IMG-LOGO

मनको आँखाभित्र डुबुल्की मार्दा

 मंगल, सावन १६, २०८०  – प्रदीप सापकोटा

     काभ्रेली माटोमा निरन्तर रुपमा साहित्यमा क्रियाशिल थोरै महिला मध्येको लिनैपर्ने एक नाम हो शुभद्रा दहाल । लामो समय शिक्षण पेशामा रहँदा होस या हालको अवकाश प्राप्त जीवनमा नै किन नहोस नेपाली सस्कार र संस्कृतिलाई पाठक समक्ष पुर्याउने खालका सिर्जनामा उनको कलम तल्लिन छ ।      उनका लेखहरुमा सामाजिक सचेतताको भावना छ । सकारात्मक उद्देश्य र चिन्तन गर्न सुझाव छ । जीवनका विभिन्न ध्वनिहरुको प्रतिविम्बन छ । लेखहरु सदाचार, अध्यात्म, प्रेम, कर्मशिलता, जीवन र जगत लगायतका चेतना प्रवाहमा बहेका छन् । छोटा लेखहरु एक झमट बसाईमा पढी सकिन्छ । पट्यारलाग्दा,क्लिष्ट भाषाशैलीमा पनि छ्रैनन् । सरल भाषा छ । आम पाठकले बुझ्न सक्ने छन् । शब्दहरुमा सिधा वोलिएको छ खेलिएको छ्रैन् । उनको लेखन प्रवृत्ति मानवेतर लाग्छ । नैतिक चेत,सदाचारलाई बर्णनात्मक शैलीमा तर संक्षेपमा रचिएको देखिन्छ । ब्यक्ति र समाज वरपर रहेका छन् लेख रचनाहरु । कतै कतै अध्यात्मवादको प्रभाव पनि देखिन्छ । समाजप्रति बडो जिम्मेवार र गम्भिर भावले कलम चलेको छ । स्वाभाविक शब्द चयन,नीजि अनुभूतिका अभिव्यक्ति,संक्षिप्त र सरल शिर्षक चयन उनका लेखका विशेषता लाग्छन् । उनका मनका निष्च्छल अनुभूतिहरुलाई अर्पेकी छन् लेखहरु मार्फत । लेखहरु जीवन दर्शनसँग सम्बन्धित छन् । दार्शनिक चिन्तनको सानै भएपनि उपस्थिति छ त्यहाँ । लेखहरु पढ्दा लाग्छ शुभद्राले जीवनलाई आध्यात्मसँग जोड्न खोजेजस्तो । विशुद्ध भौतिकवाद मात्र छैन् यहाँ ।       शुभद्रा दहालको मनको आँखाभित्र १४ थान विषय विविधा लेखहरु समावेश भएका छन् । धर्म,सँस्कार,जीवन र जगत लगायतका विषगत विविधताले मनको आँखा भरिपूर्ण बनेको छ । पहिलो लेख प्रकृति,समाज र व्यक्ति,समाज र प्रकृतिमा पञ्च महाभूतको बर्णन गरिएको छ । तिनका अन्तरसम्बन्धहरुलाई उजागर गरिएको छ । मानवीय संस्कारले मान्छे कस्तो भन्ने चिनाउँछ भनिएको छ । जहिल्यै सकारात्मक सोच राखियो भने मान्छेको जीवन सुखी हुने भएकोले सोचलाई सदैव सकारात्मक बनाउँन सुझाइएको छ । उनी जीवनको गहिराइलाई सुख दुःखसँग जोड्छिन् । जहाँ दुःख छ त्यहाँ सुख पनि अवश्य छ । मानिस आफ्नै कारणले दुःखी वा सुखी हुने भएकोले यसैगरी बुझ्न उनको आग्रह छ । दोस्रो लेख आत्मविश्वास र भरोसामा मानिसमा भएको आत्मविश्वासले संसारका सबै चिजमाथि विजय प्राप्त हुन सक्ने संकेत गरेको छ । पैसाले कुनैपनि कुरा हासिल नहुने तर निरन्तर आत्मविश्वास सहितको लगावले आफुले चाहेको कुरा हासिल गर्न सकिने उनको जिकिर छ । पाठकलाई उनले आत्मविश्वासी हुन सुझाएकी छन् । उनको लेख  समस्या र समाधानतर्फ केन्द्रित लाग्छ । अतिरञ्जित किमार्थ लाग्दैन् ।      विचारमा आफ्नो मनको विचार अभिव्यक्त भएको छ । समस्या आएपछि समाधान खोज्न सिकाउछिन् । यो संसार रमाइलो छ । यो धर्ती र खुला आकास जस्तै उन्मुक्त जिन्दगी जिउन सके सुखद हुने उनको निष्कर्ष छ । काम,क्रोध,लोभ र मोहबाट टाढा रह्यो भने सफलता हासिल हुने र सार्थक जिन्दगी जीउन सम्भव हुने उनको विचार छ । उद्देश्य लेखमा पनि जीवनलाई उद्देश्यविहिन हुने बाटोवाट त्राण दिने हिसावले विचार अभिव्यक्त भएको छ । विचार र उद्देश्य नभएको मान्छेलाई कुहिरोको कागको संज्ञा दिएकी छन् । अर्काे निवन्ध सत्यम्,शिवम् ,सुन्दरम् मा आध्यात्मिक चिन्तनको प्रतिछाँया देख्न सकिन्छ । धर्मलाई समय सापेक्ष भनिएपनि यसमा हाम्रा प्राचीन आदर्शहरुलाई जोडिएको छ । धार्मिक मानसिकता उनमा प्रवल देखिएको छ । दुःखमा ब्यक्ति आफैंभित्रको कारणले हुन्छ । लालचले दुःखको घर बनाउँछ भन्ने उनको अभिव्यक्ति सत्यताको नजिक छ । लोभ लालचले मान्छे दुःख पाउँछ । तर ब्यक्तिका आफ्ना सोचाई,भावको कारण जिन्दगीमा दुःख आउँछ । प्रतिकूलतालाई अनुकुलतामा ढालेर मान्छे सुखी हुन सकिने कुरामा उनको जोड छ । योग,ध्यानले पनि मान्छेको दिनचर्या परिवर्तित हुन्छ । आत्माको अध्ययनमा लाग्न उनको सुझाव छ ।      दृढ इच्छाशक्ति, लगातारको लगावले मान्छे सफल हुन्छ संकल्प शिर्षक लेखको प्रमुख आसय हो यो । आँट, आत्मविश्वास, लिएको संकल्पले मान्छे सार्थक हुन्छ । संकल्प र त्यो अनुरुपको प्रयास नै सफलता हो । अरुको भावनामा ठेस पुग्न वा पुर्याउनबाट जोगिदा मान्छे खुशी हुन्छ । खुशीको मापन आत्मसन्तुष्टी हो । सुखको परिभाषा मान्छेको बुझाईमा भर पर्ने हुन्छ । विकृती, विसंगतीबाट टाढा रहने हो भने मान्छे खुशी हुन्छ भन्ने विचारलाई सरल भाषामा प्रस्तुत गर्न लेखिका सफल छिन् । चाणाक्यको नीतिशास्त्रलाई उनले उद्धृत गर्दै सन्तोषी सदा सुखी हुन्छ भन्ने प्रष्ट गर्न खोजेकी छन् ।      महान चरित्र, उदात्त विचार सहित पवित्र भावना बोकेर मनैदेखि कुनैपनि काम गर्ने हो भने सफल नहुने कुरै छैन् । राम्रा र नराम्रा दुवै कुराको उत्पादन मनले नै गर्ने हो त्यसैले मनको महत्व र महिमा ब्यापक हुन्छ । हामीले सद्चरित्र, सदविचार, सदगुण, असल भाव राखेर मनबाट काम, क्रोध, लालसा, लोभ, मोह सब त्याग्नु पर्दछ । मृत्यु शिर्षक लेखमा कोही अजम्बरी छैन् जन्मेपछि सबैले मर्नै पर्छ र पनि मान्छे मृत्यूसँग डराउँछ भनिएको छ । मृत्यू सदाको लागि टार्न सम्भव छैन् तर आयु लम्ब्याउन सत्कर्म गर्नुपर्ने ,सदाचारमा रहनुपर्ने,योग ध्यान गर्नुपर्ने हुन्छ भनिएको छ ।      यसरी मनको आँखाभित्रका लेखहरुमा सुभद्रा दहालले आफ्ना भावहरु सुस्पष्टसँग अभिव्यक्त गरेकी छन् । अनावश्यक लालचा र स्वार्थले मान्छेमा भएको विवेक र सदाचार मरेकोमा आफ्ना लेखहरु मार्फत चिन्ता गरेकी छन् । मानवको अकल्याण गर्नै नहुने कुरामा उनको जोड छ । भन्न सकिन्छ दहालमा अथाह लेखन क्षमता लुकेको छ । सरलता र सदभावका शब्दहरु खर्चन सिपालु उनी विचार र संस्कारलाई जोडेर लेख्छिन् । उनलाई लेखनीमा अझै सफलता मिलोस हार्दिक शुभकामना ।  

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्