IMG-LOGO

आखिर मानिस किन विदेश जान्छ ?

 मंगल, भदौ २६, २०८०  – हरि शर्मा

           वर्तमान नेपाल राज्य बन्नुभन्दा पहिलेबाट नै शुरू भएको विदेशगमन लाहुर हुँदै यूरोप–अमेरिकासम्म पुग्दा डायस्पोरा बनेको छ । तर, नेपाली डायस्पोराले नेपाली समाजमा सङ्कीर्ण राष्ट्रवादलाई नै मलजल गरिरहेको छ । पहाडका बासिन्दाको विदेशगमनको इतिहास वर्तमान नेपाल राज्य बन्नुभन्दा पहिलेबाट नै शुरू हुन्छ । अवसरको खोजीमा पहाडका मानिस तल–माथि गर्ने गर्थे । बलभद्र कुँवर नै किल्ला–काँगडामा लड्दालड्दै पञ्जाबका राजा रणजित सिंहको सेनामा काम गर्न गएको इतिहास छ । त्यसो त काठमाडौं उपत्यकाका बासिन्दा पनि देश छोडेर बाहिर जाने, आउने गर्थे । यहाँ देश शब्दले आजको जस्तो अर्थ बोक्दैन । रिचर्ड बर्घटले व्याख्या गरे जस्तै ‘उस्तै रहनसहन र सँस्कृतिका मानिसहरू बस्ने थलो’ बताउँछ । काठमाडौं वा नेवाः देशका बासिन्दा मूलतः व्यापारको सिलसिलामा हिंड्ने गर्थे । भक्तपुरको वैभव तिब्बतसँगको व्यापारले सिर्जना गरेको हो ।      पहाडका मानिसको विदेशगमन व्यापारभन्दा पनि बढी श्रमसँगै जोडिएको छ । भारतमा बेलायती उपनिवेश सुदृढ हुँदै जाँदा यो श्रम आप्रवासन पनि फैलिंदै गयो । त्यसको मुख्य कारण थियो, उनीहरूले शुरू गरेको चियाखेती । चियाखेतीले सिर्जना गरेको अवसरका कारण नेपालको पहाडका मानिस र्दाजलिङ, डुवर्स, आसामतिरका चिया बगानमा गए । बिस्तारै अरू नेपाली पनि पूर्वोतर भारतदेखि बर्मासम्मका जङ्गल फँडानी गरेर खेतीपाती र पशुपालन गर्न पुगे । बेलायती उपनिवेशले श्रम आप्रवासनको अर्को महत्वपूर्ण शुरूआत पनि ग¥यो । त्यो थियो, बेलायती फौजमा नेपाली युवाको सहभागिता । नेपाल–अंग्रेज युद्धपछि नै नेपाली युवा अनौपचारिक रूपमा बेलायती सेनामा भर्ती हुन जान थालेका थिए । वीरशमशेरको उदयपछि राज्यले नै अनुमति मात्र दिएन, भर्तीका लागि आह्वान नै ग¥यो । यसरी ठूलो संख्यामा पहाडका मानिस मूलतः भारतमा कामका लागि जान थाले । त्यसैले विदेशगमन ऐतिहासिक छ ।      चिया बगानमा काम गर्न होस् वा सैनिक बनेर, दुवै संगठित श्रम आप्रवासन थियो । सैन्य सेवा त संगठित हुने भइहाल्यो, चिया बगानको काम पनि संगठित नै थियो । किनभने चिया खेती संगठित उद्योग हो । सैनिक कमान्ड जसरी नै चियाको खेती हुन्छ । चिया मजदूरका लागि बस्ती बनाइएको हुन्थ्यो । त्यहाँ डिस्पेन्सरी, सामुदायिक भवन आदि हुन्थे । त्यसैले चिया कमान्ड भनिन्थ्यो, जुन अहिले अपभ्रंश भएर चिया कमान भएको छ । यीमध्ये पनि लाहुरे इतिहासको ठूलो महत्व छ किनभने यसले नेपाली समाजमा प्रशस्त प्रभाव पारेको छ । नेपाली समाजको चेतना निर्माण र आधुनिकतातर्फको यात्रामा यसको महत्व छ । लाहुरेहरू जतिसुकै टाढाको युद्ध मैदानमा लड्न पुगे पनि बाँचेकाहरू गाउँ फर्किन्थे । त्यसैले ‘लाहुरे सधैं गाउँ फर्किन्छ’ भनिन्थ्यो । फर्किएन भने त्यो एउटा विषाद बन्थ्यो । गाउँ फर्किने लाहुरे सधैं अन्य युवाको आकर्षण बन्थ्यो ।      बिस्तारै श्रम आप्रवासनमा विविधीकरण आउन थाल्यो । संगठित रूपमा नभई व्यक्तिगत तवरमा अन्य श्रम क्षेत्रमा पनि जान थाले । यस्तो खालको विदेशगमनको शुरूआत भने समुद्रपारको संसारबारे जानकारी हुन थालेपछि नै भएको हो । जंगबहादुरको बेलायत यात्रापछि नेपालीलाई समुद्रपारका देशबारे थाहा हुन थाल्यो । शुरूमा पानीजहाज चढेर जान्थे । हवाई यातायातको विकासले यो विदेशगमनलाई तीव्रता दियो । त्यो क्रम सन् १९९० पछि शुरू भयो । यो विदेशगमनलाई विश्वमा भइरहेका परिवर्तनसँग जोडेर हेर्नुपर्छ । सन् १९७० को दशकमा पेट्रोल सङ्कट भएपछि खाडी मुलुकमा तेलको उत्पादन बढ्न थाल्यो । त्यस्तै, सन् १९८० को दशकमा लिटिल टाइगर्स भनिने दक्षिण–पूर्वी एशियाका मलेशिया, कोरिया जस्ता देशमा आर्थिक उन्नति शुरू भयो । त्यहाँ शुरूआतमा उद्योगभन्दा पनि सेवा क्षेत्रको बढी विकास भएको थियो । यी दुवै क्षेत्रमा श्रमको माग बढ्यो । त्यसको प्रभाव नेपालसम्म प¥यो । पासपोर्ट भयो भने धेरै टाढा नगई खाडी मुलुक र मलेशियामा काम गर्न गएर कमाउन सकिन्छ भन्ने थाहा पाए ।      सन् १९९० को परिवर्तनपछि नेपालमा पासपोर्ट खुकुलो भयो । त्यसअघि बाहिर पढ्न जानका लागि पनि पासपोर्ट पाउन गाह्रो थियो । एकातिर खाडी मुलुक र मलेशियामा खुलेको अवसर, अर्कातिर नेपालमा भएको खुलापन, यी दुवै कारणले नेपाली ठूलो मात्रामा श्रमका लागि विदेशिन थाले । त्यो श्रम आप्रवासन पहिले लाहुरे हुँदा वा चिया बगानमा जाँदा जस्तो संगठित थिएन । यो श्रम आप्रवासनले विदेशगमनको चरित्रमा नै परिवर्तन ल्यायो । माओवादी विद्रोह चुलिंदै गएपछि यो श्रम आप्रवासन झनै बढ्दै गयो । यो विदेशगमनको अर्को पाटो, पहाडका मानिस मात्र होइन, देशका हरेक क्षेत्रका युवा विदेशिन थाले । पुरुष मात्र नभई महिला पनि जान थाले । यी युवाले पठाएको रेमिटेन्स नेपालको अर्थतन्त्रको एउटा बलियो आधार बन्दै गयो । यद्यपि यसले नेपाली डायस्पोरा सिर्जना गरेको होइन । लाहुरे नभए पनि यी युवा निश्चित समय काम गरेर आफ्नै घर–गाउँ फर्किन्छन् ।      विदेश जाने र उतै बस्ने क्रम भने मूलतः यूरोप र अमेरिका जान थालेपछि शुरू भएको हो । हुन त बेलायती फौजमा काम गर्न गएका नेपाली गोर्खा सन् १९९० दशकका अन्त्यबाट नै हङकङमा बस्न थालेका हुन् । जब सन् १९९७ मा हङकङ चीनलाई फर्काइने चर्चा शुरू भयो, त्यहाँ बसेका गोर्खाले आफ्नो आवाज उठाउन थाले । त्यति वेलासम्म हङकङ आइडी कार्डको व्यवस्था हुन थालिसकेको थियो । बेलायती फौजमा काम गरेका नेपालीले ‘हामीले यत्रो वर्ष बेलायत सरकारको सेवा ग¥यौं, अब हामी र हाम्रा सन्तानले यही बस्न पाउनुपर्छ’ भनेर आवाज उठाए । त्यो न्यायोचित पनि थियो । त्यसरी उनीहरू बस्न थाले । यो पुरानो संगठित श्रम आप्रवासनकै सिलसिलामा आएको नयाँ मोड थियो । यूरोप, अमेरिका र अस्ट्रेलिया जाने क्रम भने योभन्दा फरक हो । सन् १९८० दशकको अन्त्यतिरबाट नेपाली अस्ट्रेलिया जान थालेको पाइन्छ । यूरोप र अमेरिकामा त त्योभन्दा पहिलादेखि जाने गरेका थिए । त्यहाँ काम वा पढ्नका लागि गएका नेपाली उतै बस्न थालेपछि भने नेपाली डायस्पोरा पनि बिस्तारै सिर्जना हुन थाल्यो । सन् १९९० को दशकमा अमेरिकाले डाइभर्सिटी भिसा (डीभी) खुलाउन थालेपछि त उतै बस्ने गरेर जाने नेपाली झनै बढ्न थाले । अर्कातर्फ सन् १९९० को दशकमा यूरोपमा जनशक्तिको अभाव भएपछि नेपाल जस्ता विकासशील देशका मानिसलाई लैजान थाले । त्यसले पनि विदेश गएर उतै बस्ने प्रचलन शुरू हुन थाल्यो । त्यसरी नेपाली बस्न थालेपछि त्यहाँ बजारको आवश्यकता प¥यो । नेपाली खानाको रेस्टुरेन्ट खोल्ने अवसरको सिर्जना भयो । त्यसैले अरू मानिस पनि जान थाले ।      नेपाली डायस्पोरालाई सरसर्ती नियाल्दा निश्चित देशमा निश्चित ठाउँका मानिस गएको पाइन्छ । जस्तो– जापानमा बाग्लुङ, म्याग्दीका मानिस धेरै छन् । फिनल्यान्डमा गुल््मीका मानिस धेरै छन् । जापानमा पनि गुल््मीका धेरै मानिस रेस्टुरेन्टमा काम गर्छन् । यसरी नेपाली बाहिर जानुको पछाडि सामाजिक मनोविज्ञानले पनि काम गरेको छ । साधनस्रोतमा सानो, वैदेशिक सहायता र ऋणमा निर्भर र अर्थतन्त्र सानो भए पनि नेपाली समाजको आधुनिकताको आकांक्षा एकदमै बढी छ । यो आकांक्षाको सिर्जना विदेशगमनले नै भएको हो । खासगरी लाहुरेले आधुनिक जीवनशैली नेपालमा भित्र्र्याए । बनारस, कलकत्ता, अलाहबाद लगायत भारतका शहरमा पढ्न जाने युवाले पनि आधुनिकतालाई आफ्नो समाजसम्म फैलाए । सूचना–प्रविधि र यातायातको विकासले आधुनिकतातर्फको यात्रालाई गति दियो ।      शुरूमा आधुनिकताको आकांक्षा नेपाली हुनुमा थियो । अहिले त्यो आधुनिकताको आकांक्षामा परिवर्तन भएको छ । त्यो सम्पन्नताको पक्षसँग जोडिन्छ । त्यही आधुनिकताको आकांक्षाकै कारण नेपाली विदेश गइरहेका छन् । अहिले भइरहेको विदेशगमन यही आधुनिकताको आकांक्षासँग जोडिएको छ । त्यसैले आधुनिकता र विदेशगमनको एउटा चक्र निर्माण भएको छ । पछिल्लो समय उच्च शिक्षा अध्ययनका लागि भन्दै विदेश जाने क्रम बढेको छ । धेरै मानिस बाहिर गइरहेछन् । जसरी बत्तीको उज्यालोमा पुतली झुम्मिन्छन्, त्यसैगरी नेपाली युवा पनि विदेशको आकर्षणमा गइरहेछन् । सामाजिक विज्ञानको भाषामा त्यसलाई ‘ब्राइट लाइट सिन्ड्रोम’ भनिन्छ । तर, यसरी गएकामध्ये सबैले सुख नै पाएका छन् भन्न गाह्रो छ । दुःख पाउने पनि प्रशस्त छन् ।      अहिले त विदेश जाने प्रक्रिया नै जोखिमयुक्त छ । कोभिड–१९ महामारी सकिएपछि दिल्ली जाँदा मैले हवाईजहाजमा जापान जाने विद्यार्थीको हुल भेटेको थिएँ । उनीहरूलाई त्यहाँ गएर के गर्ने, कसो गर्ने भन्ने सामान्य जानकारी पनि गराइएको थिएन । हुन त मानिसले लडेर पनि सिक्छ, तर उनीहरूले कुन हदसम्मको हन्डर–ठक्कर खानुपर्ला भन्ने सोचेर म चिन्तित भएँ । अहिले बेलायतमा राम्रै व्यापार गरिरहेका एक जना व्यक्तिलाई चिन्छु म । उनी भन्थे, “दाइ, म सुँगुर र गाईको मासु बोक्ने चिसो कन्टेनरमा कठ्याङ्ग्रिंदै आएको हुँ । मलाई लाग्छ, त्यो कन्टेनरमा भएका सबै बाँचेनन् ।”      अमेरिका जान भनेर हिंडेको नेपाली युवा अफ्रिका वा क्यारेबियनका जङ्गलमा भेटिन्छ । यूरोप हिंडेको मानिस कन्टेनरमा भेटिन्छ । यसरी जोखिम उठाएर जाने मानिस को हुन् ? पक्कै पनि गरीबीको रेखामुनि परेको गरीब गइरहेका छैन । केही हदसम्म सूचना भएको, आफन्त वा चिनेजानेका मानिस अमेरिका–यूरोप–अस्ट्रेलिया भइरहेका मानिस गइरहेका छन् । देशमा सुरक्षित भविष्य नदेखेर विदेश गइरहेका छन् भन्ने गरिन्छ । मेरो मनमा प्रश्न उठ्छ, जो मानिस १०, १५ वा ५० लाख तिरेर अमेरिका जाने सोच बनाउँछन् उनीहरूले यहाँ के सुरक्षा देखेनन् ? उनीहरू जुन जोखिम भोगेर त्यहाँ गइरहेका छन्, त्यो र आफ्नो देशमा हुने जोखिममा फरक के छ ? आखिर मानिस के सोचेर बाहिर जान्छ ? त्यसबारे राम्रो ‘इथ्नोग्राफिक स्टडी’ हुनुपर्छ ।      त्यस्तै, एउटा कन्सल्टेन्सीले कति मानिस पठाउँछ ? तीमध्ये कति टिकेर बस्छन् ? कति दुःखको भुमरीमा पर्छन् ? यस्ता विषयमा ‘इम्पिरिकल’ अध्ययन हुन जरुरी छ । यति मानिस बाहिर गइरहेका छन्, यो देश खत्तम भयो भनेर हुँदैन । कति मानिस बाहिर गएका छन् भन्ने थाहा पाउनुपर्छ । अहिले खासगरी कक्षा १२ वा स्नातकसम्म नेपालमै पढेर बाहिर जाने संख्या बढिरहेको छ । त्यसरी बाहिर जानेले के पढ्छन् ? कस्ता कलेजमा पढ्छन् ? मलाई थाहा छैन । तर, स्वयंसिद्ध तथ्य हो । उनीहरूमध्ये अधिकांशले बाहिर गएर काम नै गर्ने हो । मुख्य उद्देश्य पैसा कमाउने नै हो । यहाँनेर अर्को प्रश्न उठ्छ– त्यसरी जाने युवा यहाँ निराश भएकाले गएका हुन् वा आकांक्षा बोकेर गएका हुन् ?      यी दुई फरक अवस्था हुन् । आकांक्षा बोकेर जाने मानिसको कोही न कोही ‘रोल मोडल’ हुन्छ, फलानो दाइ गए, फलानो काका गए आदि । उनीहरूलाई कुनै किसिमको बन्देज हुँदैन । निराश भएर जाने मानिसलाई त्यहाँ पनि जीवन सुखमय हुन्छ भन्नेमा मलाई दुविधा छ । यहाँको अवस्थाप्रति निराश भएर गएका हुन् भने त्यो निराशा चिर्न जरुरी छ । त्यो जिम्मेवारी सरकार र समाज दुवैको हो । अर्को प्रश्न पनि उठ्छ– नेपाली समाजको चाहनाको सीमा कति हो त ? एउटा मानिसले कमाउन सक्ने कति हो ? आर्थिक कोणबाट हेर्दा नेपाली अर्थतन्त्र बाँच्न पुग्नेसम्मको रहेछ । हामीसँग फुर्मास गर्ने अर्थतन्त्र छैन । तर, परदेशको पैसाले नेपालमा बजार विस्तार ग¥यो । फुर्मास गर्न सक्ने वर्गको विकास ग¥यो । त्यसको असर सामाजिक जीवनमा पनि प¥यो ।      हिजोसम्म गाउँ–समाजमा राम्रै मानिएका पेशा र पदमा बसेकाहरू पनि अब कमाउन नसक्नेमा पर्न थाले । जसले देशमै बसिरहनेहरूमा एक प्रकारको नैराश्य सिर्जना गरेको छ । यो कोणबाट हेर्दा अर्को प्रश्न उठ्छ, नेपाली समाजको स्थिरताको द्योतक के हो ? नेपाली समाज स्थिर छ भन्ने आधार के हो भने यो अस्थिर समाज नै हो । त्यसैले यहाँका मानिसको मन पनि अस्थिर छ । कहाँ गयो भने के हुन्छ भनेर खोजिरहेको देखिन्छ । यी सबै अनुभवका आधारमा गरिएको विश्लेषण हो । नेपाली समाजको मनोविज्ञान, यसको दशा र दिशा हेर्न एउटा विधा नै सिर्जना हुनुपर्छ ।      नेपाली डायस्पोरा विकास हुँदै जाँदा नेपाली समाजमा यसको राजनीतिक प्रभाव पनि परेको छ । यसले सङ्कुचित लोकरिझ्याइँ (कन्जरभेटिभ पपुलिज्म) बढाइरहेको छ । विदेशमा बस्दैमा मानिसमा खुला विचार निर्माण हुन्छ भन्ने होइन रहेछ । उतै बस्ने गरी जानेहरूमा आफ्नो देश, गाउँठाउँप्रतिको कामना बढी नै हुने रहेछ । अंग्रेजीमा त्यस्तोलाई ‘लंगिङ’ भनिन्छ । बसोबास उतातिर, मन यतातिर । एक प्रकारको दुविधामा बाँचिरहेको हुँदो रहेछ । भारतीय डायस्पोराको यही दुविधालाई व्याख्या गर्न अंग्रेजीमा एउटा वाक्यांश छ– ‘एबीसीडी (अमिरकन–बर्न कन्फ्युज्ड देसी)’ । त्यो दुविधा नेपाली डायस्पोरामा पनि छ । उसलाई गाउँको चौपारी पनि चाहिएको छ, अनि काठमाडौंमा खुला फूटपाथ पनि चाहिएको छ । बाहिर जाने मान्छेको स्मृतिमा आफूले छोडेको नेपाल हुँदो रहेछ । उसले नेपाली समाजले फड्को मारेको नदेख्दो रहेछ ।      यो दुविधा र सङ्कुचित विचार केही हदसम्म सम्पत्तिको मोहसँग पनि जोडिएको छ । विदेशमा बसेर उतैको नागरिकता लिए पनि यताको सम्पत्ति त्याग्न नसक्ने मोहका कारण उसको बसाइ नै अधकल्चो भएको छ । ऊ मर्दापर्दा नेपाल नै आउँछ । तर, भविष्य उता देख्छ । फेरि यताको सम्पत्ति त्याग्न सक्दैन । गत आमनिर्वाचनमा चितवनमा रवि लामिछानेप्रति जुन आकर्षण देखियो, त्यसमा पनि यही फ्याक्टरले भूमिका खेलेको छ । त्यहाँ अधिकांशका छोराछोरी बाहिर गएका छन् । उनीहरूलाई के लाग्यो भने मेरा सन्तान पनि कुनै दिन यसैगरी नेपाल फर्किनेछन् जसरी रवि लामिछाने फर्किए । रविमा उनीहरूले त्यो फर्किएको मानिस देखे । रविको नागरिकताको सङ्कटमा उनीहरूले पनि आफ्ना छोराछोरीका समस्या देखे । यी सबै कारणले नेपाली डायस्पोराले नेपाली समाजमा सङ्कीर्ण राष्ट्रवादलाई नै मलजल गरिरहेको छ । लक्ष्मण श्रेष्ठसँगको कुराकानीमा आधारित साभारः– हिमालखबर डटकमबाट  

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्