पूर्वीय सभ्यता त्यसमा पनि सदियौं देखि मिलेर बसेको नेपाली समाजको गाथा भनेकै जीउँदाको जन्ती, मर्दाको मलामी हो अर्थात सुख र दुखमा संगसंगै जाने । हाम्रो यो परम्परा यो सस्कारलाई भत्काउन बेला बेलामा धेरै घटना परिघटना भए तर नेपाली समाज आजसम्म उही लयमा छ । अहिलेको डिजिटल युगमा जहाँ नेपाली त्यहाँ नेपाली समाज कला सँस्कृति फैलदो र फैलिएको छ । पश्चिमी समाजमा कहाँ यस्तो परम्परा र सस्कार हुनु ? हाम्रो परम्परा र सस्कार जोगाउन आजका नयाँ पुस्ता लागेका छन् त ? के सोच्दै छन् नयाँ पुस्ता ? कस्तो नेतृत्व स्थापित हुँदैछ हाम्रो राजनीतिमा ? धेरै टाढा जानै पर्छ भन्ने छैन गत हप्ताको डाक्टर भनेर फुर्काएर नेपाली राजनीतिमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीको एउटा अभिव्यक्तिलाई दृष्टान्तमा लिन सकिन्छ । गत हप्ता प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन भयो । सीता दाहालको मलाममा हजारौं सहभागी थिए त्यसै मध्य तोसिमा कार्कीको मलाम जाँदाको भनाइ सुनिनसक्नु थियोे । हाम्रो सभ्यतामा कसैको निधनमा मलामी बन्नु भनेको मलम लगाउन जाने हो । जस्तै शत्रु पनि घाटामा मिलेर फर्किएका कारणले पनि नेपाली समाज उदाहरणीय रहिआएको छ । डा. तोसिमा कार्कीले प्रधानमन्त्री प्रचण्ड र उनको परिवारलाई चोट प¥ुयाउन नभई हाम्रो समाजलाई चोट पु¥याइन । उनले मलाम जाँदा जुन कुरा बोलीन् त्यसको जति निन्दा गरे पनि निन्दा गर्न लायक पनि थिएन । उनको भनाइले उनीलाई ठुलो देख्नेलाई पनि लाज लाग्नु पर्ने हो । बोली र गोली छुटेपछि कहिल्यै फर्कदैन । त्यसैले सभ्य संस्कारी बन्न नेपाली समाज चिनौं र पढौं । डाक्टर, इन्जिनियर, पाइलट, वकिल पत्रकार वा अन्य पेशामा भएको भन्दैमा कसैले ठुलो भन्दैन । ठुलो हुन त निहुरिनु पर्छ, नम्र र समय परिस्थिति अनुसार शब्द चयन गरेर बोल्नुपर्छ । अहिलेको नयाँ पुस्ता डिजिटल युगका मानिस हुन । यो पुस्ता झन् जिम्मेवार बन्नुपर्छ । नेपाली कला सँस्कृति राम्रा परम्परा जोगाउन पढ्न र बुझ्नुपर्छ । व्यबहारमा लागु गर्नुपर्छ । यो घोप्टे शताब्दीमा एकान्की हुनु हुँदैन झन तोसिमा कार्की जस्तो त बन्नु हुँदै हुँदैन । त्यसैले हामी सबैको दुःख र सुखमा साथ बन्ने कोशिश गरांैं । आफ्नो र आफ्नाको मात्र भलो नसोचौ जगत कै भलो होस भनेर कामना गरौं ।
