‘अले डा. साब ।’ (अनि डा. साब) ज्ञानकाजीसरसँगको प्रत्येक पटकको फोनवार्तामा उहाँले भन्ने पहिलो वाक्य यही हुन्थ्यो । म – ‘दक्कों ठिक जुला सर ?’ (सबै ठिक छ सर ?) ‘जु, छें झासं या न्हे । (छु, घरमा आउनुस् न है ।) ‘गो छक हे मझाल थाना ?’ (खोई आउनै छोड्नु भयो यहाँ ?) म – ‘वय् सर भतिचा मलङ च्वना ।’ (आउँछु सर अलि नभ्याएर ।) ‘डा. साब तसकं ईक्कुला । डा. साब पुलि छग स्याता । डा. साब वा छप्पु स्यङ छुं हे नय् मजिल ।’ (डा. साब रिंगटा लाग्यो । डा. साब घुँडा दुख्यो । डा. साब दाँत एउटा दुखेर केही खान भएन ।) पछिल्लो केही वर्ष देखि ज्ञानकाजीसरसँग अक्सर फोनवार्तामा हुने कुराकानी यिनै हुन् । अघिल्लो जाडोयामबाट ज्ञानकाजीसरलाई मिर्गौलाको समस्याले थप गाँज्न थालेपछि फोनवार्ता थप बाक्लिन थाल्यो । अघिल्लो साल उहाँलाई अनायास श्वासप्रश्वासमा निकै समस्या आयो । अस्पतालमा जान मान्नु भएकै थिएन । परिवारजनबाट यो कुरा थाहापाएपछि सरलाई सकसपूर्ण अवस्थामै फोनमै कुरा गरी अस्पताल जानैपर्ने महत्व बुझाई मनाउन सफल भएँ । त्यसैबेला त हो नी सरलाई नियमित डायलाइसिस गराउनुपर्ने अवस्था आई लागेको । अब जाउँ विगततिर । मैले ईन्द्रेश्वर मा वि पनौतीबाट एसएलसी दिनु अघिल्लो सालसम्म वनेपा आजाद माविमा सेन्टर पथ्र्यो । २०४४ सालमा पहिलोपटक ईन्द्रेश्वर माविमा एसएलसी परीक्षा केन्द्रमा पाएको कारण परीक्षा अनपेक्षित रुपमा निकै कडा हुन गएको कारण मेरा धेरै समकक्षीहरुले फेल हुन पुगे । यस अघिसम्म अर्थात् प्रायसः मेरा अग्रजहरु ज्ञानकाजीसरसँग अंग्रेजी पढ्न आउनु हुँदो रहेछ । विगतमा उहाँसँग ट्युसन पढ्ने सौभाग्य मैले पाइनँ । तर उहाँका निकट मित्रहरु ईन्द्रेश्वर माविका तत्कालीन प्रधानाध्यापक हरिसुन्दर सैंजू र उहाँकी धर्मपत्नी कमला सैंजूबाट अंग्रेजी दिक्षा पाएको थिएँ । तर कालान्तरमा ज्ञानकाजीसरसँग संस्कृति र साहित्यका कारण जोडिने सौभाग्य पाएँ भने पछिल्लो समय त मेरो विषयगत कारण पारिवारिक सम्बन्ध विकसित हुनपुग्यो । २०६६ सालबाट भने ज्ञानकाजीसरको सम्बन्ध शुरु भएको थियो, जुन मृत्युपर्यन्त जारी रह्यो । २०६६ मकरमेलाको छेको पारेर मेरो पुस्तक ‘पनौतीका चाडपर्वहरु र मकरमेला’ प्रकाशनमा ल्याउने क्रममा उहाँकै सहयोगमा शताब्दी पुरुष सत्यमोहन जोशी मार्पmत् भूमिका लेखाउन पाएँ । उहाँ आपैंmले पनि दुई शब्द लेखिदिनु भयो । उक्त पुस्तक विमोचनमा सत्यमोहन जोशीसँगै उहाँ पनि पनौती आउनु भयो । सन् २०१६ मा नेवारी परिकार सम्बन्धी पुस्तक ‘नेवा नसा’ प्रकाशनमा ल्याउने क्रममा पनि उहाँकै मद्धतमा सत्यमोहन जोशीबाट भूमिका लेखाउन पाएँ । यस बीच ज्ञानकाजीसरको संस्कृति एवं नाटक क्षेत्रमा दखलता, दक्षता नजिकबाट नियाल्न पाएँ । उहाँले नेपाल आख्यान र नाटक,नेपाल भाषामा कुमारी (रुसी भाषामा अनुवादित हुन पनि सफल), खड्गजोगिनी, कपिलवस्तुस भगवान, अरनिकोया श्वेत चैत्य (नेपाली भाषामा पनि) गरि पाँचवटा नाटक लेख्नु भएको छ । नाटक लेखन मात्र होइन आफ्नै खर्चमा नाटक मञ्चन पनि गराउनु हुन्थ्यो । यस क्रममा कपिलवस्तुस भगवान र कुमारी चण्डेश्वरी नाटक मञ्चन निकै प्रख्यात पनि भयो । उहाँले लेख्नुभएको ‘अरनिकोया श्वेत चैत्य’ विषयक नाटक सम्बन्धी पुस्तक विमोचन किर्तीपुर स्थित नेपाल भाषा अकादमीमा हुँदा सहभागी हुन पाएको थिएँ । यसैगरी ‘मानन्धरतय्गु छं खँ’ नामक पुस्तक लोकार्पण हुँदा पनि सहभागिता जनाएको थिएँ । उहाँसँग सम्बन्धको सिलसिलामा पनौतीको संस्कृतिको हिसाबले निकै सम्झिन लायक पनौतीमा कुमारी प्रथा ब्युँताउन पाउनु मैले अप्रत्यक्ष सहयोग पु¥याउन पाउनु पनि हो । २०७१ को मंसीरताका नियमित भेटघाटको क्रममा म ज्ञानकाजीसरसँग संस्कृतिकै विषयमा भलाकुसारी गर्दै थिएँ । एक्कासी ज्ञानकाजीसरको मोबाइलमा घण्टी बज्यो । फोन वार्ता हुँदाहुँदै ‘एकछिनमा जवाफ दिन्छु है’ भनेर फोन होल्डमै राखेर मलाई सोध्नुभयो ‘डा. साब, पनौतीमा कुमारी छ कि छैन ?’ मैले निर्धक्क ‘छ’ भनें । ज्ञानकाजीसरले ‘छैन भन्यो त?’ भन्नुभयो । मैले पनौतीका फलानो फलानो व्यक्तिलाई भेटेर बुभ्mनका लागि भनें । खासमा त्यो दिन भएको के रहेछ भने काठमाण्डौ ह्युमत मिसा पुचः का पदाधिकारीहरु पनौतीमा कुमारी छ, छैन भन्ने बुभ्mन एक राउण्ड खोजी सकेको रहेछ । केही सीप नलागेर ज्ञानकाजीसरलाई फोन गर्नुभएको रहेछ । संयोगले म त्यही बखत ज्ञानकाजीसरको घरमा थिएँ । मेरो जानकारीमा भए अनुसार सुवाल वा घुल्लु थरकी रजस्वला शुरु भैनसकेकी कन्यालाई कुमारी मानिन्छ । दसैं अवधिभर र टिकाको दिन कुमारीलाई भात ख्वाउने भनि मूलकोट र तलेजु दुवै स्थानबाट विद्यमान कुमारीलाई भात ख्वाउने गरिन्छ । वर्सेनी दसैंको टिकाको दिन बेलुकी पनौती महालक्ष्मी स्थाननजिकैको मूलकोटमा देवता र दानवबीचको प्रतीकात्मक युद्ध स्वरुप कुभिण्डो हानाहान गरिन्छ । टिकाको दिन मूलकोटबाट गई कुमारीलाई भात ख्वाएर नआइन्जेलसम्म प्रतीकात्मक युद्ध (कुभिण्डो हानाहान) गरिँदैन । ‘पनौतीमा मनाइने दसैं परम्परा’ लेख लेख्ने क्रममा ५० को दशकमै मैले कुमारी प्रथासँग निकट सम्बन्ध भएका दिलबहादुर कर्माचार्य र नारायणदास सुवालबाट यो जानकारी पाइसकेको थिएँ । त्यसो भएर पनि मैले ज्ञानकाजीसरलाई निर्धक्क तवरमा पनौतीमा कुमारी प्रथा रहेको भन्न सकेको थिएँ । ज्ञानकाजीसरसँको नियमित भेटघाटमा केही महिनाअघिसम्म ‘केही लेख्न चाहन्छु, हात काम्न थालेको छ, आँखाले पनि धोका दिन थाल्यो’ भन्नुहुन्थ्यो । ठिकै छ नि सर, यतिका लेखि सक्नुभयो, भैहाल्यो नि’ भनेर चित्त बुझाउन प्रयास गर्थें । उहाँसँगको संस्कृति वार्ताको कडी जारी नै रह्यो । यसै सिलसिलामा २०७८ मकरमेलाको छेको पारेर मैले प्रकाशित गरेको अंग्रेजी पुस्तक ‘पनौतीः अ माइथोलोजिकल स्केच’ मा भूमिका लेखिदिनु भयो । ज्ञानकाजीसरकै सहयोगमा सत्यमोहन जोशीसँग सम्बन्ध स्थापित भएको र निकै पटक भेटघाटको मौका पनि पाएको थिएँ । पोहोर शताब्दी पुरुष सत्यमोहन जोशीको महाप्रस्थानका बेला सँगै दुःख मनाउ पनि गर्यौं । उहाँको अवसानको एक वर्ष पनि नबित्दै ज्ञानकाजीसरलाई गुमाउनु प¥यो । सँधैभरि ढुकुरको जोडाजोडी जस्तो भएर बस्नुहुने ज्ञानकाजीसरको दम्पत्ति, अब ज्ञानकाजीसरको अवसान पछि उहाँकी धर्मपत्नी सुखवेती मानन्धर एक्लिन पुगेको छ । ज्ञानकाजीसरको अवसानसँगै काभ्रेको मात्र नभई नेपाली संस्कृति क्षेत्रमा नै अपूरणीय क्षति हुन पुगेको छ । ज्ञानकाजीसरप्रति असीम श्रद्धा प्रकट गर्दै शोकसंतप्त परिवार प्रति समवेदना प्रकट गर्न चाहन्छु । उहाँको भौतिक अवसान भएपनि उहाँको स्मृति चीरकालसम्म रहनेगरि केही ठोस कार्य गर्नुपर्ने जिम्मेवारी हामीमा छ ।
