ज्ञानकाजी मानन्धर सरको २०८० भाद्र ८ गते निधन भयो । मानिसको जन्म सँगै मृत्यु पनि अवश्यम्भावी छ । कर्मविना मानव जिवन जिउनु के अर्थ छ र ? मानिस जन्मेर आफू र आफ्नाको लागि मात्र हैन समाज हितको कल्याणको लागि आफ्नो उर्जाशिल समय बेतित गर्छ भने उ समाजको लागि बाँचेको हुन्छ । मरेर गएपनि अटल र अमर रहन्छ । शिक्षाको ज्योति फैल्याउन अहम भूमिका खेल्नु भएका सबैका आदरणीय व्यक्तित्व शिक्षा सेवी ज्ञानकाजी मानन्धरको ८९ वर्षको उमेरमा निधन भयो । उहाँको निधनले समाजमा अपुरणीय क्षति पुगेको छ । २०५६ माघ देखि काभे्रटाईम्समा कर्म शुरु गरेको समयबाट मैले ज्ञानकाजी सरलाई चिनेको हो । बेलाबेलमा पत्रिकामा लेख रचना प्रकाशित भएपछि मैले पनि उहाँलाई नजिकबाट चिन्ने मौका पाएँ । सञ्चार माध्यममा काम गरेर जसपाउन कठीन छ है रमेश जी भन्ने जिज्ञासा राख्नुहुन्थ्यो । हो सर यहाँले भने जस्तै कठीन नै छ भन्थें । उहाँले भन्नुहुन्थ्यो कठीनलाई सजिलो र सहज बनाउन निरन्तर लाग्नुपर्छ असम्भव छैन भन्नुहुन्थ्यो । समाजमा निम्न वर्ग, गरीब, असाहयलाई हेलाको दृष्टीले हेर्ने, आप्mनो निहित स्वार्थको लागि जे पनि गर्ने, असल कर्म गर्नेलाई समेत बेवास्ता गर्ने, शब्दजाल बुन्ने, उरुलाई लखेट्ने, कर्मको अपमुल्यन गर्नेहरु समाजमा बग्रेल्ती भेटिन्छन् । तर ज्ञानकाजी सर गुण र दोसको आधारमा निडरताका साथ राम्रोलाई राम्रो नराम्रोलाई नराम्रो भन्ने आँट भएका योद्धा हुनुहुन्थ्यो । राम्रो कर्म गर्ने जोकोहीलाई प्रोत्साहित गर्ने उर्जावान बन्न हौसला प्रदान गर्ने स्वभावको व्यक्तित्व ज्ञानकाजी सर त्यसैले नै उहाँ सबैको आदरणीय गुरुको रुपमा चित्रित हुनुभएको हो । नेवारी, नेपाली र अंगे्रजी विषयको समेत विज्ञ हो भन्ने कुरा उहाँले प्रकाशित गरेका कृतिबाट समेत प्रष्ट हुन्छ । कुमारी (पूर्णङ्क नाटक), कपिलबस्तु भगवान, अरनिको स्वेत चैत्य, खड्क जोगीनी, मानन्धर तयागु विषय छुंखँ (च्वसुमुुना), छगु पच्चाताप, झीगु आख्यान ःझीगु त्याखं, बनेपा सातगाउँ बनेपा –स्तवन, बनेपा आख्यान अरनिको स्वेत चैत्य र चण्डेश्वरी र प्राचिन भजन गितहरु गरी १४ वटा पुस्तक प्रकाशित व्यक्तिको रुपमा आफूलाई चित्रित गर्नुभएको छ । ४० दशक लामो शिक्षण सेवापछि पनि नेपाली भाषा, नेवारी साहित्य प्रति थप गहन अध्ययन गरेर आफूलाई समाज प्रति थप उक्तरदायि बनेर सन्देशको जागरण ल्याउनुभयो । २०१८ सालमा चैतन्य मावि निर्माण गर्दा श्रीमती सुखखेती मानन्धरको कानको सुन बेचेर शैक्षिक संस्था निर्माण गरेको बनेपाको बौद्धिक वर्गको भनाई छ । कोहि कसैलाई भनि नबिझाउने बालबालिका, युवा, जेष्ठ नागरिक सबैको सहयोगी अभिभावकको रुपमा आफूलाई दरिलोरुपमा उभ्याउनु भएको थियो । उहाँ असल शिक्षक, मात्र नभई गरिब निमुख, असाहयहरुलाई आफूले सकेको सहयोग गरेर अभिभावकाको समेत भूमिका निर्वाह गर्ने समाजका एक असल ताराको रुपमा रहनुभएको छ । उहाँ हामी बीच त हुनुहुन्न तर उहाँको कृतिले सधै अमर हुनुहुन्छ । उहाँको तीन छोरा भुवन, प्रकाश र विकास मानन्धर हुनुहुन्छ । प्रकाश र विकास असल व्यापारीको रुपमा परिचित हुनुहुन्छ । उहाँ दुवैलाई २०५६ देखि मेरो चिना परिचय भएको हो ।
