हुनत श्रदेय ज्ञानकाजी काकाको अवसान मानन्धर समुदायको मात्र नभएर सिंगो राष्ट्रकै ताराको अवसान हो । उहाँ बनेपा वाँरव्य टोलको सामान्य मानन्धर परिवारमा जन्मीएर एक वर्ष हुँदा नहुँदै आमाको मृत्यु भएकोले बुवा मोहनलाल खिं मानन्धरबाट लालन पालन भएको थियो । उहाँको बाल्यकाल अत्यन्त दुःखदायी एवं संघर्षपूर्ण रहेको थियो । यस्तै संघर्ष गर्दै उच्च शिक्षा हासिल गरेको भनि उहाँले हामीलाई बेला बेलामा सुनाउनु हुन्थ्यो । उहाँ एक राष्ट्रकै सफल शिक्षक, संस्कृतिका सफल अनुसंधानकर्ता, साहित्यकार, समाजसेवी हुनुहुन्थ्यो । म सानो हुँदै, हाम्रो वाँरव्य टोलको बाजा गाजा सिकाउन हुने उहाँको बुबा श्रद्धय गुरू मोहन लाल खिं कोमा बाजा गाजा सिक्न जाने क्रममा उहाँले मलाई माया गरेर ’ भन्नु हुन्थ्यो ः बाजा सिक्नुको अतिरिक्त पढाइमा पनि त्यत्तिकै ध्यान दिनु अति जरुरि छ । म उहाँको घरमा आउने जाने गरिरहन्थे । साथ साथै उहाँको छोरी कल्पना संगै पढ्ने साथी हुनु र भुवन दाईले हामीलाई साइन्स र गणित विषयमा सहयोग गरिरहने भएकोले ज्ञानकाजी काका संग नजिकिएर बस्ने मौका पाएको थिएँ । ज्ञानकाजी काका स्वयंमले मलाई निशुल्क अंग्रेजी विषयमा ट्युसन पढाउनु हुन्थ्यो । उहाँले हरेक समयमा मानन्धरहरूको चेतना अभिवृद्धिको लागि शिक्षामा नै पहिलो प्राथमिकता दिनुपर्छ भनि चैतन्य स्कुलको स्थापना गर्नुभयो । उहाँ स्वयं एक सफल शिक्षक हुनु भएकोले प्रत्येक मानन्धरहरुलाई शिक्षित बनाउनु हरपल लाग्नु भयो । त्यहि स्कुलमा, पछि चैतन्य क्याम्पस ’उहाँकै सक्रियतामा संचालन भयो । मलाई लाग्छ, बनेपाका मानन्धर समुदायको शिक्षाको स्तर वृद्धि हुनु, उहाँकै उत्प्रेरणाले हो । जस्तो लाग्दैन कहिले काँही बनेपाका मानन्धरहरुलाई सामाजिक, राजनैतिक र भौतिक रूपमा दमन गरिएका घटनाहरू नभएका पनि होइन, पाउनुपर्ने अवसरहरू गुमाउनु नपरेको पनि थिएन, त्यस्तो बेलामा बौद्धिक रूपमा प्रतिकार गर्ने व्यक्तित्व हुनु हुने गथ्र्यो एकमात्र ज्ञानकाजी मानन्धर उहाँले हरेक समयमा सुन्ने गर्नु भएको हुन्थ्यो कि – यो हुनुमा हामीमा भएको अशिक्षा र एकताको कमीले हो“ । त्यसैले २०४२ सालमा उहाँको सक्रियतामा केन्द्रिय मानन्धर संघ, काठमाण्डौको समन्वयमा राष्ट्रिय मानन्धर सांस्कृतिक भेला“ को आयोजना गरेर बनेपाका मानन्धरहरूलाई चिनाउन सफल हुनुभयो । त्यस भेलाबाट राष्ट्रमा रहेका मानन्धरहरुलाई एउटै थलोमा राखी कतिपय सामाजिक कुरितीहरुलाई हटाउने महत्वपूर्ण निर्णयहरू पनि भएका थिए । त्यो भेला बनेपा मानन्धरहरूको ऐतिहासिक दिन थियो । ज्ञानकाजी काकाले हामीलाई संधै भन्ने गर्नु हुन्थ्यो हामी मानन्धरहरू १००० बनेपामा ३०० (३३%) रहेका छौं, तापनि हामीले बनेपामा अहिले सम्म केही गर्न सकेका छैनौं । सायद आगामी दिनहरूमा पकै पनि केहि गर्न सक्ने छौं । उहाँको इच्छालाई पुरा गर्ने छौं । उहाँ विभिन्न विधाहरूमा दखल राख्नुको अतिरिक्त समाज सेवामा पनि त्यतिकै रुची राख्नु हुन्थ्यो । जस्तै बनेपा मानन्धर समुदायको एउटै मात्र ३०० सय मानन्धरहरूको गुठी जापाली गुठीको भवन निर्माणमा उहाँको योगदान अतुल्य रह्यो, सबै संग चन्दा लिएर मेहनतका साथ सुरुका दिनहरूरमा उहाँ लागि परेकाले जापाली अहिलेको अवस्थामा आउन सहज वातावरण बन्यो । साथ साथै बनेपा महायान समाज गुम्बा निर्माण गर्न उहाँको सकृय सहभागिता रह्यो उहाँकै अभियानबाट उत्प्रेरित भई सो समाजको सुरुवाती गुम्बाको म आफै नक्सा बनाई सहयोग गर्ने मलाई अवसर मलाई प्राप्त भएको थियो । साथै टुकम्पो मन्दिर तथा पाटीको जिर्णोद्धार गर्ने कार्यमा पनि उहाँ आफै सल्लाहकारको रूपमा रहि आर्थिक सहयोग जुटाउने कार्यमा उहाँको ठूलो योगदान रहेको थियो । उहाँको शिक्षा सेवा प्रतिको लगावले श्रद्धय भन्ते महाप्रज्ञालोकको संस्थापक अध्यक्षतामा उहाँ शायकाजी मानन्धर सहितको संस्थापकत्वमा २०६२ सालमा “करुणामय मानव विकास संघ” बनेपाको स्थापना गरि हाल काभ्रे जिल्ला र भक्तपुर जिल्लाका ८१ जना गरिब तथा टुहुरा बालबालिकाहरुलाई छात्रवृत्ति प्रदान गर्दै आएका छौं । सो छात्रवृत्ति प्रदान गर्ने प्रत्येक वर्ष निरन्तररूपमा उहाँ एवं उहाँका परिवार सदस्यहरुबाट आर्थिक सहयोग भइरहेको छ । तसर्थ उहाँ बहुआयामिक प्रतिभाका धनी, दानचित्त भएका ज्ञानकाजी मानन्धर, विभिन्न संघ संस्थाबाट सम्मानित व्यक्तित्व आज यस संसारबाट बिलिन भएर जानुभयो । आज बनेपा एवं सम्पूर्ण नेपाल राष्ट्रलाई नै अपुरणिय क्षती भएको छ । हार्दिक श्रद्धाञ्जली ज्ञानकाजी काका ।
