मेरो घर र ज्ञानकाजी सरको पुरानो घरको दूरी त्यति टाढा छैन । १ मिनेट नै लाग्दैन हामी एक–अर्कामा पुग्न । मेरो घर असंफः नेर छ त उहाँको घर वांख्योतिर हो । आजादमा पढ्दा उहाँ मेरा गुरु । अंग्रेजी पढाउनु हुन्थ्यो उहाँ मलाई । २०२१ साल देखि २०२३ साल सम्म नै उहाँले मलाई अंग्रेजी पढाउनु भयो । उहाँ कहाँ केहीक्षण ट्यूसन पढ्न गएको पनियाद छ । अंग्रेजीका दक्ष शिक्षक ज्ञानकाजीसरले मलाई निकै माया गर्नुहुन्छ । देवेन्द्र दाई र कृष्ण दाईका उहाँ मित्र भएकै कारणले घरमा आउजाऊ गरिरहनु हुन्थ्यो । उहाँका बुबा मोहनलाल खिँ पनि बुबाका साथी भएकोले पसलमा बा सँग संसर्ग गर्न पुगिरहनु हुन्थ्यो । पारिवारिक यस्तै सम्पर्कले गर्दा कक्षा कोठामा उहाँ शिक्षक भई पुग्नु हुँदा – “दुवाल आज कुन शिर्षकको पाठ पढ्ने हो ?” सोध्नु हुन्थ्यो । ‘लुसि ग्रे’ र ‘सोल्टिरिपर’ लय हालेर पढाउनु हुन्थ्यो । बनेपाका लागि उहाँ अंग्रेजी शिक्षक मात्र नभई त्यस ताकाका विद्वान व्यक्तिका रुपमा चिनिनु हुन्थ्यो । मानन्धर परिवारमा उहाँको परिवार उच्च परिवारका रुपमा विख्यात थियो । उहाँका बुबा तान्त्रिक÷धार्मिक गुरु, ज्योतिष, भजन गायक तथा नाट्यकर्मी रहेकोले जेठो दाई पनि भजन, बाजा गाजामा प्रसिद्धि कमाएका व्यक्तित्व हुनुहुन्थ्यो । सानै छँदा देखि देख्दै आएको हुनाले ज्ञानकाजी सर आफ्नै जस्तो लाग्थ्यो । म सानै छँदा देखि कविता लेख्थेँ; उहाँ तारिफ गरेर ‘कविज्यू’ आउनु भयो भन्नु हुन्थ्यो । व्यङ्ग्य गरेर भन्नु भएको हो कि मन देखि भन्नु भएको हो म बुझ्दिनँ । तर म गौरव गर्थेँ सरको मुखबाट ‘कवि’ भनी सम्बोधन गरेको सुन्दा । मलाई सम्झना छ कहिले काहीँ बुबासँग पसलमा कुराकानी गर्दै रहनु भएको । बुबा पनि अंग्रेजीमा ज्ञान राख्नु हुन्थ्यो; अझ बुबा गीता अंग्रेजीमा पढ्ने गर्नु हुन्थ्यो । अंग्रेजीका शिक्षक भएको नाताले बुबाले आफूलाई नआएको गीताका हरफहरुको अर्थ उहाँ सँग सोध्नु हुन्थ्यो । कहिले काहीँ उहाँले पनि अथ्र्याउन नसक्दा बुबा सँग सल्लाह गरेर गीताका हरफहरुको अर्थ खोज्ने गर्नु हुन्छ । यसै गरी बुबाको पसलमा ज्ञानकाजी सरका बुबा पनि ज्ञान–चेतना साटासाट गर्न आइ रहनु हुन्थ्यो । दुवै जना सत्–निष्ठावान व्यक्तित्व भएकै कारणले आ–आफ्ना सत्–ज्ञानहरु एक–अर्कामा सुनाउन पाउँदा गौरव गर्नु हुन्थ्यो । कृष्ण प्रसाद दुवाल सँग सँगै पनि ज्ञानकाजी सर सामाजिक यात्रामा, शिक्षण सेवामा र साहित्यिक सिर्जना र अभियानमा हिंडी रहनु हुन्थ्यो । प्रौढ शिक्षा निकेतन, चिराक प्रकाशन लगायतका सिर्जनात्मक अभियानमा र प्रजातान्त्रिक आन्दोलनको बखतमा दुई जना एक जस्तो भएर कुदि रहनु भएको म देखि रहन्थेँ । २०१८ सालको राजनैतिक काण्डमा यिनीहरु दुवै जना अराष्ट्रिय तत्वका रुपमा सजाय पाएका मित्रहरु पनि हुन् । देवेन्द्र दाई चैतन्य स्कुलमा प्रध्यानाध्यापक हुँदा ज्ञानकाजी सर संरक्षक जस्तो हुनुहुन्थ्यो; त्यसैले देवेन्द्र दाई त्यस घरमा पुगि रहन ुहुन्थ्यो । त्यस घरका अंशियारहरुमा बुद्धकाजी मानन्धर, मदन मानन्धर सँग पनि मेरो सम्पर्क आत्मीय रहेको बिर्सन गा¥हो छ । भाउजूसँग पनि कुरा मिल्ने, सबै कुरा सम्झिरहन सक्ने भएकोले कुरा गर्दा आत्मीयवोध हुने खालको छ । मेरा गुरु ज्ञानकाजी सरकै पथमार्गी बनेपछि उहाँ मेरा लागि प्रिय–मित्र जस्तै हुनुभयो । उहाँ सँग सँगै हिँड्न पाउँदा, घरमा पुगेर कुराकानी गर्न पाउँदा गौरव गर्थेँ । यस्तै–यस्तै कारणहरुले हामीहरु एक अर्कामा नजिक पर्दै गयौं । सत्य खोज्ने, अँध्यारो परिवेश मेट्ने, आफू सक्दो समाजमा केही गरेर जाने चेतनाले हामी गुरु–चेला भएर पनि समकालीन मित्र जस्तै भएर सत् चेतनाका यात्राहरु सँग सँगै ग¥र्यौं । प्रतिभा सम्मान प्रवन्ध गुठी संस्थापन गर्ने अभियानमा हामी सँगसँगै रमायौं । यो गुठी मध्यपूर्वकै लागि एउटा स्मरण गर्न लायकको गुठी बन्यो । हामीले रहर ग¥र्यौं बनेपामा शिक्षण सेवा पु¥याएर, राजनीति गरेर, समाजसेवामा त्याग देखाएर, साहित्य लेखनमा उत्कृष्ट बनेर र कुनै पनि क्षेत्रमा उदाहरणीय काम गर्नेहरुलाई सम्मान गर्नुपर्छ, सम्मानित गर्ने परम्परा सुरु गर्नुपर्छ । यही परम्परा सुरु गर्ने अभियानमा हामी लाथ्यौं । रामभक्त कोख श्रेष्ठ अध्यक्ष रहेर, म आफू सचिव भएर, ज्ञानकाजी मानन्धर कोषाध्यक्षमा सक्रिय बनेर र यसै गरी आशाकाजी सेवक, कान्छाभाई वैद्य, दीपक सरकार, योगेन्द्र कर्माचार्य, इश्वर भक्त वादे, हरि भक्त भोछिभोयाहरुले समेत अभिभारा बोकेर हामीले संस्थापन ग¥यौं – प्रतिभा सम्मान प्रवन्ध गुठी । यस गुठीको संस्थापन पछि काभ्रे लगायत, सिन्धुपाल्चोक, सिन्धुली, दोलखा, रामेछापमा पनि यस्तै संस्थानहरुको संस्थापन भयो र सम्मान गर्ने परम्परा सुरु भएको देखिन्छ । यस गुठीले ज्ञानकाजी र मेरो बीचमा निकै सामिप्यता ल्याइदियो । र सामाजिक भावनामा हामी बीचमा एक हुने चेतनाको वृद्धि हुँदै गयो । काभ्रे बहुमुखी क्याम्पसले हाम्रो मित्रतामा अर्को मजबूत ईंटा थपि दियो । क्याम्पस संस्थापन गर्ने अभियानमा हामीहरु सक्रिय छँदा ज्ञानकाजी सरले पनि संस्थापनमा साथ दिएकै कारणले उहाँ हाम्रो लागि भरपर्दा संस्थापक हुनुभयो । ४÷५ महिना अघि सम्म प्रत्येक क्याम्पसको बैठकमा हामी सँगै भएर जान्थ्यौं र बैठकमा सामेल हुन्थ्यौं । १ दिन पनि छुट्याउन नहुने खालको सम्बन्धको विस्तार भयो हामी बिचमा । भारतीको मुक्त कण्ठले तारिफ गर्नु हुन्थ्यो । हाम्रा लागि पनि उहाँ भरोसा लाग्दा अभिभावक जस्तै बन्नुभयो । भारती र म महिनाको एक पल्ट भएपनि जनमत पु¥याउन जान्थेँ उहाँको घरमा । हामी जाँदा उहाँ निकै खुशी हुने गर्नु हुन्थ्यो । जनमतको यात्रामा उहाँको साथ÷सहयोग अविस्मरणीय रह्यो । जनमत मासिकको उहाँ सल्लाहकार रहनुभयो, जनमतको प्रत्येक यात्रामा साथ दिनुभयो । प्रत्यके गतिविधिमा उहाँले मन पराएर मेरो साहित्यिक अभियानलाई मन पराई दिनुभयो । मेरो सक्रियता, मेरो साहित्यिक अभियान र जनमतको यात्रालाई उहाँले मुक्तकण्ठले प्रशंसा गर्नुभयो । उहाँको मायामा स्वार्थ नदेखिंदो छ । सहयोगी भावनामा निःस्वार्थ मन देंिखंदो छ । संस्कृतिको परिचयमा मिठासपन भरिभराऊ छ । शिक्षण सेवामा निःस्वार्थ भाव रहेकोले सुन्दर छ । समाज सेवामा आफू सक्दो सेवा भाव प्रफुल्लित छ । भाषामा माया छ । इतिहासको खोजी गर्ने मन छ । नाटकमा मात्र होइन, निबन्ध, कवितामा पनि कलमको शक्ति देखिंदो छ । यस्तै–यस्तै थुप्रै खालका सेवा भाव, सत्–चेतनाहरु सँगसँगै कुद्न पाएकै कारणले ज्ञानकाजी सर र म आफू एकाकार भए जस्तो, एउटै बने जस्तो भयौं । उहाँ मलाई र मेरो साहित्यिक यात्रालाई मन पराउनु हुन्थ्यो । मैले उहाँको सत्चेतना देखेकै कारणले उहाँले पु¥याउँदै आउनुभएको अनन्त यात्राले गर्दा २०६६ चैतमा करिव १४ वर्ष अगाडि जनमतका तर्फबाट बनेपामा ‘जनमत–जन कप्रधान सेवा सम्मान’बाट सम्मानित गर्न पाएको सन्दर्भ बिर्सि पठाउन गा¥हो छ । यसै गरी उहाँको गुनलाई गाह्य गर्दै जनमत मासिकले ‘ज्ञानकाजी मानन्धर विशेष अङ्क’ ७२ पृष्ठको प्रकाशन गर्न पाउँदाको खुशी मेरो मनमा प्रफुल्लित भइरहेको छ । २०७० भाद्रमा प्रकाशित जनमत मासिकमा नेपालका विशिष्ट संस्कृति विद् तथा लेखक सत्य मोहन जोशीले उहाँको बारे लेख्नु भएको थियो, जुन स्मरणीय छ — ‘ओझेलमा परेका स्रष्टाहरुमध्येका ज्ञानकाजी’ आलेखमा मर्मशील ढङ्गले ज्ञानकाजीको मूल्याङ्कन नभएकोमा िचत्त दुखाएर लेख्नु भएको थियो – “चाहे हामी दयाराम श्रेष्ठ र प्रा. मोहनराज शर्माद्वारा सम्पादित नेपाली साहित्यको इतिहास पल्ट्याएर हे¥यौ अथवा प्रा. प्रेम शान्ति तुलाधरद्वारा सम्पादित नेपाल भाषा साहित्य यातिहास अथवा जयदेव भट्टराईद्वारा संकलित एवं सम्पादित तथा नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित साहित्यकार परिचय र अभिव्यक्ति (यसमा त छुटेका र थपिएका विवरणहरुमा समेत उनको नाम पाउँदैनौं ।), त्यस्तै घटराज भट्टराईद्वारा सम्पादित नेपाली साहित्यकार परिचय कोशमा हामी उनको नामसम्म पनि उल्लेख भइराखेको पाउँदैनौं । उनले नाटक विधामा पनि थुप्रै किताब लेखे तर कृष्ण शाही यात्रीद्वारा सम्पादित प्रतिनिधि नेपाली नाटकको फाँटमा पनि नाटककार ज्ञानकाजी मानन्धरको नामसम्म भेटाउने प्रसङ्ग हामी पाउन्नौं ।” अन्तमा उहाँ लेख्नुहुन्छ — “र आज बल्ल स्रष्टा ज्ञानकाजी मानन्धरकै जन्मभूमि काभ्रेबाट नियमित रुपमा प्रकाशित हुने जनमत मासिक पत्रिकाको १९३ पूर्णाङ्कको घैंटोमा सुनौलो घामको झुल्को झुल्केको हामीले देख्न पायौं । खोजी नीतिमा ढिलै हुन गएको भएपनि, जनमतको स्वविवेक प्रशंसनीय र अनुकरणीय भएको छ ।” यही त हो; सत ्चेतनाका यात्राहरुमा जनमतले गरेको ज्ञानकाजी सरप्रतिको आस्था र विश्वासको अभिव्यक्ति । जुन देश–विदेश सम्ममा पनि ज्ञानकाजी सरलाई पु¥याउने काम भयो । जसलाई इतिहासमा तोडमरोड गर्न गाह्रो छ । ०००
