‘जीवनमा दुईवटा दिन सबैभन्दा महत्वपूर्ण हुन्छन्, तिमी जन्मेको दिन र तिमी के का लागि जन्मिएको हो भनेर तिमी आपैंmले पत्ता लगाएको दिन ।’ विद्वान विलियम बार्कलेको यो भनाईलाई आफ्नो जीवनलाई सार्थकता मात्र दिनु भएन टोल, समाज, देशको लागि अतुलनिय योगदान गर्दै अमित छाप छोडेर २०८० भाद्र ८ गते आफ्नो देहत्याग गर्नु भयो । आदरणिय श्रद्घेय गुरु ज्ञानकाजी मानन्धर जसले अंग्रेजीमा आफ्नो नाम व्जबल प्बवष् ःबलबलमजबच लेख्ने गर्नुहुन्थ्यो । उहाँ मेरो पनि बिषयगत रुपमा अंग्रेजी विषयको गुरु हुनुहुन्थ्थो । आजाद हाईस्कुल पढ्दा स्कुलको मात्र होईन केही महिना उहाँको घरमै गएर ट्युसन पढ्दाको ट्युसन गुरु पनि हुनुहुन्थ्यो । केही वर्ष आफ्नै घरमा अंग्रेजी विषयमा ट्युसन पढाउनेमा तल्लिन हुनुभयो उहाँ । बिहानबेलुकी पाँचखाल, पनौती, धुलिखेल, नाला लगायत टाढाटाढाबाट समेत ट्युसन पढ्न आँउथे, विद्यार्थीहरु उहाँको घरमा । सरल र सहज रुपमा बुझाउने प्रयास गर्नुहुन्थ्यो आफ्ना विद्यार्थिहरुलाई, अझ ट्युसन पढ्न आउनेहरुलाई त चिया मात्र होईन,कहिलेकाहीँ खाजा, नास्ता पनि खान दिएर माया गर्नुहुन्थ्यो । ट्युसन पढेको पुरानो घरको कोठा र सो कोठाको दृश्यहरु अहिले पनि झझल्को आउँछ मेरो मानसपटलमा । एकदिन अंग्रेजीमा एउटा निबन्ध लेखेर ल्याउने कार्य दिनुभयो उहाँले मलाई । मेहेनतका साथ लेखेर देखाएँ । राम्रो छ, अझ मेहेनत गर्नुपर्छ भन्नु हुँदै केही सच्याएर दिनु भयो । फेरि दोहोरो लेखेर बुझाएँ । यसपटक पनि पहिले भन्दा कम तर केही सच्याएर दिनुभयो । मन अलि खिन्न भयो फेरि सच्याउनु भएकोमा । साथीहरुसँग सल्लाह गरेर सच्याउनु भएकै मिलाएर जस्तोको तस्तै फेरि बुझाएँ, यसमा पनि २–३ शब्दहरु सच्याएर, धेरै राम्रो गरेर ल्यायो भन्नु हुँदै दिनुभयो । यसबाट के बुझें भने विद्यार्थीहरुलाई एकै पटक हतोत्साही र निरास पार्नु हुँदैन, राम्रोलाई क्रमशः अझ राम्रो र उत्कृष्ट हुन प्रोत्साहित गर्दै लानुपर्दछ । २०१७ सालमा आफ्नो उच्च शिक्षा बी.ए. सम्मको अध्ययन पूरा गरी वनेपा फर्केर धेरै चिन्तन मनन गर्दै शिक्षा नै विकासको आधार रहेछ भन्ने निचोडमा पुगेर ‘कालो अक्षर भैंसी बराबर’ भन्ने उखानबाट माथि टोल इनाबहाल, प्राचीन नगर बनेपाको आठ गणेशमध्ये एक महत्वपूर्ण तुकंप्व गणेश मन्दिर समीप, परिसरमा रहेको एउटा पाटीमा केही बालबालिकाहरुलाई शिक्षण सिकाईको शुरुवात गर्नु भयो आफ्नो अगुवाईमा । सबैको साथ सहयोग लिँदै चैतन्य राष्ट्रिय प्राईमरी विद्यालय नामाकरण गर्दै, स्विकृति लिदंै, भूर्इं तल्लामा ३ कोठा र माथिल्लो तल्लामा ३ कोठाको ६ कोठे २ तल्ले जस्ताको छाना भएका भवन बनाउन सफल हुनुभयो । जुन हालको विद्यालय भवनकै आकारमा पूर्व मोहडाको थियो । उहाँको पहलमा यसरी स्थापित यसै विद्यालयमा मेरो औपचारिक प्रारम्भिक शिक्षा शुभारम्भ भएको थियो । यस विद्यालयमा वि.सं. २०२३ देखि २०२६ सम्म १ देखि ५ कक्षा सम्म अध्ययन गरें । तत्पश्चात् उहाँले नै अध्यापन गर्दै गरेको तत्कालीन आजाद हाईस्कुलमा २०२७ देखि २०३१ सम्म अध्ययन गरें र उहाँ मेरो अंग्रेजी विषयको गुरु हुनुभयो । चाहे प्राध्यापन गरेर होस् वा विभिन्न शिक्षण संस्थाहरुमा संस्थापक तथा संचालकमा रहेर होस्, शिक्षा क्षेत्रको विकासलाई समेट्दै,साधनामा डुबुल्की मार्दै, संस्कृतिलाई गहिरिएर खोतल्दै, आफ्नो नामलाई सार्थकता दिएर जानलाई अभिवृद्धि गर्दै, साहित्य, कला, भाषा लगायतका विधाको लेखन कार्यलाई तिव्रता दिँदै विकास, विस्तार र कतिपय लुप्त रहेको महत्वपूर्ण, ऐतिहासिक, धार्मिक, सामाजिक लगायतका विषयवस्तुहरुको उजागर गर्दै तपाईं हामी र स्वदेशमा मात्र नभई विदेशमा समेत पस्कने र पहिचान दिने कार्य आफ्नो विभिन्न लेख,रचना र आफ्नो नेपाल भाषा,नेपाली भाषा र अंग्रेजी भाषाका गरी करिब १४ वटा प्रकाशित पुस्तक मार्फत गर्नु भएको छ । उहाँको यस प्रकारको अतुलनीय योगदानलाई सरकार, समाज, संस्था, व्यक्ति सबैले सदा निरन्तर रुपमा उच्च कदर गर्दै जानुपर्दछ । जसले गर्दा अरु श्रष्टाहरुको जन्म होस्, भएका श्रष्टाहरुलाई प्रेरणा र हौसला मिलोस् । गुरु ज्ञानकाजी मानन्धरका केही स्मरणीय भनाईहरु ः १) ‘काम गर्दा समस्याहरु आउँछन् जान्छन् तर हामीमा धैर्यता हुनुपर्दछ ।’ –२०७१ श्रावणमा प्रकाशित पलिष्था मासिकबाट २) ‘पुस्तक लेख्दा ज्ञान र भाव आवश्यक हुन्छ । त्यो नै मूख्य आधार हो । भाषा भनेको माध्यम मात्र हो ।’ – २०७० श्रावण, भाद्र, असोज अङ्कमा प्रकाशित अक्षरमार्ग पत्रिकाको बर्ष २ अङ्क १ पूर्णाङ्क ५ बाट । हार्दिक श्रद्धासुमन ।
