुकै पार्टी पार्टी बिच सहकार्य र सम्झौता गर्छन् । भने पार्टी नेता र सरकार नेपाली जनताको हुन सक्दैन । बिदेसिएका युवाहरूमा आफ्नै कथा, बेथा र पिडा छ । तिनीहरूले आफ्नो देश, राष्ट्र खोजिरहेका छन् । तिनीहरूले अरू देश बुझेर हाम्रो देशमा फर्केर विकास गर्ने वातावरण छैन । तर पनि आज विदेशका धेरै ठाउँहरूमा नेपालको झल्को आउने परिवेश बनाएको छ । विदेशमा पनि नेपालको अनुभूति आउने नेपाली कला भेषभुषा हाम्रो संस्कूती जोगाउने पर्वहरू पनि विदेशमा गर्दै आएका छन् । नेताहरूले देश बिर्से तर बिदेसिएका नेपालीहरूले आफ्नो देश सम्झिने कामहरू गर्दै आएका छन् । नेपालीहरूको महान चाड विजया दशमी र तिहार मनाउनको लागी विदेशमा रहेका नेपालीहरू लालायित छन् । देश परिस्थितिले उनीहरू नेपाल आउन नसकिरहेको बेला आफ्ना अभिभावकहरू विदेशमा बोलाएर चाडबाड मनाउने क्रम बढ्दो छ । यो देशको माया हो । “जननी जन्मभूमि स्वर्गादपि गरीयसी“ यसको अर्थ यहाँ भनि रहनु पर्दैन । जब देश छोडेर विदेशमा रहन्छ तब यो शब्दहरूको मार्मिक अर्थ बोध गराउँदछ । आज बिदेसिएका आफ्ना सन्तानहरू भेट्न पासपोर्ट बनाएर चाडबाड मनाउन विदेश जान परेको अवस्था छ । आफ्ना सन्तान जहाँ पुगे पनि जे जस्तो ठाउँमा पुगे पनि तिनीहरूको प्रगति होस् भन्ने कामना बाहेक आम नेपाली आमा बुबाले अरू केही गर्न सक्दैनन् । आफ्ना सन्तानको खुसीको लागी जस्तो सुकै पिडा सहेर ऋण खोजेर दिन प्रति दिन आफ्नो सन्तान बिदाइ गरी रहेको अवस्था छ । बिछोडको यो नेपालीहरूको पारिवारिक कथा व्यथा कस्तो हुने हो ? भोलिको भविष्यले देखाउने छ । अस्तु !
